सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणस भाबाट पारित भएको उक्त बोनस सेयर वितरण गरेको हो । पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । पुस १५ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ । साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बुधबार दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।
अन्नपूर्ण पदमार्गमा १० हजार पर्यटकले घुमफिर गरे
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा ६ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये ६ हजार ४ सय ३५ पुरुष र ४ हजार १ सय ७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट १ हजार ७४, इजरायलबाट ८ सय ३२, जर्मनबाट ७ सय ८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भए पनि दैनिकजसो चार–पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । सन् २०२३ मा २१ हजार २ सय ४७ र सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ हजार ३ सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार ४ सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए । सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।
रामेछापबाट चार वटा ट्रकमा लोड गरी ल्याइएको ३२ लाख बढीको काठ नियन्त्रणमा
धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । बुधबार रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिए । रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उनले बताए। करिब ३२ लाख मूल्य बराबरको ९ सय ८९.३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शंका व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताए । ‘नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिए ।
११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९ सय ७६ जना र सबैभन्दा कम साउनमा २ सय ८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ । चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा ७ हजार ५ सय ७७ नेपाली, ६ हजार ३ सय ८ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
बढी मूल्यमा नुन बेच्ने सोल्टीमोडको म्याक्रो मार्टलाई ३ लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन/तीन लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्री गरेको भेटिएको विभागले जनाएको छ । यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्री नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ ।
एमएडब्लु इन्टरप्राइजेजको अल्पकालीन ऋण रेटिङ स्थगन
काठमाडौं । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेज प्रालिको अल्पकालीन ऋण रेटिङ स्थगन गरेको छ । एमएडब्लुले आग्रह गरेपछि उसको अल्पकालीन ऋण रेटिङ स्थगन गरिएको इक्राले जनाएको छ । एमएडब्लुले ४ अर्ब २१ करोड रुपैयाँबराबर अल्पकालीन ऋणको रेटिङ गराएको थियो । इक्राले यो अल्पकालीन ऋणलाई ‘ए थ्री प्लस’ रेटिङ दिएको थियो । इक्राका अनुसार एमएडब्लुलाई ऋण उपलब्ध गराउने प्रमुख बैंकहरूले पनि यसमा कुनै आपत्ति जनाएका छैनन् । रेटिङ स्थगन गर्दा मूल्यांकन संवेदनशीलता र वित्तीय सूचक समेटिएका छैनन् । एमएडब्लु सन् १९७५ देखि नेपालका लागि यामाहाको मोटरसाइकल र स्कोडा गाडीको आधिकारिक वितरक हो । यसको आधिकारिक कार्यालय मोरङ विराटनगरमा छ । यामाहा मोटरसाइकल बेच्न यसको देशभरि १ सय ४ वटा डिलर छन् । एमएडब्लु इन्टरप्राइजेज एमएडब्लु ग्रुपअन्तर्गतको कम्पनी हो । यसको प्रबन्ध निर्देशकमा विष्णुकमार अग्रवाल छन् ।
‘रेडक्रसको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न खोजियो’
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ । समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ । रेडक्रसको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढंगबाट दुष्प्रचार गरिएको दाबी गरे । ‘नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्,’ उनले भने, ‘छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।’ राजनीतिक हस्तक्षेप र लामो समय केन्द्रीय कार्यसमितिको अनुपस्थिति नहोस् भनी देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै उनले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गरे । ‘वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र रही मानवीय सेवामा तल्लीन छ,’ अध्यक्ष नेपालले भने, ‘करचुक्ता, संस्था दर्ता नवीकरण, मानवीय सेवा र विपद् प्रतिकार्यका विभिन्न परियोजना व्यवस्थित गर्न कार्यसमिति सक्षम छ ।’ उनले विद्यमान कार्यसमिति पारदर्शीता, जवाफदेहिता, आर्थिक अनुसशासन र सेवाको गुणस्तर पालना गर्न/गराउन प्रतिबद्ध रहेको बताए। नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य संगठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको जानकारी दिए । उनले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पारे । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उनको भनाइ थियो । नेपाल रेडक्रस अन्तर्राष्टिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रुपमा विसं २०२० मा स्थापना भई मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रूपमा कार्यरत छ ।