विकासन्युज

हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो । यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरेको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

जनकपुरधाममा रेल सेवा चाँडै सञ्चालन हुने

काठमाडौं । जनकपुरधाम-अयोध्यामा रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएपनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताए । महाप्रबन्धक झाकाअनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिएपनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक गरिसकेको बताए । रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे बजे जनकपुरधाम पुग्नेगरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए । उनले भने, ‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’ भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै सुरु गर्ने बताए । मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरु रहेकाले सोको समाधानका लागि पहल भइरहेको बताए । मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कार्तिक महिनादेखि निर्माण कार्य अगाडी बढाइने सम्भावना रहेको बताए । त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।

यस्तो छ एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (तस्बीरहरू)

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागीता उल्लेख रहेको छ । प्रदर्शनीमा स्वचालित एआइ गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआइ रोवटिक शिक्षकको अवलोकन गर्न पाइन्छ । विद्यार्थीहरुले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी परियोजना रहेका छन् । डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोश्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । साउन १५ गते देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ प्रविधिमा रुचि राख्ने जो कोहीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन् ।    

महेश बर्तौलासहित १७ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । बिहीबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रमुख सचेतक महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले बताए । महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन् । त्यस्तै, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशालगायतलाई मनोनित गरेको हो । बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि खाली रहेको एमाले उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गरेको छ । त्यस्तै, बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोखरेलले बताए ।

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेमा उपाध्यक्ष पद खाली थियो ।

धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै दोब्बर

कैलाली । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बरभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेको थियो । त्यसपछि आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आव २०८०/८१ मा ३३ करोड १२ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । राजस्व शाखा प्रमुख ओझाले भने, ‘हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।’ उपमहानगरले गत आर्थिक वर्षमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारीसाधन कर ६ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार आम्दानी गरेको उनले जानकारी दिए । राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी भएको छ । व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्ड/जरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत ६ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट ९ लाख १३ हजार आम्दानी भएको ओझाले जानकारी दिए ।

फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले लगानी गर्ने, सवा ३ करोडको आईपीओ निष्कासन गर्दै

काठमाडौं । फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बिहीबार फेदीखोला हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेवामा ऋण लगानी गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो । कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजी ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ यहि आर्थिक वर्ष भित्रमा निष्कासन गरिने लक्ष्य रहेको छ । २०८२ असोजभित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ । सिभिल निमार्ण ठेक्का सम्झौता पछि पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकका सञ्चालक घिमिरेले लिए शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश सर्वोच्च वा अदालतको निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल, सहरजिस्ट्रारहरु मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।