कारबाहीबारे मुकुलको प्रतिक्रिया- रवि क्लबबाट मुक्त भएँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। ढकालले सामाजिक सञ्जालमार्फत पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निष्कासित भएको बताए । लामिछाने क्लबबाट निष्कासित भएको भन्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने भनाइ राखे । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि…,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो । ढकालको यस्तो प्रतिक्रिया दिँदै उनी रास्वपामै रहने संकेत गरेका हुन् ।
ऋण लिएका ग्राहकलाई एनआईसी एशिया बैंकले छुट दिने
काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । मंगलबार बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याएको बताएको छ । बैंकका अनुसार २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आसार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिइने छ । साथै, साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले जनाएको छ । ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयका लागि १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्मका लागि २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिका लागि ३५ प्रतिशतसम्म ब्याज छुट दिने बैंकले जनाएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
युवा विदेशिएपछि रोपार पाउनै मुस्किल, कामदार पाए पनि महँगो पर्ने
चितवन । असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् । उनले भने, ‘स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ ।’ युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उनले बताए । उनले भने, ‘युवाहरूमा समेत काम गर्ने जाँगर नहुँदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।’ पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उनले बताए । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ । यस्तै समस्यामा छिन् भरतपुर –२४ का रतिमाया गुरुङ । उनी अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छिन् । तर उनलाई रोपार पाइने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् । भरतपुरकै शिव शर्मा अहिले रोपारकै खोजीमा छन् । उनले भने, ‘स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने ।’ उनले अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताए । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिए । उनले भने, ‘स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।’ स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उनले बताए । जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको जनाउँदै उनले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताए । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ । जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उनले जानकारी दिए । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ । रासस
४० मेगावाट विद्युत पीपीए गर्न बंगलादेशले बोलायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने
काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबीले १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो । प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्ने छ । त्यसपछि बीपीडीबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्ने छ । प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए । ‘त्रिपक्षीय विद्युत बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं,’ उनले भने, ‘नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं ।’ प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन् । प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन-१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतकाे मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत पुग्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए । घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे । ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत बिक्रीका लागि हामीले पाएको दर उचित हो’, उनले भने, ‘सरकार-सरकार तहमा बंगलादेशसँग सांकेतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीय रूपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत व्यापारका अरु धेरै बाटाहरू खुलाउनेछ ।’
भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित
नयाँदिल्ली । भारी वर्षाको प्रभावका कारण मंगलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ । भारी बर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटर भन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ । बर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मंगलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले एक विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसै गरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।
