विकासन्युज

नेपाल एसबिआई बैंकले धनगढीको विद्यालयमा गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर, गोपाल हमाललाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उदेश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात उनले यस्तो बताएका हुन् । उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे । उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताए । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताए । समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको जानकारी दिए । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताए । उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताए । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताए । मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको जानकारी दिए । ‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको देखियो । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो, विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ’, उनले भने । उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखे ।

मौद्रिक नीति बाचन लगत्तै अर्थमन्त्रीलाई भेट्न पुगे गभर्नर, पौडेलले भने, ‘धन्यवाद’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडले र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेलगत्तै गभर्नर अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । साथै अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई धन्यवाद दिँदै मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्ने टिप्पणी गरेका छन् । ‘मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेलले भने । उनका अनुसार मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ । साथै मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने उनको भनाइ छ । साथै थप लगानीका लागि मनोबल बढाउने खालको नीति आएको उनले बताए ।

कुमारी बैंकका ग्राहकका परिवारले बुद्ध एयरमा छुट पाउने

काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्ने बैंकले बताएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन् । ‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भनिन्, ‘घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’ यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गरे । रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रवन्ध निर्देशक घिसिङको भनाई थियो । उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए । ‘डेडिकेटेड र ट्रंक लाईनको लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि इम्पोट गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन’, उनले भने । प्रवन्ध निर्देशक घिसिङले दक्षिण एशियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको जानकारी पनि दिए । उनले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे । ‘आजको दिनमा अहिले हामीले उद्योगीहरुलाई ४ रुपैयाँ ७५ पैसा रातभरी दिइराखेका छौं । मैले इन्डियामा बेच्यो भने रातभरीमा १० रुपैयाँ आईसकेको हुन्छ । उहाँहरुलाई दिईराखेका छौ त ४ रुपैयाँ ७५ पैसामा, यति सस्तोमा उहाँहरुलाई विद्युत दिइरहेका छौं, टोटल एभरेजमा नौ रुपैयाँ पर्न आउँछ’, उनले भने । प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले आफूले आर्जन गरेको नाफा पनि विद्युतको ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टिकरण पनि दिए ।

मौद्रिक नीतिले नाफा र कर्जा बढ्छ, बैंकहरूको एनपीएल घट्छ

काठमाडौं । राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सन्तुलित आएको बैंकर्सहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिकपश्चात् बैंकर्सहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले अर्थतन्त्रको पछिल्लो अवस्थालाई आधार बनाएर राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको भन्दै स्वागत गरेका छन् । वित्तीय क्षेत्र सहजताको लागि बैंकहरुले आशा गरे जस्तो मौद्रिक नीति नपाए पनि समग्रमा सन्तुलित र सहज मौद्रिक नीति आएको बताएका हुन् । मौद्रिक नीतिले बैंकको कर्जा विस्तारलाई सहयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन पनि योगदान गर्ने उनीहरूको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेका नयाँ नीतिहरुले बैंकहरुमा रहेको रकमलाई बजारमा पठाउन सहजता प्रदान गर्ने बताए । उनले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज लगायत २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर २ करोड ५० लाख रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले बैंकको कर्जा प्रावह वृद्धि हुने अपेक्षा रहेको बताए । बैंकहरुमा बढ्दै गएको अवस्थामा खराब कर्जामा गणना गर्न नपाउने व्यवस्थाले खराब कर्जालाई कम गर्ने जानकारी दिए । नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति सन्तुलित आएको बताए । मौद्रिक नीतिले कर्जा बिस्तारलाई सहयोग पुर्याउने संकेत गरेको बताए । मौद्रिक नीति लघुवित्तका ग्राहकहरुलाई सहजिकरण गर्नेगरी आएको भन्दै स्वागत गरे । उनले लघुवित्त वित्तीय संस्थाहरु तथा तिनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गर्नु मौद्रिक नीतिको राम्रो पक्ष भएको बताए । लघुवित्त वित्तीय संस्थाको सेवा सम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्न ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिनु सकारात्मक रहेको बताए । लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गर्न आवश्यक रहेकोमा मौद्रिक नीतिले व्यवस्था गर्नु राम्रो भएको जानकारी दिए । उनले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरिएको बताए । मौद्रिक नीतिले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागू गर्न आवश्यक व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

ज्योति विकास बैंकद्वारा ज्योति गट ट्यालेन्टको प्रथम संस्करण आयोजना

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ज्योति गट ट्यालेन्टको पहिलो संस्करण आयोजना गरेको छ ।  बैंकका देशभरीका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ‘ज्योति गट ट्यालेन्ट २०२४’ मा कर्मचारीहरुको लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता’ गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविता’ गरि सात विधाहरु समावेश गरिएको थियो, जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू गत साउन ९ गते बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो । विजेताहरुलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए । यस कार्यक्रममार्फत, बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले बहुप्रतिभाले सुसज्जित कर्मचारी र उनीहरूको वालवालिकाको प्रतिभाको प्रस्फुटन हुने उचित अवसर प्रदान गरेको छ । बैंकिङ सिपका अलावा, बैंकका कर्मचारी वर्गमा रहेका अन्य विशिष्ट सिपलाई उजागर गर्ने र प्रोत्साहन गर्ने अवसरको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।