विकासन्युज

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्किले बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स बिच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले घेरे अर्थ मन्त्रालय, २५ प्रतिशत अनुदान कटौतीको विरोध

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले अर्थ मन्त्रालय घेराउ गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरूले अर्थ मन्त्रालय घेराउ गरेका हुन् । उनीहरूले  २५ प्रतिशत अनुदान कटाैती निर्णय  सच्याउन एक साताको समय दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले ७ दिनभित्र तोकिएको अनुदान पाउनुपर्ने माग सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी दिएका छन् । राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको अर्थ मन्त्रालयकाे भनाइ छ ।

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाका बारेमा जानकारी दिए । उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे । नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी दिए । ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराए । उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । ‘नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्’, उनले भने । भेटवार्ताको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राखे । साथै संघका लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसर बारे जानकारी गराएका थिए । भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौता बारे पनि चासो राखेका थिए । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि उनले राजदूत फेनलाई अनुरोध गरे । सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्री सुविधा गुमाउने, अवस्थीले बताए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका लागि महत्वपूर्ण हुने उनले बताए ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको स्काइवाक टावरमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ ।

इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले प्रयोककर्ताका लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजनाअन्तर्गत एक विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहार जित्ने मौका पाउनेछन् । जेठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आबद्ध रहेका १२ वटा बीमा कम्पनीमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले हरेक हप्ता आकर्षक उपहार पाउने कम्पनीले जनाएकाे छ । हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा १ दिन २ रातका लागि स्टेकेसन प्याकेज पाउनेछन् भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरूको प्रिमियम तिर्दा १००० रूपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहार पाउन सक्नेछन् । इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार डिजिटल भुक्तानीलाई सरकारी तवरबाट नै प्रोत्साहन गर्ने नीति अघि बढिरहेको समयमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरूप प्रयोगकर्तामा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो । उनले यस याेजनाअन्तर्गत प्रयोगकर्ताले इसेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने व्यवस्था गरी डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन् ।

सहकारीको पैसाले अर्बपति, बुढाबुढी मिलेर ८ अर्ब झ्वाम

काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा चन्द्रबहादुर (सिबी) लामालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न आएको महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । २०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी लामालाई पक्राउ गरेको भट्टराईले जानकारी दिए । लामा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को पूर्व अध्यक्ष हुन् । भट्टराईले लामाविरुद्ध ८५२ जना बचतकर्ताले उजुरी दिएको बताए । त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको पनि बताइएको छ । पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिको विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भट्टराईले बताए । लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान पनि गरिरहेको छ ।  को हुन् लामा ? काभ्रेकाे साविक नारायणथान गाविस ८ का बासिन्दा लामा सुरुमा सरकारी जागिर गर्थे । उनले सो अवधिमा विद्यार्थी राजनीति पनि गरे । तर, राजनीतिमा सफलता पाउन सकेनन् । उनी २०५५ तिर सहकारीमा आवद्ध भए । सहकारीसँगै राजनीतिमा पनि सक्रिय भइराखे । २०६५ तिर उनले पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको स्थापना गरे । सुरुमा सो सहकारीको नेतृत्व उनकी पत्नी सन्ती लामाले गरिन् । पछि उनले कान्तिपुर सहकारी खोले । दुवै सहकारी बचत तथा ऋणको कारोबार गर्ने भएकोले उनलाई खासै ठूलो समस्या भएन । उनले सहकारीको बचतलाई घरजग्गामा लगाउन सुरु गरे । सुरुवाती दिनहरूरुमा राम्रै कमाइ भयो । सहकारी र घरजग्गाबाट आएको पैसालाई उनले अन्य व्यवसायमा प्रयोग गर्न थाले । सहकारीकाे बचत उनले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी बढाए । पछि घरजग्गमा समस्या आएपछि उनले बचतकर्ताको पैसा पनि फिर्ता गर्न सकेनन् । परिणामस्वरुप अन्य व्यवसाय पनि समस्यामा परे । सहकारीकाे बचत फिर्ता नगरेपछि उनीविरूद्द उजुरी पर्याे । अन्ततः उनी पक्राउ भएका छन् । उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिदेखि महासमिति सदस्य समेत भइसकेका लामाले राजनीतिक शक्तिमा रहेर जनताको पैसा अपचलन गरेका थिए । उनी नेपाली काँग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष तथा काभ्रे निर्वाचन क्षेत्र नं. १(१) मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले आफ्नो सहकारीलाई नमुना बनाउने बताउँदै आएका थिए ।  तर, अन्ततः उनी आफू नै सहकारीको पैसा अपचलन गरेको आरोपमा हिरासत पुगेका छन् ।

लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर- २ कार्काँदो चोकको शाखा सोही वडाको न्यूरोडमा स्थानान्तरण गरिएकाे हाे । स्थानान्तरण गरिएका शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिका- १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएकf शाखाले ग्राहक तथा व्यवसायलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिका- ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा- ७ नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।

दोहोरो अकंले बढ्यो सेयर बजार, १० उपसूचकमा हरियाली

काठमाडौं । सातको पहिलो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २,०८३ अंकमा कायम भएकाे छ । आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २. १७ प्रतिशतले बढेकाे छ । बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.२६, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६७ तथा अन्य समूह सूचक ०.९६ प्रतिशत बढेको छ । उत्पादन समूह २.४ र लगानी ०.२३ प्रतिशत घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् भने अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।