विकासन्युज

प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छन् । विद्यार्थीहरुलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क थियो । शुक्रबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिइन् । उनले खर्ब भन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि पटकपटक दोहोर्याइन् । ‘३० करोड भन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ अल्रेडी फङसनिङ अस्पताल छ, प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा संचालन गर्नेमा हामीले जोड दिनुपर्छ लागत १ खर्ब भन्दा बढी लाग्छ, प्रादेशिक अस्पताललाई हामीले मेडिकल प्रतिष्ठान बनाएपनि, मेडिकल कलेज बनाएपनि हाम्रा विद्यार्थीहरुले पढ्न पाउँछन्’, उनले भनिन् । मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर जाने कुरामा पनि सरकारले जोड दिने बताइन् ।

म्यान पावर व्यवसायीले गैरबैंकिङ च्यानलबाट वार्षिक २ खर्ब उठाइरहेका छन् : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयले विदेश जाने श्रमीकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने जानकारी दिए । नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरुले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए । विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि जानकारी दिए । ‘नेपालबाट विदेशिने तमाम नागरिकहरुको बारेमा हामीले सुक्ष्म तरिकाले अध्ययन गरेका छौँ, मेरो करिव १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ, मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरुले उठाइरहेको नेपाली नागरिकहरुसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्यांकमा पनि हामीले काम गरिरहेका छाैँ, उनले भने । मन्त्री अर्यालले श्रमीकहरुलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारीश्रमीकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।

