विकासन्युज

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा केही एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ । छनोट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको थियो । यस्तो कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ । साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको थियो । उक्त तालिममा गैरकानुनी आम्दानी र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल्ली गराउनु यो एपको उद्देश्य हो । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउँछन् । भौतिक कारोबार कम गर्न यस एपले पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सक्नुहुन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उनले भने, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’

आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट गरेको छ । उक्त भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । ‘महासंघको आग्रहमानया चरणको सुधारकालागिआयोग गठन हुनु सकारात्मक छ’, उनले भने । यसैगरी निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्यालसमक्ष अध्यक्ष ढकालले आग्रह गरे । यसैगरी सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको उनले औँल्याए । निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेकोतर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे । भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउनेसम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिवअर्यालसंग भेट गरेको हो ।

अस्ट्रेलियामा तीव्र हावाका कारण हजारौँ बिजुलीविहीन

काठमाडौं । अस्टेलियाको दक्षिणपूर्वी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।  यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् । अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ । मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आकलन गरेको छ । बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ । भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताएका छन् । आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने  टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।

नाडा अटो शोको ‘ह्याप्पी इन्डिङ’, १५ अर्बको कारोबार

काठमाडौं । अटो व्यवसायीहरूकोे कुम्भ मेलाका रूपमा परिचित नाडा अटो शो २०२४ समापन भएको छ । करिब एक सातासम्म चलेको अटो शो आइतबार समापन भयो । यस पटकको नाडा अटो शोमा ८० प्रतिशत विद्युतीय गाडी (ईभी)को बाहुल्यता देखियो । ईभीमा पनि चिनियाँ गाडीको दबदवा रह्यो । अटो शोमा हजारभन्दा धेरैले अवलोकन गरेको नाडा अटो शोले जानकारी दिएको छ । ६ दिनको अवधिमा १५ अर्ब रुपैयाँबराबरका सवारी साधनहरू बुकिङ भएको नाडाले जानकारी दिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ६ दिनमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको र करिब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए । उनका अनुसार ३ हजार ६ सय चार पाँग्रे र ६ सय दुई पाँग्रे सवारी साधन बुकिङ भएका छन् । आयोजकले यस वर्ष २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको भएपनि १५ अर्ब रुपैयाँबराबर कारोबार भएको हो । उनले नाडामा बुकिङ भएका अधिकांश सवारी साधन विद्युतीय रहेको बताए । नाडा अटो शोमा नयाँ सवारी साधन खरिद गर्न चाहनेका लागि बैंकहरुले ८० प्रतिशतसम्म ऋण समेत उपलब्ध गराएका थिए । विभिन्न ७ वटा बैंकको नाडामा स्टल रहेको थियो । बैंकहरूले उपलब्ध गराएको तथ्यांकअनुसार दुई हजार बढी जनाले गाडी खरिदका लागि नाम टिपाएका छन् । यो अवधिमा ८२ हजार जनाले नाडा अटो शो अवलोकन गरेका छन् । शनिबार मात्रै साढे १८ हजार जनाले नाडा अटो शो अवलोकन गरेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन त्यसको दोब्बर र तेस्रो दिन १७ हजार मानिसले अटो शोको अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार जनाले अवलोकन गर्न सक्ने अनुमान गरे पनि अवलोकनकर्ताको संख्या अनुमानभन्दा ७ हजारले बढेको हो नाडा अटो शो हेर्न नेता, राजदूत, कलाकार, पत्रकार, उद्योगी र सर्वसाधारणहरूको भीड थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमेतले नाडा अटो शोको अवलोकन गरेका थिए । कुन गाडी कति बुकिङ ? कम्पनीहरूले सवारीसाधन बुकिङ सम्बन्धमा आ–आफ्नै दाबी गरेका छन् । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको बताएको छ । त्यस्तै, एमएडब्लू वृद्धि अटोकर्पले नामी इभी ७१७ वटा गाडी बुकिङ भएको बताएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदीले पन्च ईभी ४७५ र टियागो ईभी १६९ वटा बुकिङ गराएको दाबी गरेको छ । जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२३ युनिट गाडी बुकिङ भएको दाबी गरेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १५० गाडी बुकिङ भएको बताएको छ । नेटा ४०, रिडारा २०, एक्स्पेङ ९, आयोन १६, लिपमोटर सी १० को १७६, काइयी ४०, किङलङ १५ र केवाइसी २५ र स्काइवेलको गाडी १२६ वटा बुकिङ भएको दाबी गरेको छ । यस पटकको नाडा अटो शो सफल भएको दाबी नाडाले गरेको छ । नाडा अटो शोमा उत्कृष्ट चार पाँग्रे सवारी साधनको स्टल सीजी मोेटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाँग्रेतर्फको स्टल बैैद्य इनर्जी प्रालिको एथेरले जितेको छ । लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लूले जितेको छ भने बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।

तारा एयरले मंगलबारदेखि पुनः पोखरा-जोमसोम उडान गर्ने, असोजदेखि रामेछाप-लुक्ला उडान नियमित

काठमाडौं । मंगलबारबाट तारा एयरले नियमित उडान गर्ने भएको छ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित डान ताराले पुनः सुरु गर्ने भएको हो । उडान पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि ताराले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । यो सिजनका लागि ताराको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी ताराले दिएको छ । ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।

सिटिजन्स क्यापिटलको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अठारौं साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

