हैजाबाट बच्न पानीको शुद्धता र खानपानमा ध्यान दिनुपर्छ
काठमाडौं उपत्यकामा हैजाको संक्रम पुष्टि भएको छ । हरेक विपद, पानीजन्य रोग र मौसमअनुसार हैजाको प्रकोप देखा पर्छ । काठमाडौंमा हैजाको संक्रमण पुष्टिसँगै यतिखेर नागरिकमा त्रास छाएको छ । एक जनामा पुष्टि भइसकेको र अन्य व्यक्तिलाई पनि संक्रमण भएको हुन सक्ने आशंकापछि फेरि महामारीको रूप लिने त होइन भन्ने त्रास जनमानसमा छ । वर्षायाममा झाडपखाला, आउँ, हैजा लगायतका पानीजन्य रोगको संक्रमण बढिरहेको बेला विशेषगरी हैजाबाट कसरी बच्ने र यसको जोखिम कम गर्न कस्ता काम गर्नुपर्छ भनेर हामीले संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । उपत्यकामा हैजाको जोखिम कित्तिको छ ? काठमाडौं उपत्यकामा हैजा पुष्टि भइसकेको अवस्था छ । हरेक वर्ष हैजा देखिँदै आएको थियो र सम्भावना पनि हामी व्यक्त गर्दे आएका थियौँ । हामी सजग रहनुपर्छ भन्दाभन्दै पनि हैजा पुष्टि नै भइसकेको छ । पानी पर्ने क्रम निरन्तर जारी रहँदा हामीले पिउने पानी प्रदूषित भइरहेको छ । यसले गर्दा हैजाको अझै हैजाकाे जोखिम बिढरहेकाे छ । हरेक वर्ष बर्सातकाे समयमा हैजा देखिनुको कारण पानी मात्रै हो कि अरू पनि छन् ? मूख्यतः पानी नै हो । विशेषगरी गर्मीयाममा बाढीपहिरो लगायतका घटनाहरू भइरहेका छन् । काठमाडौंमा पनि धेरै वर्षा भएको छ । केही समयअघि खोला बढेर बस्तीहरूसम्म पानी पसेको थियो, यो भनेको फोहोरपानी हो । बस्तीसम्म मात्र होइन त्यो हाम्रो खानेपानीसम्म पनि पुगेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । यसैलाई आधार मानेर केही समय अगाडि मैले पानीजन्य रोगको सम्भावना छ पनि भनेको थिएँ । हैजाको जिवाणु यसै पनि लामो समयसम्म रहिरहेको हुन्छ । जब त्यो फोहोर पानी घर, भान्सा र कोठासम्म आइपुग्छ अनि संक्रमण हुन्छ । यसबाट कोही व्यक्ति संक्रमण हुन्छ र त्यो व्यक्तिको दिसा व्यवस्थित शौचालयमा भएन अथवा शौचालय राम्रो भए पनि त्यसको ढल हाम्रो खानेपानीमा मिसिन पुग्यो भने त्यसपछि एक व्यक्तिबाट अर्को, अर्को व्यक्तिबाट अर्को हुँदै जान्छ । अहिले जुन व्यक्ति भर्ना भएका छन् उनमा कडा खालको लक्षण देखा परेको भन्न सकिन्छ । त्योभन्दा बाहेक लक्षण नदेखिएका अरु धेरैलाई पनि हैजा भएको हुन सक्ने र फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । दिशामा हुने कोलिफर्म बेलाबेला पानीमा देखिएको कुरा आइरहन्छ, वर्षामा अझ बढी पानीमा जिवाणु देखिनुको कारण मुहान स्रोत मात्रै हो ? पानीको उपभोग अथवा माग यो बेलामा ह्वातै बढेको हुन्छ । जब बढी उपभोग गरिन्छ, त्यसको जोखिम पनि बढ्दै जान्छ । जति जोखिम बढ्दै जान्छ रोगको संक्रमण देखिने सम्भावना पनि बढ्छ । र, अर्को कुरा वातावररण पनि यसका लागि अनुकुल हुनु पनि अर्को पक्ष हो । अर्को भनेकाे जब गर्मी हुन्छ तब जिवाण सक्रिय हुन थाल्छ । हैजाले विशेषगरी कस्तो मान्छेलाई बढी असर गर्छ ? यसको संक्रमण जोसुकै व्यक्तिलाई पनि हुन सक्छ । तर, जोखिमको कुरा गर्दा बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, जेष्ठ नागरिकलाई बढी हुन्छ । हामीले यसो भन्दै गर्दा युवाहरूलाई नहुने भन्ने होइन । अहिले जसलाई हैजा पुष्टि