सहरमा बास, गाउँकै खान्कीमा चाख

गलेश्वर । भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन । पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भनिन्, ‘सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जंगलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।’ लालकुमारीको असन्तोषी अभिव्यक्तिले सहरको सुविधा र गाउँको स्वादको प्रतिविम्ब झल्काएको छ । पैसा कमाएपछि र सहरमा बस्न सक्ने हौसियत बनाएपछि सुख सुविधाको खोजीमा गाउँ छोडेर सहर पस्नेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँहरु रित्ता हुँदै जान थालेका छन् । खेतबारी बाँझिदै र वनपाखा झ्यांगीदै गइरहेको अहिलेको अवस्थामा सहर पसेकाहरुको जिब्रोमा गाउँले अर्गानिक उत्पादनको स्वाद लिने चाहना भने बढ्दै गएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा बस्दै आएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी ७२ वर्षीया टीकाकुमारी थापा, मालिका गाउँपालिका–१ निस्कोट गाउँबाट १४ वर्षअघि बेनी झरेका भवहादुर पुन, देवीस्थानको रुन्माबाट झरेर दरबाङ बजारमा बस्दै आएका वीरबहादुर सिउथानी गाउँको अर्गानिक उत्पादन झिकाएर खाने गर्छन् । उनीहरु मात्रै होइन, गाउँ छोडेर सहर पसेका अधिकांश व्यक्तिको भान्छामा मौसमी गाउँले अर्गानिक खानेकुराहरु पाक्ने गर्दछ । उनीहरु भन्छन्, ‘सहरको बास भए पनि खान्कीमा भने गाउँले उत्पादनको चाख छ ।’ श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको दरबाङका व्यवसायी भरत सुवेदीले बताए । ‘पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा छ/सात जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबा–आमा मात्र भेटिन्छन्’, उनले भने, ‘घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।’ सुख र सुविधाको खोजी गर्दै सहरमा बसाइँ सरेका मान्छेहरुले गाउँको परम्परागत खान्कीलाई भने भुल्न सकेका छैनन् । ग्रामीण घरका अगेनामा पकाइने खान्की छोडेर सहर पसेकाहरु सहरका भव्य भवनका आधुनिक भान्छामा पकाइएका परिकारहरुमा गाउँले खान्कीको स्वाद खोज्न थालेपछि गाउँका खेतबारी, खोल्साखाल्सी र वन जंगलमा उत्पादन हुने अर्गानिक उत्पादनहरुको माग सहरमा बढ्दै जान थालेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘गाउँ छोडेर सहर पसेका मात्रै होइन, विभिन्न ठाउँहरुबाट म्याग्दी घुम्न आएका आन्तरिक पर्यटकहरुले समेत गाउँको अर्गानिक उत्पादन खोज्ने गरेका छन्’ अध्यक्ष श्रेष्ठले भने ‘म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँ उत्पादन हुने अर्गानिक खानेकुरा, तरकारी र फलफूलको बजारीकरणका लागि सदरमुकाम बेनी र ग्रामीण क्षेत्रमा समेत कोशेली घर सञ्चालन गरेर अर्गानिक उत्पादनहरुको खरिद विक्री हुने गरेको छ ।’ सदरमुकाम बेनीबजारमा मात्रै सातओटा अर्गानिक उत्पादनहरुको खरिद बिक्री हुने पसलहरु सञ्चालनमा छन् । त्यसैगरी पश्चिम म्याग्दीको दरबाङमा पनि अर्गानिक उत्पादनको माग बढ्दै गएपछि पसल सञ्चालन गर्नेहरु बढ्दै गएका दरबाङका होटल व्यवसायी अमृत सापकोटाले बताए । सहरको स्वादले मात्र सन्तुष्ट नहुने र गाउँले अर्गानिक उत्पादनको स्वाद बिर्सन नसकेका उपभोक्तालाई लक्षित गरी बजार र गाउँगाउँमा स्थानीय कृषि उत्पादन राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’ र ‘सौगात घर’ खोलिएका छन् । ती पसलहरुमा कृषकले फलाएका ससानो परिमाणका कृषि उपज जुटाएर बेच्न राखिन्छ । म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यान्न काठमाडौं, पोखरा, चितवनलगायतका देशभित्रका सहरमा मात्रै होइन, विदेशका भान्छाहरुमा समेत पुग्न थालेका बेनी कोशेली घरका सञ्चालक सुमन पौडेलले बताए । प्रायः सबैको रोजाइमा अर्गानिक उत्पादन पर्ने गरेका छन् । गाउँबाट सहर पसेका, पुख्र्यौदेखि सहरमै बसेका र विदेशबाट नेपाल घुम्न आएकाहरु सबैले अर्गानिक