विकासन्युज

‘मोडर्न फार्मिङ’ गरे सरकारले किसानलाई सहयोग गर्ने

काठमाडौं । नेपालका लघु, साना तथा मझौला कृषि उद्यमहरुले (एमएसएमईज्)हरुले सरकारबाट पाउनुपर्ने सुविधामा समस्या रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले नेपाल बीउ तथा मल परियोजनासँग मिलेर आयोजना गरेको ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चूनौति विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’मा वक्ताहरुले लघु तथा घरेलु कृषि उद्यमहरुले सरकारबाट आवश्यक सहयोग नपाइरहेको गुनासो गरेका हुन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी उपस्थित कार्यक्रममा वक्ताहरुले सरकारी तहबाट आवश्यक सहजीकरण नपाइरहेको गुनासो गरेका हुन् । कार्यक्रममा बीउ तथा मल परियोजनाका परामर्शदाता सिचन श्रेष्ठले कोभिड–१९ लगायतका समस्याका कारण कृषीमा आधारित साना उद्यमहरुमा समस्या सिर्जना भएको बताए । उनले कोभिड–१९, रुस–युक्रेन युद्ध र त्यस लगत्तैको आर्थिक मन्दीले उद्यम व्यवसाय असहज बन्दै गएको भन्दै लघु, साना तथा मझौला कृषि उद्यमहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताएका हुन् । ‘एकपछि अर्को समस्या थप हुँदा उद्यम व्यवसाय असहज बन्दै गयो’ उनले भने, ‘जोखिम घट्दै होइन कि, बढ्दै जाने स्थित देखापरिरहेको छ । एमएसएमईजहरु रेगुलर बिजनेशमा जान प्रयासरत रहेपनि सरकारबाट पाउनुपर्ने सुविधा नपाउँदा रिजल्ट देखिन सकेको छैन ।’ सफल पार्टनर्सका वित्त विज्ञ सबिन नेपालले एमएसएमईज्हरु अर्थतन्त्रको इन्जिन भएपनि यहीँ क्षेत्रले सरकारबाट सहजता पाउन नसकेको बताएका छन् । उनले कृषि सम्वद्ध एमएसएमईज्हरुले बैंकबाट कर्जा लिन चाहे पनि उनीहरुले बनाएका व्यवसायिक योजनामा बैंकहरु ऋण लगानी गर्न एमएसएमईज्हरु समस्यामा परिरहेको बताएका छन् । ‘एमएसएमईज्हरुको अर्को मुख्य समस्या जग्गा धितोको पनि देखिएको छ, व्यवसायिक योजना कमजोर छ भनेर बैंकले व्यवसायिक योजनाका आधारमा ऋण लगानी गर्दैनन्, जग्गा धितो राख्न पनि कागजी प्रक्रिया यति लामो र झन्झटिलो छ कि, कृषकले पूरा गर्नै सक्ने अवस्था छैन’ नेपालले भने, ‘बरु केही हदसम्म लघुवित्तबाट निम्न आए भएकाहरु लाभान्वित भएको पाइसरकारबाट सहयोग नपाएको गुनासो,न्छ ।’ उनले सरकारले कृषि सम्वद्ध साना तथा घरेलु र लघु उद्यमहरुले सहजै ऋण पाउने व्यवस्था गरिदिनुपर्ने आवश्यकता औल्याएका छन् । कृषि उद्यम केन्द्रका व्यवसाय विकास विज्ञ भीमबहादुर विष्टले स्थानीय सरकार सञ्चालन ऐन र औद्योगिक व्यवसाय ऐन नै एकापसमा बाँझिएको बताएका छन् । उनले व्यवसाय वा उद्यम दर्ताको प्रक्रिया र दर्ता गर्नुपर्ने निकाय धेरैँ हुँदा पनि समस्या सिर्जना भइरहेको बताएका छन् । ‘दर्ता प्रक्रिया र दर्ता गर्नुपर्ने निकाय धेरै हुँदा पनि समस्या भएको छ’ उनले भने, ‘दोहोरो कर तिर्नुपर्ने, त्यसमा पनि करबारे किसानलाई थाहै नहुने समस्या छ । सरकारले यसमा सहजीकरण गरिदिनुपर्छ ।’ उनले कृषिमा बीमा दाबी नपाउने समस्या रहेको देखिएको समेत बताएका छन् । कृषि अनुदानको समेत सदुपयोग भए नभएको यकिन हुन सक्ने अवस्था नरहेको भन्दै विष्टले भने, ‘कृषि अनुदान कतिले पाएका छन् भन्ने तथ्याङ्क पनि छैन ।’ सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले बजारको पहुँच, वित्तीय पहुँच र मेशिन औजारको ‘रिपेयरिङ’मा कृषकहरुले समस्या झेल्नुपरिरहेको बताएकी छिन् । किसान स्वयंममा पनि डिजिटल साक्षरताको कमी हुँदा र मार्केटिङ, ब्राण्डिङ र डिजिटलाइजेशनमा पनि ध्यान दिनुपर्छ भन्ने कुराको चेतनामा कमी रहँदा नेपालको कृषि आधुनिक हुन नसकिरहको बताइन् । उनका अनुसार सहज परियोजनाले कोशी प्रदेशमा कार्यक्रम चलाइरहेको छ र आधुनिक खेती एप सञ्चालनमा ल्याएको छ । कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कुमार जोशीले पनि साना, लघु तथा मझौला कृषि एमएसएमईज्हरुले व्यवसायिक योजनाका आधारमा ऋण पाउने प्रावधान हुनुपर्ने बताएका छन् । सँगै, यस्तो ऋण कृषि उपजको उत्पादन सिजनका आधारका मात्रै तिर्नपर्ने व्यवस्था गर्न सकिए त्यसले कृषि उद्यममा ठूलो फड्को मार्न सक्ने उनको भनाइ छ । साथै, कृषिमा निरन्तर सहयोग रहे त्यसबाट प्रतिफल प्राप्त हुन्छ भन्ने उदाहरण आफूहरुले कामको शिलशिलामा देखेको बताउँदै जोशीले व्यवसाय दर्ता, नवीकरण र करका प्रावधानबारे सरकारले कृषकहरुलाई बुझाउन सक्नुपर्ने बताएका छन् । ‘एमएसएमईज्हरुले जीडीपीमा २२ प्रतिशत योगदान दिएका छन्, २७ लाख रोजगारी सिर्जना गरेका छन्’ उनले भने, ‘कोभिड १९ पश्चात एमएसएमईज्हरुले समस्यामा परे, रुस युक्रेन युद्धले समस्या थप्यो । यसकारण उनीहरुलाई सहयोगको निरन्तरताको आवश्यकता छ ।’ नेपाल बीउ तथा मल परियोजनाका व्यवसाय विकास प्रबन्धक डा। नारायण प्रसाद खनालले पनि कोभिड र रुस युक्रेन युद्धले ‘सप्लाइ चेन’मा प्रभाव पार्दा नेपालका कृषि सम्वद्ध एमएसएमईज्हरु प्रभावित हुन पुगेको बताएका छन् । उनले नीतिगत रुपमा पनि कृषि उद्यम कृषि मन्त्रालय मातहत हो की उद्योग मन्त्रालय मातहत हो भन्नेमा ‘कन्फ्यूजन’ रहेको बताउँदै यसमा ‘क्लियारिटी’ हुन आवश्यक रहेको समेत बताए । पालिका, वडा, कर कार्यालय जतासुकै कर तिर्न धाउनुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गराउँदै उनले एकद्वार प्रणालीबाट सबै काम हुने प्रणालीको विकास गर्न सुझाव समेत दिएका छन् । सिमिटका आवासीय प्रतिनिधिसमेत रहेका नेपाल बीउ तथा मल परियोजनाका परियोजना संयोजक डा। द्युतीमान चौधरीले सरकारबाट धेरै कुरा अपुग हुँदाहुँदै पनि निजी क्षेत्रबाट विकास साझेदारसँगको सहकार्यका थालिएका कामले आशा जगाएको बताएका छन् । उनले कृषिको योगदान जीडीपीमा २४ प्रतिशत र मुलुकको कुल रोजगारीमा ६५ प्रतिशत रहेको बताउँदै यसलाई बढाउँदै ब्यापार घाटा कम गर्न कृषिलाई व्यवहारमै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेतले देशका सबै तहका सरकारबीच कृषिको व्यवसायिकरण र यसलाई उद्योगसँग जोड्ने विषयमा समान धारणा र नीति आवश्यक रहेको बताएका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले एउटा ऋण लिँदा २०औँ ठाउँमा हस्ताक्षर गर्नुपर्ने र भारी बराबर कागजात जम्मा गर्नुपर्ने अवस्था रहेको बताउँदै यसलाई सरलीकरण गर्न आवश्यक रहेको बताए । उनले वाणिज्य बैंकहरुले कृषिलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह नगरिरहेको बताउँदै बैंकहरुले घरजग्गा र गाडी किन्ने ग्राहकलाई मात्रै ‘तार्गेट’ गरिरहेको आरोप समेत लगाए । महासंघका अध्यक्ष चन्द्र ढकालले भने नेपालको कृषि अझैपनि निर्वाहमुखीकै अवस्थामा रहेको बताउँदै यसको व्यवसायिकरण आवश्यक रहेको र महासंघको तर्फबाट आवश्यक पहल भइरहेको जानकारी दिए । उनले ‘मोर्डन फार्मिङ’को सिकाइमै नेपाल पछि परेको गुनासो गर्दै ‘मोर्डन फार्मिङ’को नमूना देशहरुको अध्ययन भ्रमण गर्ने प्रस्ताव अघि सारेका छन् । ‘मोर्डन फार्मिङको नमूना भनेर चिनिएका देशहरुमा सिक्न जाऔँ, यसको नेतृत्व कृषि मन्त्रालयले गरोस्’ उनले भने, ‘सरकारले पैसा हाल्नु पर्दैन, निजी क्षेत्र आफ्नै खर्चमा मोर्डन फार्मिङ सिक्न जान चाहन्छ ।’ कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले सरकारले २०८१/९१ को अवधिलाई ‘कृषिमा लगानी दशक’को रुपमा घोषणा गरेको स्मरण गराउँदै यो लक्ष्य जुलुस निकाल्नका लागि नलिइएको बताएका छन् । उनले कृषि उपजको आयात शून्य गरि निर्यात बढाउने लक्ष्यका साथ ‘कृषिमा लगानी दशक’को घोषणा गरिएको स्पष्ट पार्दै निर्यात गर्न नसके आयात मात्रै रोक्न सकियो भने पनि ठूलो उपलब्धि हुने बताए ।

