विकासन्युज

हिमालयन एभरेष्टको सीईओ बन्न दर्जन व्यक्ति लाइनमा, असुरक्षा सबैको चिन्ता

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यही असार १३ गतेदेखि लागु हुने गरी विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गर्यो । त्यसपछि कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले आफ्नै नातेदार अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका छन् । श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् । तर, कम्पनीले उनलाई सीईओको जिम्मेवारी दिने छाटकाँट भने छैन । किनकि श्रेष्ठलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिएन, निमित्त सीईओको जिम्मेवारी मात्र दियो । स्रोतका अनुसार श्रेष्ठलाई सीईओ बन्ने चाहाना पनि छैन । तत्कालीन सीईओ विजयबहादुर शाहले कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठलाई खुसी बनाउन नातेदार श्रेष्ठलाई डेपुटी सीईओमा नियुक्त गरेका थिए । नयाँ सीईओको खोजी कम्पनीको अध्यक्ष श्रेष्ठ आफै बीमा बुझेका व्यक्ति हुन् । लगानीकर्ता आफै कार्यकारी प्रमुख हुन रोक लगाउनुपूर्व उनी तत्कालीन हिमालयन जनरल इन्स्योरेन्समा कार्यकारी प्रमुख नै थिए । उनले कम्पनी व्यवस्थापन पनि जानेका छन् । त्यसैले उनका अगाडि जो कोहीलाई काम गर्न गाह्रो छ । त्यसको प्रमाण उनैले दिइसकेका छन् । तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ सुशील बज्राचार्यलाई कार्यकाल पूरा नहुँदै छोड्न बाध्य पार्नु र विजयबहादुर शाहलाई कार्यकाल पूरा नहुँदै बर्खास्त गर्नु महेन्द्रको अण्डरमा जो कोहीलाई काम गर्न गाह्रो छ भन्ने उदाहरण हो । अचानक बर्खास्तमा परेका विजयबहादुर शाहले बीमा प्राधिकरणमा न्याय माग्दै निवेदन दिएका छन् । प्राधिकरणबाट नसल्टेमा उनी अदालत पनि जान सक्ने जानकारहरू बताउँछन् । यो प्रक्रिया किनारा नलाग्दै कम्पनीले नयाँ सीईओ नियुक्ति गर्न कठिन हुन्छ । यद्यपि, कम्पनीले नयाँ सीईओ कसलाई बनाउला भन्ने अड्कलबाजी सुरु भएको छ । ‘शाहको मुद्दामा किनारा लागेको छैन, त्यसैले अहिले नै को सीईओ बन्छ भनेर विश्लेषण गर्नु हतार हुन सक्छ,’ कम्पनीको सीईओ बन्ने लाइनमा रहेका एक पूर्वसीईओले भने, ‘प्राधिकरणले नै शाहलाई कम्पनीको सीईओमा कायम राख्न निर्देशन दिन सक्छ, तर उनी धेरै दिन बस्दैनन् होला, त्यसपछिको लबिङ गर्ने बाटो छँदैछ ।’ बर्खास्तमा परेका विजयबहादुर शाहका कति गल्ती, कमजोरी छन् ? भन्ने विषय सार्वजनिक भएका छैनन् । तर, हिमालयन एभरेष्टकाे सञ्चालक समितिले गरेको बलण्डर सबैको सामु छर्लङ्ग छ । सीईओ शाहलाई सफाइको मौका नदिई बर्खास्त गर्नु सञ्चालक समितिको बलण्डर थियो । त्यसैका आधारमा शाहले नियामक वा न्यायिक निकायबाट पुर्नबहाली प्राप्त गर्नसक्ने सम्भावना छ । शाह न्यायिक निकायको निर्णयका आधारमा फर्किए भने पनि उनी उक्त कम्पनीमा लामो समय रहने सम्भावना कम छ । त्यसैले कम्पनीमा नयाँ सीईओको खोजी हुनु स्वभाविक हो । को-को छन् लाइनमा ? कम्पनीको सीईओ बन्न बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसहित पूर्वसीईओ समेत आकांक्षी देखिन्छन् । विभिन्न कम्पनीमा हाल कार्यरत नायब प्रमुख कार्यकारी अधिकृतहरू पनि सीईओको प्रस्ताव आएमा आफू तयार रहेको स्वीकार गर्छन् । तर, हालसम्म त्यस्तो प्रस्ताव नआएको उनीहरूको भनाइ छ । राजुरमण पौडेल बीमा प्राधिकरणको कार्यकारी निर्देशकबाट ७ वर्षे कार्यकाल पूरा गरी हालसालै अवकाश पाएका राजुरमण पौडेल हिमालयन एभरेष्टको सीईओ बन्ने प्रबल दाबेदार हुन् । र, यदि उनले चासो दिएमा सम्भावना पनि बलियो रहेको देखिन्छ । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा कार्यरत पौडेलले गत जेठ १२ गते अवकाश पाएका थिए । पौडेलले आफूलाई हालसम्म सीईओ बन्नका लागि कुनै प्रस्ताव नआएको बताए । तर, यदि प्रस्ताव आएमा छलफल गरेर अघि बढ्ने उनको भनाइ छ । सुशील बज्राचार्य साविक हिमालयन जनरल इन्स्योरेन्स (हाल हिमालयन एभरेष्ट) का पूर्वसीईओ सुशील बज्राचार्य पनि सीईओ बन्न लबिङ गरिरहेको बुझिएको छ । वि.सं २०७६ साउन १ गते साविक हिमालयन जनरलको सीईओमा दोस्रोपटक ४ वर्षका लागि नियुक्त भएका थिए । दोस्रो कार्यकालको डेढ वर्ष अगावै वि.सं २०७८ माघ मसान्तमा कम्पनीबाट विदा पाएका बज्राचार्य अहिलेसम्म खाली छन् । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले विजयबहादुर शाहलाई सीईओ बनाउनैका लागि बज्राचार्यलाई बिदा गरेका थिए । आफ्नो अगाडि एसम्यान बन्ने बज्राचार्यलाई अध्यक्ष महेन्द्रले पुनः फर्काउन सक्ने जानकारहरू बताउँछन् । ‘कम्पनीमा ठूलो समस्या दखिँदैन, अध्यक्षले जे भन्यो त्यही नमानेकोले सीईओबाट शाहलाई हटाएको जस्तो देखिन्छ, अब पहिलाको एसम्यानलाई ल्याउन सक्छन् श्रेष्ठले,’ अध्यक्षलाई नजिकबाट चिन्ने एक जना लगानीकर्ताले भने । कमल गौतम हिमालयन एभरेष्ट इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बाट राजीनामा दिएर बिदा भएका कमल गौतम सीईओमा फर्कन सक्ने अनुमान पनि धेरैको छ । मर्जरपूर्व एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ता, मुलतः राजेन्द्र खेतान समूहले गौतमलाई फर्काउन चाहेका छन् । मर्जरपछि सीईओ छोडेर सिनियर डीसीईओ भई काम गर्न तयार भएका गौतमलाई पहिला राजीनामा दिन बाध्य पार्नु र गौतमलाई राजीनामा दिएको ४ महिना नबित्दै शाहलाई बर्खास्त गर्नुलाई अध्यक्ष श्रेष्ठको योजनाबद्ध र सिलसिलेबार निर्णय भएको पनि खेतान समूहको बुझाइ छ । ‘शाहलाई बिदा गरेपछि सीईओमा गौतमको दाबी नहोस् भन्नका लागि पहिले नै गौतमलाई राजीनामा गर्न बाध्य पारिएको जस्तो देखिन्छ, त्यसैले अध्यक्ष श्रेष्ठले गौतमलाई सीईओमा फर्काउने सम्भावना कम भयो,’ खेतान समूहका एक सदस्यले भने । गौतमले रुग्ण अवस्थामा पुगेको एभरेष्ट इन्स्योरेन्सलाई राम्रो अवस्थामा पुर्याएका थिए । त्यसैले खेतान समूह वा तत्कालीन एभरेष्टका सेयरधनी तथा कर्मचारीहरू गौतमलाई फर्काउन चाहन्छन् । रमेशकुमार भट्टराई रमेशकुमार भट्टराई पनि हिमालयन एभरेष्टको सीईओ बन्न लबिङमा रहको स्रोतले बतायो । भट्टराईले साविक यूनाइटेड इन्स्योरेन्समा कायमुकायम सीईओ भएर काम गरिसकेका छन् । पछि उनी लुम्बिनी जनरल इन्स्योरेन्समा डेपुटी सीईओ भएका थिए । तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्समा मर्ज हुने भएपछि उनी बाहिरिएका थिए । कुमारबहादुर खत्री साविक अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री पनि यस कम्पनीको सीईओ बन्ने लाइनमा छन् । साविक अजोडमा दुई कार्यकाल सीईओ बनेका खत्री मर्जरपश्चात् यूनाइटेड अजोडमा वरिष्ठ डीसीईओ बनेका थिए । मर्जरपश्चात् विवाद सिर्जना भएपछि खत्रीले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपनि हिसाब फरफारकको पत्र भने पाउन सकेका छैनन् । कम्पनी स्रोतका अनुसार खत्रीको लेनदेनको काम बाँकी छ । र, अरु पनि विभिन्न कम्पनीका डेपुटी सीईओहरूको पनि ध्यान हिमालयन एभरेष्टको रिक्त सीईओ पदमा पुगेको छ । सम्बन्धित कम्पनीमा भएको जागिर धरापमा पर्ने भएकाले उनीहरूको नाम उल्लेख गर्नु उपयुक्त भएन । तर, उनीहरूले विभिन्न विधिबाट लविङ सुरु गरिरहेका छन् । उनीहरूको लागि मुख्य चिन्ताको विषय भनेको सुशील बज्राचार्य र विजयबहादुर शाहलाई जस्तै आफूलाई पनि कार्यकाल पूरा नहुँदै कम्पनीले जागिरबाट हटाउने हो कि भन्ने रहेको छ ।

सोह्रखुट्टे-बालाजु सडक भासियो

 काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

काठमाडौं । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाएका छन् । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध जनाएका हुन् । उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि बैठकले उनको प्रस्ताव अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै, बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् । असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओ पदमा पुन: नियुक्त गरिएको कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।

बेँसीसहर-चामे सडक खुल्यो

फाइल फाेटाे लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मंगलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्डिङ क्याम्पियन: ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उनलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ । जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

नेशनल लघुवित्त ११औं वर्षमा प्रवेश, २१ अर्बको लगानी

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले मंगलबारबाट आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिई वार्षिक उत्सव मनाईएको थियो । संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २७ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी उनीहरूलाई २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव ६ अर्ब रुपैयाँ बचत परिचालन गरेको छ । गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, डिजिटल बैकिंङ (मोवाईल बैकिङ, एस.एम.एस. बैकिङ, टयावलेट बैकिङ) सेवा उपलव्ध गराउदै आएको साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिदै आएकोमा अवका दिनमा पनि यी कुरालाई उच्च प्राथमिकतामा राखी अगाडी वढने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । संसद्मा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ । कांग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ ।