विकासन्युज

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिंगो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् । ‘पार्कमा रहेको सुन्दर र आकर्षक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ’, स्थानीय मनबहादुर घलेले भने, ‘बारपाक आएका पर्यटक बुद्ध पार्क नपुगी शायदै कोही फर्कंदैनन् होला ।’ बुद्ध पार्कले बारपाकमा पर्यटकको आकर्षण थपिएको उनको भनाइ छ । ‘बारपाक आफैँमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ हो,’ उनले भने, ‘यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ ।’ बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको घलेले बताए । बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढंगले राखिएको छ । त्यस्तै, पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृश्यावलोकनसँगै बारपाकीहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्’, उनले भने, ‘त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।’ बुद्ध पार्क ढुङ्गगैढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । ‘यो पार्क बारपाकभित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ,’ उनले भने, ‘प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका बिरगजे घलेको गाउँ बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र विन्दु पनि हो । रासस

यो वर्ष शिक्षक सेवा आयोगको कुन तहको परीक्षा कहिले ?

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि शिक्षक पदपूर्ति कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि आवेदन माग गरिनेछ । फागुनमा निम्न माध्यमिक तहका लागि विज्ञापन खुल्नेछ भने प्राथमिकत तहका लागि वैशाखमा आवेदन माग गरिने छ । पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ । त्यस्तै निम्न माध्यमिक तहको भने वैशाख र असारमा परीक्षा हुने कार्यतालिका छ । प्राथमिक तहको जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नै नतिजा प्रकाशन गर्ने तयारी आयोगले गरेको छ । अध्यापन अनुमतिपत्रअन्तर्गत माध्यमिक तहका लागि आगामी साउनमा आवेदन माग गरिने छ । अनुमतिपत्रको परीक्षा असोजमा गर्ने कार्यतालिका छ । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा कात्तिकमा हुनेछ ।

रसुवाको राजस्व २० अर्ब ३६ करोड

रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो  । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रुपैयाँ रहेको छ । यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले  वृद्वि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

बाँकेका गाउँमा अझै भएन विद्युतीकरण, खानेपानी र सिँचाइको अभाव

नेपालगञ्ज । भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । ‘पहिले त हामीले खोलाको पानी नै खान्थ्यौँ तर पछिल्लो पटक केही घरमा धारा जडान भएको छ, खानेपानीको समस्या समाधान भएको छैन,’ उनले भने । विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गर्दै नेपालीले ठेकेदारको लापरबाहीले विद्युतीकरणको काम अघि बढ्न नसकेको बताए । उनले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम अझै पूरा नभएको जानकारी दिँदै यसमा नेपाल विद्युत् प्राधिकरणले पनि ताकेता नगरेको आरोप लगाए । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा खसालिएको र तीमध्ये तीन सय ६० मात्रै गाडिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण अन्य खम्बा यत्रतत्र छरिएको अवस्थामा रहेका छन् । स्थानीय नेपालीले बस्ने ठाउँको खोजी गर्दै जाँदा रोल्पा, रुकुम, मुगु, सल्यान, जाजरकोट, प्यूठानलगायत जिल्लाबाट आएर त्यहाँ बसोबास गरेको जानकारी दिए । त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । उक्त स्थानमा १५ वर्षदेखि स्थानीय बस्दै आएका छन् । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले आफ्नो पहलमा नै विद्युतीकरणको प्रयास भएको जानकारी दिँदै उक्त योजना अधुरो योजना भएको बताए । उनले भने, ‘ठेक्का रद्द गरेर भए पनि विद्युत् प्राधिकरणले नै काम गर्नेगरी काम गर्छु ।’ नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा ठेक्का लिएको कम्पनीलाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको बताए । उनले भने, ‘विद्युत् कार्यालयले पत्राचार गरेको छ, जायज कारण पनि छैन र जवाफ चित्त बुझदो पनि छैन ।’ उनले ठेकदारको लापरबाहीका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यस क्षेत्रमा २४ किलोमिटरमा विद्युत् लाइन तान्नुपर्ने अवस्था रहेको जानकारी दिए । तीन करोड ५० लाख रुपैयाँ हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो । रासस

