मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने अध्यक्ष शरद कुमार दाहालले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ
काठमाडौं । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौं र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरूले अनलाइनबाटै दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाका अनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो । जसमा काठमाडौंबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन् । त्यसैगरी, काठमाडौंबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । बससेवाका अनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । साथै दसैँमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताए । उनले भने, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै बढाइएको छ । बससेवामार्फत् अहिले दैनिक ४२ हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिन्छ ।’ बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ संख्यामा टिकट घरमा बसीबसी मोबाइलबाट बुकिङ गर्न सकिने बससेवाले जनाएको छ ।
नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट हुने बैंकले जनाएको छ । क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने बैंकले जनाएको छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।
झनै सस्तियो तरकारीको मूल्य, सीमि र च्याउको मूल्य घट्यो
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, लोकल गोलभेडा ३१.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ८० रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ७५ रुपैयाँ, रातो मूला ३१.६७ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.३३ रुपैयाँ तोकिएको छ । यस्तै लाम्चो भन्टा २२.३३ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, भटमासकोशा ५५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । यसअघि तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ५५ रुपैयाँ, भटमासकोशा ५० रुपैयाँ र तितो करेला आज ६५ रुपैयाँ थियो । लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २२.३३ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ३२.६७ रुपैयाँ, भिण्डी ४२.३३ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् । रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १४५ रुपैयाँ, च्याउ (कन्य) १६६.६७ रुपैयाँ, च्याउ (डल्ले) २७६.६७ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ ।[pdf id=512681]
मध्ये भोटेकोशीको ५ करोड १३ लाख कित्ता सेयरको लकइन सकिँदै
काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक ११ गते समाप्त हुने जनाएको छ । संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरू, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरू, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूको ६० लाख र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, बहिस्कार गरेका ३ जनालाई बोलायो
काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।
चङ्गा, ड्रोन र बेलुन उडानमा नागरिक उड्डयन कार्यालयले लगायो प्रतिबन्ध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दशैंतिहारमा चङ्गा, उडाउन रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी लेजर लाइट समेत प्रयोग नगर्न भनेको छ । दशैंमा चङ्गा उडाउने गरिन्छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने बताइएको छ । यदि कसैले यो सूचनाको अवज्ञा गरे÷गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।