विकासन्युज

भारतको केपीएमजीले गर्ने भयो १० ठूला बैंकको अडिट, यी बैंकले दिए धेरै कर्जा

काठमाडौं । भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न भारतीय केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका गरी विभिन्न ५ वटा बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका थिए । नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । तर, ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्ली राम पोख्रेलले बताए । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएको केपीएमजी एसुरेन्स अडिट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण थालनी गर्नेछ । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछ । ‘५ वटा फर्म छानिएका थिएm जसमध्ये प्राविधिक रूपमा योग्य केपीएमजी छनोट भएको हो, सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला हुनेछ, त्यसपछि कम्पनीले १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नेछ,’ उनले भने, ‘कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् भन्ने विषयमा अध्ययन गर्नेछ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्त अनुसार लोन पोर्टफोलियो रिभ्यू गर्नु परेको हो ।’ पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा नबिल बैंक पहिलो नम्बरमा छ । यस्तै ग्लोबल आइमएई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, प्रभु बैंक र कृषि विकास बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको तथ्याङ्क अनुसार नबिलले ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ, ग्लोबल आइमएईले ३ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ, कुमारीले २ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशियाले २ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै लक्ष्मी सनराइजले २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यले २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ, हिमालयनले २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ, प्रभुले २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ र कृषि विकासले २ खर्ब १ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।

तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देश दिएका छन् । मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन् । उनले विकास खर्च शतप्रतिशत गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा राखे । ‘हामी जागिर खाइरहेका छैनौँ, देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ, भावी सन्ततीका लागि काम गरिरहेका छौँ, यो सेवाको तुलना पारिश्रमिकसँग हुनसक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लक्ष्य निर्धारण काल्पनिक नभइ वस्तुगत हुनुपर्छ, पूरा गर्न कठिन हुन्छ भनी कमजोर लक्ष्य राख्न हुन्न ।’ उनले अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताए । ‘धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ, गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन,’ उनले भने । प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देशन दिए । उनले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराए ।

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीबार भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने बताएका हुन् । सो अवसरमा उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न सहयोगको आवश्यकता रहेको बताए । साथै, उनले यसका लागि नेपालले विश्व बैंकसँग थप सहकार्य गर्न चाहेको पनि बताए । विश्व बैंकले गत आर्थिक वर्षमा बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । विश्व बैंक नेपालको सबैभन्दा ठूलो दातृ निकाय हो । प्रत्येक वर्ष नेपालले बैंकबाट बजेटरी ऋण तथा अनुदान लिंदै आएको छ । बैंक नेपालको माग बमोजिम सहायता बढाउन सहमत भएको हो । बैठकमा अर्थमन्त्री पौडेलसँगै अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अर्थ सचिव रामप्रसाद घिमिरे लगायतको सहभागिता थियो ।

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । उक्त सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । अध्यक्ष सिंहले आव २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचांकमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले उत्कृष्टता हासिल गरेको बताइन् । यसका लागि उनले सबैलाई बधाई ज्ञापन गरिन् । साथै, उनले आव २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका ५ शाखालाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१र८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनसदरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरूमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित, अभिकर्ता र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै, उनले आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे । यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन् । उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

डेंगी नियन्त्रण गर्ने विषयमा स्वास्थ्यमन्त्रीले गरे उपत्यकाका मेयरहरूसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगी संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गीे नियन्त्रण गर्न सकिने बताए । उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । ‘उपत्यकामा डेंगी नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’ साउनदेखि फैलिएको डेंगी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए । उनले सरसफाइको कमीका कारण संक्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए । हाल मन्त्रालयले डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उनले आग्रह गरे । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए । मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए संक्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राखे । छलफलमा सहभागी काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराएका थिए । उनीहरूले डेंगी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए । गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ‘हामीलाई पहिलोपटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,’ नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, ‘हामी डेंगी नियन्त्रणमा सहकार्य गर्न तयार छौँ ।’ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर कायम नगर्नेहरूलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्यांकमा सहयोग प्राप्त नगरेकाले मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो । सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ । सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता अईपीओ सेयर जारी गर्न प्रस्ताव पारित भएको हो । नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित पारित भएको कम्पनीले जनाएको छ । सोही विशेष साधारण सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय भएको छ ।

