विकासन्युज

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मंगलबार बिहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र पाँच जना वेपत्ता भएका छन् । बाढीपहिरोका कारण ३ सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभरि १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

व्यवसायी भन्छन् : आत्मविश्वास जगाउने मौद्रिक नीति चहियो

काठमाडौं । कोभिड महामारी लगायत अन्तर्राष्ट्रिय घटनाक्रमका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ । अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्र भने संकुचनमा देखिन्छ । अर्थतन्त्रमा देखिएको शिथिलता र संकुचनको कारण उद्योग व्यवसायमा ह्रास आएको छ । उद्योग व्यवसायमा आएको ह्रास कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । बजारमा मागको कमी हुँदा उद्योग धन्दाहरु ३० देखि ४० प्रतिशत भन्दा बढी क्षमतामा चल्न सकेको अवस्था छैन । तर मुलुकको आन्तरिक सूचक नकारात्मक भएपनि वाह्य सूचक बलियो स्थितिमा छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार विदेशी मुद्राको सञ्चितिले १२ महिनाभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था छ । रेमिट्यान्सको आप्रवाह हरेक महिना वृद्धि हुँदै जाँदा चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको देखिन्छ । तर आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार भएको देखिँदैन । सरकारको राजस्व संकलन समेत लक्ष्यअनुसार उठ्न सकेको छैन भने आर्थिक वर्षको अन्तिमसम्म पनि पुँजीगत खर्च ४८ प्रतिशत भन्दा माथि जान सकेको छैन । बैंकहरुमा करिव ६ अर्ब बढी लगानीयोग्य रकम हुँदा पनि उद्योगी व्यवसायीहरु बैंकमा ऋण लिन गएको अवस्था छैन । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर विगत सस्तो हुँदा पनि कर्जा प्रवाह हुन नसक्नु निजी क्षेत्रको आत्मबल कमजोर भएको मान्न सकिन्छ । मुलुकको वाह्य आर्थिक सूचकहरु सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्रमा सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । सहकारी समस्या र निर्माण क्षेत्रमा देखिएको शिथिलताले अर्थतन्त्रमा थप समस्या पारेको देखिन्छ । सरकारले निर्माण व्यवसायीहरुको ६० अर्ब रुपैयाँ भुक्तानी दिन सकेको छैन । पुँजीबजार र घरजग्गा कारोबार सुस्त हुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । मुलुकमा देखिएको आर्थिक सुस्तता र रोजगारीका अवसर सिर्जना नहुँदा मुलुकको दक्ष जनशक्ति र पुँजी विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान बनाउन नसक्ने निजी क्षेत्रको धारणा छ । तर नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्योगी व्यवसाय र अर्थतन्त्र दुवै चलायमान बनाउने मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उद्योगी व्यवसायीहरुले मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएकाले केही नीतिगत स्थिरतासहित निजी क्षेत्रमैत्री नीति आउने आशा पलाएको पनि धारणा राख्न थालेका छन् । उनीहरुले राष्ट्र बैंकले १६ औं योजना र बजेटमार्फत आएको आर्थिक ऐनलाई सम्बोधन हुनेगरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति उद्योग व्यवसायलाई चलामान बनाउने गरी आउनुपर्ने बताइन् । उनले बजारमा देखिएको आर्थिक मन्दीलाई सहजिकरण गर्ने मौद्रिक नीति आवश्यक भएको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले बैंकको ब्याजदर कम हुँदा विगतमा व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेकाले थप कर्जा लिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको बताइन् । आगामी मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सकारात्मक आउँछ भन्ने आश रहेको बताइन् । अर्थतन्त्रको अवस्थालाई हेरेर राष्ट्र बैंकले कसिलो भन्दा पनि लचिलो मौद्रिक नीति ल्याउन जरुरी रहेको जानकारी दिइन् । पूर्वअध्यक्ष राणाले आर्थिक गतिविधि चलायमान नभएकाले घरजग्गा कारोबारलाई खुकुलो बनाउँदा चलायमान हुनेगरी मौद्रिक नीति आउनुपर्ने उल्लेख गरिन् । बजेटले लिएर आएको आर्थिक नीतिलाई रिभ्यु गर्नुपर्ने भन्दै यो विषयलाई मौद्रिक नीतिले समेट्नुपर्ने धारणा राखिन् । उद्योग व्यवसाय फस्टाउने र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनुको विकल्प नभएको उल्लेख गरिन् । ‘आगामी आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति उद्योग व्यवसायलाई अगाडि बढाउन सक्ने आउनुपर्छ, विगतमा व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेको अवस्था छ, उद्योगी व्यवसायीहरुले आगामी मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सकारात्मक आउँछ भन्ने आशा छ, राष्ट्र बैंक कसिलो भन्दा पनि लचिलो मौद्रिक नीति ल्याउने पक्षमा देखिएको छ’, उनले भनिन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकको अर्थतन्त्रको वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्रमा ठूलो संकट रहेको बताए । उनले बजारमा माग बढ्न नसक्दा उद्योगहरु सञ्चालन हुन नसकेको बताए । पोष्ट कोभिडको प्रभावबाट अझै निजी क्षेत्र प्रभावित रहेको भन्दै राष्ट्र बैंकले निजी क्षेत्रमैत्री नीति लिन आवश्यक रहेको जानकारी दिए । अध्यक्ष सिंहले थला परेको निर्माण उद्योगलाई सरकार र राष्ट्र बैंकले प्राथमिकतामा राख्न सुझाव दिए । सरकार र राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा नराख्दा अहिले