विकासन्युज

संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशाधेन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरे । अँध्यारो कोठाको रातिको प्रश्ताव नभइ नेकपा (माओवादी केन्द्र) को संसदमा गरिएको प्रस्ताव भएको बताए । यसका लागि काँग्रेस र एमाले तयार हो की होइन ? भन्दै प्रश्न गरे । यस्तै, उनले निराधार आरोप लगाएर संसदका दुई प्रमुख प्रतिष्पर्धी पार्टी रहस्यमय रूपमा एक ठाउँमा उभिएको बताए । काँग्रेस र एमालेको सहकार्यले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको गन्ध आएको बताए । अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको स्पष्ट देखिएको बताए । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको जानकारी दिए । ‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ? कताकता तपाईहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आउँछ । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत गर्दै हुनुहुन्छ’, उनले भने । प्रधानमन्त्री दाहालले सरकारका उपलब्धिहरूको सूचि धेरै लामो भएको जानकारी दिए ।

माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न सकिदैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहल (प्रचण्ड)ले माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने दाबी गरेका छन् । शुक्रबार संसदमा विश्वासमा मत माग्दै प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने बताए । कता कता तपाइहरूले स्थीरताको नाममा समावेशी प्रतिनिधत्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको आरोप लगाए । कांग्रेस र एमालेको इच्छा २०४७ सालको वरिपरी नै फर्कन खोजेको बताए ।

सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताए । यस्तै, उनले बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरुको हातमा जाने जिकिर गरे । ‘सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ । सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो, जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पुरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ’, उनले भने । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।

देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए । गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिव दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको जानकारी दिए । ‘तथ्यांक नै हेर्दा गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यो वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य छ’, उनले भने, ‘यो लक्ष्य केवल प्रचार र ढाडसको होइन, अन्तर्राष्ट्रिय निकाय तथा नेपालकै विज्ञ एवं अर्थशास्त्रीहरूकले पनि वास्तविक मानेको प्रक्षेपण हो, ६ अर्ब लगानीको प्रतिवद्धतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ ।’ प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

काँग्रेस र एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे । आफूले विधिको शासन शुरु गरेको जिकिर गरे । काँग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए । उनले भने, ‘काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’ उनले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।

काँग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने जानकारी दिए । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नयत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने जानकारी दिए । ‘जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन्, उनले भने । उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।

संविधानमा माओवादीको सबैभन्दा धेरै ठूलो लगानी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् । त्यस्तै, उनले एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे । ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो, ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ’, उनले भने । प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गरे ।

रात्रि बस सञ्चालनमा रोक लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेको थियो । त्यसपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।