विकासन्युज

सेवा अवधि बाँकी छँदै तीन सहसचिवले दिए राजीनामा

काठमाडौं । अनिवार्य अवकाशअघि नै उल्लेख्य सेवा अवधि बाँकी रहेका तीन जना सहसचिवले निजामती सेवाबाट राजीनामा दिएका छन् । छोटो अवधिमा लगातार तीन वरिष्ठ अधिकृतले सेवा त्यागेपछि निजामती प्रशासनमा यसको कारण र प्रभावबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव शिवादेवी दाहालले करिब साढे तीन वर्ष सेवा अवधि बाँकी रहँदै राजीनामा दिएकी हुन् । उनको अनिवार्य अवकाश २०८६ माघमा हुने तय थियो ।  गत वैशाखदेखि बिदामा बसेकी दाहाल पछिल्लो समय निजामती सेवामा बढ्दै गएको राजनीतिक हस्तक्षेपका कारण निराश थिइन् । निजामती सेवाका जानकारहरूका अनुसार उनमा उच्च प्रशासकमा हुनुपर्ने क्षमता थियो । उनी सचिवको लाइनमा रहेकी सहसचिव हुन् । राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव लोकप्रसाद न्यौपानेले पनि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहँदै पद त्याग गरेका छन् । उनको २०८४ माघसम्म सेवामा रहन सक्ने उमेर रहेको थियो । यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर हाजिर हुनेबित्तिकै सहसचिव टेकनारायण पौडेलले पनि राजीनामा दिएका छन् । उनको समेत करिब १६ महिना सेवा अवधि बाँकी रहेको थियो । तीनै सहसचिवको राजीनामाको कारणबारे सरकारले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।  राजीनामाले उठाएकाे प्रश्न निजामती सेवामा सहसचिव वा सचिव तहका अधिकारीले अनिवार्य अवकाशअघि स्वेच्छिक रूपमा सेवा त्याग गर्ने घटना सामान्य मानिँदैन ।  सेवा अवधि बाँकी रहँदै वरिष्ठ कर्मचारीले राजीनामा दिनुले प्रशासनिक नेतृत्व, संस्थागत निरन्तरता र जनशक्ति व्यवस्थापनसँग सम्बन्धित प्रश्न उठाउने गरेको राष्ट्रिय किताबखानाका एक अधिकारीले बताए । उनका अनुसार यी राजीनामाहरू संघीय निजामती प्रशासनमा संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण, प्रशासनिक पुनर्संरचना, कर्मचारी व्यवस्थापन तथा निजामती सेवामा सुधारसम्बन्धी बहस चलिरहेका बेला आएका हुन् ।  यी नीतिगत प्रक्रियासँग राजीनामाको प्रत्यक्ष सम्बन्ध रहेको वा नरहेको आफूलाइ जानकारी नभएपनि बढ्दो राजीनामाले निजामती प्रशासनभित्र भुसको आगोको काम गर्न सक्ने ती अधिकारीको दावी छ ।  प्रशासनिक क्षेत्रका जानकार ओमप्रसाद पाण्डेका अनुसार वरिष्ठ कर्मचारीको समयअगावै बहिर्गमनले अनुभवयुक्त जनशक्तिको निरन्तरता, उत्तराधिकार व्यवस्थापन तथा नीतिगत कार्यान्वयनमा प्रभाव पार्न सक्छ ।  त्यसैले यस्ता घटनाको कारणबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।  सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ बढी २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ३ सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

