नेशनल लाइफको ३५ जना अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रकिो सभापतिन्वमा सम्मान कार्यक्रमको सम्पन्न भएको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेकोे सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए । उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए ।
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्र बाबु राई (जिबी राई) समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ । सो मुद्दालाई अग्राधिकार दिँदै अर्को सुनुवाइ आगामी असार ४ गतेका लागि तोकिएको उनले जानकारी दिए । यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यही जेठ २० गते रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजका लागि छलफलमा बोलाएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराइले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो ।
मूल्यवृद्धि ४.४० प्रतिशतमा झर्याे, उपत्यका र तराईमा कति ?
काठमाडौं । पछिल्लो समय मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म मूल्यवृद्धि घटेर ४.४० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ७.६८ प्रतिशत, तराईको ७.१५ प्रतिशत, पहाडको ७.५७ प्रतिशत र हिमालको ७.१२ प्रतिशत थियो । वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ । तलब तथा ज्यालादर सूचकाङ्क ठ। २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.४८ प्रतिशतले बढेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
आइएमई लाइफको २६ प्रतिशत लाभांश पारित
काठमाडौं । आइएमई लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साे सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धीत अनुसूचिहरु सहितको वितीय विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस गई आए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक (१) जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने, बोनस सेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रूपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको मिति २०८०/०२/०२ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।
चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्बले बचतमा
काठमाडौं । नेपाल चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्बले बचतमा रहेको छ । गत बैशासम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको बैशाखसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।
विदेशी मुद्रा सञ्चिती साढे १९ खर्ब पुग्यो, १५.१ महिना बढीको आयात धान्ने
काठमाडौं । सरकारको ढुकुटीमा विदेशी मुद्रा सञ्चिती साढे १९ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बैशाखसम्म विदेशी मुद्रा सञ्चिती १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार वि.सं २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । १० महिनाको अवधिमा २६.२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा २४.२ प्रतिशत वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । गत असारसम्ममा ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ रहेको छ । वि.सं २०८० असारसम्ममा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । १० महिनामा २८ प्रतिशत बढेको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो भने बैशाखसम्म १३.८ प्रतिशत बढेर २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ बैशाखसम्म कुल विदेशी विनिमय सञ्चिति भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।