खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताएका छन् । ‘जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ’, उनले भने, ‘यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।’ जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ । लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । रासस
रन्जना ट्रेड सेन्टरले बिक्रीमा राख्यो तीनवटै सिनेमा हल, मासिक १५ लाख रुपैयाँ भाडा
काठमाडौं । रन्जना ट्रेड सेन्टर प्रालिले सिनेमा हल बिक्रीमा राखेको छ । काठमाडौंको न्यरोडस्थित रहेको रन्जना ट्रेड सेन्टरले आफ्ना तीन वटा सिनेमा हल भाडामा बिक्री गर्ने भएको हो । रन्जना सिनेप्लेक्स प्रालिको सञ्चालक समितिको निर्णय बमोजिम रन्जना ट्रेड सेन्टर भवनमा रहेका ३ वटा सिनेमा हल भाडामा दिने भएको हो । भाडामा लिई संचालन गर्न ईच्छुक कम्पनीले १५ दिनभित्र गोप्य शिलवन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ । उक्त तीनवटा हल रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा छन् । कम्पनीका अनुसार हल नं. १ को सिट क्षमता २५१, हल नं. २ को सिट क्षमता ११८ र हल नं. ३ को सिट क्षमता १६४ रहेको छ । हलको न्यूनमत मासिक भाडा १५ लाख रुपैयाँ तोकिएको छ । साथै हल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा भाडामा लगाइने कम्पनीले जनाएको छ । रितपूर्वक प्राप्त बोलपत्र १६औँ दिनको १२ बजेसम्म खोलिने छ । मासिक भाडा रकमको १० प्रतिशत प्रतिशनले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालिको नाममा रहेको प्रभु बैंकमा जम्मा गर्नुपर्नेछ । साथै कम्पनीले भूमिगत तल्ला १ र तल्ला २ मा रहेको पार्किङ पनि भाडामा दिने भएको छ । उक्त सवारी पार्किङस्थल मासिक १५ लाख रुपैयाँमा भाडामा दिने भएको हो ।
गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापकहरूमध्ये केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्न आवेदन दिनुपर्नेछ । यदि संस्थापक सेयरधनीहरूबाट खरिद नगरेको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
आर्थिक हिनामिना गरेपछि गणपति लघुवित्तले बोलायो पूर्वकर्मचारी
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले पूर्वकर्मचारीहरूलाई संस्थामा सम्पर्क आउन आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशन गरी विभिन्न ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । लघुवित्तले पूर्वकर्मचारी दिपक कुमार यादव, दुर्गा प्रसाद पण्डित र देव कुमार मगरलाई सम्पर्कमा आउन आग्रह गरेको हो । साथै पूर्वकर्मचारी यादव, पण्डित र मगरलेले संस्थामा आवद्ध रहँदा आर्थिक हिनामिना गरेको आरोप लघुवित्तले लगाएको छ । उक्त रकम भुक्तानी गर्न पटक–पटक विभिन्न माध्यमबाट ताकेता गरेको भएपनि अटेर गरेको लघुवित्तले जनाएको छ । रकम भुक्तानी गर्न आनाकानी गरेको हुदाँ यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सबै रकम चुक्ता गरी हिसाब राफसाफ गर्न लघुवित्तले सूचित गराएको छ । यदि सो अवधिमा रकम भुक्तानी गर्न नआए कानुनी प्रक्रियामा जाने लघुवित्तले चेतावनी दिएको छ । साथै निजहरूका व्यक्तिगत जमानीकर्ताहरुलाई समेत जानकारी गराएको छ ।
सैनिक कल्याणकारी कोषमा पौने १ खर्ब रुपैयाँ, एक वर्षमै बढ्यो ४ अर्ब ८५ करोड
काठमाडौं । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ नगद मौज्दात रहेको सेनाले जनाएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ रहेकामा यस वर्ष ४ अर्ब ८५ करोड रुपैयाँ वृद्धि भएको जानकारी दिए । कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी ६ अर्ब ७९ करोड ८६ लाख (लेखापरीक्षण अगावै)लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुग्ने उनले बताए । कोषमा मुख्यगरी संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टगरी जम्मा गरिँदै आइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ । सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको छ । कोषबाट आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार ७४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिइ स्वरोजगार र रोजगारी प्राप्त गरेका छन् । कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिए । विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम ८५ करोड रुपैयाँलाई घटाएर ५ करोड २ लाख रुपैयाँमा झारिएको उनको भनाइ छ । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पारे । कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु ८ करोड चार लाख ३७ हजार रुपैयाँ रहेकामा गत जेठ मसान्तसम्म ३ करोड २६ लाख ३६ हजार रुपैयाँ फछ्र्योटगरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ । बाँकी बेरुजु ४ करोड ७७ लाख ७४ हजार रुपैयाँ फछ्र्योटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिए । ६ दशकमा डेढ लाख शान्ति सैनिक खटिइए शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल १ लाख ५२ हजार ८१८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो । हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका ५ हजार ९१६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म २ हजार ७०७ नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् । सेनाले हालसम्म १ हजार ४११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले ३ वटा राष्ट्रिय गौरवका आयोजना तथा २ वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई २७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग-घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ, दार्चुला-टिङ्कर सडक निर्माण गरिरहेको छ । पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौं-तराई-मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आआफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
के तपाईको खातामा अवैध रकम जम्मा भएको छ ? तत्काल सीआईबीलाई जानकारी दिनुहोस्
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ । अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त सकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सीआईबीले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको भन्दै यस्ता गैरकानुनी कार्यको हिस्सेदार नबन्न पनि अनुरोध गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । यसरी रकम आएमा विदेशी मुद्राको सञ्चितिमा ह्रास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभावपरी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवं उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जाने उनले बताए । नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकको उल्लिखित अवैध कारोबार रोक्न तथा निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधरण नागरिकको कर्तव्य भएको सीआईबीले उल्लेख गरेको छ । यसरी विदेशमा वा नेपालभित्र रही अवैध कारोबारमा संलग्न रहेको पाइएमा संलग्नउपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा मुलुकी अपराध संहिता, २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानुनबमोजिम कारबाही हुनसक्ने सिअआइबीले आज सार्वजनिक सूचना जारी गरी चेतावनीसमेत दिएको छ । सीआईबीले यसरी वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवं विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले प्राप्त गरेको रकम को–कसले बैंक खातामा जम्मा गरेको हो, त्यसको जिम्मेवारी स्वयं खातावालाको हुने भएकाले बैंक स्टेटमेन्ट जाँचगरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रूजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा यस प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारण सबैमा अनुरोध गरेको छ । साथै त्यस्तो अवैध प्रक्रियाको हिस्सेदारी नबन्न, वैध प्रक्रियाबाट मात्र रकमको कारोबार गर्न र वैध भए नभएको सुनिश्चित गर्न सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ ।
साढे २ लाख भक्तजन गरे पाथीभरा देवीको दर्शन, कसरी जाने ?
काठमाडौं । एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र २ हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा १ हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा ५ हजार ६५५ र माघमा ६ हजार ४०१ जनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा ८ हजार ६२९ र असारमा २ हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ । ३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट ५ किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक चालु आर्थिक वर्ष २०८१÷८२ को नीतिको मस्यौदा पारित गर्न बोर्ड (सञ्चालक समिति)को बैठक डाकेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीले आज (शुक्रबा) बिहान ८ बैठक डाकेका हुन् । राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । यदि बोर्ड बैठकले पारित गर्याे भने आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताए । राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले हिजै अन्तिम रूप दिइसकेको बताइएको छ ।स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ । अब आज बस्ने सञ्चालक समितिको बैठकमा पेस गरिने र छलफल गरी पारित गरिनेछ । ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नरहेकाले कर्जा विस्तार हुनेगरी नीति आउने देखिन्छ ।