शैलुङका श्रेष्ठ दम्पतीले दिए छोरालाई पास्निमा बीमा पोलिसी उपहार
काठमाडौं । दोलखा जिल्लाको शैलुङ निवासी एक दम्पतीले आफ्नो छोराको पास्निमा बीमा पोलिसी उपहार दिएका छन् । शैलुङ निवासी दम्पती विशाल श्रेष्ठ र कमला श्रेष्ठले आफ्नो छोरा सबिक श्रेष्ठलाई पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरूले नेशनल लाइफ इन्स्योरेन्समा बीमा गराएर छोरालाई उपहार दिएका हुन् । छोरो सबिकको नाममा १० लाख रुपैयाँ बीमांक रकमको पोलिसी, बुबा विशालको नाममा १० लाख र आमा कमलाको नाममा १० लाख गरी कुल ३० लाख रुपैयाँ बीमांक रकमको बीमा गरेर छोरालाई उपहार दिइएको जनाइएको छ । उक्त सबै बीमा छोराको उज्जवल भविष्यका लागि गरिएको बुबा विशालले बताए । भविष्यमा छोरालाई पढाइका लागि सहयोग होस् भन्ने उद्देश्यले उक्त बीमा गरेकाे उनले बताए ।
२५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, दुई महिनामै थपियो १ खर्ब
काठमाडौं । चालु आर्थिक वार्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो । समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । लक्ष्यको १९.०२ प्रतिशत परिचालन नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ । आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ । सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ । यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।
दशैंलक्षित अग्रिम टिकट खुलाउनेबारे यातायात मन्त्रालयमा छलफल
काठमाडौं । दशैंलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिनलगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए । प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।
ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे । ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरि ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरूमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरू सञ्चालनमा रहेका छन् ।
गम्भीर संकटमा भारतीय हीरा उद्योग, धमाधम मृत्यु रोज्दै व्यवसायी
काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन पुगेको र ठूलो संख्यामा रोजगारी गुमेको आर्थिक अनुसन्धान संस्थान जीटीआरआईले जानकारी दिएको छ । इकोनोमिक रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै निर्यात आम्दानी बढे पनि अर्डरमा गिरावट र प्रयोगशालाबाट उत्पादन हुने हीराको बढ्दो प्रतिस्पर्धाले प्रशोधन नगरिएका ‘रफ’ हिराको मौज्दात बढ्दै गएको जनाएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का संस्थापक अजय श्रीवास्तवले भने, ‘यसले भुक्तानी नहुने, फ्याक्ट्री बन्द र ठूलो मात्रामा रोजगारी गुमाएको छ । दुःखको कुरा, गुजरातको हीरा उद्योगसँग सम्बन्धित ६० भन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन्, जसले भारतको हीरा उद्योगमा परेको गम्भीर आर्थिक र भावनात्मक तनावलाई झल्काउँछ ।’ यी समस्या समाधान गरी यस क्षेत्रको भविष्य सुरक्षित गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । इकोनोमिक रिसर्च इन्सिच्युटको तथ्यांकअनुसार सन् २०२१/२२ मा रफ हीरा आयात १८ अर्ब ५० करोड अमेरिकी डलरबाट २०२३/२४ मा १४ अर्ब ५० करोड डलरमा झरेको छ । यो २४.५ प्रतिशत गिरावटले कमजोर विश्वव्यापी बजार र न्यून प्रशोधन आदेश (अनुबन्ध) प्रतिविम्बित गर्छ । संस्थापक श्रीवास्तकले रुस–युक्रेन द्वन्द्वले विश्वव्यापी हिरा आपूर्ति शृङ्खलालाई पनि असर गरेको बताए । प्रमुख रफ हीरा उत्पादक रुसविरुद्धको प्रतिबन्धले व्यापारलाई अझ जटिल बनाएको छ र विश्वव्यापी हीराको व्यापार सुस्त बनाएको छ । श्रीवास्तवले प्रयोगशालाबाट उत्पादन भएको हीराको बढ्दो उपभोक्ता मागले प्राकृतिक हीराको मागलाई असर गरिरहेको बताए । प्रयोगशालामा उत्पादन गरिएको हीरा अधिक किफायती र टिकाउ हुन्छन् भन्ने विश्वास गरिन्छ । जीटीआरआईले दुबईले हीरा उत्पादन गर्दैन, तर पनि भारतको रफ हीरा आयातमा यसको हिस्सा निरन्तर बढिरहेको बताएको छ । दुबईले बोत्स्वाना, अंगोला, दक्षिण अफ्रिका, रुसबाट रफ हीरा आयात गर्छ र त्यसपछि भारतमा निर्यात गर्छ । भारतीय हीरा उद्योगमा हीरा काट्ने, पालिस गर्ने र निर्यात गर्नेजस्ता विभिन्न गतिविधिमा संलग्न ७ हजारभन्दा बढी कम्पनी छन् । -एजेन्सी