भएको छ उहाँ १६ वर्षको युवा नै हुनुहुन्छ । अस्पतालमा गएर हेर्दा पनि अरुलाई हुन सक्ने शंका गरिएको छ । उहाँहरू पनि २० देखि ४० वर्षभित्रकै हुनुहुन्छ । यसले दूषित पानि पिउने युवा उमेरका बढी रहेछन् भन्ने पनि देखाउँछ । उनीहरू बाहिर साथीभाइसँग जाने खाने, बाटोमा राखिएको खानेकुरा खाने गर्छन् । यसले पनि जोखिम हुन्छ । यदि कसैगरी हाम्रो घरको धारामा यसको संक्रमण आइपुग्यो भने जोकोहीलाई पनि संक्रमण हुन्छ । अझ बालबालिका र जेष्ठ नागरिकलाई बढी जोखिम हुन्छ । भनेपछि सरसफाइमा ध्यान नदिने व्यक्तिलाई संक्रमण हुने रहेछ हो ? खानपान, सरसफाइमा ध्यान दिइएन भने संक्रमण सबैलाई हुन सक्छ । तर, अहिले बाहिर जथाभावी खाने समूह बढी जोखिममा देखिएको छ । हरेक वर्ष यही मौसममा हैजाको जिवाणु आयो भन्ने सुनिन्छ, यही समयमा रोकथामको पनि बढी चर्चा हुने गर्छ, के अघिपछि यो देखिँदैन ? हैजाको संक्रमण जहाँ पानी लामो समयसम्म स्थिर रहन्छ । तर, जब वर्षा लाग्छ तब एक ठाउँबाट अर्को ठाउँ जान सुरु हुन्छ । हामी यसमा काठमाडौंमा हजा पुष्टि भएकै कुरालाई लिन सकिन्छ । ठाउँ-ठाउँमा बाटोभरि पानी थियो, त्यो पानी कतिपय ठाउँमा ढल फुटेको होला, कति ठाउँमा खानेपानीको पाइप फुटेको होला । त्यो पानी कतिपयको घरको धारासम्म पनि आइपुग्यो होला । अर्को यो समयमा पानीको माग पनि बढी हुन्छ । यस्तो बेला कतिपय व्यापारीले प्रशोधित नगरी जारमा पानी बजारमा ल्याइदिन्छन । यस्तो कारणले पनि यो समस्या हुन्छ । विगतमा हामीले यस्तो भेटाएका पनि छौँ । अहिले अनुगमनको पाटो शून्य छ । जसका कारण वर्षामा यो समस्या देखिने गर्छ । एउटा व्यक्तिलाई पखाला चल्यो तर त्यो हैजा हो कि होइन भनेर उसले कसरी छुट्याउन सक्छ ? लक्षण के हुन्छन ? यसको लक्षण धेरै त अरु संक्रमणसँग मिल्दोजुल्दो हुन्छ । तर, १/२ कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरो हैजा हुँदा कुनै पीडा बिना पातलो दिसा एकदम धेरै जान्छ । अझ सजिलो गरी भन्दा चामलको माड अथवा चौलानीपानी जस्तो दिसा भयो भने यो हैजा हो भनेर बुझन सकिन्छ । कसैले आफूलाई हैजा भयो कि भन्ने शंका गर्छ भने यो कुरामा ध्यान दिनुपर्छ । अर्को सँगै बान्ता पनि हुन सक्छ । अर्को महत्वपूर्ण कुरा भनेको मांशपेशी बाउँडिन्छ । विशेषगरी खुट्टाको पिडौँला फर्किन्छ । दिसाको प्रकृति, छिनछिनमै ट्वाइलेट गइरहनुपर्ने र मांशपेशी बाउँडिने र बान्ता हुने भयो भने यो हैजाको लक्षण हो । यस्तो देखियो भने हामीले घरमा कुरेर बस्न हुँदैन । हामी तुरुन्त अस्पताल पुग्नुपर्छ । यस्तो बेला हामीले घरमै गर्न सकिने उपचार के हो ? ४, ५ घण्टाको अन्तरालमा दिसा भइरहेको छ , बान्ता पनि भएको छैन तर पातलो दिसा भइरहेको छ भने जीवनजल खान सकिन्छ । तर, छिनछिनमै पातलो दिसा भइरहेको छ बान्ता पनि भइरहेको छ भने तुरुन्त अस्पताल जानैपर्छ । कडा खालको हैजा १० जनामध्ये १ जनामा हुन्छ । र, यसको समयमै उपचार पाएन भने मृत्युसमेत हुन सक्छ । कुनैबेला हैजा विश्वभरि महामारी जस्तो नै थियो, नेपालमा पनि १५ वर्ष अघि जाजरकोटमा धेरैको मृत्यु भएको थियो, नेपालमा अहिलेको अवस्था कस्तो छ ? विश्वभरिको कुरा गर्दा हैजाबाट झण्डै डेढलाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकले भन्छ । नेपालको हकमा हरेक वर्ष हैजा देखिरहन्छ । केही वर्ष पहिले मात्र नवलपरासीमा आधा दर्जनको हाराहारीमा मानिसको मृत्यु भयो । उनीहरूको मृत्युको कारण भने समयमै अस्पताल पुग्न नसक्नु थियो । नेपालमा अझ गाउँघरभन्दा बढी जोखिम काठमाडौंमा हुन्छ । शहरमा संख्याको हिसाबले बढी संक्रमण भए पनि मृत्यु हुने सम्भावना कम हुन्छ । यहाँ नजिकै अस्पताल हुन्छ, बिरामी हुनासाथ अस्पताल जान सजिलो छ । तर, गाउँमा संक्रमण पनि कम र मृत्युको संख्या बढी हुन सक्छ । किनकि त्यहाँ अस्पताल नजिक छैन , अस्पताल पुग्नै समय बढी लाग्दा मृत्यु हुन्छ । फेरि कतिपय ठाउँमा एक परिवार अथवा एक गाउँमा हैजा देखा पर्यो भने सहयोग गर्नुको साटो हच्किने गरेको पाइन्छ । तर, यसो गर्न हुँदैन किनकि यो दिसामार्फत देखापर्ने जिवाणुको संक्रमणबाट सर्ने हो । यसका लागि सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्यो । कुनै पनि बिरामीलाई हेरचाह गरिरहेका छौं भने साबुनपानीले हात अनिवार्य धुनैपर्छ । हैजा नियन्त्रण गर्न र घटाउन सकिन्छ ? विकसित देशलाई हेर्ने हो भने झाडापखाला र हैजालाई कतिपय देशले रोक्न सकेका छन् । केही दशक अगाडि आफ्नै देशको तुलना गर्ने हो भने अहिले कम भएको छ । १८/१९ वर्ष अगाडि टेकु अस्पतालकै कुरा गर्ने हो भने पनि घण्टैपिच्चछे दर्जनौं मान्छे भर्ना हुने गर्थे । भर्ना गर्ने र डिस्चार्ज गर्ने दिनमा सयौं हुन्थे । तर, अहिले त्यस्तो अवस्था छैन । यसलाई राम्रो मान्न सकिन्छ तर जोखिम अहिले पनि छ । अन्त्यमा, यहाँको विचारमा हैजा मुक्त गाउँठाउँ बनाउन के गर्नुपर्ला ? यसमा सबैको हातेमालो आवश्यक पर्छ । एक व्यक्ति , संस्थाले मात्र काम गरेर पुग्दैन । यो एकै पटकमा धेरै ठाउँ फैलन सक्ने रोग हो । यसलाई सामुदायिक समस्याका रूपमा लिन सकिन्छ । जनस्वास्थ्यसँग सम्बन्धित समस्या भएकाले यसमा व्यक्ति, समाज, स्थानीय सरकार, प्रदेश लगायत सबैको सहकार्यको आवयश्यक्ता पर्छ । यसका लागि व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्यो। खानपानमा ध्यान दिनुपर्यो । सम्बन्धित निकायले अनुगमनमा ध्यान दिनुपर्यो । यति गर्दा कसैलाई लक्षण देखा पर्यो भने अस्पताल जान सल्लाह दिनुपर्यो । सँगै यस्ता कुरामा जनचेतना पुर्याउने काम गर्यो भने जोखिम कम गर्न सकिन्छ ।
ग्लोबल आइएमई बैंकको सीईओ बने रेग्मी, भेट्रान बैंकर बज्राचार्य बाहिरिए
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । बैंकिंङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उनले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसकेका छन् । उनी यसअघि उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बैंकिङ् क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा पनि अब्बल मानिन्छन् । हालका बैंकका सीईओ तथा भेट्रान बैंकर रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिने भएका छन् ।
नयाँ सरकारको स्थायित्वमा नागरिकले गरे आशंका