चन्दा खर्च पारित गर्न अप्पर स्याङ्गेले डाक्यो साधारण सभा

काठमाडौं । चन्दा बाँडेको रकम पारित गर्न अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा असोज २८ गते काठमाडौंमा बस्नेछ । कम्पनीको सभाले विशेष प्रस्तावका रूपमा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, साढे ३१ हजारले पाए ८४ लाख ५३ हजार कित्ता

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको हकप्रद सेयर भदौ २५ गते बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको हकप्रद सेयरमा ३१ हजार ५३८ जना सेयरधनीले ८४ लाख ५३ हजार ६४१ कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । सोही सेयर बाँडफाँट गरिएको हो । साथै आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको बाँडफाँडमा नपरेकाले भदौ २८ गतेदेखि आइपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गर्ने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ ।

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ ।

पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार, चलपहल बढ्यो

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रर्द्धनमा कोशेढुङ्गा हुने बताउँछन् । ‘यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ, करिब ३ महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ,’ उनले भने, ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाए । केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ । प्रतिघण्टा ५ सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ । यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल ६२९ करोड रुपैयाँमध्ये हालसम्म ४३३ करोड रुपैयाँको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ । यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको २९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।

आरविविको १८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा दिउँसो २ बजे बस्नेछ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, यस्तो छ अन्य देशको मुद्रा भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ बढाएको छ । साथै अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको हो । तर, नयाँ रेकर्ड भने बनेको छैन । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.३४ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ कायम छ । यसअघि हिजो अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ, युरोको खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर १७६.१४ रुपैयाँ तोकेको थियो । यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.१७ रुपैयाँ र बिक्रीदर १५८.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८१ रुपैयाँ र बिक्रीदर ९९.२५ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानिज येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ कायम छ । हिजो फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५७.८७ रुपैयाँ र बिक्रीदर १५८.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२२ रुपैयाँ र बिक्रीदर ८९.६२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८५ रुपैयाँ र बिक्रीदर ९९.२९ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.५४ रुपैयाँ र बिक्रीदर १०३ रुपैयाँ, जापानिज येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ तोकेको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ तोकिएको छ ।

मसानघाट नै अतिक्रमणमा

काठमाडौं । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन् । डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ । गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ । गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउँछन् । उनकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् । प्रवक्ता भण्डारीले भने, ‘पहिले हटिया बजार छेउमा दाहसंस्कार गर्ने ठाउँ थियो, अहिले बजार बस्यो । पहिलेका धेरै ठाउँ सार्वजनिक ठाउँ अतिक्रमण भएका छन्, त्यसमा मसानघाटसमेत बाँकी नरहनु दुःखको विषय हो । यसैले नगरपालिकाले अतिक्रण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका छ ।’ प्रवक्ता भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिए । निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गरे । ‘निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन् । मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला !,’ उनको कथन छ । निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । उनले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिए । ‘धेरै ठाउँका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ,’ सहायक प्रजिअ बरालले भने, ‘उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ ।’