रास्वपाले मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटायो, साधारण सदस्य बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । यस्तै, पार्टीले उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिएको छ । यसअघि गत बुधबार सात दिनका लागि ढकाललाई निलम्बन गरिएको थियो। बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए ।
सहकारी सञ्चालकमाथि प्रहरीको विभेद : पक्राउ लगत्तै काँग्रेस निकटलाई सार्वजनिक, एमाले निकटलाई गुपचुप
काठमाडौं । गत बुधबार परिचित सहकारीकर्मी तथा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो । ३० हजार बढी बचकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएका उनको हातमा हतकडी लागेपछि सहकारी अभियान नै तरंगित बन्यो । लामो समयदेखि सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा योगदान गरेका उप्रेतीको हिरासत बसाइँले धेरै अभियानकर्मी चिन्तित पनि बनेका छन् । केबी उप्रेती । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत रहेका उनी नेकपा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई प्रहरीले सार्वजनिक गरेर सबै विषयवस्तु प्रष्ट पार्छ भन्ने अपेक्षा सञ्चार जगत, अभियानकर्मी र बचतकर्तामा पनि थियो । तर, प्रहरीले उनलाई सार्वजनिक गरेन । उनी अहिले प्रहरी हिरासतमै छन् । उप्रेतीभन्दा अगाडि प्रहरीले अर्का ठूला सहकारीकर्मी तथा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको थियो । सो सहकारी संस्थाका सीईओ भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीसहित सो सहकारीका अन्य सञ्चालकविरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको थियो । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएपछि भण्डारी लगायतका सञ्चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यलले जानकारी दिए । सीईओ सुरेन्द्र भण्डारीसहित अन्य सञ्चालक । सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त संस्थाको रुपमा घोषणा पनि गरेको छ । जसको व्यवस्थापकीय नेतृत्व सुरेन्द्र भण्डारीले गरिरहेका छन् । अध्यक्षका रूपमा अमरदास श्रेष्ठलाई अगाडि सारेपनि सहकारीमा सुरेन्द्रकै हालिमुहाली थियो । अहिले अध्यक्ष अमरदास पनि पक्राउ परेका छन् । प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेर असार १६ गते आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार थिए । लालिगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि परेको छ । यस्तै, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा असार २ गते पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सोही दिन सार्वजनिक गर्यो । तेजविक्रम थापासहित अन्य सञ्चालक । पक्राउ पर्नेमा अध्यक्ष थापासहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा थिए । राजकर्णिकार थापाकी श्रीमती हुन् । सहकारीका सञ्चालकले बचकर्ताको बचत अपचलन गरेको भन्दै पक्राउ गरिएको प्रहरीको भनाइ थियो । सरकारले यो सहकारीलाई २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् । थापा पनि नेपाली काँग्रेस निकट नै मानिन्छन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख छ । सीबी लामा । यस्तै, गत जेठ १८ गते सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा सहकारी सञ्चालक चन्द्रबहादुर (सीबी) लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । उनलाई पनि प्रहरीले सार्वजनिक नै गरेको थियो । उनी अहिले कारागारमा छन् । उनीमाथि ८ अर्ब रुपैयाँ बचत अपचनको आरोप छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो । लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् । उनी काँग्रेसबाट यसअघि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका थिए । सहकारीका बचतकर्ताको ठूलो रकम अपचलन गर्ने मध्येका अर्का सहकारीकर्मी हुन् केदारनाथ शर्मा । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० असारमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको रकम ठगेको आरोपमा उनी श्रीमतीसहित जेलमा छन् । उनले पनि शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारीका करिब ३८ हजार बचतकर्ताको ११ अर्ब रुपैयाँ बढी ठगेको आरोप छ । उनको दुइटै सहकारीमा समस्या आएको लामो समय भयो । केदारनाथ शर्मा । प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । उनी भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बुझिएको थियो । राजनीतिक रूपमा ठूलो पहुँच भएका उनले पनि राजनीतिक पहुँचकै आधारमा बचतकर्ताको बचत दुरूपयोग गरेको बुझिन्छ । शर्मा शिवशिखर सहकारीको पूर्वअध्यक्ष हुन् । पूर्वअध्यक्ष भए पनि सहकारीको साँचो भने उनको हातमा थियो । उनले सहकारीकै रकमलाई चार दर्जन बढी कम्पनीमा लगानी गरेका थिए । उनी पनि नेपाली काँग्रेस निकट मानिन्छन् । उनी पनि अहिले श्रीमती गिता शर्मासँगै जेलमा छन् । रबिन्द्र चौलागाईं । यस्तै, काँग्रेस निकट नै मानिने अर्का सहकारीकर्मी रबिन्द्र चौलागाईंलाई पनि प्रहरलिे गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको बचत अपचलनको आरोप लागेका चौलागाईंलाई सीआईबीले गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक गरेको थियो । उद्यपि, उनलाई पत्रकार सम्मेलन भन्दा पनि प्रेस विज्ञप्ति जारी गरेर सीआईबीले सार्वजनिक गरेको थियो । अहिले पनि उनी कारागारमै छन् । इच्छाराज तामाङ । यस्तै, सहकारीको बचतकर्ताको बचत अपचलन गरेर जेल चलान भएका सहकारीकर्मी हुन् इच्छाराज तामाङ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा उनलाई सीआईबीले २०७८ असोजमा पक्राउ गरेको थियो । नेकपा एमालेका नेता समेत रहेका उनी समानुपातिक सांसद भएर पनि काम गरिसकेका थिए । तर, उनलाई प्रहरीले सार्वजनिक नै गरेन । अहिले उनीसहित उनकी श्रीमती सिर्जना शाक्य पनि जेलमै छन् । उनीहरुमाथि ५ अर्ब बढी बचत अपचलनको आरोप छ । सीआईबीले आफूले पक्राउ गरेकालाई विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए पनि उनलाई भने सार्वजनिक नै गरेन । सुधिर बस्नेत । यस्तै, सुरुमा सबैभन्दा ठूलो सहकारी ठगीको आरोप लागेका व्यक्ति हुन् शुधिर बस्नेत । उनलाई पनि प्रहरीले ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ताको बचत अपचलन गरेको भन्दै २०७३ मा पक्राउ गरेको थियो । सुरुमा बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरको आरोप लागे पनि पछि सावाँ ब्याजसहित १६ अर्ब ठगेको आरोप उनीमाथि छ । अहिले पनि उनले बचतकर्ताको सवा ३ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । सरकारले सो सहकारीलाई २०७९ मा समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो । संसदीय छानबिन समितिको टीओआरमा पनि यो सहकारी परेको छ । बस्नेत पनि काँग्रेस निकट मान्निथे । उनले काँग्रेस नेतृ सुजता कोइरालासँग व्यावसायिक साझेदारी गरेको पनि खुलेको थियो । प्रहरीले पक्राउ लगत्तै उनलाई सार्वजनिक नै गरेको थियो । ओरेण्टल सहकारी संस्था २०६९ सालदेखि नै बन्द छ । सहकारी ठगी र अन्य लेनदेन तथा ठगी मुद्दामा संस्थाका सञ्चालक बस्नेत तीन वर्ष जेल परेर रिहा भएका थिए । पछिल्लो समय प्रहरीले ठूला सहकारीको बचतकर्ताको बचत अपचलन गरेको आरोपमा धमाधम सञ्चालकहरूलाई पक्राउ गरिरहेको छ । सहकारी अभियानकर्मीहरूले पनि प्रहरीले एमाले निकट सहकारी सञ्चालकलाई सार्वजनिक नगरेर काँग्रेस निकटलाई मात्रै सार्वजनिक गरिरहेको गुनासो गरेका छन् । नेकपा एमाले निकट सञ्चालकप्रति प्रहरी संगठन पनि उदार बनेको र काँग्रेसका सहकारीकर्मीप्रति आक्रामक बनेको एक सहकारी अभियानकर्मी बताउँछन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल भने पृथक धारणा राख्छन् । उनी कुन सञ्चालक कुन राजनीतिक दल निकट भन्ने सेकेण्डरी विषय भएपनि पहिलो विषय सबै सहकारीकर्मी भएको बताउँछन् । उनी यो सकसको समयमा सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्ने र राज्यले पनि सोही ढंगले सहजीकरण गरिदिनु पर्ने अवस्थामा धमाधम पक्राउ गरेर वातावरण नै बिगार्ने काम गर्न नहुने बताउँछन् । ‘अहिलेको विषम परिस्थितिको समयमा सबैले सहकार्य गर्न आवश्यक छ, सबैको समन्वय गरेर यस क्षेत्रको सुधार गर्न जरुरी छ । तर, धमाधम पक्राउ गरेर वातावरण नै बिगार्नु हुँदैन,’ उनले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी कुनै पनि व्यक्ति राजनीतिक दल निकट भनेर प्रहरीबाट उन्मुक्ति दिने वा जगाउने भन्ने विषय नहुने धारणा राख्छन् । ‘हामीले अपराधलाई हेर्छौं, कुन व्यक्ति कुन राजनीतिक दल निकट भन्ने विषयले हामीलाई फरक पर्दैन, सीआईबीले पक्राउ गरेर पत्रकार सम्मेलनभन्दा पनि प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेको छ,’ उनले भने । दान बहादुर कार्की । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्य पनि प्रहरी संगठनबाट त्यस्तो विभेद नहुने धारणा राख्छन् । ‘को व्यक्ति कुन पार्टीमा आवद्ध छ भनेर हामीलाई मतलब हुँदैन, हामीलाई कुनै पनि पार्टीसँग सरोकार भएन, हामीले सानो परिमाणका सहकारीलाई सार्वजनिक गर्दैनौं, ठूला सहकारीको ठगीको विषय पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छौं,’ उनले भने । