विकासन्युज

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

महानगरलाई बालश्रममुक्त बनाउन चुनौती

काठमाडौं । घटना १, जहिले उनी विद्यालयमा सबैभन्दा ढिला पुग्थिन् । दिनहुँजसो विद्यालय ढिला आउने भन्दै एकदिन उनले बेस्सरी रिसाइन् । तिमीलाई पढ्न मन छैन ? यदि त्यसो हो भने तिमी आउनु पर्दैन । फेरि पनि उनी ढिलो आइन्, उनको यो कार्य दिनहुँ चलिरह्यो । उनले एक दिन पिट्न जब हात थाप्न आग्रह गरिन् । उनले ति बालिकाको हात पुरै फुटेको, हातभरी छाला निस्केको देखिन् । त्यसपछि उनले हातको लठ्ठी भुईमा राखेर बालिकालाई सोधिन् । के भयाे ? जवाफमा बालिकाले भनिन्,‘म्याम एकचोटी फुर्सद हुँदैन, अहिले पनि काम नसकेरै आएकी हुँ, छिटो आउँछु भन्दा साहुनीले गाली गर्नुहुन्छ ।’ उनको कुरा सुनेपछि उनलाई माया लाग्यो । ‘काम गर्दै पढ्न आउने केटी हो भन्ने त थाहा थियो । तर, बालिकामाथि यतिसम्मको श्रम शोषण हुन्छ भन्ने सोचेकी सम्म थिइनन् ।’ दुर्गम पहाडबाट सहरमा पसेकी एक विद्यार्थीको बारेमा सुनाउँदै टिका विद्याश्रमकी पूर्व शिक्षिका तथा ललितपुर महानरपालिका कार्यपालिका सदस्य लक्ष्मी शर्माले भनिन् । यस्ता थुप्रै घरेलु बालमजदुर विद्यार्थी त्यो विद्यालयमा अध्ययन गर्छन् । कुनै परिवारले आफ्नै केटाकेटी जस्तै माया गरेर पनि बालबालिका पढाइरहेको भएपनि कतिपय बालबालिका भने घरेलु काम गर्दा चरम शोषणमा परेको लक्ष्मी शर्माले बताइन् । घटना २, एउटा १४/१५ वर्षको बालक कतिदिनसम्म सडकमै हिँडेको देखिन्थे । फाटो लुगा, मलिन अनुहार, हेर्दै पेटभरी खाना नपाएको जस्तो । जहिले ललितपुरमहानगरमै देखिँदा उनलाई मनमा प्श्न उठिरह्यो । आमाबुवासँगै रहनुपर्ने, विद्यालय जानुपर्ने उमेरमा ति बालकलाई सडकमा देख्दा उनलाई नरमाइलो लाग्यो । दिनहुँ यो दृश्य देखिरहेका उनलाई ति बालकसँग नभेटी घरफर्कन मन लागेन । उनले ति बालकसँग कुरा गरे । उनी काठमाडौं बाहिरको बालक रहेको थाहा पाए । न बस्न, न खान ठेगान भएको बालकलाई उनले आफ्नो घर लगे । उनी यातायात व्यवसायी संघमा आवगद्ध भएकाले गाडीमा काममा लगाइदिए । तीन/चार वर्ष भयो अहिले पनि ति बालक सह-चालकको रुपमा काम गरिरहेका छन् । बालक आफै काम गर्न थालेपछि उनलाई अहिले खान बस्न समस्या छैन । यस्ता समस्यामा परेका बालकहरू आफै कामको खाेजीमा आउँछन् यस्तो बेला के गर्ने ललितपुर महानरपालिकामा रहेको यातायात व्यवसायी संघका एकजना सदस्यले भने । घटना ३, उनी उमेरले १५ वर्षकी भइन् । काम दोहोरी साँझमा गीत गाउने र नाच्ने गर्छिन् । उनलाई उमेर सोध्दा उनी २२/२३ पुगिसकेको बताउँछिन् । त्यही पैसाले उनी काठामडौंमा खान बस्न पु¥याइरहेकी छिन् । उनी काम गर्ने ठाउँमा न त उनले नियम अनुसार तलब पाउँछिन् , नत समयमै । तरपनि उनी काम गरिरहेकी छिन् । कहिले ग्राहकबाट त कहिले साहुबाटै शोषणको जोखिम पनि उत्तिकै हुन्छ । यस्ता बालबालिकाहरू अहिले मनोरञ्जन क्षेत्र डान्सबार, दोहोरी साँझ लगायतका क्षेत्रमा धेरै छन्, विश्वास नेपालमा कार्यरत एक कर्मचारीले भनिन् । काठमाडौं उपत्यकामा यस्ता समस्या धेरै छन् जसमा कारण बालश्रममुक्त बनाउन चुनौती थपिएको छ । पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मका व्यक्तिको बसोबास रहेको ललीतपुर महानगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न चुनौति रहेको सरोकारवालाहरूले बताएका छन् । ललितपुर महानगरपालिकालाई बालश्रम मुक्त घोषणा कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको एक सहभागीहरूले यस्तो बताएका हुन् । २०८२ सालसम्म देशका सबै तह बालश्रम मुक्त घोषणा गरिसक्ने लक्ष्य राखेको छ । तर, अहिले सम्म पाँचवटा स्थानीय तहमात्र बालश्रममुक्त घोषणा भएका छन् । कार्यक्रममा सहभागी नागरिक समाज,बाल क्लब, जनप्रतिनिधि लगायतल महानगरलाई बालश्रम मुक्त गर्ने कानून र नीतिगत काम गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि हरेक वडामा बालअधिकार हुनुपर्ने, बाल कोषको स्थापना हुनुपर्ने र बाल कल्याण अधिकारी हुनुपर्ने सुझाव दिएका छन् । ललितपुर महानगरकी बाल कल्याण अधिकारी सरीता महर्जनले महानगरलले कार्यविधि बनाउने विषयमा छलफल सुरु गरिसकेको बताएकी छन् । कानून र कार्यविधिमा हामीले धेरै काम गरिसकेको छौं उनी भन्छिन्, ‘अहिले महानगरमा बालबालिकाको अवस्था कस्तो छ भन्ने विषयमा बुझिरहेका छौँ, यसका लागि औपचारिक र अनौपचारिक रुपमा तथ््यांक संकलनको काम पनि गरिरहेका छौँ ।’ यसका लागि उद्योगी व्यवसायी, रोजगारदाता, उपभोक्ता, अभिभावक,बिचौलियासँग घनिभुत छलफल आवश्यक गर्न पनि कार्यक्रममा सहभागीले सल्लाह दिएका छन् ।

