५ खर्ब बढीको स्रोत सुनिश्चितता पत्र दिएर अर्थमन्त्रीले आर्थिक अनुशासनहीनता देखाउनुभयो : रघुजी पन्त
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाएका छन् । उनले अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहीनता देखाएको आरोप पनि लगाए । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम गरियाे ? भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गरे । विकास आयोजनामा बजेट नभएका बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गर्नु आर्थिक अनुशासनको उल्लंघन भएकाे उनकाे जिकिर छ । सांसद पन्तले केही मन्त्रालयलाई सरकारले स्रोत सुनिश्चतताको पत्र दिएपछि विकास आयोजनाको काम अघि बढन नसकेको अवस्था आउने भएकाले त्यस्ता कुरालाई सरकारले नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘५ खर्ब ८५ अर्ब अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ, ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई दिइसकेको छ, अब त्यो ५ खर्बकाे स्रोत सुनिश्चितता कसरी गर्ने ? उनले प्रश्न गरे, ‘अनि यसपटक बजेटमा छुट्टयाइएको विकास योजनालाई बजेट कहाँबाट जुटाउने ? यो त उहाँको मात्र होइन, ५/५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला, यसले अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ ।’ सांसद पन्तले बजेट यथार्थपरक भए पनि कतिपय आयोजनाहरूमा आवश्यक बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
न्युरोड सडक : भत्काउन-टाल्न काठमाडौं महानगर र सडक विभागबीच घम्साघम्सी
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट भत्काइएका न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्ड सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । सोमबार बिहान सडक डिभिजन कार्यालयले न्युरोडमा भत्काइएको सडक कालोपत्रे गरेको थियो । त्यस क्रममा नगर प्रहरी पुगेपछि विवाद सुरु भएकाे हाे । गत बुधबार सडक विभागअन्तर्गतको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले महानगरलाई भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको थियो । महानगरले सडक बनाउन बेवास्ता गरेपछि सडक डिभिजन कार्यालयले आफैं कालोपत्रे गरेको हो । यस्तै महानगरका मेयर बालेन साहले महानगरले न्युरोडमा बनाउन सुरु गरेको फुटपाथमा फेरि सडक कालोपत्रे गर्न थालेको भन्दै सामाजिक सञ्जालमा आपत्ति पनि जनाएका छन् ।
नेशनल लाईफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिव २०० जना वरिष्ठ अभिकर्ताहरुलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशुलको अवलोकन गराईएको थियो । साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै उनीहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।
प्रतिनिधिसभामा दुई प्रतिवेदन प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८०’ पेस गरिन् । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरिन् । प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले विधेयक ल्याउनुको कारण र औचित्यबारे जानकारी दिइन् । उक्त विधेयक पारित भएपछि संवैधानिक निकायमा भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति हुने विश्वास व्यक्त गरिन् ।
समाज लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको जेठ २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत वर्षको नाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महतोले बताए । सीईओ महतोका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेड़ा कोष र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको हो ।
देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरूको आक्रोश
काठमाडौं । देशका विभिन्न शहरहरुमा विद्युत कटौति हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौति गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४/५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगञ्जमा अघोषित रुपमा विद्युत कटौति हुने गरेको भन्दै आपत्ति जनाइन् । उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् । ‘नेपाल लोडसेडिङ मुक्त देश भयो । तर कुनै बेला दैनिक ६ घण्टा विद्युत उपयोग गर्न पाएका देशभरका उपभोक्ता नागरिकहरू देश लोडसेडिङ मुक्त भएसँगै उज्यालोमा रम्न पाए । नेपालगञ्ज उपमहानगरपालिका लगायत बाँके जिल्लाभरी नै विद्युत आपूर्ति अनियमित भएका कारण ४४/४५ डिग्रीको तापक्रममा बाँकेबासीको जनजीवन असामान्य र कठिन बनेको छ’, उनले भनिन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौति नगर्न सरकारलाई दबाब दिए । उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सांसद चौधरीले भने ‘नेपाल विद्युत प्राधिकरणले व्यापक रुपमा विद्युत कटौति गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत कटौति नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रुपमा भएको छ । यसको नियन्त्रण हुनुपर्यो ।’ यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले खानेपानीको व्यापार हुने र जनताले पीउने पानी पनि नपाउने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताइन् । सांसद कार्कीले ललितपुरवासीका लागि खानेपानीको अभाव हुँदा पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको १ करोड ८० लिटरको टयांकी निर्वाचन क्षेत्र ललितपुरमा ३ मा छ तर त्यहाँ हरिसिद्धी, धापाखेल, चुनिखेल, नखिपोट, कुसुन्ती, जावलाखेल जताततै रोदन छ । सरकारले गरेको यो बेवास्तापति मेरो खेद छ । ललितपुर बासीको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि बजेटको व्यवस्था गरियोस् ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिए हुने सुझाव समेत दिए । सांसद सिंहले भने, ‘नारायणहिटी दरबार भित्र रहेको गणतन्त्र स्तम्भ ५ वर्ष भईसक्यो बनेको । वर्षौदेखि ताला लगाई राखिएको छ । त्यो पार्कमा जनताहरुलाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाईबहिनीहरुका लागि त्यहाँ घुम्नका लागि वरीपरि विद्यालयहरु भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु । यदि त्यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिइयोस भन्ने म अनुरोध गर्दछु ।’ सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरुका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने जिकिर समेत गरे ।
आईएमई लाइफका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।
तोलामा एक हजारले घट्यो सूनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।