खेर जाने गहुँको छाली अब आम्दानीको आधार, लुम्बिनीका महिलालाई एडभान्स तालिम

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छाली (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ ।  लुम्बिनी विकास कोष र युएनडीपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ ।  यसअघि गत पुस महिनामा १५ दिने आधारभूत तालिम सम्पन्न भइसकेकोमा त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै अहिले तीन महिने दोस्रो चरणको (एडभान्स) तालिम सुरु गरिएको हो ।  काठमाडौंबाट आएका ३५ वर्ष लामो अनुभव प्राप्त प्रशिक्षक सीताराम गोसाईंले प्रशिक्षार्थीहरूलाई छालि कलाको प्राविधिक पक्षबारे तालिम दिइरहेका छन् । प्रशिक्षक गोसाईंका अनुसार पहिलो चरणको तालिममा छालीलाई कागजमा टाँसेर बनाइने सामान्य ‘२–डी’ कला सिकाइएको थियो । अहिले सञ्चालन भइरहेको दोस्रो चरणको तालिममा भने ‘३–डी’ प्रविधिमार्फत चित्रहरूलाई जीवन्त र यथार्थपरक बनाउने कला सिकाइँदैछ ।  प्रशिक्षार्थीहरूले बुद्धका आँखा, धर्मचक्र, गौतम बुद्धको शीर, मायादेवी मन्दिर र बुद्धको बज्र जस्ता बुद्ध दर्शनसँग सम्बन्धित विभिन्न कलाकृतिहरू निर्माण गर्न सिकिरहेका छन् ।  प्रशिक्षक गोसाईंले लुम्बिनीका उपहार पसलहरूमा विदेशी, विशेषगरी चिनियाँ सामग्रीको बाहुल्यता रहेको उल्लेख गर्दै स्थानीय स्रोत र साधनको प्रयोग गरी बनाइएका सामग्रीले लुम्बिनीको मौलिकता झल्काउने बताए । उनले भने, ‘विगतमा किसानले गहुँको छालीलाई महत्त्व नबुझेर जलाउने वा नष्ट गर्ने गर्दथे । अब यसलाई प्रशोधन गरी कलात्मक वस्तु बनाउन सकेमा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।’ तालिममा सहभागी स्थानीय निर्मलाकुमारी चौधरीले पहिलो चरणको १५ दिने तालिमबाटै आफूहरूले व्यावसायिक रूपमा काम गर्न थालेको बताए ।  उनका अनुसार पहिलो चरणको तालिमपश्चात नै सहभागीहरूले पाँच सयदेखि १ हजार २ सय रुपैयाँसम्मका सामग्री विक्री गरी आम्दानी गर्न सफल भएका छन् ।  छालीको करी उचित सदुपयोग गरेर आर्ट बनाउन सकिन्छ भनेर उनले बताइन् । १५ दिनमा आफूले धेरै कुराहरु सिकेको उनको भनाइ छ ।  गौतम बुद्धको आँखा, कर्मचक्र लगायतका आर्टहरू गहुँको छालीबाट बनाउन सिकाएको चौधरीले बताइन् । उनले भने, ‘पढेर मात्र तत्काल रोजगारी पाउन कठिन हुने अवस्थामा यसरी हातमा सीप हुँदा घरमै  बसेर पनि केही गर्न सकिने आत्मविश्वास पलाएको छ ।’ अर्की एक प्रशिक्षार्थीले आफ्नो हातमा सीप लिएर अरूलाई सिकाउने चाहना रहेको बताए । आफू कृषिको विद्यार्थी रहेको र तालिमबाट केही सीप सिकेर आत्मनिर्भर बन्ने चाहना रहेको बताए ।  तालिममा छालीलाई कसरी सङ्कलन गर्ने, त्यसलाई कसरी खोक्रो र नरम बनाउने तथा दीर्घकालीन रूपमा सुरक्षित राख्ने प्राविधिक विषयमा पनि प्रशिक्षण दिइएको छ ।  लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूका लागि यहाँको स्थानीय उत्पादनलाई प्रमुख ‘कोसेली’ का रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।  यस तालिमले घरमा फुर्सदिला रहेका महिलाहरूलाई उद्यमी बनाउनुका साथै लुम्बिनीको सांस्कृतिक र धार्मिक पहिचानलाई हस्तकलाका माध्यमबाट विश्वभर चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री यादवको निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्री–वितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छन् । मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । हाल ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ । मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले नक्कली उत्पादनको बिक्री–वितरणमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पार्दै बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन विभागलाई थप निर्देशन दिइन् । दोषी पाइए कानुनबमोजिम कडा कारबाही गर्न पनि उनले निर्देशन दिइन् ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटाले अहिले पनि बजारमा केही नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग आफैं नियमित रूपमा बजार अनुगमनमा सक्रिय रहेको बताए ।  उनका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण भइरहेको छ । परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बजारमा नक्कली उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् । 

