विकासन्युज

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिटान्स सम्झौता

काठमाडौं । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ । यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय बिप्रेषण सेवा प्रदान हुने बिश्वास कम्पनिले लिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा १०० रूपैयाँसम्म बोनस पाउन सकिने कम्पनीले जनाएको छ ।

सन्धिखर्क-तम्घास १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहेका छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३ वटा ३३ केभीका र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रुपमा विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रुपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने बताए । ‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ’, उनले भने । ‘सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेण्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरु पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रङ्क लाइन हो ।’ बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घार्खाची र गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेज समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । बुटवलबाटभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भएता गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिंदा लाइन छोटो हुनेहुँदा त्यस क्षेत्रको विद्युत् आफूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन् । दुवै सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा छ । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए । उनले तम्घास– पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रुख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको उल्लेख गरे । यसले गर्दा पाउदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख चौधरीले बताए । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरु गरिएको थियो । उक्त प्रसारण लाइनमा जोड्ने गरीे निजी क्षेत्रका ७ वटा जलविद्युत आयोजनाहरुसँग १३० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएको छ ।

श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान, बुद्ध एयरको एकाधिकार तोडियो

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो । श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ । श्रीको परीक्षण उडान समापनसँगै नियमित उडानको बाटो खुलेको छ। योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकलाई टिकटमा १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले जनाएको छ ।

अर्बसम्म तलब खाने राजा, कुन देशका राष्ट्र प्रमुखको तलब कति ?

काठमाडौं । खाडी देशहरूले आफ्नो तेल भण्डारको आधारमा उल्लेखनीय प्रगति गरेका छन् । यी देशहरूको प्रतिव्यक्ति आयको हिसाबले पनि उल्लेखनीय प्रगति छ । विश्वमा सबैभन्दा बढी वार्षिक तलब पाउने राष्ट्र प्रमुखको सूचीमा यी देशका राष्ट्र प्रमुखहरू शीर्ष तीनमा छन् । चाखलाग्दो कुरा के छ भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपतिको तलब यी देशभन्दा निकै कम छ । योसँगै चीनका राष्ट्रपतिको तलब भारतका प्रधानमन्त्रीको भन्दा निकै कम छ । आर्थिक संकटसँग जुधिरहेका पाकिस्तानका प्रधानमन्त्री र अर्जेन्टिना र भेनेजुएलाका राष्ट्रपतिको तलब पनि चीनका राष्ट्रपतिभन्दा बढी छ । विश्व जनसंख्या समीक्षाका अनुसार साउदी अरेबियाका राजाले विश्वमा सबैभन्दा बढी तलब पाउँछन् । उनको तलब ९.६ बिलियन डलर छ । दोस्रो नम्बरमा युएईका राष्ट्र प्रमुख छन् । उनको वार्षिक तलब ४ अर्ब ६१ करोड डलर छ । कुवेत यस सूचीमा तेस्रो नम्बरमा छ, जहाँ यसको राष्ट्र प्रमुखले वार्षिक १६५ मिलियन डलर पाउँछन् । मोनाकोका राज्य प्रमुखको वार्षिक तलब ५.२ करोड डलर छ । यसपछि नर्वे ३.३ करोड डलर, स्वीडेन १.६ करोड डलर, डेनमार्क १.१ करोड डलर, नेदरल्याण्ड ६० लाख डलर र जापानका राज्य प्रमुखले ३० लाख डलर पाउँछन् । युरोपेली देश स्विट्जरल्याण्डमा राष्ट्र प्रमुखले ५ लाख ७ हजार र आयरल्याण्डका राष्ट्र प्रमुखले ४ लाख १ हजार डलर पाउँछन् । अमेरिकाका राष्ट्रपतिलाई विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ तर उनको वार्षिक तलब ४ लाख डलर छ । यसपछि अष्ट्रेलिया ३ लाख ७८ हजार डलर, स्पेन ३०४ हजार डलर, क्यानडा २ लाख ९० हजार डलर, इटाली २ लाख ७५ हजार डलर, जर्मनी २ लाख ६८ हजार डलर, दक्षिण कोरिया २ लाख ११ हजार डलर, टर्की १ लाख ९७ हजार डलर रहेका छन् । यस्तै फ्रान्स १ लाख ९४ हजार डलर, चेक १ लाख ४९ हजार डलर, फिनल्याण्ड १ लाख ४१ हजार डलर र ब्राजिलका राष्ट्र प्रमुखले १ लाख २ हजार डलर पाउँछन् । विश्व जनसंख्या समीक्षाका अनुसार भारतका प्रधानमन्त्रीले वार्षिक ८४ हजार डलर अर्थात करिब ७० लाख ७ हजार ९ सय ३१ रुपैयाँ पाउँछन् । पाकिस्तानका प्रधानमन्त्रीको वार्षिक तलब ६५ हजार डलर छ भने चीनका राष्ट्रपतिको वार्षिक तलब २२ हजार डलर छ । त्यस्तै, बंगलादेशका प्रधानमन्त्रीको वार्षिक तलब १७ हजार डलर र श्रीलंकाका राष्ट्रपतिको तलब ७ हजार डलर रहेको छ । एजेन्सी

माछापुच्छ्रे बैंकले पुष्करणी परोपकार गोकुलधाम र बसन्त माविलाई गर्यो सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाका लागि बैंकले सो सहयोग गरेको हो । असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका थिए । यसैगरी, बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । असार ५ गते बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त

काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड) ले ग्रीनप्रो प्रमाणपत्र पाएको छ । वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको रहेकै कारण प्रमाणपत्र पाइएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ र सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरले कम्पनीलाई प्रमाणपत्र दिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने कम्पनीले जनाएको छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीले जनाएको छ । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ भने स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्नेछ । पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ ।

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । अहिले राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसका लागि दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् । निक्षेप संकलन परिपक्वता वा साँवा ब्याज भुक्तानी आउँदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुने बताइएको छ ।