कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ५४ हजार ५ सय ५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने छ ।
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान साढे १० बजेभित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताए । ‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ,’ उनले भने । वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे । यसपछि बर्सात भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।
सामादायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा काठमाडौं महानगरले लगायो ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाले चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका ८ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताए । यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । ‘कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’ महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताए । पोखरेल भन्छन्, ‘विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्ने आवश्यकता छ । त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौँँ ।’
मोदीले लिए तेस्रो पटक प्रधानमन्त्रीको सपथ, नेपालसँगको सम्बन्धका विषयमा बोले
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच उनले राष्ट्रपति द्रौपडी मुर्मूसामुबाट शपथ लिएका हुन् । मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । मोदी तेस्रो पटक प्रधानमन्त्री बनेसँगै उनको छिमेकी देशहरुसँगको सम्बन्धका विषयमा पनि धेरैले चासो राखेका छन् । उनले अब छिमेकी देश नेपाल सहित अन्य देशसँगको कुटनीतिक सम्बन्ध थप बलियो र सुदृढ बनाउँदै जाने बताएका छन् । प्रधानमन्त्री मोदीले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथ ग्रहण समारोहमा आमन्त्रण गरिएको पनि बुझिएको छ । मोदीको शपथ ग्रहण व्यापारी मुकेश अम्बानीसहितका व्यवसायीहरूको पनि उपस्थिति छ । मोदीले प्रधानमन्त्रीको शपथ लिएसँगै संघको मन्त्रीका रूपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जगत प्रकाश नड्डा, शिवराज सिंह चौहान, निर्मला सितारमण, एस जयशंकर, एचडी कुमार स्वामी, मनोहर लाल खट्टर, पियुष गोयल, धर्मेन्दर प्रधान, जीतनराम माझी, राजिब रञ्जन सिंह लगायतले शपथ ग्रहण गरेका छन् । त्यस्तै सर्वानन्द सोनोवाल, वीरेन्द्र कुमार, राममोहन नायडू, गिरिराज सिंह, जुएल ओराम, प्रल्हाद जोशी लगायतले पनि शपथ ग्रहण गरेका छन् ।
होटलमा हरियाली, मनग्य कमाउन र पोर्टफोलियो बलियो बनाउन लागे लगानीकर्ता
काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुरमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २.९२ प्रतिशतले बढेको छ । सो समूह १५५ अंकले बढेर ५४५७ बिन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेवलमा बढेको छ । जसमध्ये सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यति मात्रै होइन आज कारोबार रकमका आधारमा पनि उच्च तीन कम्पनीमध्ये सिटी होटल नै रहेको छ । आज कम्पनीको १३ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । हाल नेप्सेमा होटल तथा पर्यटन समूहमा ६ वटा कम्पनी सूचिकृत छन् । आज सबै कम्पनीको सेयर मूल्य बढेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेकाे छ । सोही लक्ष्यलाई ध्यानमा राख्दै निजी तथा सरकारी क्षेत्रले पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी उल्लेख्य मात्रामा बढाउन थालेका छन् । देशका विभिन्न स्थानमा पाँच तारे होटलहरू पुगिसकेको र सबै हाेटलकाे क्षमता ३५ लाख पर्यटक राख्न सक्ने भएकाे नेपाल होटल संघका अध्यक्ष विनायक शाह बताउँछन् । सरकारको लक्ष्य अनुसार आ-आफ्नो क्षेत्रबाट प्रर्यटन भित्र्याउन प्रयास भइरहेको उनको भनाइ छ । कोरोना भाइरसका कारण शिथिल बनेको होटल तथा पर्यटन क्षेत्र पुरानै लयमा फर्किसकेको छ । ‘हाल सरकारले प्रयास गरेअनुसार पर्यटकहरू आइरहेका छन् । तरपनि सरकारको लक्ष्य अझै कम भयो, किनभने अहिलेको संरचनाले नै करिब ३५ लाख पर्यटकलाई राख्न सक्ने अवस्था छ ।’ उनी भन्छन्, ‘होटल तथा पर्यटन क्षेत्र सुधारको बाटोमा छ क्रमश: पर्यटकहरू थप हुँदै गएका छन्, त्यसैले लगानीकर्ताहरू पनि यस क्षेत्रप्रति आकर्षित छन् ।’ उनका अनुसार पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायमा पनि सुधार हुँदै गएको छ । ‘पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै होटलको व्यवसाय सकारात्मक त हुने नै भयो,’ उनी भन्छन्, ‘यसै कारण आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने सोचले पनि हुन सक्छ यो क्षेत्र सेयर बजारका लगानीकर्ताहरूको पनि आकर्षणमा परेको ।’ होटल तथा पर्यटन क्षेत्रलाई अझै माथि लैजान हाल सरकारको नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको शाह बताउँछन् । अहिलेकै प्रयासलाई मात्रै सीमित राख्ने हो भने सरदर भन्दा धेरै पर्यटक नेपाल नआउने उनी बताउँछन् । अहिले नेपालमा बार्षिक करिब १० देखि ११ लाख पर्यटक आउने गरेका छन् । आफ्नो लगानी सुरक्षित हुने आशमा र भोलिको दिनमा अझै राम्रो मुनाफा कमाउने आशामा सेयर लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको लगानीकर्ता तारा फुलेल बताउँछन् । ‘अहिले प्राय: सबै लगानीकर्ताहरू जान्ने बुझ्ने नै हुनुहुन्छ साथै दैनिक समाचारमा के आइरहेको छ भन्नेर जानकारी राख्नुहुन्छ, त्यसैले बजारमा के कुराको माग भइरहेको छ आफै मूल्याङ्कन गर्नुहुन्छ,’ उनी भन्छन्, ‘लगानी गर्ने कुरा आफ्नो रोजाइको विषय हो, जुन क्षेत्र राम्रो लाग्छ त्यसैमा लगानी गर्ने हो ।’ नेपालको होटल तथा पर्यटन क्षेत्रलाई सुधार गर्न तथा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रले पनि सल्लाह र सुझाव दिइरहेका छन् । हवाई टिकटमा लगाएको भ्याट हटाउन, हाल पूर्णरुपमा सञ्चालनमा नरहेको गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन लगायतका विभिन्न माग निजी क्षेत्रले अघि सारेका छन् ।
त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका-६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुंगा नगरपालिका-५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका-६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् । प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ । यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ । उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिटिजन्स बैंकद्वारा कैलालीका विद्यालयलाई सहयोग प्रदान
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्री डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ वर्षदेखि सञ्चालनमा रहेका र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरू अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारकाे कमी रहेको हुँदा बैंकले उक्त सामग्री प्रदान गरको हो । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ४९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नाे सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमुना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियरसम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म–विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् । आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरेकी थिइन् । कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिरा जोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरूले बताए । जोशीले विद्यार्थीहरूको आत्म–प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन् । उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म–विश्वास, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ । ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।