सिरहाको गोलबजारमा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कफ्र्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कफ्र्यु खुकुलो बनाइएको छ । प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कफ्र्यु थप खुला गर्ने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै कफ्र्यु खुकुलो भएको अवधिमा पनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन सबैलाई आग्रह गरिएको छ। सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कफ्र्यु आदेश जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कफ्र्यु खुकुलो बनाएको जनाएको छ ।  

राष्ट्र बैंकको कारबाहीमा ३ बैंक, पूर्वसीईओ शेरचनलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराउनुका साथै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ । राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था विपरीत समयमै बैंक खाता रोक्का नगरी निर्देशन उल्लंघन गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम पहिलो पटक सचेत गराइएको हो ।  त्यस्तै, कृषि विकास बैंकले पनि समयमै बैंक खाता रोक्का नगरेको पाइएपछि बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) अनुसार भविष्यमा अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवा गर्न निर्देशन दिँदै पहिलो पटक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । प्रभु बैंकको हकमा भने समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरू पटक–पटक निर्देशन दिँदा पनि सुधार नभएको राष्ट्र बैंकले जनाएको छ । २०८१ को निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत सुधार गर्न यसअघि निर्देशन दिइएको भए पनि २०८२ मा गरिएको जोखिममा आधारित निरीक्षणमा समेत अपेक्षित सुधार नदेखिएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ख) बमोजिम सुधारात्मक कदम चाल्न प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराइएको हो । यस्तै, कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, निरीक्षण प्रतिवेदनमा उल्लेखित अधिकांश कैफियत सुधार नगरेको तथा राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच फरक देखिएको भन्दै प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

