विकासन्युज

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामक प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुने रकम ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने छ । त्यसैगरी, ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि समेत) सर्वसाधारणमा बिक्री गरिने छ ।

अमेरिकाको उपभोक्ता मुद्रास्फीति ३.० प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकको उपभोक्ता मुद्रास्फीति जुनमा गत वर्षको तुलनामा ३.० प्रतिशतले बढेको छ । मे महिनामा ३.३ प्रतिशत र अप्रिलमा ३.४ प्रतिशतले बढेको थियो । श्रम तथ्यांक ब्युरोले जारी गरेको प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे महिनामा अपरिवर्तित रहे पनि मौसमी समायोजनका आधारमा ०.१ प्रतिशतले घटेको छ । अप्रिलमा, सीपीआई ०.३ प्रतिशत बढेको थियो । पछिल्लो मुद्रास्फीति प्रतिवेदनले खाद्य र ऊर्जा बाहेक तथाकथित कोर सीपीआई मे महिनामा ०.२ प्रतिशत र अप्रिलमा ०.३ प्रतिशतले बढेपछि जुनमा ०.१ प्रतिशतले वृद्धि भएको देखाएको छ । कोर सिपिआई पछिल्लो १२ महिनामा ३.३ प्रतिशतले बढेको छ । जुन अप्रिल २०२१ पछिको सबैभन्दा कम वृद्धि हो । ऊर्जा सूचकांक अघिल्लो महिनाको जस्तै महिनामा २.० प्रतिशतले घटेको छ । जुनमा खाद्य सूचकांक ०.२ प्रतिशतले बढेको छ । जुनमा बढेको सूचकांकमा आश्रय, मोटर वाहन बीमा, घरेलु सामान र सञ्चालन, चिकित्सा हेरचाह र व्यक्तिगत हेरचाह समावेश छ । एयरलाइन भाडा, प्रयोग गरिएको कार र ट्रक, र संचार को लागि सूचकांक एक महिनामा घट्ने तीमध्ये थिए । पछिल्लो तथ्यांकले यूएस फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलले यस हप्ताको शुरुमा केन्द्रिय बैंकले दर कटौती निर्णयको नजिक रहेको संकेत गरे । तर यस्तो कदम चाल्नु अघि मुद्रास्फीतिमा प्रगतिमा बढी विश्वास आवश्यक रहेको बताए ।

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

सुदूरपश्चिम । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तर्क्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् । अन्तर्क्रियामा जलवायुसम्बन्धी जानकार बालकृष्ण जम्कट्टेलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण हुने विपद्लगायतका घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशत बालबालिका नै हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले जलवायु परिवर्तनको असरकै कारण बालबालिकाको बालअधिकारमा चुनौती थपिएको बताए । ‘युवा तथा बालबालिका बढ्दो उमेरमा रहने गरेकाले उनीहरूलाई जलवायुको परिवर्तनको बढी असर पुग्ने गरेको अध्ययनबाट देखिन्छ’, उनले भने, ‘यसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, खानेकुरा जस्तामा पनि असर पुर्‍याइरहेको हुन्छ ।’ अध्ययनका क्रममा ८२ प्रतिशत युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारण आफूहरू कम्तीमा पनि एक वा एकभन्दा बढी विपद्को जोखिम रहेको जवाफ दिएको बताइएको छ । यस्तै ३५ प्रतिशत युवा तथा बालबालिकाले आफूहरू कुनै पनि प्रकोपबाट एकदमै जोखिममा रहेको जवाफ दिएको थिए । कार्यक्रममा सहभागी युवा तथा बालबालिकाले जलवायु परिवर्तनसँगै हुने विपद्जन्य घटनाका कारण भत्किएका वा छाना उडाइएको विद्यालयको कक्षाकोठामा बसेर अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुँदा पठनपाठन प्रभाव पर्न गई विद्यार्थीमा मानसिक तनाव हुने गरेको अनुभव सुनाएका थिए  । बालबालिकाले जलवायु परिवर्तनले हुने विपद्लगायतका घटनाकै कारण विद्यालयमा अनुपस्थिति बढ्ने, सिकाइको उपलब्धि अपेक्षाकृत नहुने, गर्मी र बर्सातका कारण विद्यालय जान नसक्ने, गर्मी मौसममा सबैभन्दा बढी गर्मी हुने मध्याह्नको समयमा विद्यार्थीले पठनपाठन सकाएर विद्यालयबाट घर आउँदा थप गर्मीको सामना गरिरहेका भए पनि सञ्चालकले यस्ता समस्याको अनुकूलन एवं न्यूनीकरण गर्नमा ध्यान नदिइएको जस्ता अनुभव पनि सुनाएका थिए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका झण्डै ५० युवा तथा बालबालिका सहभागी रहेको कार्यक्रममा  जलवायु परिवर्तनको असर अनुकूलन एवं न्यूनीकरण गर्न सकिने उपायका बारेमा अभिमुखीकरण गरिएको थियो ।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडाैं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । परिषद्को यही असार ३१ गते हुन लागेको २८ र २९औं साधारणसभा एवम् अधिवेशनका लागि बिहीबार परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका हुन् । यस्तै, तीन उपाध्यक्ष पदका लागि सहदेव ९विमल० धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिइन् । यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप (मिलन) कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ । सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईंले बताइन् । निर्वाचनमा एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

बुद्ध एयरको जहाज धावनमार्गमा फस्यो, विमानस्थल बन्द

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुइँ (माटो) छुन पुगेको थियो । काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने, ‘जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।’ जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ । जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए । रासस

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् । तोकिएको समयभित्र खरिद निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि बिहीबार (असार २७ गते)  सकिएको भएको छ। संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारीको लकइनमा राखिएको सेयरको लकइन अवधि सकिएको हो । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५।४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लकइन अवधि सकिएको छ । कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् ।