हुलाकी राजमार्गमा नदी तर्न डुंगाकै सहारा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौदेखि यस्तै नियति दोहोरिरहन्छ । अरु समय काठेपुलको सहाराममा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षदेखि पुल निर्माण सुरु भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए तर बहुप्रतिक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूँका त्यूँ छ । यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूको लागि बर्खामा नदी वारपारको एकमात्र विकल्प डुंगा बनिरहेको छ । ‘घरमात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ । वस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक दुईपटक त आउजाउ गर्नैपर्छ । हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ,’ सिरहा नगरपालिका–६ की लिला यादवले भनिन्, ‘कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो । पुस्तौँपुस्तादेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती व्यहोर्न परेको छ ।’ दैनिकजसो डुंगाबाट नदी वारपार गर्दा पाएको हैरानी र दुःख भन्दाभन्दा अब त थाकिसकेको उनको भनाइ छ । निर्माणाधीन अवस्थामै करिब तीन वर्षअघि पुल भासिएको थियो । भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक गत वर्षदेखि झोलुङ्गे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पाएक नपरेको स्थानीयको गुनासो छ । ‘यहाँ पुल निर्माण हुनसकेको छैन । झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन । नदीमाथि पल बन्नुको विकल्प छैन’, डुंगामा मोटरसाइकल चढाएर सिरहाबाट घर फर्किंदै गरेका कमला नगरपालिका–५ धनुषाका अरविन्द पासवानले भने । मोटरसाइकल तार्न सय रुपैयाँ सिरहाको साररश्वरनाथ घाटस्थित कमला नदीमा दैनिक चारवटा डुंगा वारपार गरिरहन्छन् । स्थानीयदेखि टाढाटाढासम्मका सयौँ मोटरसाइकल यात्रु तथा पैदल यात्रुले डुंगाबाटै नदी तर्ने गरेका छन् । जसमध्ये स्थानीय मानिसहरूले मासिकरवार्षिक रूपमा केही अन्नपात डुंगा खियाउने माझीलाई बुझाउने गरेका छन् भने टाढाटाढाका यात्रुहरूले प्रतिमोटरसाइकल एक सय शुल्क तिर्ने गरेको माझी रामअवतार सहनीले जानकारी दिए । बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उनको भनाइ छ । ‘चार दशकदेखि यहाँ डुंगा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुंगा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अङ्गालिरहेका छन्’, उनी भन्छन् । बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने यहाँका माझीहरूको दिनचर्या बनेको छ । यसैमध्येका अर्का माझी हुन कमला नगरपालिका–७ का ७० वर्षीया रामसेवक सहनी । ‘के गर्नु वर्षाका दुईरचार महिना त हो डुंगा चलाउन पाउने । यही डुंगा चलाउन पनि नदीमा बाढी पर्खनुपर्छ । सानै उमेरदेखि गर्दै आएको र जानेको सीप भएकाले ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो,’ सहनीले भने । कमला नदीमा पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका माझीहरू बताउँछन् । डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर भए पनि थोरै राहत मिलेको स्थानीयको भनाइ छ । १३ वर्षदेखि पुल अधुरै हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १३ वर्षसम्म अधुरै छ । निर्माण सुरु भएको १२ वर्षपछि सञ्चालन नहुँदै तीन वर्षअघि पुलको तीनवटा पाया भासिएका थिए । विसं २०६८ मा पुल बनाउन निर्माण व्यवसायी कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ले ठेक्का पाएको थियो । तीन वर्ष ६ महिनामा कमला नदीमा चार सय ७० मिटर लम्बाइ र नौ मिटर चौडाइको पुल बनाइसक्ने सम्झौता थियो । म्याद गुज्रँदै पप्पुले सात वर्षमा पनि कमलामा पुलको निर्माण नसकेपछि हुलाकी सडक निर्देशनालयले सम्झौता तोड्दै विसं २०७८ असार १३ सम्म निर्माण सक्नुपर्ने सर्त राख्दै अर्को निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई ठेक्का दियो । लुम्बिनी बिल्डर्सले पनि समयमा काम नसकेपछि अन्तिम पटक भनेर २०७८ फागुन ३० गतेसम्म पुलको काम सक्न पुनः म्याद थपियो तर सोही वर्षको बाढीले निर्माणाधीन पुलको तीनवटा पिलर नै भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भयो । पुनः पुल बन्ने नबन्ने अनिश्चितताका बीच ०७९ चैतमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले पुलको पुनःनिर्माण तत्काल सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ठेकेदार र बीमा कम्पनीको चेपुवामा पुल निर्माण पुल निर्माणको म्याद आउँदो असारसम्मको छ तर निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले काम रोकिएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुर कार्यालयका प्रमुख कृष्ण महतोले जानकारी दिए । निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले बाढीले भासिएको पुलको बीमा रकम १२ करोड ७० लाख रुपैयाँ दाबी गरेकामा बीमा कम्पनीले एक करोड ९३ लाख मात्र दिएको भन्दै लुम्बिनी बिल्डर्सले काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेको छ’, उनले भने, ‘त्यो मुद्दा दुई वर्षदेखि विचाराधीन छ भने पुलको काम रोकिएको छ ।’ पुल निर्माणका लागि यहाँका स्थानीयले पटकपटक आन्दोलन गरे पनि सुनुवाइ हुन सकिरहेको छैन । यही बीचमा सिरहाका केही युवाले सोही क्षेत्रमा नयाँ पुलको माग गर्दै मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनसमेत बसे । मुख्यमन्त्री सतिशकुमार सिंहसँग प्रदेश सरकारले नयाँ पुल बनाउने सहमति भएपछि तत्कालका लागि अनशन तोडियो । अनसन बस्नेमध्येका सिरहा नगरपालिका–६ का वडाअध्यक्ष इन्द्रजित यादवले पुल नबन्दासम्म निरन्तर संघर्ष जारी रहने बताए । उनले भने, ‘मधेसको जीवनरेखा मानिएको कमला पुल नबन्दासम्म जीवनमरणको संघर्ष निरन्तर गरिरहने छौँ ।’