निर्णायकको हातमा हतकडी, बैंकरलाई राहत

काठमाडौं । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरूलाई पक्राउ गरेको छ । सीआईबीले तत्कालीन से ञ्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठसहित तत्कालीन सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ, हाल प्रभु बैंकका सञ्चालक समेत रहेका अभिषेक बज्राचार्य र सेञ्चुरीका सीएडी सेक्सन चिफ शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ । उनीहरूमाथि सो विषयमा अनुसन्धान हुने सीआईबीको भनाइ छ । यसअघि बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपानलेसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । सीआईबीले न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी गौतम लगायत १० जना बैंकरलाई नियन्त्रणमा लिएका थियो । तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूमाथि अनुसन्धान गरेको थियो । पछि प्रहरीले हाजिरी जमानीमा उनीहरूलाई छोडेको थियो । अहिले सो विषयमा थप अनुसन्धान गर्न प्रहरीले तत्कालीन सञ्चालकहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । सीआईबीले उनीहरूविरूद्द बैंकिङ् कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको बताएको छ । यसअघि वित्तीय क्षेत्रका छाता संस्थाहरूले निर्णय गर्नेहरूलाई उन्मुत्ति दिएर काम गर्ने कर्मचारीलाई पक्राउ गरेको विषयप्रति विरोध गरेका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एसोशिएसन र वित्तीय संस्था संघ लगायतले संयुक्त रुपमै विज्ञप्ति जारी गरेर यो घटनाले बैंकिङ क्षेत्र र बैंकरलाई नै त्रसित बनाएको धारणा राखेको थियो । यो घटनाले बैंकरलाई आतंकित बनाएको धारणा ती संघहरूको थियो । ‘बैंकरले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु हुँदैन, कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण पक्राउ गर्नु हुँदैन’ यसले बैंकिङ क्षेत्र आतंकित बनेको छ,’ बैंक तथा वित्तीय क्षेत्रका छाता संस्थाहरूले विज्ञप्ति जारी गर्दै भनेका थिए । निर्णायकको हातमा हतकडी सीआईबीले कम मूल्यको धितोमा बढी कर्जा प्रवाह गरेको भन्दै बैंकरलाई पक्राउ गरेको थियो । कर्जा प्रवाह गर्दा सुरक्षण बापत राखिने धितोको मूल्यांकन १ अर्ब १४ करोड २३ लाख ८४ हजार रुपैयाँबराबरको भए पनि बैंकका कर्मचारीले ऋणीलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सीआईबीको दाबी थियो । धितोको मूल्यभन्दा ९७ करोड ४१ लाख ७० हजार रुपैयाँ बढी ऋण लगानी भएको ठहर सीआईबीको छ । तर, यो ऋण दिने निर्णय गर्ने सञ्चालक समितिलाई वेवास्ता गर्दै कर्मचारीलाई पक्राउ गरेको भन्दै बैंकरले विरोध जनाएका थिए । सञ्चार माध्यमले पनि सोही विषयलाई प्राथमिकताका साथ समाचार सामग्री प्रसारण तथा प्रकाशन गरेका थिए । कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जा विभागको नेतृत्व गर्ने कर्मचारी, डीसीईओ तथा सीईओलाई निश्चित रकमको ऋण प्रवाह गर्ने पाउने गरी सीमा तोकिएको हुन्छ । वाणिज्य बैंकको सञ्चालक समितिले बैंकका सीईओलाई न्यूनतम २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म ऋण दिन सक्ने अख्तियारी प्रदान गर्ने