६२ करोडको कोदो आयात, स्वदेशमै उत्पादन बढाउनुपर्ने चुनौती

काठमाडौं । रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तारमा राज्य, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन नेपाल (एफएओ) तथा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै कोदो दिवस मूल समारोह समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा योगदान पुर्याएका किसानप्रति धन्यवाद व्यक्त गर्दै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा काम गरिरहेको बताए।   मल व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गरे । यसबाट किसानले उत्पादनको सुनिश्चित बजार पाउने र स्थानीय अर्थतन्त्र समेत सुदृढ हुने उनको भनाइ थियो । सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष पूर्णबहादुर महतले आफ्नो वडाका किसानहरू कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएको बताए । पछिल्लो समय कोदो खेतीप्रति किसानको आकर्षण बढेको, उत्पादनमा सुधार आएको र बजारको पहुँच पनि विस्तार हुँदै गएको उनले जानकारी दिए । कृषि, वातावरण तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै यसको उपभोग र माग निरन्तर बढिरहेको बताए। सरकारले कोदो प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र निजी क्षेत्रको सहकार्यले यस अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । उनले कोदोको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको स्मरण गराए । कोदो उत्पादन विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए । खाद्य तथा कृषि संगठन नेपाल (एफएओ)का कार्यक्रम विशेषज्ञ महेश बडालले सरकारले राष्ट्रिय कोदो दिवसलाई प्राथमिकताका साथ मनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा कोदो प्रवर्द्धनका लागि अझ प्रभावकारी नीति र कार्यक्रम आवश्यक पर्ने बताए । उनले विगतमा हेलामा परेको बालीका रूपमा लिइने कोदो पछिल्लो समय स्वास्थ्य, पोषण र बजारका दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले यसको दीगो विकासका लागि मूल्य शृङ्खला स्थापना अपरिहार्य रहेको बताए । बडालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कोदोका उन्नत बीउको अनुसन्धान तथा संरक्षण गरिरहेको र सहकारी तथा निजी क्षेत्रले समेत यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए । मूल्य शृङ्खलासम्बन्धी समस्या समाधानका लागि एफएओले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।   बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले अन्य खाद्यान्नसरह कोदो पनि महत्वपूर्ण बाली भएको उल्लेख गर्दै गाउँघरमा उत्पादन घट्दै गए पनि सहरी क्षेत्रमा यसको प्रयोग र माग बढेकाले आयातसमेत वृद्धि भएको बताए। उनले उत्पादन वृद्धि गर्न सरकारले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय जीन बैंकमार्फत कोदोका स्थानीय जातको संरक्षण भइरहेको जानकारी दिए । उनका अनुसार रैथाने बालीप्रति जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। कोदोसहितका बालीको उत्पादन बढाउन रोपाइँदेखि कटानीसम्म आवश्यक कृषि औजार तथा यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोलाई विगतमा ‘गरिबको खाना’ भनेर हेर्ने प्रवृत्ति रहे पनि व्यावसायिक खेती विस्तारसँगै यसको महत्व उल्लेखनीय रूपमा बढेको बताए। कृषि बजेटको ठूलो हिस्सा रासायनिक मलमा खर्च हुँदा रैथाने बाली प्रवर्द्धनका कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै किसानलाई रासायनिक मलको प्रयोग घटाई जैविक तथा स्थानीय उत्पादनमुखी खेती प्रणाली अपनाउन आग्रह गरे ।  कार्यक्रममा कोदो बाली संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने बाजुराको बडीमालिका नगरपालिका निवासी किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो। त्यसैगरी लमजुङको घनापोखरी सहकारी संस्थालाइ सम्मान गरिएको छ । कृषि पत्रकारितामा योगदान पुर्याएकोमा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को सिफारिसमा कृषि पत्रिकाका प्रकाशक तथा सम्पादक गोपाल आले मगर तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई समेत कदरपत्र प्रदान गरिएको थियो ।  कोदोजन्य बालीको उत्पादन र उत्पादकत्वमा ह्रास आउने क्रम बढिरहँदा कोदो प्रवर्धनका लागि २०७८ देखि राष्ट्रिय कृषक समुह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन शुरु गरेका थिए । हरेक वर्ष दिवस मनाउँदै कोदोजन्य बालीको दिवस घोषणा गर्न सरकारलाई दबाब दिँदै आइरहेकोमा सरकारले यस विषयलाई सकात्मक रुपमा लिँदै २०८२ सालदेखि साउन १६ गते कोदो दिवस मनाउने मन्त्रिपरिषदबाट निर्णय भएपछि औपचारिक रुपमा राष्ट्रिय दिवसको रुपमा कोदो दिवस साउन १६ लाई मनाउन थालिएको हो ।  