विकासन्युज

विद्यार्थीको चापमा शिवपुरी: सक्नेलाई शुल्क, नसक्नेलाई फ्री

शिवपुरी माध्यमिक विद्यालय । तस्बिर: साैगात पुडासैनी/ विकासन्युज काठमाडौं । टिनटिनटिन…टिन…घण्टी बज्यो, मध्यान्हको १ बजे । सबै विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्के । केही समय पहिले सुनसान रहेको विद्यालयमा एकैछिन विद्यार्थीको गुञ्जन गुञ्जियो । कोही कक्षा कोठाभित्र, कोही बाहिर, कोही काैशीमा त कोही भुँइमा विद्यार्थीहरू खेल्न थाले । झट्ट हेर्दा लाग्थ्यो-यो भवनलाई विद्यार्थी थेग्न गाह्रो छ । तर पनि भवनले सकिनसकी थामिरहेको छ । यो दृश्य हो- बालुवाटारमा रहेको शिवपुरी माध्यमिक विद्यालयको । २०२१ सालदेखि बालुवाटारमा शिक्षा दिँदै आएको शिवपुरी माध्यमिक विद्यालय काठमाडौं उपत्यकाको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ । विसं २००५ सालमा स्थापना भएको यो स्कुल सुरुमा बाँसवारी स्कुलको नाममा सञ्चालनमा आएको थियो । विभिन्न ठाउँमा सर्दैसर्दै पछि २०२१ सालदेखि बालुवाटारमा सञ्चालन हुँदै आएको हो । सुरुमा अनौपचारिक रूपमा सुरु भएको विद्यालय पछि सरकारी विद्यालयको रूपमा परिणत भएको विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले बताए । जहाँ २२ कक्षा सञ्चालन गर्ने ठाउँ छ । नतिजा र गुणस्तरीय शिक्षाले उत्कृष्ट रहेको शिवपुरी विद्यालयमा विद्यार्थीको संख्याअनुसार न विद्यार्थीलाई खेल्ने ठाउँ छ, न त कक्षाकोठाभित्र ढुक्कले बस्ने ठाउँ नै । बाहिरबाट झट्ट हेर्दा सफा अनि चिटिक्क देखिने भवनमा विद्यार्थीको चाप र खुल्ला ठाउँ नहुँदा भने अलिक असहज भएकाे देखिन्छ । लस्करै जोडिएका ठूला तीनवटा भवन, ती भवनभित्र करिब १६ सय विद्यार्थी अहिले अध्ययन गरिरहेका छन् । विद्यार्थीको चाप र सीमित स्रोत-साधनले विद्यार्थीलाई खेल्ने ठाउँको अभाव भएको विद्यालयको भनाइ छ । विद्यालयका कोठा संरचनाअनुसार ३५ जनालाई पढाउन मिल्ने मात्र छ । तर, एकै कक्षामा ५० जना विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता छ । प्रधानाध्यापक सुवेदी भन्छन्, ‘अभिभावक आउनुहुन्छ, जसरी पनि भर्ना गराइदिनु भन्नुहुन्छ । नाइँ पनि भन्न सकिँदैन, यसरी धेरै विद्यार्थी भर्ना गर्दा एउटै कक्षामा ५० विद्यार्थीभन्दा बढी राख्नुपर्छ ।’ यसका लागि तपाईंले पहल गर्नुभएन भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘जग्गा प्राप्तिको पहल भएकै हो तर काठमाडौंमा निकै गाह्रो छ, खाली जग्गै छैन । फेरि यो ठाउँबाट टाढा सार्ने हो भने फेरि जुन यहाँको समुदायसँगको साइनो छ त्यो छुटेर जान्छ । टाढा लान पनि मिलेन । नजिकै जग्गा पाइने सम्भावना पनि नहुँदा समस्या भएको हो ।’ तीन पक्षबीचको राम्रो सहकार्य भौतिक संरचना कम भएपनि विद्यालयले दिने सेवा भने उत्कृष्ट छ । सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन गाह्रो भइरहेको बेला यो स्कुलले भने भवनको क्षमताभन्दा बढी विद्यार्थी भर्ना गराएर शिक्षा दिरहेको छ । यसो हुनुको पछाडि विद्यार्थी, अभिभावक र शिक्षकको ठूलो भूमिका रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् । उनी तीन पक्षबीच राम्रो सहकार्य भयो भने जुनसुकै विद्यालय उत्कृष्ट बन्ने दाबी गर्छन् । ‘हामीले गरेको पनि त्यही हो, ’ उनी भन्छन्, ‘ शिक्षकको टिमवर्क, आधुनिक प्रविधि प्रयोग गरेर शिक्षा दिने अभिभावक र विद्यार्थीको सल्लाहमा विद्यालय अघि बढ्यो भने विद्यार्थी नपाइने समस्या हुँदैन ।’ ७ कक्षा माथि अत्यधिक चाप यो विद्यालयमा अध्ययन गर्ने कक्षा १, २ भन्दा ७ कक्षादेखि माथि विद्यार्थीको चाप बढी छ ।  कक्षा १ देखि ३ सम्म एउटा मात्र सेक्सनमा पढाइ भइरहेको छ । जहाँ एक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थी छन् । ४ देखि १० सम्म भने धेरै सेक्सन छन्, जहाँ  एउटा सेक्सनमा करिब ५० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा ४-४ सेक्सन बनाएर विद्यार्थीलाई अध्ययन गराइन्छ । जति विद्यालयप्रति अभिभावकको आकर्षण थियो, त्यहीअनुसार विद्यार्थी भर्ना गराउन भने विद्यालयलाई समस्या छ । शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदी । तस्बिर: साैगात पुडासैनी/ विकासन्युज विद्यार्थीलाई प्रविधिसँग जोड्दै काठमाडौंको पानीपोखरी बस्ने  सविन रानामगर शिवपुरीमा कक्षा ११ मा अध्ययन गर्छन् । उनी कक्षा ९ देखि कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै आएका छन् । उनी विद्यालयमा पढाइको वातावरण राम्रो भएपनि खेल्ने ठाउँ नहुँदा समस्या भएको बताउँछन् । कक्षा ८ देखि शिवपुरीमा अध्ययन गर्दै आएका उनी भन्छन्,  ‘शुल्क पनि महँगो छैन, पढाइ पनि राम्रै छ तर अलि फराकिलो ठाउँ नहुँदा समस्या हुन्छ ।’ अहिले विश्व डिजिटलाइजेशनको दिशामा तीव्र रूपमा अगाडि बढिरहेको छ । विद्यार्थीहरू पनि कम्प्युटर प्रविधिको क्षेत्रमा आफ्नो करिअर बनाउन चाहन्छन् । अहिले निजीदेखि सरकारी विद्यालयले पनि डिजिटल सशक्तिकरणलाई बढवा दिरहेका छन् । अहिलेको यस्तो अवस्थामा कम्प्युटर इन्जिनियरको माग धेरै छ । यसैलाई मध्यनजर गर्दै यो विद्यालयले पनि कक्षा ९देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ सुरु गरेको हाे ।  ९ र १० कक्षामा यो विषय पढ्ने विद्यार्थीको संख्या धेरै भएपनि कक्षा ११ मा भने १०/११ जना मात्र विद्यार्थी हुन्छन् । एसईईपछि धेरैजसो विद्यार्थीको रोजाइ मेकिडल शिक्षा वा अन्य विषयमा जाँदा विद्यार्थी कम हुने गरेको जनाइएको छ । एसईईमा ९३ प्रतिशत विद्यार्थी पास कुनैपनि विद्यालयलाई उत्कृष्ट भनिनुको आधार उसले दिने नतिजा हो । यो विद्यालयले पनि हरेक वर्ष हुने एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विगत १५ वर्षदेखि यो विद्यालयले एसईईमा राम्रो नतिजा ल्याउँदै आएको विद्यालयको दाबी छ । कुनै बेला ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन  सफल विद्यालयले यो वर्ष पनि एसईईमा ९३ प्रतिशत विद्यार्थी उत्तीण गराउन सफल भयाे । परीक्षामा एक सय ४० जना विद्यार्थी सहभागी भएका थिए । नेपाली-अंग्रेजी माध्यमबाट पढाइ यो स्कुलमा अहिले नेपाली र अंग्रेजी दुवै भाषाबाट अध्ययन, अध्यापन भइरहेको छ । पहिले कक्षा ५ सम्म अंग्रेजी माध्यम, ६ कक्षादेखि नेपाली र अंग्रेजी अध्ययन गराइन्थ्यो । दुई भाषामा पढाउँदा धेरै समस्या आयो । यसो गर्दा अंग्रेजी माध्यममा विद्यार्थीको आर्कषण हुने, नेपाली माध्यममा कम हुने देखियो । कुनै विद्यार्थी नेपाली मात्र बुझ्ने, अंग्रेजी कम बुझ्नेलगायतका समस्या देखिन थाल्यो । यस्ताे हुँदा शिक्षक, अभिभावक र विद्यार्थीबीच सल्लाह गरी अहिले कक्षा ७ सम्म सबै अंग्रेजी माध्यमबाट र ८ देखि १० अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरेको छ । विद्यार्थीको चाहना अंग्रेजीमा बढी छ । तर, गाउँबाट आएका कतिपय विद्यार्थी नेपालीमै पढिरहेका छन् । गाउँबाट आएका अंग्रेजी नजान्नेहरूका लागि नेपाली माध्यमबाट पढाइ हुने गर्छ । शुल्क अनिवार्य छैन शिवपुरी विद्यालयले विद्यार्थीका लागि अनिवार्य शुल्क तोकेको छैन । आर्थिक अवस्था राम्रो भएका अभिभावकले अभिभावक भेलामा सक्दो सहयोग गर्छन् भने नसक्नेहरूका लागि अनिवार्य छैन । ‘हामीले कक्षा १० सम्म अनिवार्य शुल्क राखेका छैनौं । सक्नेहरूले केही सहयोग गर्नुहुन्छ, कसैले वर्षमा हजार/पन्ध्र सय दिनुहुन्छ, नसक्नेलाई ल्याउनैपर्छ भन्ने छैन, ’ प्रधानाध्यापक सुवेदी भन्छन्, ‘हामीले मासिक, वार्षिक यति शुल्क भनेर तोकेका छेनौं । अभिभावक भेलामा आफ्नो खुसीअनुसार अभिभावकले सहयोग गर्नुहुन्छ ।’ विद्यालयको अन्य आयस्रोत नभएकाले पनि यो बाध्यता रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् । नि:शुल्क शिक्षामा उनकाे फरक तर्क छ । सक्नेले शुल्क तिरेर नसक्ने विद्यार्थीलाई फ्री गर्‍याे भने विद्यालयलाई पनि सजिलो र विद्यार्थी पनि सहज हुन्छ । सरकारले दिएको केही पैसा र शिक्षकले मात्र नि:शुल्क शिक्षा दिन अहिलेको अवस्थामा गाह्रो छ । खर्च गरिरहनुपर्ने भएकाले शुल्क उठाउनुपर्ने बाध्यता छ । शिक्षक कर्मचारी पनि अभाव भौतिक पूर्वाधारजस्तै पर्याप्त शिक्षकको पनि विद्यालयमा अभाव नै छ । अहिले ५४ जना शिक्षक छन् । विद्यार्थीको संख्याअनुसार शिक्षककाे अभाव छ तर, पनि विद्यालयले व्यवस्थापन गरिरहेको छ । अहिले सबै सामुदायिक विद्यालयको समस्या नै पर्याप्त शिक्षक नहुनु हो । ‘कुनै विद्यालयमा यति पनि नभएको अवस्था रहेको बताउँदै प्रधानाध्यापक सुवेदी ४-५ जना शिक्षक थप भए सहज हुने बताउँछन् ।  माविमा १२, निमाविमा १० र प्राविमा १५ जनाको दरबन्दी छ भने तीन जना करार गरी बाँकी विषयगत शिक्षकहरू छन् । यस्तै, कम्प्युटर इन्जिनियरिङको लागि ४ जना इन्जिनियर, २ जना विज्ञान विषयको शिक्षक गरी जम्मा ५४ जना शिक्षक अहिले विद्यालयमा कार्यरत रहेका छन् । यस्तो हुँदा विद्यालयमा भएका शिक्षकहरूले थप कक्षा पढाउनुपर्ने बाध्यता छ । ‘हामीसँग विद्यालयको अरू स्राेत नहुँदा शिक्षकहरू राख्न सकेका छैनाैं, ‘ उनले भने । ३० वर्षदेखि स्कुलमै प्रधानाध्यापक सुवेदीले यो विद्यालयमा पढाउन थालेको ३० वर्ष भयो । सुरुमा गणीतको शिक्षकका रूपमा प्रवेश गरेका उनी अहिले त्यही विद्यालयको प्रधानाध्यापक बनेका छन् । उनी २ वर्ष देखि प्रधानाध्यापकको जिम्मेवारीमा छन् । पहिले शिक्षक भएर पढाउँदा र अहिले पुरै स्कुलको व्यवस्थापकीय भू्मिकामा हुँदा उनलाई फरक अनुभव भइरहेको छ । ‘पढाउँदा रमाइलो हुन्थ्यो, अहिले जिम्मेवारी थपिएको छ, ’ उनी भन्छन्, ‘अहिले पनि मैले पढाउन छोडेको छैन ।’ उनी कुनैपनि संस्थालाई राम्रो बनाउनु व्यवस्थापकीय पदमा बसेका व्यक्तिको ठूलो भूमिका हुने बताउँछन् । आफूले जिम्मेवारी सम्हालेको २ वर्षमा विद्यालयमा शौचालयदेखि खानेपानी ,विद्युतलगायतको समस्या समाधान जोड दिएको उनको दाबी छ ।

अधिक तरलताको चापमा बैंकहरू, राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ

काठमाडौं । बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले झण्डै ५ खर्ब रुपैयाँ खिचेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ तानेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विभिन्न समयमा बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने गरेको छ । सोही उपकरण प्रयोग गरेर राष्ट्र बैंकले साउनमा ४ पटकमा १ खर्ब ७० अर्ब रुपैयाँ र भदौमा ६ पटकमा ३ खर्ब २० अर्ब रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूबाट ४ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप खिचेको हो । राष्ट्र बैंकले साउनमा तानेको निक्षेपको ब्याज र साँवा भुक्तानी गरिसकेको छ । राष्ट्र बैंकका अनुसार साउन २ गते तानेको ५० अर्बको साँवा र ब्याज साउन २३ गते फिर्ता गरिसकेको छ । यस्तै, साउन ९ गते ४० अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले ब्याज र साँवा रकम साउन ३० गते फिर्ता गरेको थियो । साउन १६ गते संकलन गरेको ४० अर्ब रुपैयाँ निक्षेपको भुक्तानी फिर्ता भदौ ५ गते र साउन २३ गते खिचेको ४० अर्ब रुपैयाँको भदौ १२ गते फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भदौमा हालसम्म ६ पटक बैंकिङ प्रणालीबाट निक्षेप संकलन गरेको छ । राष्ट्र बैंककाअनुसार भदौ २ गते १ खर्ब रुपैयाँ, भदौ १२ गते ४० अर्ब रुपैयाँ, भदौ १९ गते ३० अर्ब रुपैयाँ, भदौ २३ गते १ खर्ब रुपैयाँ र भदौ २६ गते ४० अर्ब रुपैयाँ गरी ३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिचेको हो । उक्त निक्षेपको ब्याज र साँवा असोजमा गरिने राष्ट्र बैंकले जनाएको छ । पूर्वबैंकर पर्शुराम कुँवर बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग नभएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप खिच्ने गरेको बताउँछन् । स्ट्याण्डिङ डिपोजिट फेसिलेटि (एसडीएफ) मा बैंकहरू आफैं बढी भएको निक्षेप जम्मा गर्न जान्छन् भने निक्षेप संकलनमा भने राष्ट्र बैंकले बोलकबोल गरेर निक्षेप तान्ने गर्दछ । ‘विगतमा राष्ट्र बैंकले त्यतिधेरै निक्षेप संकल गर्दैनथ्यो किनभने बजारमा पहिला तरलता अप्रयाप्त हुन्थ्यो,’ उनले भने, ‘बरू तरलता अभाव वा कडाई हुँदा राष्ट्र बैंकले उल्टै रिपोको माध्यमबाट बैंकहरूलाई प्रदान गथ्र्याे । तर, अहिले पैसा फालाफाल हुन थालेपछि निक्षेप संकलन गर्न लागेको हो ।’

अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दीर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

बीमा बोर्डले भन्यो- ५ लाखको स्वास्थ्य बीमाका लागि २० हजार बीमाशुल्क लाग्छ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पुर्‍याउन के गर्नुपर्छ भन्नेबारे राय पेश गरेको छ । बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय पेश गरेको हाे । बाेडले पेश गरेको रायमा ५ लाख बीमांक रकम कायम गर्दा बीमितबाट २० हजार रुपैयाँ बीमाशुल्क संकलन गर्नुपर्ने राय दिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । मन्त्रीको सो घोषणासँगै ५ लाख पुर्‍याउन के गर्नुपर्छ भनेर मन्त्रालयले बोर्डसँग योजना माग गरेको थियो । मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले एक्चुरियल भ्यालुएसन गराएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले बताए । एक्चुरियल भ्यालुएसन अनुसार ५ लाख बीमांक पुर्‍याउन २० हजार बीमाशुल्क संकलन गर्नुपर्ने उल्लेख भएको र सोहीअनुसार राय पेश गरेको उनले बताए ।

लक्ष्मी सनराइज बैंकले गर्यो वीरगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड ९अघिल्लो शाखा स्थानबाट करिब १ केमी मिटर उत्तर(पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले बताएको छ ।

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ४० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १६ गते भुक्तानी दिनेछ ।

काँचो केरामै विषादीको मात्रा भेटियो

झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए । उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ । तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताए । विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनले जानकारी दिए । काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ । विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए । केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उनले जानकारी दिए । रासस

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरू को लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित रहेको कम्पनीले बताएको छ । सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडी को लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् । सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिसबेहरू जडान गरिएको छ । ग्राहकको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकहरूको सहजता र सहुलियतताको लागि सोस्टेसन सञ्चालनमा ल्याएको हो ।