अभ्यास छ । तत्कालीन सेञ्चुरी बैंक स्रोतकाअनुसार सो बैंकमा सीईओलाई अधिकतम् ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने अख्तियारी सञ्चालक समितिले दिएको थियो । सञ्चालक समितिले सीईओलाई ४५ करोड रुपैयाँ फण्डेड र ३० करोड रुपैयाँ ननफण्डेड अन्तर्गत गरी कुल ७५ करोड रुपैयाँ ऋण लगानी गर्न सक्ने अख्तियारी प्रदान गरेको थियो । सो सीमाभन्दा बढी ऋण प्रवाह गर्नु परेमा सीईओले सञ्चालक समितिमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । ‘२ अर्ब ऋण एउटै सीईओ वा डीसीईओले प्रवाह गर्दैनन्, यसमा सञ्चालक समितिको निर्णय नै आवश्यक हुन्छ, यो ऋण सञ्चालक समितिको बैठकको निर्णयबाटै गएको हो,’ तत्कालीन सेञ्चुरी बैंक सम्बद्ध स्रोतले भन्यो । सेञ्चुरी बैंकका एक पूर्व सञ्चालकले यसअघि विकासन्युजसँगको कुराकानीमा यो ऋण सञ्चालक समितिको निर्णयबाटै भएको स्वीकार गरेका थिए । ती सञ्चालकका अनुसार आफू यो निर्णयमा सहभागी नभए पनि आफू सञ्चालक बन्नुअघिको समितिले यो ऋण प्रवाह गर्ने निर्णय गरेको थियो । यो ऋण श्रेष्ठको नेतृत्वमा प्रवाह भएको बुझिएको छ । त्यतिबेलैको सञ्चालक समितिलाई आज सीआईबीले पक्राउ गरेको हो । सञ्चालक समितिबाट नै निर्णय भएर ऋण प्रवाह भएको विषयको जानकारी पाएपछि सीआईबीले सो निर्णय गर्ने कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । बैंकरलाई राह्रात यसअघि बैंकको ऋण अपचलन तथा दुरुपयोग विषयमा बैंकर नै फ्रन्टलाइनमा देखिन्थे । बैंकको कर्जा असुल हुन सकेन भने सबै भार कर्मचारीको टाउकोमा आउँथ्यो । तर, यो विषयले थोरै भए पनि कर्मचारीलाई राह्रात मिलेको एक बैंकरले बताए । ती बैंकरकाअनुसार बैंकको ऋण प्रवाह प्रक्रियामा सञ्चालक पनि सहभागी हुने भएकोले यो विषयले सञ्चालक पनि कारवाहीको भागेदार हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको ती बैंकरको भनाइ छ । बैैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले नेतृत्व गरेको चार कम्पनीलाई सो ऋण दिएको थियो । चौलागाईंलाई २ अर्ब ऋण लगानीका लागि निर्णय गरेर हस्ताक्षर गर्ने सञ्चालकहरूलाई छायामा पार्दै सीआईबीले बैंकका कर्मचारीलाई पक्राउ गरेको भनेर पनि आलोचना भएको थियो । सीआईबी भन्छ : सबैले बदनियत राखे सीआईबीले बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापन मिलेर बदनियतका साथ कर्जा अपचन भएको बताएको छ । सीआईबीले सोमबार विज्ञप्ति जारी गर्दै ऋणी रविन्द्र चौलागाईं, बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापन मिलेर नियोजित ढंगले रकम हिनामिना गरेको बताएको हो । चौलागाईंको तथा उनको परिवारको नाममा रहेका विभिन्न कम्पनीको नाममा कर्जा प्रवाह गरी बैंकको कर्जा हिनामिना गर्ने उद्देश्य राखिएको छ, राष्ट्र बैंकले जारी गर्ने निर्देशन तथा निर्देशिकाको अधिनभन्दा बाहिर गएर सञ्चालक तथा उच्च व्यवस्थापनले आफू अनुकुलको वातावरण सिर्जना गरी कम्पनीको वास्तविक कारोबार रकमभन्दा बाहिर गई नक्कली कागजातहरू बनाई कर्जा प्रवाह भएको छ, प्रतिवादीविरुद्द बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ,’ सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

