पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त
काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड) ले ग्रीनप्रो प्रमाणपत्र पाएको छ । वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको रहेकै कारण प्रमाणपत्र पाइएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ र सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरले कम्पनीलाई प्रमाणपत्र दिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने कम्पनीले जनाएको छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीले जनाएको छ । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ भने स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्नेछ । पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ ।
तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । अहिले राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसका लागि दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् । निक्षेप संकलन परिपक्वता वा साँवा ब्याज भुक्तानी आउँदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुने बताइएको छ ।
मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ । वित्तीय परामर्श अन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरफेर जस्ता सेवाहरु उपलब्ध गराउने छ ।
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ४ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापकहरूले उक्त सेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।
शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले समझदारीमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईकोमा १०प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।
ट्रयाक खुलेको १८ वर्षपछि एक करोडमा ग्रामीण सडक कालोपत्र गरिँदै
ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए । उनले भने, ‘यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुशी छौँ ।’ यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ । रासस
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम संस्थाको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट डिबेन्चर संख्या २ लाख ६० हजारको १००० रुपैयाँ प्रति दरले २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरेको छ । ८ वर्षे अवधि रहने सो डिबेन्चर २ लाख ६० हजार संख्याको प्रति इकाई १००० रुपैयाँको रहने र व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने कम्पनीकी सुचना अधिकारी अर्चना प्रधानले जानकारी दिइन् । यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।
बागमती प्रदेशसभा : आजदेखि बजेटमा छलफल
बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।