विकासन्युज

सीईओ कार्कीले वालेट बोक्दा नेप्सेको ढुकुटीमा भ्वाङ

काठमाडौं । एउटा संस्थाको नेतृत्व गरेपछि त्यो व्यक्तिको प्रवेशले संस्थाको प्रगतिमा कतिको फरक पार्‍यो भन्ने विषयले ठूलो महत्त्व राख्छ । नयाँ नेतृत्वको आगमनले संस्थाको रणनीतिक योजना, टिमवर्कबाट प्राप्त हुने प्रतिफल, आम्दानी, विश्वसनीयता र जवाफदेहितामा के कस्तो प्रभाव तथा सुधार भयो भन्ने विषयको मूल्यांकन र निगरानी बजारले गरिरहेको हुन्छ । यदि यी सबै विषय सुधार भयो भने यो सबै कुराको श्रेय नेतृत्वले पाउँछ । विगतको भन्दा पनि कमी आयो भने त्यसको अपजस पनि नेतृत्वमाथि नै थपारिन्छ । जुन स्वाभाविक पनि हो । नेपाली पुँजीबजारको सञ्चालन तथा सेयर खरिदबिक्रीको सेवा दिने एक प्लेटफर्मको रूपमा काम गर्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नेतृत्वमाथि पनि अहिले विविध प्रश्नहरू तेर्सिएका छन् । उनीमाथि निहित स्वार्थका लागि संस्थाको आम्दानी घटाएको घटाएको आरोप लागेको छ । अहिले नेप्सेको नेतृत्व कृष्णबहादुर कार्कीले गरिरहेका छन् । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउँद सर्वोत्तम सिमेन्टको प्रकरणमा बर्खास्त भएपछि कार्की विसं २०७८ मा नेप्सेको नेतृत्व सम्हालेका थिए । यो अवधिमा कार्कीले नेप्सेको आम्दानी बढ्नेभन्दा पनि आम्दानी खुम्चिने काम गरेको भन्दै संस्थाभित्र नै विरोध हुन थालेको बुझिएको छ । सीईओ कार्कीले वालेट कम्पनीसँगको मिलेमतोमा भुक्तानीको काम निजी कम्पनीलाई दिएको र आम्दानीको बाटो बन्द गराएको आरोप नेप्सेका कर्मचारीहरूले नै लगाएका छन् । कार्की सीईओ बन्नुअघि नेप्सेको कुल आम्दानी ३ अर्ब बढी थियो । तर, उनी आइसकेपछि नेप्सेको आम्दानीमा प्रत्येक वर्ष ह्रास हुँदै गएको तथ्यांकले पनि देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको नेप्सेले कार्की सीईओ बनेर आएपछि घटेर आव २०७८/७९ मा २ अर्ब ७८ करोड २१ लाख रुपैयाँमा झरेको छ । त्यसपछि पनि नेप्सेको आम्दानी घट्ने क्रम रोकिएको छैन । अघिल्लो आव २०७९/८० मा नेप्सेको कुल आम्दानी घटेर १ अर्ब ७८ करोड २२ लाख रुपैयाँमा सीमित छ । नेप्सेको आम्दानी घट्नुमा सीईओ कार्कीले गरेको निणर्य नै भएको नेप्सेका कर्मचारीहरू बताउँछन् । लगानीकर्ताको भुक्तानी सहज बनाउन नेप्सेका पूर्वसीईओ साउँदले २०७५/७६ मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग सम्झौता गरेका थिए । लगानीकर्ताको माग बमोजिम भुक्तानीमा सहज होस् भनेर कनेक्ट आईपीएसमार्फत् भुक्तानीको काम गर्न सकिने गरी सम्झौता भएको थियो । त्यसअघि सेयर कारोबारको भुक्तानीको काम गर्दा नगद वा चेकका माध्यमबाट गर्नुपर्ने बाध्यता थियो । आफूहरूले तत्काल भुक्तानी पाउनुपर्ने र ब्रोकरलाई पनि दिनुपर्ने गरी अनलाइन व्यवस्था गर्न लगानीकर्ताहरूले आवाज उठाए । नेप्सेले पनि लगानीकर्ताको माग जायज रहेको भन्दै भुक्तानीको काम छिटोछरितो गर्न कनेक्ट आईपीएसलाई नेप्सेको प्रणालीमा जोड्ने गरी एनसीएचएलसँग सम्झौता गरेको थियो । उक्त सम्झौताले भुक्तानी सहज मात्रै भएको थिएन, नेप्सेको आम्दानीसमेत बढेको थियो । ‘म नेप्सेको सीईओ हुँदा कनेक्ट आईपीएससँग सम्झौता भएको हो, कनेक्ट आईपीएसबाट लगानीकर्ताको भुक्तानीको काम गर्न सकिने भयो, लगानीकर्ताले ब्रोकरलाई भुक्तानी गर्नुपर्ने र ब्रोकरले पनि लगानीकर्तालाई भुक्तानी दिनुपर्ने गरी सम्झौता भयो,’ नेप्सेका पूर्वसीईओ साउँदले भने, ‘त्यतिबेला डिजिटल भुक्तानीका विभिन्न माध्यम थिए । तर, निजी कम्पनीलाई दिँदा विवाद आउन सक्छ भनेर एनसीएचएलसँग सम्झौता भयो, एनसीएचएलमा सरकार र राष्ट्र बैंकको लगानी भएको संस्था हो ।’ सरकारी लगानी भएकाले कनेक्ट आईपीएस नै उपयुक्त हुन्छ भनेर सम्झौता गरेको र टीएमएसमा कनेक्ट आईपीएसलाई जोडिएको उनको भनाइ छ । उनका अनुसार नेप्सेको सफ्टवेयर प्रयोग गरेपछि कनेक्ट आईपीएसले वार्षिक रूपमा नेप्सेलाई निश्चित रकम दिने सहमति भएको थियो । के थियो सम्झौता ? सेयर कारोबारको रकम अनलाइनबाटै भुक्तानीको व्यवस्था गर्ने गरी भएको सम्झौतामा नेप्से र एनसीएचएलबीच निश्चित रकम दिनुपर्ने विषय उल्लेख थियो । पुँजी बजारमा अर्बौंको कारोबार हुने भएकाले कनेक्ट आईपीएसका लागि राम्रो व्यावसायिक प्लेटफर्म बन्यो ।  नेप्सेको सफ्टवेयर प्रयोग हुने भएकाले एनसीएचएलले वार्षिक रूपमा निश्चित रकम नेप्सेलाई दिने सहमति भएको थियो । स्रोतका अनुसार सो बापत नेप्सेलाई वार्षिक २ लाख बढी आम्दानी हुन्थ्यो । तर, कनेक्ट आईपीएसको आम्दानीमा निजी कम्पनीबाट सञ्चालित वालेट कम्पनीले पनि आँखा लगाउन खोजे । साउँद सीईओ हुँदा पहुँच नपाएका वालेट कम्पनीहरू कार्की सीईओ बनेपछि भने निर्वाध रूपमा काम गर्न थाले । सीईओ कार्कीले सामान्य सम्झौता गरेर वालेट कम्पनीलाई नेप्सेको टीएमएसमा आवद्ध गराएको नेप्सेका एक कर्मचारीले बताए । एनसीएचएलसँगको भएको सम्झौता पनि नवीकरण नगरेको ती कर्मचारीको भनाइ छ । ‘विगतमा सेयर कारोबारको भुक्तानीको काम कनेक्ट आईपीएसले मात्रै गर्थ्याे, सरकारी कम्पनी भएकाले सुरक्षित मानिएको थियो, कारोबार गरेबापत नेप्सेलाई निश्चित रकम पनि दिने सहमति थियो,’ नेप्सेका एक कर्मचारीले भने, ‘तर, कार्की सीईओ बनेपछि कनेक्ट आईपीएसँगको सम्झौता पनि नवीकरण भएन, उल्टै ईसेवा, खल्ती, आइएमई पे लगायतका वालेटलाई नेप्सेको प्लेटफर्ममा आवद्ध गराइयो ।’ विगतमा कनेक्ट आईपीएसले कारोबार गरेबापत नेप्सेलाई निश्चित रकम फिर्ता दिने (क्यासब्याक) सहमति थियो । तर, वालेट कम्पनीलाई प्रवेश गराएपछि कनेक्ट आईपीएसले पनि नेप्सेलाई रकम दिन छाडेको नेप्सेका ती कर्मचारीको भनाइ छ । ‘नेप्सेको सफ्टवेयर प्रयोग गरेर वालेट कम्पनीले पनि भुक्तानीको काम गर्न थाले । तर, नेप्सेलाई रकम पनि दिएनन् किनभने सीईओसँगको सम्झौतामा रकम दिने विषय उल्लेख छैन,’ नेप्सेका ती कर्मचारीले भने, ‘जबकि कनेक्ट आईपीएसले वार्षिक प्रतिब्रोकर १०/१५ हजार रुपैयाँ नेप्सेलाई दिन्थ्यो । तर, वालेट थपिएपछि दिन छाड्यो ।’ नेप्सेका अर्का कर्मचारीको दाबीअनुसार सीईओ कार्कीले वालेट कम्पनीसँग कुनै सम्झौता गरेका छैनन् । जबकि नेप्सेको प्रणालीमा कम्पनी जोड्नका लागि धेरै जोखिम मोल्नुपर्छ । अध्ययन र विश्लेषण बिना नै सीईओ कार्कीले वालेट कम्पनीलाई नेप्सेको सफ्टवेयरमा पहुँच दिएको उनको भनाइ छ । यसरी जो पायो त्यही कम्पनीलाई नेप्सेमा जोड्दा लगानीकर्ताको गोपनीयता पनि भङ्ग हुन सक्ने उनको भनाइ छ । ‘अहिले ब्रोकर कम्पनी थपिएर ९१ वटा पुगेका छन्, यदि कनेक्ट आईपीएससँगको सम्झौता नवीकरण गरेको भए नेप्सेले धेरै रकम आम्दानी गर्थ्याे, अब त्यो रकम नआउँदा नेप्सेलाई घाटा भयो,’ ती कर्मचारीले भने, ‘निजी कम्पनीलाई नेप्सेमा पहुँच दिँदा लगानीकर्ताको गोपनीयता बाहिरिने सम्भावना रहन्छ ।’ ती कर्मचारीका अनुसार अहिले यो विषयले नेप्सेभित्र कर्मचारीले सीईओप्रति असन्तुष्टि जनाइरहेका छन् । नेप्सेको गत वर्षको आम्दानीको स्रोत सार्वजनिक भएको छैन । तर, आव २०७९/८० मा धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालनबाट ४५ करोड ६८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिइएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ र अन्यबाट ४८ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । आव २०७८/७९ मा धितोपत्र कारोबारबाट १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ, कार्य सञ्चालनबाट ५१ करोड ९९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिइएको सेवाबाट ९ करोड ९९ लाख रुपैयाँ र अन्यबाट ४० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो । धितोपत्र कारोबार, कार्य सञ्चालन, संगठित सदस्यलाई दिइएको सेवा र अन्यबाट हुने आम्दानी नै नेप्सेको आम्दानीका स्रोत हुन् । सेयर खरीद बिक्री कमिशन तथा सदस्यता शुल्कवापतको रकमलाई धितोपत्र कारोबारबाट हुने आम्दानीभित्र समावेश गरिन्छ भने सूचीकृत कम्पनीले बुझाउने नवीकरण र वार्षिक शुल्क वापतको रकम संगठित सदस्यलाई दिइएको सेवाबाट हुने आम्दानीमा उल्लेख गरिन्छ । कार्य सञ्चालन आम्दानीअन्तर्गत सिडिएस एण्ड क्लियरिङले सेवा दिएवापत प्राप्त गरेको आम्दानी पर्दछ भने अन्य आम्दानीअन्तर्गत निक्षेपको ब्याज, लाभांश, कर्मचारी कर्जाको ब्याज, निश्चित सुविधा योजनाबाट ब्याज लगायतका अन्य आम्दानी पनि पर्दछन् । नेप्सेका प्रबन्धक निरन्जन फुँयाल पनि चन्द्र साउँद सीईओ हुँदा टीएमएसमा कनेक्ट आइपीएस जोड्न एनसीएचएलसँग सम्झौता भएको तर कार्की सीईओ भएर आएपछि सम्झौता रद्द गरिएको बताउँछन् । उनका अनुसार नेप्से र कनेक्ट आइपीएसबीच डार्क फाइबर राखिएपछि कनेक्सनको लागत तिर्नुपर्ने हुन्छ । तर, कनेक्ट आईपीएसले ब्रोकर कम्पनीबाट रकम उठाउन नसकेपछि रद्द गरिएको हो । ‘पहिलो वर्ष नेप्सेले हालिदिने र दोस्रो वर्षदेखि ब्रोकरबाट उठाएर कनेक्ट आईपीएसले नेप्सेलाई दिने सहमति थियो, पहिलो वर्षको किस्ता एक/डेढ लाख रुपैयाँ थियो । तर, कनेक्ट आईपीएसले ब्रोकरबाट रकम उठाउन सकेन,’ उनले भने, ‘कृष्ण सर सीईओ भएर आएपछि एनसीएचएलको सीईओ नेप्सेमा आउनु भयो र सम्झौता खारेज गर्ने मौखिक सहमति भयो ।’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली एनसीएचएलसँगको सम्झौतामा केही रकम फिर्ता दिने सर्त तोकिएको बताउँछन् । सम्झौता कार्यान्वयनमा छ कि छैन भन्ने विषय आफूलाई जानकारी नभएको उनको भनाइ छ । साथै वालेट कम्पनीसँग छुट्टै सम्झौता गरिएको उनले बताए । सीईओ कार्की भने नेप्सेले पाउनेभन्दा पनि दिनुपर्ने बाध्यता रहेको बताउँछन् । ‘म आउनुभन्दा अगाडि नै एनसीएचएलसँग सम्झौता भएको थियो । त्यसबापत नेप्सेले अलिअलि पैसा दिनुपर्ने सम्झौता थियो, वर्षमा एक डेढ लाख रुपैयाँ दिने भन्ने थियो, पहिला पनि दिएको थिएन,’ नेप्सेका सीईओ कार्कीले भने, ‘नेप्सेले पाउनु पर्ने भएपनि उल्टै एनसीएचएललाई दिनु पर्ने सम्झौता छ ।’