अर्थतन्त्रको चक्र नै अस्तव्यस्त भएको उल्लेख गरे । उनले राजस्व संकलन र उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेकाले राष्ट्र बैंकले शिथिल भएको निर्माण उद्योगलाई उकास्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने माग राखे । २०७७ सालदेखि थलिएको निर्माण उद्योगलाई माथि उकास्ने गरी मौद्रिक नीतिमा सम्बोधन गरेर निर्माण उद्योगमा थप पुँजी लगानीको वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष सिंहले निर्माण उद्योगीहरुले बैंकहरुमा बुझाउन नसकेको सावाँ ब्याजलाई एकमुष्ठ रुपमा पुँजीकरण गर्ने व्यवस्था गर्न माग गरे । निर्माण क्षेत्रमा २० प्रतिशत रकम बैंकहरुले सहुलियत दरमा प्रवाह गर्नुपर्ने बताए । निर्माण व्यवसायीहरुले बैंकहरुमा बुझाउनुपर्ने किस्ता र ब्याजको कर्जालाई असोज मसान्तसम्म थप गर्ने निर्देशन दिन माग गरे । ‘राजस्व संकलन र उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेकाले राष्ट्र बैंकले शिथिल भएको निर्माण उद्योगलाई उकास्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ, निर्माण उद्योगीहरुले बैंकहरुमा बुझाउन नसकेको सावा ब्याजलाई एकमुष्ठ रुपमा पुँजीकरण गरेर पाँच वर्षको लागि किस्ताबन्दी गरिदिने र काम गर्नेलाई थप २० प्रतिशत रकम बैंकहरुले सहुलियत दरमा निर्माण व्यवसायीहरुमा प्रभाव गर्नुपर्छ, निर्माण क्षेत्रमा १५ प्रतिशत रकम विनियोजन गर्नुपर्छ’, उनले भने । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने र खपत गर्ने लक्ष्य पूरा गर्न लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । उनले १० वर्षका १० हजार मेगावट विद्युत निर्यातको लागि विद्युत उत्पादनको लागि २ प्रतिशतका दरले लगानी वृद्धि गरेर बैंकहरुले २० प्रतिशत लगानी लगाउनुपर्ने प्रावधान मौद्रिक नीतिले व्यवस्था गर्नुपर्ने जानकारी दिए । उनले जलविद्युतमा भएकाले लगानीमा बैंकहरुको ब्याजदरमा एकरुपता बनाउन माग गरे । जलविद्युतमा विदेशी लगानी ल्याउनको लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहजिकरण गर्नुपर्नेमा जोड दिए । ‘१० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने र खपत गर्ने तयारी छ, त्यसमा २ प्रतिशतका दरले वृद्धि गरेर बैंकहरुले २० प्रतिशत लगानी जलविद्युतमा लगाउनुपर्ने प्रावधान मौद्रिक नीतिले व्यवस्था गर्नुपर्छ, जलविद्युतमा भएकाले लगानीमा बैंकहरुको ब्याजदरमा एकरुपता हुनुपर्छ, जलविद्युतमा विदेशी लगानी ल्याउनको लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहजिकरण गर्नुपर्छ’, उनले भने । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति १६ औं पञ्चवर्षीय योजनालाई साथ दिने र सरकारको वार्षिक आर्थिक नीतिलाई साथ दिने किसिमको आउनुपर्ने बताए । बैंकहरुले कर्जा प्रवाह गर्दा ५० लाख भन्दा माथि घरजग्गा र शेयरमा १२५ प्रतिशत जोखिम भारलाई १०० प्रतिशतमा ल्याउन आवश्यक रहेको बताए । मौद्रिक नीतिमार्फत १२५ को जोखिम भारलाई १०० प्रतिशतमा ल्याउँदा मात्रै अर्थतन्त्र चलायमान बन्ने जानकारी दिए । पूर्वअध्यक्ष मल्लले राष्ट्र बैंकले चालुकर्जा पुँजीमा रहेका केही हडलहरुलाई हटाउनुपर्ने बताए । चालुकर्जा पुँजी नीतिमा ऋण लिने र दिने बैंकबीचको सहमतिमा छोड्ने नीति लिनुपर्ने माग राखे । ‘नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति १६ औं पञ्चवर्षीय योजनालाई साथ दिने किसिमको र सरकारको वार्षिक आर्थिक नीतिलाई साथ दिने किसिमको मौद्रिक नीति हुनुपर्छ । अर्थ मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकबीच तालमेल मिलाएर १६ औं योजना, बजेट आर्थिक वृद्धि पनि पूरा हुनेगरी मौद्रिक नीति ल्याउनुपर्छ । अब मौद्रिक नीतिमार्फत १२५ बाट झारेर कोभिड भन्दा अगाडिको १०० प्रतिशतमा ल्याउँदा अर्थतन्त्र चलायमान बन्छ’, उनले भने । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सीमाभित्र बसेर ल्याउने बताउँदै आएको छ । मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैंकको आफ्नै सीमा भएको बताउँदै आएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समिक्षामा मुलुकको अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो मौद्रिक नीति ल्याएको बताएको छ । यसअघि पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रका मागलाई सम्बोधन गर्नेगरी लचिलो मौद्रिक नीति ल्याउने बताउँदै आएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको प्रयास सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने र मुद्रास्फिर्तीलाई ५.५ प्रतिशत कायम राख्ने लक्ष्य अनुरुप मौद्रिक नीति ल्याउन जुटेको बताए । ‘राष्ट्र बैंकको प्रयास सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फितीलाई ५.५ प्रतिशत कायम राख्ने लक्ष्य अनुरुप मौद्रिक नीति ल्याउन जुटेका छौं, सबैले समन्वयमा काम गर्दा आगामी वर्षमा आर्थिक वृद्धि ६ प्रतिशत पुर्याउन वित्तीय स्रोत खाँचो र अफ्ठ्यारो हुने देखिँदैन, अहिले व्यवसायिक मनोबल गिरेको अवस्था छ, त्यो मनोबल उकास्नलाई केही कामहरु समन्वय रुपमा गर्नुछ’, उनले भने । उनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने क्षेत्रहरु ऋणात्मक रहेको भन्दै अर्थतन्त्रमा रहेको एक खालको चुनौतिका बीच मौद्रिक नीति बनाउनुपर्ने अवस्थामा रहेको बताए । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षमा नै कसिलो मौद्रिक नीतिलाई लचिलो बनाएको बताए ।

