विकासन्युज

गृहमन्त्रीविरुद्धको मुद्दामा कास्की प्रहरीमा परेको जाहेरी झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । उक्त रिटमा आगामी जेठ २८ गते अर्को सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त विवादको चाँडो किनारा लगाउन अग्राधिकारसहित एक सातापछि नै सुनुवाइको पेसी तोकेको हो । सर्वोच्चले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपि पेस गर्न आदेश दिएको छ। सर्वोच्चले अन्तरिम आदेशमा छलफलका लागि जेठ २८ गतेका लागि पेसी तोकेको छ । लामिछानेविरुद्ध अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका हुन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरेका छन् । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले लेखेको उक्त पत्रको प्रमाणित प्रतिलिपि पनि झिकाउन आदेश गरेको छ । यो मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयलाई पनि छलफलमा बोलाएको छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा देख्न सकिन्छ । यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो । उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताए । मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उनले बताए । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पुर्‍याएको तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको उनले बताएका छन् । ‘मानिसहरूलाई बाहिरी गतिविधिबाट जोगिन र घरभित्र आश्रय लिन सल्लाह दिइएको छ भने बालुवा मिसिएको खरानी अझै पनि वर्षा भइरहेको छ,’ अब्दुलले बताए । उनले श्वासप्रश्वासमा समस्या आउन नदिन मास्कको प्रयोग गर्न आग्रह गरे । मे १६ मा ज्वालामुखीलाई उच्च सतर्कता तहमा पुर्‍याइएपछि अधिकारीहरूले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखीको केन्द्र चारदेखि सात किलोमिटर (२.५–४.३ माइल) को बीचमा बहिष्करण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएका थिए । स्थानीय विपद् न्यूनीकरण निकायको तथ्यांकअनुसार अधिकारीहरूले त्यसको केही समयपछि नै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए भने आइतबारसम्म दुई हजार ५०० भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा सारिएको थियो । इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो । यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए । जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए । इन्डोनेसिया, एक विशाल द्वीपसमूह राष्ट्र, प्रशान्त ‘रिंग अफ फायर’ रहेको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्नुपर्छ । गत महिना उत्तरी सुलावेसी प्रान्तको माउन्ट रुआङमा आधा दर्जनभन्दा बढी पटक विस्फोट हुँदा आसपासका टापुका हजारौं बासिन्दालाई अन्यत्र जान बाध्य बनाएको थियो ।

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

चौतारा । काठमाडौंबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन्  । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुगिन् । ‘हामीले सुनेका मात्रै थियौँ, र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ’, उत्साहित हुँदै ज्योतिले भनिन्, ‘शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।’ उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताइन् । ‘यति रमाइलो हुन्छ भन्ने आफैँले र्‍याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं’, र्‍याफ्टिङपछि ज्योतिसँगै उभिएका उनका साथी शैलेश श्रेष्ठले भने । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउँछन् । ‘जब र्‍याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो’, उनले आफ्नो अनुभव सुनाए, ‘कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।’ उनले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाए  । ‘पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो’, उनले भने । उनीहरु जस्तै भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर र्‍याफ्टिङको आनन्द लिन आएको सुनाइन् ।  ‘विदेशीसहित हाम्रो ५० जनाको टोली छ’, उनले भनिन्, ‘अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयौँ ।’ शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उनी सुनाउँछिन्  । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरिसकेकिन्  । त्यति बेलाको मज्जा सम्झँदै उनी फेरि सुनकोसी आइपुगिन्  । ‘पहिला धित नै मरेन, त्यसैले फेरि आएँ’, उनी भन्छिन् । सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्‍याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो । साहसिक खेल र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । ‘दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्’, थापा भन्छन्, “यो समय र्‍याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।’ र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको  छ । पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्‍याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् । रासस

बजेटप्रति असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’ संसदमा आजबाट आगामी आर्थिक् वर्षको बजेटमाथि छलफल शुरु भएको छ ।

उत्तर कोरियाबाट फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठाइयो

सियोल । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन् । ‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ । आइतबार बिहान करिब १० बजे सम्म प्रति घण्टा लगभग बीस देखि पचासका दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो । बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो । उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ। ‘हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्कलन गर्दैछ’, उत्तर कोरियाले मगंलबारदेखि करिब ९०० फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ । रासस

हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका-१२, मोरङबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । बैंकले जेठ २० गतेदेखि यस्तो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बैंकका अन्य कर्मचारीहरुको उपिस्थति थियो ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने सरकारकाे आदेशलाई सर्वोच्चद्वारा रोक

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कृष्ण विक, आकाश कुमार भट्ट, रवीन्द्र पौडेललगायले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा नियम उल्लंघन गर्नेलाई ट्राफिक व्यवस्थापनमा खटाउने सूचना सार्वजनिक गरेका थिए।

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्किले बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स बिच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।