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले पनि प्रहरीले कानुन सम्मत काम गर्ने गरेको धारणा राखे । ‘को कुन पार्टीको हो हामीलाई जानकारी नै हुँदैन, हामी कानुनसम्मत काम गर्छौं,’ उनले भने । जो पक्राउ नै पर्दैनन् बचतकर्ताको अर्बौं रकम अपचलन गरेर फरार रहेका केही सहकारी सञ्चालकलाई नेपाल प्रहरीले पक्राउ नै गर्न सकेको छैन । बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेका जितेन्द्रबहादुर (जीबी) राई, भरत महर्जन, देवकुमार नेपाली र रामबहादुर गौतम पक्राउ नै परेका छैनन् । सरकारले गौतमको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको छ भने सो सहकारी संसदीय छानबिन समितिको टिओआरमा पनि परेको छ । सहकारीका बचतकर्ताको बचत अहिलेसम्म अध्यक्ष गौतमले फिर्ता गर्न सकेका छैनन् । सरकारले २०८० को चैतमा गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीका १६ सय बचतकर्ताले ३ अर्ब रुपैयाँ बचत फिर्ताको माग गरेका छन् । सहकारी क्षेत्रको नियामक सहकारी विभाग र मन्त्रालयका पदाधिकारीहरूसँग पनि गज्जवको सम्बन्ध भएका अध्यक्ष गौतमले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै हात उठाएर फरार समेत भएका थिए । उनले उतैबाट लामो समय वक्तव्यबाजी पनि गरे । उतैबाट सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने बचन दिए । त्यो बिचमा नत नियामक नत अन्य सरकारी निकायबाट उनलाई बचत फिर्ताका लागि प्रतिबद्धता गराउने प्रयास हुन सकेन । पछि उनी नेपाल फर्किए । नेपाल फकिँदा उनी बचतकर्ताको पैसा अपचलन ठगको रूपमा होइन विदेशमा कुनै खेल खेलेर स्वर्णपदक जितेर फिर्ता भएको खेलाडीको जस्तो खादामाला हालेर फर्किए । त्यो उनको सरकारसँगको हिमचिम र शक्ति संघर्ष अभ्यस्त भएको कारणले हो । माओवादी निकट मानिने गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठूलो लाभ यतिबेलै लिए । परिणमस्वरुप उनी पक्राउ समेत पर्न सकेका छैनन् । अब सत्ता गठबन्धन परिवर्तन भएपछि भने उनको त्रासको मिटर बढ्ने देखिन्छ । क्रमश: जीबी राई, भरत महर्जन, रामबहादुर गौतम र देवकुमार नेपाली । यस्तै, सबैभन्दा बढी रकम ठगेको आरोप जीबी राईलाई पनि लागेको छ । राईले हाम्रो नयाँ कृषि सहकारी संस्था, सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको ८ अर्ब बढी बचत ठगेको आरोप छ । उनी हाल फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी संसदीय छानबिन समितिको टीओआरमा परेका छन् । यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थाको अर्बौं बचत ठगेर अध्यक्ष भरत महर्जन पनि फरार छन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी विदेशमा रहेको बुझिएको छ । महर्जन काँग्रेस निकट मानिन्छन् । यस्तै, इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीमाथि पनि सहकारीका बचतकर्ताको अर्बौं रकम ठगेको आरोप छ । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी हाल ढोरपाटन नगरपालिकाका मेयरका रुपमा कार्यरत छन् । उनले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । लामो समय उनी फरार पनि भए । पछि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको बचत फिर्ता दिने प्रतिबद्धता पनि गरेका थिए । उनीविरुद्द उजुरी परे पनि उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । करिब ३०० पक्राउ नेपाल प्रहरीले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा करिब ३ सय जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले बचत ठगीको प्रकरणमा मुछिएका करिब ३०० जना मात्रै पक्राउ गरेको बताएको छ भने साढे ८ सय जना फरार रहेको जानकारी दिएको छ । सीआईबीले मात्रै चालु आर्थिक वर्षमा २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । तीन वर्षको अवधिमा सीआईबीले ६२ जनालाई पक्राउ गरेको तथ्यांक उपलब्ध गराएको छ । सीआईबीले यस वर्ष आर्जन बहुउदेश्यीय सहकारी संस्थाका ८ जना, देउराली बचत तथा ऋण सहकारी संस्थाका ३ जना, साई स्वागत बचत ऋण सहकारी संस्थाका १ जना, नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी संस्थाका २ जना, साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी संस्थाका एक जना, रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका ३ जना र हाम्रो नयाँ कृषि सहकारी संस्थाका ५ जना सञ्चालक गरी कुल २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
सिटिजन्स बैंकका सबै प्रदेश कार्यालयमा लर्निङ सेन्टर सञ्चालन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशमा रहेका आफ्ना प्रदेश कार्यालयहरुमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नै प्रदेश कार्यालयका भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु सञ्चालनमा ल्याएको हो । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । मंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ सेन्टरहरुको उद्घाटन गरेका छन् । समारोहलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरु संचालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुख लगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । आज लर्निङ सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३ , मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा ९ , लुम्बिनीमा २३ , कर्णालीमा ५ र सुदूरपश्चिममा १० जना गरि १३० कर्मचारीहरुले प्रशिक्षण पनि लिएका छन् । बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापनाले आगामी दिनमा अझ शसक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।