वस्तुको सोधीखोजी गर्ने र धेरैथोरै किनेर कोशेली लैजाने गरेका छन् । गाउँका किसानहरुले उत्पादन गरेका जैविक खाद्यान्न, तरकारी र जंगल तथा सिमसार क्षेत्रमा प्राकृतिक रुपमा नै उत्पादन हुने च्याउ, टुसा, मुना, निगुरो, ढकायो आदि ग्राहकहरुको रोजाइमा रहेको उनले बताए । कोसेलीघरमा मार्सी, गौरिया, गुडुरा, जेठोबूढो चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो, सातुजस्ता स्थानीय खाद्य सामग्री, लेकाली सिमी, बोडी, मुलाको जरा (सिन्धी), मूलाको गुन्द्रुक, घिउ, परम्परागत मुढेघारको मह, भीर मह, भाँगो, सिलम, जङ्गली रातो च्याउ, टुसा, निउरोको सुकुटी, ढकायोको गुन्द्रुक आदि बिक्रीका लागि राखिएको छ । मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुनका अनुसार म्याग्दीको दोवामा उत्पादन हुने ‘खैरो, छिर्केमिर्के सिमी, मुस्ताङको कालो सिमी र फापरको पिठो, तोरीपानीको टिम्मुर, रुममा उत्पादन हुने भाँगो, दोबा र बरन्जाका स्वादिष्ट बदाम, गुर्जाको रातोच्याउ र भीर मह अनि गौरिया, गुडुरा धानको चामल सहरमा बस्ने उपभोक्ताले बढी रुचाउने गरेका छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन) को जुससमेत खोजी गर्दै उपभोक्ताहरु आफ्नो पसलमा आउने गरेका उनले बताइन् । म्याग्दीमा पहिलोपटक १२ वर्षअघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो । कोसेली घर कृषकले घरमा उब्रेको थोरै कृषि उपज होस् वा कृषक समूहमा उत्पादित, फसल बजार पु¥याउने माध्यम भएका छन् । खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन, लेकाली प्राकृतिक हावापानीमा उत्पादित अर्गानिक खाद्य जे पनि बिक्री हुने व्यापारीहरु बताउँछन् । जंगलमा आँफै उत्पादन हुने  निउरो, टुसा, ढकायो र रातो च्याउ टिपेर विक्री गरी वार्षिक रुपमा एक लाख रुपैयाँ बढी कमाइ गर्दै आएकी मालिका–२ रुमकी फारु विकले यस वर्षको असार दोस्रो सातासम्म २० हजार रुपैयाँको निगुरो र टुसा बिक्री गरेको बताइन् । ‘जेठदेखि साउनसम्म जङ्गलमा निगुरो, च्याउ, ढकायो, टुसा पाइन्छ । खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने चिन्ता पनि हुँदैन । जाँगर भएपछि पैसा जंगलमा पनि फल्छ’, विकले भनिन् । अर्गानिक समान बेच्न कोसेली घर सञ्चालन म्याग्दीको सदरमुकाम बेनीमा गत सोमबारदेखि जिल्लामा उत्पादित अर्गानिक सामानको खरिद र विक्रीका लागि कोशेली घरको उद्घाटन गरिएको छ । जिल्लाका किसानहरुले उत्पादन गरेका अर्गानिक वस्तुको बजारीकरण र प्रचारप्रसारका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालन गरिएको हो । म्याग्दीको ग्रामीण क्षेत्रहरुमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नागरपालिकाले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने उनीहरुले प्रतिबद्धता समेत जनाएका थिए । म्याग्दी उद्योग वाणिज्य संघको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ, म्याग्दीका अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको पाइएको छ’ नगर प्रमुख केसीले भने । महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमाया घतानेले सञ्चालन गरेको कोसेली घरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले जिल्लाका  छ वटै स्थानीय तह र छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको जानकारी दिए । कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुरलगायत करिब सय थरिका सामान रहेको छ । त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी, बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आकर्षित गर्ने सञ्चालिका घतानेले बताए । म्याग्दीको अर्गानिक सामान (चिमखोले चोयाँको डोको, टिम्मुर, भीरमह, अल्लाका कपडालगायत) को माग विश्व बजारसम्म रहेको उनले बताए । उत्पादित वस्तुको बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्नेछ । रासस

वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए । पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने जानकारी दिए । आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताए । ‘सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्छौं’, उनले भने । अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको जानकारी दिए ।

देशका यी स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौंं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावमा छ । आगामी २४ घण्टामा सबै प्रदेशका मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

टियागो ईभी मनसुन मेला : पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । २१ असारदेखि २३ असारसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची र चाहनालाई मध्यनजर गरी थापाथली लगायत देशैभरिका शोरुममा मेला सञ्चालन हुने कम्पनीको भनाइ छ । मेलाबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउने छन् । बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने मेलामा टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाए । उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको जानकारी दिए । ‘भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ, आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ’, उनले भने । अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए । उनले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको बताए । पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताए । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको जानकारी दिए ।

कानुन विपरीत ४८ कलेज सञ्चालनमा, भर्ना नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त विश्वविद्यालयका बहुचर्चित कार्यक्रम भन्दै नेपाली विद्यार्थीलाई आकर्षण गरिरहेका नेपाली कलेज कानुन विपरित सञ्चालनमा आएको पाइएको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजहरूले चरम बेथिती निम्त्याएको पाइएको हो । यस्ता कलेजहरूबारे अध्ययन गर्न बनाइएको अध्ययन समितले बुझाएको प्रतिवेदनले कलेज नियम विपरित सञ्चालनमा आएको भन्दै बेथिती निम्त्याएको प्रतिवेदनमा उल्लेख गरेको छ । कानुनमा विश्वका उत्कृष्ट हजारभित्र पर्ने विश्वविद्यालयबाट मात्रै सम्बन्धन लिनु पर्ने भएपनि नेपाली कलेजहरूले लिएका विश्वविद्यालय हजार भित्र नपरेको पाइएको हो । पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले जेठ ३२ गते शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुझाएकोे प्रतिवेदन मंगलबार सार्वजनिक गरएको थियो । प्रतिवेदनले नेपालमा सञ्चालनमा रहेका ५९ वटा कलेज मध्ये ४८ वटा नीयम विपरित सञ्चालन भएका जनाएको हो । ती कलेजका विद्यार्थीहरूबाट चरम रकम असुलेको पनि प्रतिवेदनमा उल्लेख छ । के छ कानुनमा ? विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ ले कुनैपनि कलेजले विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन गर्दा शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमति माग गर्दा विभिन्न १३ प्रकारका कागजातहरु पेस गर्नु पर्ने लगायतका व्यवस्था छ । यस्तै, सो निर्देशिकामा निर्देशिकाले टाइम्स हायर एजुकेसन र सांघाई र्याङ्किङको उत्कृष्ट १ हजारभित्र हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै, निर्देशिकामा एउटै विश्वविद्यालयको सम्बन्धनमा एक प्रदेशमा तीन वटा भन्दा बढी संस्थालाई अनुमति नदिने, एउटा जिल्लामा दुई भन्दा बढी संस्थाको आवेदन दर्ता नगरिने एमओयूमा विभिन्न बिषयहरु खुलेको हुनु पर्ने व्यवस्था गरेको देखिन्छ । साथै निर्देशिकाले सिफारिस, अनुमति, अनुगमन, शुल्क, नवीकरण लगायतका शिक्षण कार्यक्रमका सम्बन्धमा पनि विविध प्राबधानहरू राखी शिक्षण संस्था र त्यस्ता शिक्षण संस्थाहरूबाट प्रदान गरिने शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित र नियमन गर्न समेत उल्लेख गरेको देखिन्छ । तर, नेपालमा सञ्चालन भएका कलेजहरूले निर्देशिका भएका कुनैपनि नियम पालना गरेको देखिदैन । समितिले देखाएका समस्या यस्ता कलेजहरूले विद्यार्थी र कलेज दुवैबाट शुल्क लिने गरेकाले दोहोरो शुल्कको भार परेको पाइएको छ । विदेशबाट पढेर आउने र नेपालमा पढ्ने विद्यार्थीहरुलाई समेत फरक दृष्टिकोणबाट हेरिने गरिएको छ पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै, शिक्षण संस्थाले पटक-पटक दुई/दुई वर्षमा समकक्षता गराउनु पर्ने वाध्यता रहेको, समकक्षता सम्बन्धी विधि प्रक्रिया र अन्य प्रावधान लामो रहेको र समकक्षता गराउने निकायहरुबाट शिक्षण संस्थाहरुमा अर्थहीन अनुगमन गर्ने गरिएको छ । यस्तै, अनुगमन टोलीका सदस्यहरुले निर्देशिका अनुसार सञ्चालन भएका शिक्षणसंस्थालाई सुधारका लागि समय दिने, विधि प्रक्रिया विपरित सञ्चालन भएको पाइएमा सचेत गराउने जस्ता अधिकारको अभावमा अनुगमन औपचारिकतामा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा अनुगमनका लागि स्रोत र साधनको कमी रहेको, शिक्षण संस्थाहरुमा गरिने अनुगमनलाई मूल्याङ्कन प्रणालीसँग नजोडिएको, अनुगमनका लागि निश्चित साधनहरु नतोकिएको र तथ्याङ्कमा मात्र सिमीत गरिएको, परीक्षा प्रणाली आन्तरिक र वाह्य गरी दुई किसिमले हुने व्यवस्था भए पनि आन्तरिक मूल्याङ्कनलाई बढि जोड दिएको र वाह्य परीक्षा केही कलेजले आफ्नै कलेजमा सञ्चालन गर्ने गरेको र केहीले अन्य कलेजमा सञ्चालन गर्ने गरेको उल्लेख छ । भर्ना नहुन आग्रह शिक्षा मन्त्रालयले नियम विपरित सञ्चालनमा रहेका कलेजमा भर्ना नहुन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता कलेजमा भर्ना नहुन र नगर्न आग्रह गरेको हो । अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गरिरहेका केही कलेज विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ विपरीत सञ्चालनमा छन्,’ मन्त्रायले भनेको छ यस्ता शिक्षण संस्थाहरूलाई विद्यार्थी भर्ना नगराउनु ।’ उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवाल नियम कानुनको उलंघन गर्ने हक कसैलाई नभएको बताउँछन् । १ हजार र्याङकिङ्ग भित्रका कलेजको मान्यता लिदा पनि नियम र कानुन संगत हुनुपर्ने उनी बताउँछन् । ‘कतिपय स्कुल कलेज खोल्न नपाउने विश्वविद्यालयबाट पनि नेपालका कलेजले मान्यता लिएका छन्, यो कदापी राम्रो होइन,’ उनी भन्छन्, ‘अहिले शिक्षा मन्त्रालयले जे कुरा उठाएको छ यो राम्रो हो । विदेशी कलेज भन्ने वित्तिकै सबै स्तरिय हुँदैनन्, यो विषयमा कडा कदम सरकारले चाल्नुपर्छ ।’ उनले समितिले प्रतिवेदन सार्वजनिक गरेपनि मन्त्रालयले कार्यान्वयन चाल्छ कि वार्गेनिङमा चल्छ भन्ने कुरा अब हेरिने बताए । ‘विगतमा पनि सम्बन्ध लिने र दिने यस्ता काममा सरकारकै हात रहेको हामीले पाएका थियौँ, यस्तो गर्न पाइँदैन, जसका कारण नेपालको विश्वविद्यालय अन्तर्गत सञ्चालित संस्थाहरू कमजोर हुने अनि स्तर नभएका विदेशी कलेजले करोडौँ डलर विदेश लिने भइरहेको छ, यसको अन्त्य गरिनुपर्छ ।’