गोर्खाज फाइनान्सको सञ्चालकमा प्रविण भट्टराई नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालको पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन २१ गतेदेखिनै लागु हुनेगरी कार्यभार सम्महालेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले गर्याे साढे ३ अर्ब नाफा, ३६ अर्ब ७८ करोड रुपैयाँ पुग्यो जगेडा कोष
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकले १० अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा र खुद ब्याज आम्दानी घटेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकले गत वर्षको नाफाबाट ३.७२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९१ करोड ८४ करोड रुपैयाँ थियो भने लाभांश क्षमता ६.१५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी स्थिर १५ अर्ब ६३ करोड रुपैयाँ भने जगेडा कोष ७.६० प्रतिशत बढेर ३६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड रुपैयाँ सञ्चिति थियो । गत असारसम्म बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । गत असारसम्म बैंकको खराब कर्जा ३.६५ प्रतिशत छ । अघिल्लो वर्ष ३.७७ प्रतिशत खराब कर्जा थियो । बैंकको प्रतिसेयर आम्दानी २१.७३ रुपैयाँ रहेको छ ।
उबरमा १ लाख बीवाईडी कार सामेल हुने
काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो । उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविध दिन समेत यी दुई कम्पनीबीच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ । उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिको कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ । चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजुत उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन् । बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ ।
गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो । कम्पनीले सेयरको खरिद प्रत्याभुतिका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकलाई नियुक्त गरेको छ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेकाे हाे । नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सानिमा बैंकको नाफा साढे २ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत
काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा ८.५९ प्रतिशत घटेर २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशत घटेर ६ अर्ब १७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने २७.६६ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता भने १०.४० प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष २६.८९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ छ । बैंकले गत असारसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २०.९१ रुपैयाँबाट घटेर १७.५४ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५४.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२१.३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९१ गुणा र तरलता अनुपात २९.२१ प्रतिशत कायम छ । अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको खराब कर्जा गत असारसम्म बढेर १.७३ प्रतिशत पुगेको छ ।
कुमारी बैंकको नाफामा ३४५.६८ प्रतिशत छलाङ
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफा ३४५.६८ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७२ प्रतिशत घटेर १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष १४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले गत असारसम्म निक्षेप ५.४० प्रतिशत बढाएर ३ खर्ब ३३ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ७३ अर्ब रुपैयाँ गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ, नेटवर्थ १४१.४७ रुपैयाँ र पीई रेसियो १७.४७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ ।
लगानी बोर्डबाट बाहिरिए सीईओ भट्ट
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बाहिरिएका छन् । उनले लगानी बोर्डको सीईओको रुपमा ४ वर्षे कार्यकाल सकाउँदै बाहिरिएका हुन् । उनले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिँदै बाहिरिएका हुन् । ‘यस अवधिमा मलाई मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षज्यूप्रति कृतज्ञ छु, अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्षज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, लगानी बोर्डका सदस्यज्यूहरु तथा समग्र लगानी बोर्ड परिवारप्रति आभारी छु’, उनले भनेका छन्, ’लगानी बोर्डको काम कारवाहीलाई परिणाममुखी र प्रभावकारी बनाउन यहाँहरुबाट प्राप्त सहयोगको उच्च कदर गर्दछु ।’ उनी २०७७ साउन १९ गते लगानी बोर्डको सीईओमा नियुक्त भएका थिए ।
सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५० हजार पुग्यो
काठमाडौं । सुनको भाउले नयाँ रकर्ड राखेको छ । आज सोमबार तोलाको ३ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।