काठमाडौं । संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट बनेको नयाँ सरकारको स्थायित्वबारे नागरिकले आशंका व्यक्त गरेका छन् । लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा परिचित यी दुई दलबीचको अप्रत्याशित मिलनबाट बनेको सरकारको स्थायित्वबारे आम नागरिकमा आशंका देखिएको हो । काँग्रेस र एमालेले असार १७ गते राति सत्ता साझेदारका रूपमा सहमति गरेसँगै नयाँ समीकरण बनेको थियो । जसप्रति आम नागरिक, व्यवसायी, राजनीतिकर्मी, शिक्षक–प्राध्यापकमा केही आशा पलाए पनि केही आशंका व्याप्त छ । कतिपय सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा विश्वस्त छन् भने कतिपयले यो गठबन्धनलाई ‘अवसरवादी’ र ‘अस्थिर’ भएको टिप्पणी गरेका छन् । विगतमा दुई कम्युनिस्ट पार्टी एक भई सरकारको नेतृत्व गर्दा समेत अपेक्षाकृत विकास नभएका कारण अहिले फरक विचारधारा भएका पार्टीबीचको गठबन्धनबाट खासै अपेक्षा नरहेको कोशी प्रदेश विराटनगरका आम नागरिकको गुनासो छ । मुलुकमा हरेक चारदेखि ६ महिनामा सत्ता समिकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो । राजनीतिक स्थायित्वका लागि दुई फरक विचारधारा बोकेका दलहरू एक हुनुपर्ने अवस्था आएको भन्दै काँग्रेस र एमालेले सत्ता सहर्काय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । अघिल्ला सरकारबाट उद्योगी–व्यवसायीहरूलाई काम गर्ने वातावरण नबनेका कारण नवगठित सरकारले नीतिगत हिसावले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ । सरकार बनाउने र भत्काउने भन्दा पनि नवगठित सरकारले आम नागरिकको जीवनस्तर उकास्न लागिपर्नुपर्ने राजनीतिककर्मीको सुझाव छ । जनताको जीवनस्तर उकास्ने विषय भाषणमा मात्र सिमित बनाउनतिर नलाग्न र जनताले पत्याउने गरी काम गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का युवा नेता वसिम आलम बताउँछन् । दोस्रो संसदीय निर्वाचनपछि बन्दै गरेको सरकारमध्ये यो चौथो गठबन्धनको हो । यसअघि राजनतिक दलहरूले सत्ताका लागि हानाथाप गर्दा आम जनताले स्थायी सरकार पाउन सकेका थिएनन् । र अब दुई ठूला दलहरूले सत्ताको बागडोर सम्हाल्दा केही आशा र केही आशंकाको महशुस गरेको प्राध्यापक बताउँछन् । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको राजनीति विषयकी प्राध्यापक इन्दिरा प्रसाईं सैद्धान्तिक हिसावले वर्तमान सरकार सही ट्र्याकमा आएजस्तो देखिने बताउँछिन् । राष्ट्रिय हितका लागि भन्दै बनेको गठबन्धनबाट बनेको नयाँ सरकारले आगामी दिनहरूमा कस्तो काम गर्छ । जनताको विश्वास जित्नसक्छ कि, सक्दैन भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्ने देखिन्छ ।
गैरजिम्मेवार बन्दै नेप्से, गलत सूचनामा फस्दै लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेवसाइटमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था ‘यूएनएलबी’ खोजेर तल दिएको लाभांश अप्सनमा थिच्दा आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत नगद र १९ प्रतिशत बोनस सेयर वितरण गरेको स्पष्ट देखिन्छ । भित्र क्लिक गरेर पत्र हेर्दा प्रस्तावित लाभांश भनिएको छ । यस्तै, धौलागिरी लघुवित्तलाई पनि नेप्सेमा युनिक नेपालजस्तै गरी खोजि गरेर हेर्दा लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ०.