विकासन्युज

सिमलताल घटना : बेपत्ता यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

काठमाडौं । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन् । उनीहरूले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।

वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा ४ करोड ४५ लाख ४३ हजार ९ सय ३० रुपैयाँले बढी हो । महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको बताए । ‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ,’ उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।’ राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ,’ उनले भने । महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले २० करोड ६ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ १ अर्ब ८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रुपैयाँ रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ २ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजनमध्ये १ अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए । हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कुल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर-दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् । हाल निर्माणाधीन आयोजना दार्चुला-टिङ्कर ७९ किमी, बेनिघाट(आरुघाट-लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर-बगर-दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाडौं-तराई-मधेश द्रूतमार्ग आयोजना ९७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए । सेनाले यसअघि सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिञ्चु-जाजरकोट ४५ किमी, बेंसीसहर-चामे ६५ किमी, नाग्मा-गमगढी ९४ किमी सडकको ट्रयाक खोलेको थियो । काठमाडौं-तराई-मधेश द्रुतमार्गको सुरु पाइलट ट्रयाक ८० किमी, मैलुङ-स्याफ्रुबेंसी १७ किमी, जाजरकोट-डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर (गुल्मी-बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु-लैफू-सलिसल्ला खण्ड १२२ किमी) पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । ‘राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ। प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ,’ उनले भने । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो । २३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रूपमा सहभागी भएर काम गरेको बताए । ‘सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ,’ उनले भने । निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताए । ‘सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ,’ उनले भने । सीमित साधन स्रोतका बीचमा सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उनले बताए । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिए। विपद्का समयमा अहोरात्र खट्न उनले आग्रह गरे । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताए । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उनले उल्लेख गरे । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।

‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूलाई आग्रह गरेका छन् । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २०औं वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रुपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानुनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवर्द्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए । नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधान संशोधनको मस्यौदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रूपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले जानकारी दिए । यसमा सदस्यताका लागि केही व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासंघको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए । देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघको सुझावहरू सकारात्मक रूपमा लिएको बताए ।

एनसीएचएल र आइएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रालिबीच आइएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे । यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन् । यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ्ग सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआरमार्फत सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्नेछन् । आइएमएस सफ्टवेयर प्रालि नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । यसले आफ्ना ग्राहकहरुका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशमा २०,००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । यस्तै, नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरूबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

नेपाल प्रवेश गर्याे विश्व चर्चित योकोहामा टायर

काठमाडौं । विश्व चर्चित ब्राण्ड योकोहामा टायर नेपालमा भित्र्याइएको छ । अटो पार्ट्स इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको हो । योकोहामा इण्डियाका सीईओ तथा प्रबन्ध निर्देशक हरिन्दर सिंहले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा भएको समेत दाबी गरे । एपीआईका प्रबन्ध निर्देशक सगुन कंसकारले योकोहामासँगको साझेदारीले उत्साह छाएको बताए । उपभोक्ताहरूलाई गुणस्तरीय टायर उपलब्ध गराउने र नेपालको अटो क्षेत्रको विकासमा जोड दिने उनको भनाइ छ । विश्वव्यापी रूपमा योकोहामाले आक्रामक रूपमा टायर उत्पादन गरिरहेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिको समेत जोड दिने गर्दछ ।

उद्योगहरूमा तत्काल लाइन जोड्न ओलीको निर्देशन, कुलमानले भने : बोर्डको बैठकपछि निर्णय लिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तत्काल जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि घिसिङले सञ्चालक समितिको बैठक पछि मात्रै निर्णय गर्ने बताएका छन् । प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।