विकासन्युज

‘अष्ट्रेलिया एडमिसन डे २०२४’ मनाउँदै अल्फा बिटा

काठमाडौं । अल्फा बिटाले ‘अष्ट्रेलिया एडमिसन डे २०२४’ मनाउने भएको छ । लामो समयदेखि शैक्षिक परामर्श दिदै आएको अल्फा बिटाले अगस्ट २५ मा ‘अष्ट्रेलिया एडमिशन डे २०२४’ आयोजना गर्ने जनाएको छ । कार्यक्रमम अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर विद्यार्थीसँग छलफल गर्ने छन् । विद्यार्थीहरूले अष्ट्रेलियाको शिक्षा नीतिहरू, पाठ्यक्रमहरू, छात्रवृत्तिहरू, शुल्कहरू, भिसा कागजातहरू र थप बारे विस्तृत जानकारी संकलन गर्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । कार्यक्रममा यस पटक, अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूमा ध्यान केन्द्रित गर्दै, अस्ट्रेलिया भर्ना दिवसलाई सहज बनाउने लक्ष्य राखेको अल्फा बिटाले जनाएको छ । कार्यक्रम अल्फा बेटा कम्प्लेक्समा अगस्ट २५ तारिख बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारी शुक्रबारदेखि आन्दोलनमा रहेका छन् । आफ्ना माग बोर्डले नसुनेको भन्दै उनीहरू काम रोकेर आन्दोलनमा उत्रेका हुन् । एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीमाथि दुव्र्यवहार गरेकाले कार्वाहीको लागि माग गर्दा पनि बोर्डले नसुनेको भन्दै कामकाज रोकेर आन्दोलन गर्नुपरेको कर्मचारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयबाट काजमा बोर्डमा आएका शाखा अधिकृत शोभित रिजालले कर्मचारीलाई अनावश्यक कुरामा हैरानी गर्ने गरेको उनीहरूको भनाइ छ । कर्मचारीलाई बारम्बार हप्काउने, धम्क्याउने, कार्यकक्षमै अपशब्द बोल्दा कर्मचारीलाई मानसिक तनाव दिने गरेको भन्दै त्यहाँका कर्मचारीले विज्ञप्ति निकालेर कार्वाहीको माग गरेका छन् । रिजाललाई तीन दिन भित्र कार्वाही गर्न माग गर्दै विज्ञप्ति निकाले पनि सुनुवाइ नहुँदा आन्दोलनमा उत्रनुपरेको कर्मचारीले बताएका छन् ।

ताप्लेजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आइतबार दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

आइएमई पेमा पैसा पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक

काठमाडौं । आइएमई पेमा पैसा पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक भएको छ । आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यथावत रहिरहेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई पेले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहकको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ । आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

टक्सार । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने उनको अनुमान छ । यस्तै  टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आएका छन् । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए । नेपालले हाल वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । सिँचाई अभाव, बसाइँसराईलगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए। जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन् । गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए । अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए । यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमानलाई) अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो । को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो । बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । करिब चार वर्षको छायांकनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भने । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।

विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाइए पुन र आचार्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका हुन् । प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । पुन र आचार्यले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता नतिरेसम्म उद्योगहरूमा लाइन जोड्न नहुने भन्दै फरक मत (नोट अफ डिसेन्ट) राखेका थिए । सोही विषयमा पुन र आचार्यसँग गत साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । गत साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरुलाई हटाउने निर्णय उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काले गरेका हुन् ।

समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशत घट्यो, जगेडा कोष ३ हजार ७९ प्रतिशत बढ्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ३२.३४ प्रतिशत घटेर ५१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेर २ करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेर २ करोड ६९ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १४.२५ प्रतिशत बढेर २ करोड २८ लाख रुपैयाँ र जगेडा कोष ३ हजार ७९ प्रतिशत बढेर २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्ष लघुवित्तको सापटी १८.०३ प्रतिशत बढेर २४ करोड ६५ लाख रुपैयाँ, निक्षेप ११ प्रतिशत बढेर १६ करोड ५ लाख रुपैयाँ र कर्जा लगानी १०.६९ प्रतिशत बढेर ४४ करोड २७ लाख रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५.४६ रुपैयाँ घटेर २२.४५ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २२९.९७ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ४.७८ प्रतिशत रहेकोमा गत असारसम्म बढेर ४.८२ प्रतिशत पुगेको छ ।