७५ प्रतिशत नगद र १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ । साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ । दुइटै लघुवित्तले पठाएको पत्रमा राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बताइएको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने कम्पनीले बताएको छ । झट्ट हेर्दा यी कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण गरेको देखिन्छ । तर, केही कम्पनीको लाभांश रद्द भएको छ भने केही कम्पनीको लाभांश संशोधन भएर थपघट भइसकेकाे छ । यी माथिका केही उदाहरण मात्रै हुन्, नेप्सेको वेवसाइटमा एक-एक गरेर केलाएर हेर्ने हो भने यस्ता दर्जनौं त्रुटी देखिन्छन् । संशोधन गरिएको लाभांश र प्रस्तावित लाभांश वितरण नगर्ने भनिएका पत्रलाई सम्बन्धित सूचीकृत कम्पनीहरूले नेप्सेको वेवसाइटमा स्पष्ट राखेका छैनन् । पुँजी बजारमा लगानीकर्ताहरूका लागि सूचनाको पहिलो स्रोत भनेको नेप्से हो । लगानीकर्ताहरू लगानी गर्नुभन्दा पहिला नेप्सेको वेवसाइटमा सूचीकृत कम्पनीको विवरण हेर्छन् । सूचीकृत कम्पनीहरूले नेप्सेमा पठाएको सूचना वा तथ्याङ्क नै आधिकारिक हो । तर, सूचीकृत कम्पनीहरूले प्रयाप्त तथ्याङ्क नेप्सेको वेवसाइटमा नराख्दा, राखेको भएपनि त्यसलाई अध्यावधिक नगर्दा र सूची सूचना तथा तथ्यांक अध्यावधिक नगर्दा लगानीकर्ताहरू मारमा पर्ने गरेका छन् । नेप्सेले कम्पनीहको गलत तथ्याङ्क नहटाउँदा र समयमा सही सूचना वा तथ्याङ्क अपडेट गराउन निर्देशन नदिँदा दोस्रो बजारमा कारोबार गर्ने लाखौं लगानीकर्ताहरू जोखिममा छन् । किनभने माथि उल्लेखित कम्पनीहरूको नेप्सेमा उपलब्ध तथ्याङ्क अध्ययन र विश्लेषण गरेर लगानी गर्दा लगानीकर्ता स्वतः फस्छन् । माथि उल्लेखित कम्पनीहरूमध्ये युनिक नेपाल लघुवित्तको लाभांश हालसम्म गायव छ । लघुवित्तको वि.सं २०८० भदौ ३० गते बसेको सञ्चालक समितिले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । ‘विभिन्न कारणहरूले स्थापना कालदेखि पछिल्लाे पाँच वर्षसम्म सेयरधनीहरूलाई लाभांस वितरण नगरेको हुँदा आर्थिक वर्ष २०७९/८० सम्मको लाभांश वितरण गर्न मिल्ने कोष र राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष सेयर बोनस र कर प्रयोजनको नगद लाभांशसहितको २० प्रतिशतसम्म बाँड्नको लागि प्रस्ताव गरिएको छ,’ लघुवित्तले बकैदा लाभांश प्रस्तावना पत्रमा भनेको थियो । तर, लाभांश प्रस्ताव गरेको ३ महिनापछि लगानीकर्ताहरूलाई कुनै जानकारी नदिई वि.सं २०८० पुस १ गते लाभांशको एजेण्डा बिना नै वार्षिक साधारणसभा आह्वान गर्याे । र, पुस २४ गते साधारण सभा सम्पन्न भइसकेको छ । तर, हालसम्म लघुवित्तका सेयरधनीहरूलाई के कति कारणले प्रस्तावित लाभांश रोकिएको भन्ने जानकारी समेत गराएको छैन । माथि उल्लेखित संस्था धौलागिरी लघुवित्तले प्रस्ताव गरेको २ महिनापछि लाभांश वितरण नगर्ने जानकारी गरायो । ‘गत वर्षको सञ्चित नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव सहितको प्रारम्भिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पठाएका थियौं, धौलागिरी लघुवित्तको संचालक समितिको वि.सं. २०८० पुस २५ गते बसेको बैठकबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ,’ पत्रमा भनिएको छ । तर, हालसम्म लघुवित्तको लाभांश विवरणमा सो पत्र राखिएको छैन । यस्तै, साना किसान लघुवित्तले राष्ट्रले बैंकको निर्देशनपछि प्रस्तावित लाभांश संशोधन गरेको थियो । लघुवित्तको संशोधित लाभांश १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद हो । तर, नेप्सेले लाभांश संशोधन गरेको पत्र नेप्सेमा लघुवित्तको लाभांश विवरणमा राखेको छैन । बम्पर लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश नेपाल बीमा प्राधिकरणले रोकिदियो । प्रक्रिया नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् । तर, कम्पनीको लाभांश विवरणमा भने सो पत्र राखिएको छैन । पुँजी बजारको हटकेक हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै छ । नेप्सेमा विवरण अध्ययन गर्दा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । उक्त सबै सेयर संस्थापक समूहको स्वामित्वमा रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । साथै अन्य माध्यमबाट कम्पनीको विश्लेषण गर्दा सबैभन्दा धेरै लाभांश दिने कम्पनी पनि युनिलिभर नै हो । तर, नेप्सेको लाभांश अप्सनमा हेर्दा केही पनि देखाउँदैन । एक वर्षभन्दा बढीको तथ्यांक पाइँदैन तपाईंलाई थाहा छ, नेप्सेमा सूचीकृत कम्पनीहरूको एक वर्ष बढी अवधिको मूल्य सूची देखाउँदैन । जस्तो तपाईंले युनिलिभर नेपालको मूल्य इतिहास हेर्न चाहनुहुन्छ भने एक वर्षभन्दा बढी अवधिको भेटिदैँन । जस्तो यस कम्पनीको सेयर मूल्य हेर्नुभयो भने सन् २०२३ जुलाई २५ तारिखसम्मको मात्रै हेर्न मिल्छ । यदि तपाईंले भोलिको दिन पुनः सोही कम्पनीको मूल्य इतिहास हेर्नु भयो भने जुलाई २४ तारिखसम्मको इतिहास मात्रै देखाउँछ । तर, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य यतिहास, चुक्ता पुँजी, लाभांश इतिहास लगायत विषयमा अध्ययन गर्न लगानीकर्ताले नेप्सेभन्दा व्यक्तिगत रुपमा खोलिएका तथा निजी क्षेत्रबाट खोलिएका वेवसाइटहरु हेर्नु पर्ने बाध्यता छ । त्यसले लगानीकर्तालाई लगानीको जोखिम हुन सक्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने एक वर्षभन्दा बढीको सूचना राख्न नमिल्ने बताउँछन् । उनी एक वर्षभन्दा बढीको सूचना तथा तथ्यांक चाहिएमा खरिद गर्नु पर्ने नीति रहेको सुनाए । गुमराहमा राख्दै लगानीकर्ता दोस्रो बजारमा लगानी गर्ने जोसुकै लगानीकर्ताले पनि पहिलो नजर नेप्सेमा कम्पनीले पठाएको विवरण नै हेर्ने हो । तर, नेप्सेमो वेवसाइटमा सूचीकृत कम्पनीहरूको गलत तथ्याङ्कले लाखाैं लगानीकर्ताहरूलाई झुक्याउँछ । किनभने माथि उल्लेख गरिएका जस्ता अन्य कम्पनीले पनि राम्रो लाभांश दिएको देखाउँछ । यसरी नेप्सेले समयमा आफ्नो आधिकारिक साइटमा सूचीकृत कम्पनीहरूको सही तथ्याङ्क नराख्दा वा अपडेट नगरिदिँदा नेप्सेको तथ्यांकलाई आधिकारिक मानेर लगानी गर्ने लाखौं लगानीकर्ताहरूको लगानी डुब्ने खतरा प्रबल रहेको लगानीकर्ता बताउँछन् । तथ्यांक प्रयोग सम्बन्धि कार्यविधिले यस्ताे व्यवस्था गरेकाे उनकाे भनाइ छ । तर, ग्याप रहेको तथ्याङ्क अपडेट गर्ने काम स्वयम् कम्पनीको रहेको नेप्सेको जिकिर छ । ग्याप रहेका तथ्याङ्क अपडेट गराउन नेप्सेले सूचीकृत कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । तर, नेप्सेले सही तथ्याङ्क अपडेट गराउन कम्पनीलाई निर्देशन दिन नसकेको उनले स्वीकार गरे । पराजुलीका अनुसार सूचीकृत कम्पनीहरूको तथ्याङ्क अपडेट गराउन नेप्सेले मनिटरिङ गर्न नसकेको हाे । ‘सबै कम्पनीहरूको तथ्याङ्क पूर्ण रुपमा अपडेट छैन, ग्याप भएको तथ्याङ्क अपडेट गराउनुहोस् भनेर नेप्सेले कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको छ,’ उनले भने, ‘तर, कम्पनीहरुले नगराएका हुन्, अब अपडेट गराउन फलोअप गर्छौं, दुई/चार दिनमा सूचना जारी गर्छाैं ।’
सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते डाक्यो १२औं साधारण सभा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ३२ गते १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको सञ्चालक समितिको साउन १० गते बसेको बैठकले साउन ३२ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । लघुवित्तको साधारण सभा साधारण सभा प्रयोजनका लगि साउन २४ गते बिहीबार बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा सोभन्दा अघिल्लो दिनसम्म कारोबार गरी कायम सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउने छन् । लघुवित्तको सभाले चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँको १४.०५ प्रतिशत अर्थात् १२ करोड ८२ लाख १० हजार ८५३.७२ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर प्राप्त गर्ने सेयरधनीहरुले लाभांश कर बापत नियमानुसारको रकम भुक्तानी गर्नुपर्ने लघुवित्तले जनाएको छ ।
सरकारले माग पूरा नगरेको भन्दै बंगलादेशमा विद्यार्थीले फेरि सुरु गरे आन्दोलन
काठमाडौं । माग पूरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरूले पुनः आन्दोलन सुरु गरेका छन् । सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीहरूले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए । गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको छ । अदालतको फैसलापछि विद्यार्थी संगठनले सरकारलाई अन्य माग पूरा गर्न अल्टिमेटम दिएका थिए । बंगलादेशमा आन्दोलनका क्रममा १५० को मृत्यु भएको छ भने १ हजार बढी घाइते भएका छन् । एजेन्सी
१५ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु
काठमाडौं । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेका १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयलले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कार्यालयले बिहीबार सूचना जारी गरेर १५ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा पनि लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।
काँकडभिट्टाबाट ८ करोडको जडीबुटी निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा ८ करोड १० लाख १४ हजार रुप्रयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा ४ करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको १ सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । यसैगरी, सोही अवधिमा १ करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको १ सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।