नेपाल एयरलाइन्सले तिर्यो ४३ करोडभन्दा बढी ऋण

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले जहाज खरिदवापतकाे ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २ सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पौडेलले बताए । यस्तै विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न दुई कोषलाई निगमको आग्रह छ । यसैगरी किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

राँझा । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । अघिल्लो आवभन्दा गत आवमा करिब चार करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रुपैयाँ रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपैयाँ राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो । कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८१ करोड ३० लाख ८४ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकामा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार रुपैयाँ संकलन गरेको थियो । भदौ महिनामा दुई अर्ब २२ करोड १४ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४५ करोड ११ लाख ८० हजार रुपैयाँ असुली भएको थियो । यस्तै, असोजमा दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार रुपैयाँ, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब २४ करोड २१ लाख ५० हजार रुपैयाँ संकलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उक्त कार्यालयले मङ्सिरमा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, पुसमा दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी, माघमा दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । कार्यालयले फागुनमा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार रुपैयाँ असुली गरेको छ । कार्यालयले गत आर्थिक वर्षको चैतमा दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रुपैयाँ, वैशाखमा दुई अर्ब ४७ करोड २५ लाख १२ हजार रुपैयाँ, जेठमा दुई अर्ब ४९ करोड ६६ लाख एक हजार रुपैयाँ र असारमा दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ । रासस

ब्याज घटाउनेमा ग्लोबल आइएमई अगाडि, एक वर्षमा कुनकाे कति घट्याे ?

काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले ब्याजदर ४९ प्रतिशतसम्म घटाएका छन् ।  गत आर्थिक वर्षको साउनको तुलनामा यसवर्ष बैंकहरूले ४९ प्रतिशतसम्म ब्याजदर घटाएका हुन् । तरलता सहज हुँदै गएपछि बैंकहरूले मुद्दती निक्षेप र साधारण बचतमा ब्याज घटाएका हुन् । तथ्यांक अनुसार एक वर्षको अवधिमा बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ३१.११ प्रतिशत र संस्थागततर्फ २९.२८ प्रतिशत ब्याजदर घटाएका छन् भने साधारण बचतमा औसत ३३.८८ प्रतिशतसम्म ब्याजदर घटाएका छन् । २०८१ साउनमा बैंकहरूको औसत ब्याजदर मुद्दतीमा व्यक्तिगततर्फ ६.७२ प्रतिशत बिन्दु, संस्थागत ५.४९ प्रतिशत बिन्दु र साधारण बचतमा ४.७४ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्ष २०८० को साउनमा औसत व्यक्तिगततर्फ ९.७७ प्रतिशत बिन्दु, संस्थागततर्फ ७.७७ प्रतिशत बिन्दु र बचतमा ७ प्रतिशत बिन्दु ब्याजदर थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकहरूको ब्याजदर आधाभन्दा बढीले घटेको पुष्टि गरेको छ । राष्ट्र बैंकको २०८१ जेठसम्मको तथ्यांक अनुसार बैंकहरूको औसत ब्याजदर ६.०६ प्रतिशत छ । जसमध्ये बचतमा ३.७७ प्रतिशत र मुद्दती निक्षेपमा ८.३८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा औसत ब्याजदर ७.९९ प्रतिशत थियो । त्योबेला औसत ब्याजदर बचतमा ५.८४ प्रतिशत र मुद्दती निक्षेपमा १०.२७ प्रतिशत थियो ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

काठमाडौं । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा पनि त्यसतर्फ प्रस्थान गरेका छन् । अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् । अधिवेशन सम्पन्न गर्न अफसरअलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको थियो । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी, महादेशीय कमिटी तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्ष अधिवेशनमा भाग लिन कतार पुग्ने कार्यक्रम छ ।