टर्कीएको मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतले घट्यो

टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याजदरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक (पीपीआई) ले पनि गिरावटको संकेत देखाएको छ । सेप्टेम्बरमा मासिक उत्पादक मुद्रास्फीति दर १.३७ प्रतिशतमा रेकर्ड भएकोमा उत्पादक मूल्यमा वार्षिक वृद्धि ३३.०९ प्रतिशतमा झरेको छ । यसको तुलनामा अगस्टमा वार्षिक मुद्रास्फीति दर ५१.९७ प्रतिशत थियो । मासिक दर २.४७ प्रतिशत थियो । सरकारको मध्यकालीन कार्यक्रमले सन् २०२४ मा ४१.५ प्रतिशतमा झर्ने र २०२५ को अन्त्यसम्ममा १७.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । टर्कीएको बढ्दो मुद्रास्फीति र यसको इतिहासमा सबैभन्दा खराब जीवन खर्चको संकटसँग संघर्ष गरिरहेको छ । जुन २०२३ देखि मुलुकले आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट ५० प्रतिशतमा बढाएर मौद्रिक नीतिलाई कडा पारेको छ ।

फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।’ भट्टले भने–’यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’ उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहर संकलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले बताए । ‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।’ उनले भने,’अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ ।यसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ ।’

दशैंमा खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै

काठमाडौं । नेपालीहरूको महान पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैंको लागि तयारी तीव्र छ । सहरहरूबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैंमा खसी, बोकाहरू कमी हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैं यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए । उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको जानकारी दिए । मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको व्यवस्थापक खतिवडाले बताए । विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको बताए । उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको जानकारी दिए । खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको जानकारी दिए । उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ बिक्री गरिरहेको बताए ।

कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरंगसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देसहरू विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

खल्तीबाट ‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ सजिलै गर्न सकिने

काठमाडौं । नेपालको मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ‘सारेगमप लिल च्याम्प्स’ नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ । खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई एपमार्फत सजिलै भोट गर्न सक्नेछन् । पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फाेर के च्यानल र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने छन् । आईएसओ २७००१:२०१३ बाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको आठौं वर्षमा छ । खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेकाे कम्पनीले जनाएकाे छ । खल्तीले डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, नयाँ ग्राहकलाई विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सव मनाईरहेको छ । बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ । बैंकले २४औं वार्षिकोत्सवको अवसरमा ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकले जनाएको छ । जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । केहिदिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ । बैंकले यस अवसरमा ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गरेको छ । असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुट दिएको बैंकले जनाएको छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २,४०० रुपैयाँ मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

सुनको मूल्य तोलामा १ लाख ६१ हजार ३ सय पुग्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।