काठमाडौं महानगरका यी वडा कार्यालयबाट हुनेछ राष्ट्रिय परिचयपत्र विवरण संकलन

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाडौं महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण संकलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण संकलन गर्न लागिएको विभागले जानकारी दिएको छ । विभागले काठमाडौं महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वयम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको समेत सहजीकरण गरिने जनाइएको छ । यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको विभागको भनाइ छ ।

मुद्दतीमा लगानी गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको जनाएको हो । मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुका ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन पेस गर्न सक्नेछन् ।

समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको गार्डेन मार्ट लिलामीमा

काठमाडौं । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने जनाएको हो । सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको सूचनामा उल्लेख छ । कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकेको छ । सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने कार्यालयले सूचनामार्फत जनाएको छ । कार्यालयका अनुसार लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने छ ।

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकाललाई रास्वपा अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक जारी छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको हो ।

नथिङ मोबाइल ब्रान्डको फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक

काठमाडौं । नथिङ मोबाइल ब्रान्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । कार्ल पेइद्वारा स्थापित अग्रगामी ब्रिटिस-आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफ मार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु र वाच प्रो टु को ग्लोबल लन्चको साथसाथै प्रख्यात अतिथि, व्यापारिक साझेदार, सेलिब्रेटी, मिडिया र प्रमुख व्यक्तित्वहरूसहित वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भिभान्ता काठमाडौंमा आयोजित कार्यक्रममा ब्रान्ड लन्च गरिएको छ । कम्पनीका अनुसार सीएमएफ फोन वानले स्मार्टफोन बजारमा सीएमएफको डेब्यूलाई चिन्ह लगाउँछ, जसले विविध उपभोक्ता प्राथमिकताहरू पूरा गर्ने उद्देश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्दछ । कालो, सुन्तला, हल्का हरियो र निलोमा उपलब्ध, सीएमएफ फोनवान को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श अनुभवका लागि शाकाहारी छाला फिनिशको बिचमा फरक विकल्प प्रस्तुत गर्दछ । साथै, नथिङले फोन टुए ल्याएको छ, जसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले इअर र इअर (ए) (इअर बुड्स) पनि नेपालमा ल्याएको छ । सिजी मोबाइलले स्थानीय दर्शकसँग संलग्न हुने र नेपालमा बलियो ब्रान्ड उपस्थिति स्थापना गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै जीवन्त र रङ्गीन नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । प्रदीप खडकाको अनुमोदनले लक्षित उपभोक्ताहरूसँग राम्रोसँग जोडिने, ब्रान्ड दृश्यता र यस क्षेत्रभरि उपभोक्ता विश्वास बढाउने कम्पनीको अपेक्षा छ। सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु, सीएमएफ वाच प्रो टु, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (टुए) नथिङ इयर र नथिङ इयर (ए), चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्रान्ड एम्बेसेडर प्रदीप खडकाले सार्वजनिक गरेका हुन् ।

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको छ । बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो । नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।