अटो शोमा दुईपांग्रेको सहभागिता घट्यो, युवा विदेशिनु मुख्य कारण

काठमाडौं । नाडा अटो शोमा दुईपांग्रे सवारी ब्राण्डको सहभागीता घट्दो क्रममा रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको अटो शोमा दुईपांग्रे ब्राण्डको सहभागीता क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ । चारपांग्रेको तुलनामा दुईपांग्रेको सहभागिता घट्दै गएको हो । विगत ७ पटकको नाडा अटो शोको तथ्यांकलाई केलाउँदा चारपांग्रेको तुलनामा दुई पांग्रेको सहभागिता घट्दै गएको देखिन्छ । अटो शो २०१५ मा १४ वटा चारपांग्रे र १६ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । यस्तै, २०१६ मा १७ वटा चारपांग्रे ब्राण्ड सहभागी हुँदा १५ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । २०१७ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । जहाँ चारपांग्रे ब्राण्ड १६ र दुईपांग्रे ब्राण्ड १९ वटाले भाग लिए । यसैगरी २०१८ मा १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रेले भाग लिएका थिए । २०१९ को अटो शोमा फेरि चारपांग्रेले उछिन्यो । २०२३ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । २०२३ मा १६ वटा चारपांग्रे र २२ वटा दुईपांग्रेको सहभागिता थियो । २०२४ मा आइपुग्दा चारपांग्रेको सहभागिता ह्वात्तै बढ्दा दुईपांग्रेको सहभागिता ह्वात्तै घटेको छ । यस वर्ष २४ वटा चारपांग्रे र १९ वटा दुईपांग्रेको सहभागिता हुने भएको छ । यो वर्ष चार पांग्रेको सहभागिता गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । यता, दुईपांग्रेको भने करिब १४ प्रतिशतले खुम्चिएको देखिन्छ । नाडाका अध्यक्ष करण चौधरीले दुई पांग्रे सवारीसाधन चढने युवाहरू विदेश पलायन भएको बताएका छन् । नाडा अटो शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले युवाहरू विदेश पलायन हुँदा दुईपांग्रे सवारीको माग घटेको बताए । यस्तै, उनले नेपालमा बस्ने युवा पनि दुईपांग्रेबाट चारपांग्रेमा अपग्रेट हुँदा दुईपांग्रेको माग घटेको बताए । उनले अटो शोमा चारपांग्रे ब्राण्डको सहभागिता वृद्धि भएको प्रसंगलाई जोड्दै यस्तो बताएका थिए । यी हुन् २०२४ मा सहभागी हुने गाडीका २४ ब्राण्ड आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा हुन गइरहेको नाडा अटो शोमा २४ ब्राण्डका चारपांग्रे सवारीसाधनहरू देख्न पाइने भएको छ । जसमा हुण्डाई, बीवाईडी, टाटा, सुजुकी, महिन्द्र, एमजी, बीएमब्लु, दिपल, ओमोडा, केया लगायत नेपालमा चलेका ठूला ब्राण्ड देख्न पाइने छ । यसैगरी बजारमा रहेका एक दर्जन ब्राण्डहरू पनि नाडा नाडा अटो शोमा सहभागी हुने नाडाले जनाएको छ । यी हुन् २०२४ मा सहभागी हुने मोटरसाइकलका १९ ब्राण्ड उक्त शोमा १९ वटा मोटरसाइकल ब्राण्डको सहभागीता हुने भएको छ । जसमा एथर, रोयल इनफील्ड, ट्राइम्फ, ईवान, बेनेली, जोङसेन, ग्याराे, बजाज, सुजुकी, यामाहा, गोगोरो, बीएमडब्लु, टीभीएस, याडिया, हीरो, सीएफ मोटर, जीहो, अप्रिला, एनआईयू रहेका छन् ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो ।