विकासन्युज

न्यादी हाइड्रोको नेटवर्थ ६६ रुपैयाँ, खुद नोक्सानी १६.६६ करोड

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०÷८१ को चौथौं त्रैमासमा खुद नोक्सानी २० प्रतिशत घटाएको छ । गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी २० करोड ९३ लाख २१ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज (साउन १३ गते आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.सं २०२१ असार २० गते जन्मिएका नकर्मीको बिहीबार मृत्यु भएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी वि.सं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

गुराँस लघुवित्तको नाफामा १ हजार ४५० प्रतिशत छलाङ, एनपीएल ४ % घटायो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमास खुद नाफा १ हजार ४५० प्रतिशत बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा लघुवित्तधको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ । लघुवित्तले आफ्नो खराब कर्जा (एनपीएल) उल्लेख्य घटाएको छ । अघिल्लो वर्ष ६.३६ प्रतिशत रहेको खराब कर्जा गत असारमा २.४६ प्रतिशतमा झारेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी बढेर २५.६१ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ र जगेडा कोष ४ करोड ७१ लाख रुपैयाँ छ । साथै गत वर्ष लघुवित्तले सापटि १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र निक्षेप ३४ करोड ९४ लाख रुपैयाँ संकलन गरी १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

डलर सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन १३ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.११ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.७६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.९७ रुपैयाँ र बिक्रीदर १७२.७५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.६६ रुपैयाँ र बिक्रीदर ८८.०५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.७३ रुपैयाँ र बिक्रीदर ९७.१६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.७० रुपैयाँ र बिक्रीदर २८.८३ रुपैयाँ तोकिएको छ ।

स्वास्थ्य क्षेत्र सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीर अस्पतालभित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक रहेको पनि बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे । उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको जनाए । इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ । सेवाग्राहीहरूले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए । कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरे केन्द्रित गरिरहेको बताए । उनले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए । उनले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भई काम गरिरहेको उल्लेख गरे ।

देशभरि १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभरि हालसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ’, उनले भने । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’ हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन् । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन् । ‘हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्’, उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरूले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।’ उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागु भएको नदेखिएको बताए । ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ’, उनले भने । डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरू बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरू अत्यधिक कम छ’, उनले भने । हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ ।

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्ब बढी

काठमाडौं । गत आर्थिक वर्ष २०८०र८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले ५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्यांकबाट देखिन्छ । गत आवमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार ६ सय ९० सेट टेलिफोन आयात भएका छन् । त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड ९ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको दुई लाख ३९ हजार ६ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन् । चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २०औं बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वको भएको जनाउँदै उनले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाए । उनले शनिबार दिएको वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ –साउन ३ गतेसम्म आयोजित प्लेनरी सेसनले चीनको आर्थिक एवं सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठुलो महत्त्वको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको स्पष्ट पारे । ‘चीनमा सुधार र खुलापन सुरु भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गर्छ र आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्छ,’ चिनियाँ राजदूतले भने । उनले स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्ण बैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो संकेत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बीच चीनमा थप लगानी र विकास एवं विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन् ।