यस्तो छ देशको अर्थतन्त्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको सन्देश प्रवाह गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । तर, विज्ञहहरू भने व्यापार घटेर बढेको सञ्चितिलाई सन्तोष मान्न नहुने बताइरहेका छन् । आयात निर्यातलाई कडाइ गरेर विदेशी मुद्राको सञ्चिति बढ्नुलाई खुसी मान्न नसकिने धारणा विज्ञहरूले राखिरहेका छन् । चालु आर्थिक वर्षको बैशाखसम्म मूल्यवृद्धि ४.४० प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति करिब ४ खर्ब बचतमा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो बन्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म चालु खाता २ खर्बले बचतमा छ । बैशाखसम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको बैशाखसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । विदेशी मुद्रा साढे १९ खर्ब पुग्यो सरकारको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब पुगेको छ । बैशाखसम्म विदेशी मुद्रा सञ्चिती १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार वि.सं २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । १० महिनाको अवधिमा २६.२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा २४.२ प्रतिशत वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । गत असारसम्ममा ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ रहेको छ । वि.सं २०८० असारसम्ममा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । १० महिनामा २८ प्रतिशत बढेको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । १२ खर्ब रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो । व्यापार घाटामा कमी आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आएर ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११९ अर्ब ६० करोड बराबरको भएको थियो । सरकारको खर्च साढे १० खर्ब दश महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो दश महिनामा १५.३ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड, पँुजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ९२ अर्ब ४५ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ९३ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको छ ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध १४ लाख ५१ हजार पाँच सय ५१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।

छोटो समयमा चर्चा बटुलेको श्री केश तेलको गुणस्तरमाथि प्रश्न

काठमाडौं । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लाे समय भने विभिन्न आलाेचना खेप्दै आइरहेकाे छ । कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हाे । यो तेलको प्रयोगले कपाल बढी झर्ने गरेको भन्दै प्रयाेगकर्ताहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा विरोध भएपछि सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले पत्रकार सम्मेलेन गरेर आफ्नाे बचाउ गरेकाे छ । सोमबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलन गर्दै कम्पनीले सामाजिक सञ्जालमा तेलप्रति नकरात्मक टिप्पणी आएकाले तेलको गुणस्तरमा जानकारी गराएको हो । नेपालको सरकारी नीतिमा रही नेपालमै पाइने कच्चा पदार्थ र जडीबुटीहरू प्रयोग गरेर बनाइएको तेलले कुनै हानी नगर्ने कम्पनीकाे दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले विभिन्न अध्ययन अनुसन्धान गरे नेपालका हिमाली क्षेत्रमा पाइने जडीबुटीहरूबाट बनाइएको यो तेलले कपाललाई पोषण बनाई सुरक्षित राख्ने बताए । आफ्नो देशमै केही गर्छु भन्ने उद्देश्य काम गरिरहेको बताउँदै उनले नागरिकको हितमा गर्न नमिलने काम आफू र आफ्नो कम्पनी नगर्ने अठोट पनि गरेका छन् । कार्यक्रममा बोल्दै सप्तऋषि आयुर्वेद क्लिनिकका चिकित्सक डा सविन दावाडीले तालुपना जेनिटिक हुने भएकाले यो सधैभरि रहने बताए । यसको सुरक्षाका लागि व्यक्ति आफैंले नै केयर गर्नुपर्ने भएकाले यो तेलले केही मद्दत गर्ने भन्दै उनले याे तेल सबैका लागि उपयुक्त नहुने पनि दाबी गरे । ‘व्यक्ति पिच्छेको स्वास्थ्य फरक हुन्छ’, उनले भन्छन्, ‘कसैको कपाललाई त्यही जडीबुटीले राम्रो गर्छ भने कसैलाई त्यसैले नै नराम्रो गर्न सक्छ, तर यो तेलको प्रयोगले कपाललाई नोक्सान भने गर्दैन ।’  यो तेल नेपालका जंगलमा पाइने विभिन्ने ३५ प्रकारका जडिबुटीबाट बनाइएको  उनकाे भनाइ छ । कपाल झर्ने समस्या सामान्य र जेनेटिकमात्र नभइ भित्रको आन्तरिक रोगको कारण हुने भएकाले यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्ने  डा. दावाडीकाे सुझाव छ । सप्तऋषि ओयल एण्ड कस्मेकि इण्डष्ट्रीले सयौँ नगरिकलाई रोजगार उपलब्ध गराएको बताउँदै प्रबन्ध निर्देशक बुढाथोकीले आगामी वर्ष ५० हजार नागरिकलाई रोजगारी दिने गरेर योजना बनाए काम गरिरहेको दाबी गरे ।

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकाे सहकार्यमा करिब ६,००० रूखहरू राेपेकाे छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । बैंकले सोही दिवसमा आफ्नो एभाेडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ९ विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको जनाएकाे छ। यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।