विकासन्युज

डेढ करोडको लागतमा चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख रुपैयाँ लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए । सो भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजार दुई सय ५० रुपैयाँमा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा ६९ लाख ५६ हजार आठ सय ७६ रुपैयाँमा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो । पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए । भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको १० लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो । नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि गत वर्ष रघुगङ्गा –४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ । रासस

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे । उक्त शाखाको उद्धघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुऱ्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

नयाँ सत्ता समीकरणबाट व्यवसायी खुसी, भन्छन् : अब अर्थतन्त्र सुध्रन्छ

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समीकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक दलहरुबीचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरूले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले उल्लेख गरे । अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरुको भनाई छ । व्यवसायीहरुले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताइन् । उनले राजनीतिसँगै आर्थिक स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राखिन् । नयाँ सत्ता समीकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने,आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले केही वर्षदेखि धरासायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भएमात्रै लयमा आउने बताइन् । उनले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरु सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समीकरणसँगै चलायमान हुने विश्वास व्यक्त गरिन् । मुख्य भन्सारहरुमा नै राजश्व संकलन कम हुँदै मुलुकको अर्थतन्त्र आरालो लागेको अवस्थामा राजनीतिक दलहरुले ठिक समयमा समीक्षा गरेर गरेको गठबन्ध स्वागतयोग्य भएको उल्लेख गरिन् । सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताइन् । पूर्वअध्यक्ष राणाले ठूला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताइन् । पूर्वअध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन/चार महिनामा परिवर्तन हुर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जानसक्ने बताइन् । दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताइन् । निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरिन् । पूर्वअध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन गर्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राखिन् । उनले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो आभाष निजी क्षेत्रलाई भएको बताइन् । सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको जानकारी दिइन् । वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताइन् नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गरिन् । ‘मुलुकमा राजनीतिक स्थिरता भए मात्रै अर्थतन्त्रको विकास हुने हो, उद्योगहरु क्षमता भन्दा पनि कम ३० देखि ४० प्रतिशतमा चलिरहेका छन्, दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो लागेको छ, वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन सक्दैन, अब आउने सरकारले परिमार्जन गर्नुपर्छ’, उनले भनिन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए । उनले दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समीकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया दिए । दुई ठूला राजनीतिक दलको सत्ता समीकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताए । उनले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समीकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गरे । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिए । मल्लले अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समीकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सवल बाटोमा लैजानुपर्ने जानकारी दिए । निःवर्तमान अध्यक्ष मल्लले नयाँ सत्ता समीकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास रहेको भन्दै सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजान जरुरी भएको बताए । मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको भन्दै दक्षिण एशियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको जानकारी दिए । मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त भएको बताए । राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको उनको भनाई छ । ‘सत्ता समीकरणले मुलुकमा भएको खर्चको लागत कम गर्न स्थानीय तहरु घटाउने, संसदहरुको सख्या कम गर्ने, समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने कुराहरु बाहिर आएको छ, त्यसले डुइङ विजनेस लागत घट्छ, राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति डलमलिन गयो, त्यसैले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्नु जरुरी छ’, उनले भने । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताए । अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताए । राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको जानकारी दिए । अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली कांग्रेसबीच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको दाबी गरे । उनले नयाँ समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गरे । स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरु स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने जानकारी दिए । अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको बताए । उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको उल्लेख गरे । ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेको छ,  लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ । उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्था छ, त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्छ भन्ने आशा पलाएको छ’, उनले भने । गत सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरुसमेत फिर्ता गरेको छ । योसँगै दुई ठूला दलको नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ । त्यसैले नयाँ सत्ता समीकरणले वर्तमान आर्थिक,सामाजिक समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक र राजनीतिक स्थायीत्व दिन जरुरी छ ।

ग्राहकलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न बैंकले ग्राहकलाई आग्रह गरेको हो । बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकको भनाइ छ । आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने छ  । बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि पनि प्यान अत्यावश्यक छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सो प्यानमा प्रबिष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकको छ ।

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ । उक्त साझेदारीमार्फत् बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ । नास आईटीमार्फत बैंकको डिजिटल बैंकिङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन् । नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन् ।  ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष शुरू गरेको छ ।

क्रेस्ट माइक्रोको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ । समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्ष देखि अधिकतम ६० वर्ष सम्म रहेको कम्पनीले जनाएको छ । बीमा अवधि ५ वर्ष देखि २० वर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको जनाइएको छ । न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषता यस योजनामा रहेको कम्पनीले उल्लेख गरेको छ ।  कम्पनीका अनुसार योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुनेछ । आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस विषयमा सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ । सम्झौता अनुसार देशभर रहेका १३ हेयर एन्ड शान्ति ब्युटी पार्लरका शाखाहरूबाट सेवा लिए बापतको भुक्तानी बैंक कार्ड वा मोबाइल बैंकिङ मार्फत गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौताबाट नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन्, ‘दिन बिताउन साह्रै गाह्रो भयो’

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुई जना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिक सत्रमा दुई जनामा सीमित भएको छ । उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् । धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउँछन् । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनी बताउँछन् । उनले भने, ‘विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ। पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि शहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।’ खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उनले जानकारी दिए ।  उनले भने ,’नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ ।’ जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए ।  रासस