यी हुन् राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी
काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको छ । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेकाे थियाे । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् । नेपालका उत्कृष्ट क्याम्पस सरकारले देशभरका उत्कृष्ट क्याम्पस छनोट गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा छनोट गरिएका तीनवटा क्याम्पस उत्कृष्ट ठहर्दै पुरष्कृत गरेको छ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस क्याम्पस, कास्की, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनभावना क्याम्पस, ललितपुर र विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी क्याम्पसहरूमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज, सोल्टीमोड उत्कृष्ट भएका छन् । राष्ट्रिय स्तरमा उत्कृष्ट भएको क्याम्पसलाई २ लाख ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय सरकारले देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय छनोट गरी पुरष्कृत गरेको छ । स्कुललाई २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालयलाई छनोट गरिएको हो । जसमा दाङको तुलसीपुरमा रहेको श्री मा.वि. प्रथम, काठमाडौंको विश्व निकेतन मावि द्वितीय भएको छ भने दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालय तृतीय बनेका छन् । प्रथम भएको विद्यालयलाई शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र, द्वितीयलाई शिल्ड, ध्वजा र दुई लाख नगदसहित प्रमाणपत्र र तृतीयलाई शिल्ड, ध्वजा र एक लाख नगदसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट निजी विद्यालय सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका- १५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुल भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट प्राविधिक शिक्षालय प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएको छ । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भर्याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट गरिएको हो । सबै शिक्षालयलाई एक लाख रकमसहित प्रमाणपत्र दिइएको छ । यस्तै, समाजमा रहेका बालबालिकालाई शिक्षा दिने संस्थालाई पनि पुरष्कृत गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालवालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरिरहेको काठमाडौंको मनोहरामा रहेको ‘युवा क्रियाकलाप उत्थान केन्द्र’ र ललितपुरको सी आशा फाउण्डेशनलाई सरकारले दुई लाख नगदसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट शिक्षक कर्मचारी शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका शिक्षक तथा कर्मचारी पनि सम्मान भएका छन् । जसमा विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी ५ जना, सार्वजनिक विद्यालयका ७४ जना, निजी लगानीका ३२ जना, विद्यालय ववस्थापन समिति, बालविकास सहजकर्ता ३५ जना रहेका छन् । तीन सय विद्यार्थी विभूषित आज तीन सय विद्यार्थीलाई नेपाल विद्याभूषणबाट विभूषित गरिने भएकाे छ । उच्च शिक्षातर्फ करिब तीन सय जना विद्यार्थी विभूषित गरिएको छ । जसमा नेपाल विद्याभूषण ‘क’ २ सय ६४ जना, नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रापदक ‘क’ १५ जनालाई दिइएको छ ।
काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण
काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक÷/एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो । हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ । अझै डेङ्गी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताए । कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा १८ पुरुष र १६ महिला गरी ३४ जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । यस्तै, पनौतीमा २६, भुम्लुमा २०, धुलिखेलमा १८, मण्डनदेउपुरमा १२, पाँचखालमा सात, नमोबुद्धमा छ, रोशीमा पाँच तथा तेमाल, बेथानचोक र महाभारतमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने ब्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुनेगर्दछ ।
बिहान नगर्नुस् यी ५ गल्ती, कलेजोदेखि मधुमेहसम्मको हुन सक्छ समस्या
काठमाडौं । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो । जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरबाट विषाक्त तत्वहरू बाहिर निकाल्नुका साथै यसले रगतलाई शुद्ध पार्छ र शरीरका विभिन्न कार्य सुचारू रूपमा सञ्चालन गर्न मद्दत गर्छ । तर, हामीले आफ्नो दिनचर्यामा केही गल्ती गर्याैं भने कलेजोका लागि खतरनाक साबित हुन सक्छ । विशेषगरी बिहानको समयमा गरिने खराब बानीले कलेजोलाई हानि पुर्याउँछ । कलेजो बिग्रियो भने मधुमेहजस्ता गम्भीर रोगको जोखिम पनि बढ्न सक्छ । आउनूहोस् बिहान उठेर हामीले के गर्नु हुँदैन भन्ने बारेमा छाेटकरीमा छलफल गराैं । हामीले आज मानिसले बिहान गर्ने गल्तीको विषयमा चर्चा गर्दैछौं । १. बिहान पानी पिएर दिनको सुरुवात नगर्नू पानी स्वास्थ्यका लागि कति आवश्यक छ, यो सबैलाई थाहा भएको कुरा हो । तर, पानी कतिबेला कसरी पिउने भन्ने धेरैलाई थाहा छैन । बिहान उठ्ने बित्तिकै सबभन्दा पहिले पानी पिउनु अति आवश्यक छ । तर, धेरैले यो बानीलाई बेवास्ता गर्छन् । जुन कलेजोका लागि खतरनाक हुन्छ । रातभर सुत्दा शरीरमा डिहाइड्रेसन हुन्छ । बिहान उठ्ने बित्तिकै पानी पिउँदा शरीरमा पानीको कमी पूर्ति हुन्छ । पानी पिउनाले कलेजोबाट विषाक्त तत्वहरू बाहिर निकाल्छ र शरीरलाई डिटक्सिफाइ गर्न मद्दत गर्छ । यदि तपाईंले पानी नपिएर दिनको सुरुवात गर्नुहुन्छ भने यसले कलेजोमा प्रत्यक्ष असर पार्छ । २. बिहानै खाली पेटमा चिल्लो पदार्थ खानु धेरै मानिस बिहानको खाजामा तारेको खानेकुरा खान मन पराउँछन् । चिल्लो पदार्थको सेवनले पाचन प्रणालीलाई मात्र नभइ कलेजोलाई पनि असर गर्छ । चिल्लो खानेकुराले कलेजोमा बोसो जम्मा गर्छ, जसले फ्याटी लिभर रोगको जोखिम बढाउँछ । यसले कलेजोको सामान्य कार्यमा बाधा पुर्याउन सक्छ र लामो समयसम्म बेवास्ता गरेमा मधुमेहजस्ता रोग लाग्न सक्छ । ३. व्यायाम नगर्नू बिहान उठ्नेबित्तिकै थोरै भए पनि शारीरिक व्यायाम गर्नुपर्छ । व्यायाम शरीरका लागि मात्र होइन, कलेजोका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरमा रक्तसञ्चार सुधार गर्नुका साथै कलेजोको काममा सुधार गर्छ । जसले दिनभरि बस्ने र बिहान व्यायाम नगर्ने गर्छन् त्यस्ता व्यक्तिको कलेजोमा नकारात्मक असर पर्न सक्छ । जसका कारण कलेजो बिस्तारै कमजोर हुँदै जान्छ र भविष्यमा यसले गम्भीर रोग निम्त्याउँछ । ४. बचेको खाना बिहान खानु धेरैले बिहानै रातिदेखि बाँकी रहेको खाना खाने गर्छन् । तर,यो बानी राम्रो होइन । यसले कलेजोलाई हानि पुर्याउँछ । बासी खानाले कलेजोमा थप दबाब दिन्छ, किनभने कलेजोले शरीरमा रहेको ब्याक्टेरिया र विषाक्त पदार्थलाई बाहिर निकाल्नको लागि धेरै मेहनत गर्नुपर्छ । यसले कलेजोको कामलाई कमजोर बनाउँछ । ५. बिहान उठ्ने बित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु बिहान उठ्नेबित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु राम्रो होइन । यसले कलेजोको कोशिकालाई नोक्सान पुर्याउँछ । जसका कारण कलेजोको काम बिग्रन सक्छ । यसलाई समयमै रोकिएन भने कलेजो सिरोसिस वा क्यान्सरको जोखिम हुन्छ । एजेन्सीको सहयोगमा