संयुक्त राष्ट्र संघले सन् २०२३ लाई “अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष “को रुपमा मनाउने घोषणा गरेसंगै  विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ ।  चौरिदेउरालिमा छुट्टै कार्यक्रम, देशभर मनाइयो  कोदो दिवसको आयोजनामा दोस्रो राष्ट्रिय कोदो दिवस जिल्ला कृषि विकास कार्यालय, काभ्रे, चौरिदेउराली गाउँपालिकामा छुट्टै कार्यक्रम गरि सम्पन्न भएको छ ।  जिल्ला कृषि विकास कार्यालय काभ्रे, चौरिदेउराली गाउँपालिका, खाद्यका लागि कृषि अभियान  र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)को संयुक्त आयोजनामा चौरिदेउराली गाउँपालिका, काभ्रेमा कार्यक्रम सम्पन्न भएको हो ।  कोदो सम्बन्धि बहसपश्चात स्थानीय सहभागीले कोदो रोपेर कोदो प्रवर्धनका कार्य गरेका छन् । काय्र्रकममा सहभागी वक्ताहरूले रैथाने कोदोका जातहरू संरक्षण गर्नमा जोड दिएका छन्। कोदोको उत्पादन र उत्पादकत्व बढाउँदै स्थानीय अर्थतन्त्र प्रवर्धनमा जोड दिन अनुरोध गरिएको छ ।  गत वर्ष राष्ट्रिय कोदो दिवस घोषणा भएपछि संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाको आयोजनामा देशभर कोदो प्रवर्धनका काय्र्रकम भइरहेका छन् । काठमाडौँमा पनि रैथाने बजार, मौलिक भान्साघर लगायतका स्थानमा कोदो तथा फापर संघ जस्ता संघसंस्थाले  तथ्य र तथ्यांकमा कोदोः कृषि, वन तथा पर्यावरण मन्त्रालयको आ.ब. २०८१/८२ को तथ्याङ्कअनुसार २ लाख १४ हजार ४७७ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई २ लाख ८४ हाजर ३५२ मे.टन कोदो उत्पादन भएको जनाएको छ । कोदोजन्य बालीको उत्पादकत्व १.३३ मे.टन प्रति हेक्टर मात्र रहेको छ। कोदोजन्य बालीहरुमा उन्नत प्रविधिको प्रयोग, सिंचाई, मलखादको व्यवस्था गर्न सकेमा उत्पादन तथा उत्पादकत्व बढाउन सकिने देखिएको हो ।  भन्सार विभागको तथ्याङ्क अनुसार गत आ.व. २०८२/८३ मा कोदोजन्य बाली र जुनेलो बाली (बीउ बीजन समेत) ६२ करोड २८ लाख ९८ हजार बरावरको करिब ४४.८८ मे.ट. कोदोजन्य वस्तुको आयात भएको देखिन्छ भने  सोही आ.व.मा १३ लाख २५ हजार बरावरको २.११ मे.ट. कोदोबाली र बीउ बीजन निर्यात भएको तथ्याङ्कबाट देखिन्छ। त्यसकारण कोदोजन्य बालीहरुको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता रहेको छ। कोदोजन्य बालीहरु प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्वहरुको राम्रो स्रोत हुन् । पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ ।  नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत कोदोजन्य बालीमा अनुसन्धान गरि हालसम्म कोदोका ६ वटा चिनोको १ वटा कागुनोको १ वटा गरि ८ वटा जातहरु उन्मोचन तथा दर्ता गरिएको छन् भने कोदोजन्य बाली र तिनीहरुको जंगली प्रजातिहरुको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ । राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका १२८० परिग्रहणहरु सुरक्षित गरि राखिएको छ । विभिन्न सामुदायिक बीउ बैंकहरूले स्थानीयस्तरमा कोदो र अन्य रैथाने बालीहरूको संरक्षण एवं दिगो उपभोगका लागि कार्य गरिरहेका छन्। स्थानीय ठाँउहरुमा छरिएर गरिएको कोदोजन्य बालीहरुको संकलन, प्रशोधन र बजारीकरणमा स्थानीय तह र नीजि क्षेत्रवाट आवश्यक सहयोग र सहजिकरण हुँदै आएको छ ।  बालीहरुबाट बन्ने रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट,पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिढिँका जनमानसमा समेत हाम्रा कोदोजन्य बालीको उपभोग बढाउन सकिन्छ । कोदोजन्य बालीको परिकार विविधिकरण भएमा नीजि उद्यमी तथा होटल व्यवसायी र होमस्टे संचालकहरु मार्फत आन्तरिक र वाह्य पर्यटक सम्म पनि बजार विस्तार गर्न सकिने विज्ञहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा कोदोजन्य उत्पादनप्रति उपभोक्ताको आकर्षण बढिरहेकाले उत्पादन बढाउनमा सरकार तथा सरोकारवालामाथि जिम्मेवारी बढेको देखिन्छ । 

रिलायबल भेञ्चर क्यापिटलको साढे ६ करोडको सेयर बिक्रीमा, मूल्य १२६ रुपैयाँ

काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले करिब ६ करोड ६२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसाको मूल्य निर्धारण गरिएको छ । उक्त मूल्यका आधारमा कुल ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले १५ दिनभित्र कम्पनीबाट १०० रुपैयाँ तिरेर आवेदन फारम खरिद गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट उल्लेख गर्दै गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकबाहेक अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।