विकासन्युज

अस्ट्रेलियामा दशक यताकै बढी सडक दुर्घटना

काठमाडौं । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको संख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ । अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मंगलबार प्रकाशित तथ्यांकले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा १ हजार ३१० जनाको मृत्यु भएको देखाएको छ । यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको छ । संघीय सरकारले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत सन् २०२१ मा राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत राष्ट्रिय सडक मृत्युमा ५० प्रतिशत र गम्भीर घाइतेलाई ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

टेलिकमको १९८ नम्बारबाट फाइबर नेट प्याकेज परिर्वतन गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका एफफटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने टेलिकमले बताएको छ । यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (एनटीटीभी) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्स्क्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् । यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भइ ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

सुदूरपश्चिममा बजेट शून्यता

धनगढी । नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व संकलन र खर्च ठप्प छ । सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले)ले समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन् । मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहनुभएको छ । मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा रहनुभएका उहाँका स्वकीयसचिव दीर्घ जोशीले जानकारी दिए । उनले भने, ‘अझै आठ दिन बाँकी छ, यो बीचमा उहाँ प्रदेशसभाबाट विश्वासको मत लिने मनस्थितिमा हुनुहुन्छ ।’ मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका उपनेता प्रकाश रावलले भने मुख्यमन्त्रीले पदबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा दलको बैठकमा अहिलेसम्म छलफल नभएकाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले गत असार २० गतेदेखि प्रदेश सरकारबाट बाहिरिएको थियो । पूर्वआर्थिक मामिलामन्त्री रहेका रावल प्रदेशमा अहिले बजेट शून्यताको अवस्था सिर्जना हुनुमा सत्ता र प्रतिपक्ष दुवै जिम्मेवार रहेको बताउँछन् । ‘अहिलेकै सरकारलाई अध्यादेश ल्याउन दिएको भए त्यसैमा टेकेर अब गठन हुने अर्को सरकारले बजेट ल्याउन पाउँथ्यो,’ रावलले भने । अब गठन हुने सरकारले पनि कुन आधारमा बजेट ल्याउने भन्ने अहम् सवाल बनेको रावल बताउँछन् । रासस

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

डुम्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो । | खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।   यही साउन १९ गतेदेखि लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्नेलाई पाँच वर्ष कैद वा रु पाँच लाख जरिवाना वा दुवै सजाय हुने कडा प्रावधान छ । उक्त कार्यालयले गत आर्थिक वर्षमा २१ वटा उजुरी सम्बोधन गरेको थियो । मसीयुक्त पत्रपत्रिकामा खानेकुरा नराख्न, मासुलगायतपरिकार पकाएर खानुपर्ने खाद्य पदार्थमा सेन्थेटिक रङको प्रयोग नगर्न, फलफूल पकाउन प्रतिबन्धित क्याल्सियम, कार्बोहाड्रेडको प्रयोग नगर्न कार्यालयले अनुरोध गर्दै आएको छ ।

झापामा ९४० जनालाई रोजगारी प्रदान

भद्रपुर । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको हो । जिल्लाभरका छ हजार दुई सय ५० जना सूचीकृत बेरोजगार भए पनि बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको हो । रोजगारी प्राप्त नौ सय ४० श्रमिकले विभिन्न दुई सय ८६ आयोजनामा दैनिक छ सय ६८ रुपैयाँका दरले ज्याला प्राप्त गरेको रोजगार संयोजक पाण्डेले बताए । एक आर्थिक वर्षमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको र न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको व्यक्ति स्थानीय तहको बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन गर्नसक्ने प्रावधान छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, नेपाल सरकारको स्रोेत र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, विश्व बैंकको ऋण सहयोगबाट स्थानीय तहमा आव २०७५/७६ देखि रोजगारीको प्रबन्ध हुँदै आएको छ ।

पूर्वडीसीईओ चन्द बने सानिमा रिलायन्स लाइफको सञ्चालक

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सविच प्रिती श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार चन्द संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । अनुभवी बैंकर चन्द हालै सानिमा बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदबाट अवकाश पाएका हुन् । एनबीएसम्म शैक्षिक योग्यता हासिल गरेका चन्दसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंक लगायतमा साढे ३ दशक काम गरेको बैंकिङ्ग अनुभव छ ।

स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

दमौली । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीहरूले आज (साउन १० गते)चौंथो दिन पनि आन्दोलन जारी राखेका छन् । गत साउन ७ गतेदेखि आन्दोलित कर्मचारीहरूका माग सुनुवाई नभएपछि आजपनि आन्दोलन गर्दै देशभरिका शाखा कार्यालय ठप्प पारेका हुन् । फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयसहित हिजो तेस्रो दिन (साउन ९ गते) केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तर, बिहीबार भने केन्द्रीय कार्यालय आंशिक रूपमा खुला राखेर अन्य सबै शाखा पूर्ण रूपमा बन्द गरिएको आन्लोलनरत एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए । ‘आज आन्दोलनको चौंथो दिनमा पनि सबै शाखा कार्यालयमा तालाबन्दी छ, कर्मचारीहरूका माग सम्बोधन गर्न सञ्चालक समिति र व्यवस्थनापन टिमले चासो दिएको छैन, यखि यही अवस्था रहिरह्यो भने आन्दोलन अझै चर्काउँछौं,’ एक कर्मचारीले भने । आन्दोलनमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनले समेत ऐक्यबद्धता जनाएको छ । मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् ।