विकासन्युज

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्स काउन्टर सञ्चालनमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे । बैकका प्रमुख कार्यकारी अधिकृत सन्जीव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने बताए । थप २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

२५ वटा विद्युतीय माइक्रोबस खरिद गर्न साझा यातायातले खुलायो टेण्डर

काठमाडौं । साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ । विद्युतीय माइक्रोबस सञ्चालनका लागि साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर खुलाएको छ । साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ । विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रुपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने छ । यस्तै स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रुपैयाँ तोकिएको छ । प्रि–बिड मिटिङ र टेण्डर खोलिने मिति विद्युतीय माइक्रोबसकै रहेको छ । यसका लगि समय भने छुट्टाछुट्टै निर्धारण गरिएकाे छ ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

आईएमई लाइफको सातौं वार्षिक साधारण सभा आज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँ २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आईपीओ निष्कासन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स, बोलायो साधारण सभा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीले प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने छ । साथै, सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव पनि पारित गरिने कम्पनीले जनाएको छ ।

कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ ताेकिएकाे छ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ३ गतेसम्म रहेको छ ।

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ५४ हजार ५ सय ५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने छ ।