विकासन्युज

यस्तो छ केन्द्रीय समितिमा रविले पेस गर्ने नदिएको ढकालको प्रस्ताव (पूर्णपाठ )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्ने सूची थियो । तर, महासचिव ढकालले आफ्नो प्रस्तावमा ‘रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ’ भनेर लेखेपछि सभापति रवि लामिछानेले उक्त प्रस्ताव बैठकमा पेस गर्न रोकेका थिए । सभापति लामिछानेले प्रस्ताव पेस गर्न रोकेपछि महामन्त्री ढकाले मिडियामार्फत उक्त प्रस्ताव सार्वजनिक गरेका छन् । यस्तो छ ढकालको प्रस्ताव [pdf id=494828]

भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचार नियन्त्रण गर्न सबैभन्दा बलियो कानुन कांग्रेसले बनाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्। बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् । भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिँदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिए । शर्माले एमालेसँग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दाबी गरे । उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सबै दलहरूसँग छलफल र सहकार्य गर्ने बताए ।

मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ । गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्यांक छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ । मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्यांक आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको छ । विपद्ले ल्याउने स्वास्थ्य समस्या  वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्षा ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ । बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ । पानीजन्य रोगहरू रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ । पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ । वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ । लामखुट्टेजन्य रोगहरू  वर्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ । वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ । मनसुनजन्य विपद तयारी र प्रतिकार्य  उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ । पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् । अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ । रासस (लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुन् )

एसईई पूरक परीक्षाबाट कलेजहरू उत्साहित, बिजनेस बढ्ने अपेक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थी कम पास हुँदा माध्यमिक तहमा पढाइ हुने विद्यालय तनावमा परे । सरकारी विद्यालयलाई तनाव नभए पनि निजीबाट चलाएका स्कुलका सञ्चालकलाई छटपटी नै भयो । ब्याचलर्स तहमा विद्यार्थी नपाउँदा छटपटाइरहेका निजी कलेजलाई एसईईको नतिजाले ठूलै झट्का लाग्यो । प्लसटु तहमा विद्यार्थी पाइरहेका निजी कलेजलाई विद्यार्थी कसरी पुर्‍याउने पीर परेको छ । नियमअनुसार कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि ३६ जना विद्यार्थी अनिवार्य हुनुपर्छ । यसमा पनि विद्यार्थीको रुचि कुन कलेजमा पर्छ त्यसमा भर पर्छ । विद्यार्थीलाई आफ्नो कलेजमा तान्न अहिले निजी कलेजले व्यपक प्रचार/प्रसार समेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा सूचनाहरू छ्याप्छ्याप्ती देख्न सकिन्छ । राष्ट्रिय परिक्षा बोर्डले २०८० सालमा लिएको एसईई परीक्षा नतिजा प्रकाशन गर्दा आधाभन्दा कम विद्यार्थीमात्र कक्षा ११ पढ्न योग्य भएका छन् । ११ कक्षा पढ्ने विद्यार्थीको संख्या घटेसँगै निजी कलेज विद्यार्थी तान्न दौडधुपमा लागेका छन् । २०८० सालमा लिइएको एसईई परिक्षा दिने विद्यार्थीको संख्या ४ लाख ६४ हजार ७ सय ८५ थियो । तीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८७ प्रतिशत विद्यार्थीमात्र पास भए । २ लाख ४२ हजार ३ सय १३ अर्थात (५२.१३) विद्यार्थी फेल भए । पास भएका २ लाख २२ हजार ४ सय ७२ विद्यार्थी नेपालमा रहेका ४ हजार ८ सय २० माध्यमिक विद्यालयलाई भाग लगाउने हो भने एक स्कुलको भागमा ४६ विद्यार्थी पर्छन् । पास भएका विद्यार्थी सबै कक्षा ११ मा भर्ना हुन्छन् भन्ने छैन । एसईईमा पास भएका धेरै विद्यार्थीको आकर्षण प्राविधिकतर्फ बढी छ । इन्जिनियरिङ, स्टार्फ नर्स, अनमी, एचए लगायतका कोर्सहरू अध्ययन गर्ने जमात ठूलो छ । विद्यार्थी प्राविधिक क्षेत्रमा जाँदा पनि कलेजलाई झन तनाव परेको हो । मन्त्रालयको नयाँ निर्णय आधाभन्दा बढी अथवा ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल हुँदा अहिले नेपालको शिक्षा प्रणाली माथि नै प्रश्न उठ्न थालेको छ । सर्वत्र एसईईको नतिजाको तरंग फैलिरहेको बेला शिक्षामन्त्रालयले भने फेल भएका अथवा ननग्रेड ल्याएका विद्यार्थी सबैलाई फेरि परिक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दुई विषय लागेका विद्यार्थीमात्र नभइ ७ वटै विषयमा फेल भएका र एसईईमा फारम भरेर पनि उपस्थित हुन नसकेका विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने भनेकी छन् । यसका लागि लेटर ग्रडिङ निर्देशिका परिवर्तन गर्ने तयारी पनि मन्त्रालयले गरेको छ। सो निर्देशिकामा यसअघि दुई विषयमा एनजी अथवा फेल हुने विद्यार्थीलाई मात्र नतिजा सार्वजनिक भएलगत्तै परीक्षा दिन पाउने व्यवस्था थियो। सोही व्यवस्थाअनुसार राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा फेल भएका विद्यार्थीलाई मात्र परीक्षा दिन पाउने गरी साउन १८र १९ गते मौका परीक्षा लिने भनेको थियाे । फेरि त्यसकाे मिति परिवर्तन गरेर साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा हुने भनेर परीक्षा पूरक तालिका सार्वजनिक गरेकाे छ । जसमा सबै विद्यार्थीलाई सहभागी गराउने शिक्षा मन्त्रालयकाे निर्णय छ । अब यसलाई हटाएर दुईभन्दा बढी विषय लागेका विद्यार्थीहरूले पनि परीक्षा दिन पाउनुपर्ने गरी ग्रेडिङ निर्देशिका संसोधन गर्न लागिएको हो । निजी कलेजलाई राहात महसुस शिक्षा मन्त्रालयको यो निर्णयलाई धेरैले स्वागत योग्य निर्णय पनि भनेका छन् । शिक्षाविद् डा. विष्णु कार्की शिक्षामन्त्रीले फेल भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने कदम सकरात्मक भएको बताउँछन् । उनी कुनै पनि विद्यार्थीलाई फेल गराएर विद्यार्थीको मूल्यांकन गर्ने अधिकार कसैलाई नभएको भन्दै अब पास फेल बनाउने प्रणाली नै हटाउनुपर्ने बताउँछन् । ‘अहिले जति विद्यार्थी फेल भएका छन् यसमा कसैको दोष छैन,’ उनी भन्छन्,‘यसमा दोष भनेको हाम्रो शैक्षिक प्रणालीकाे हो, अब यो पास फेल बनाउने नियम नै हामीले हटाउनुपर्छ ।’ उनी कुनै पनि विद्यार्थीको पढ्ने र बुझने शैली फरक हुने बताउँदै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताउँछन् । शिक्षा मन्त्रालयको यो निर्णयले फेल भएका विद्यार्थीलाई भने ठूलो राहात मिलेकाे छ । जति राहात विद्यार्थीलाई मिलेको छ त्योभन्दा ठूलो राहात निजी कलेज सञ्चालकलाई मिलेको छ । विद्यार्थी नपाएर तनावमा परेका कलेज फेरि परीक्षा हुँदा विद्यार्थी पाउने आशामा छन् । इम्पेरियल कलेजका प्रधानाध्यापक प्रताप शाक्य मन्त्रालयको निर्णयले निजी कलेजलाई राहत मिलेको बताउँछन् । उनी कलेजलाई सेवामुलकभन्दा व्यावसायिकरूपमा लिइरहेकाहरू एसईईको नतिजाले छटपटाइरहेका बेला मन्त्रालयको निर्णयले थोरै भए पनि राहात महसुस गरिरहेको उनले बताए । खुलस्तरूपमा भन्न नसके पनि यो नतिजाले निजी कलेजलाई झट्का लागेको थियो । अबको परीक्षामा विद्यार्थीले मिहिनेत गरे विद्यार्थी खोज्न नपर्ने बताउँछन् । अपरिपक्क निर्णय शिक्षा मन्त्रालयले गरेको निर्णयमा विज्ञहरूकै मत विभाजित भएको छ । कतिपयले स्वागत योग्य निर्णय भने पनि कतिपयले भने यो निर्णयले झन समस्या बल्झाउने बताएका छन् । शिक्षाविद् विद्यानाथ कोइराला दुई विषयभन्दा बढी लागेका विद्यार्थी र अनुपस्थित विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने गरी गरिएकाे निर्णय तत्कालका लागि राम्रो भए पनि पछिका लागि राम्रो नहुने बताउँछन् । उनी यसले समस्या समाधान नगर्ने बताउँछन् । एसईई पास भएका विद्यार्थीहरू अहिले धमाधम कक्षा ११ मा भर्ना हुँदैछन् । अब साउनदेखि आर्थिक वर्षसँग उनीहरूको पढाइ सुरु हुन्छ । कोइराला सबै जिल्लामा फेरि परीक्षा सञ्चालन गर्दा नतिजा सार्वजनिक गर्न पनि समय लाग्ने भएकाले पढाइमा समेत बाधा पर्ने बताउँछन् । फेल भइसकेका विद्यार्थीहरूलाई पास गराउने गरी परिक्षा लिनु गलत हुने कतिपयको भनाइ छ ।

हेटौँडामा नमूना सडक बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उनले बताइन् । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए । संघीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए । रासस

मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले आग्रह गरेको छ । बुधबार बिहान बसेको कांग्रेस मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’ बैठकले कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी महतले दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए । त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको कांग्रेसले जनाएको छ ।

३ अर्बको लागतमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिए । पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उनले बताए । निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ । प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौंस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो । भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताए । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ । तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् । सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उनले बताए । प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनाल भन्छन् । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ । तीन अर्ब रुपैयाँ लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्यांक निर्माण गरिनेछ । भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उनले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिए । परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रासस

सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका कर्मचारीहरूले मन्त्रालयमा धर्ना दिएका छन् । बुधबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए । उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको जानकारी दिए । ‘हामीले यो आन्दोलन १४ गतेदेखि शुरु गरेका हौँ, यो हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो, संघमा संख्या १० र समायोजन २० गरेजसरी बढी संख्यामा समायोजन गरेको थियो, दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हाैँ, हामी सबै अधिकृतहरुले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ’, उनले भने । उनले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरू बिदामा बसेको पनि बताए ।