विकासन्युज

विशाल पाटनमा सेता भेडाहरू (फोटोफिचर)

काठमाडौं । बर्खाको समय । जताततै हरियाली छ । त्यही हरियालीमा मनमोहक दृश्यहरू देखिन्छन् ।वन जंगलत र डाँडाँपाखातिरको हरियालीमा देखिने दृश्यहरूले जोकोहीलाई पनि आकर्षित गर्छ । वनपाखाका चरन क्षेत्रमा रहेका पाटन क्षेत्रहरू यतिखेर असाध्यै लोभलाग्दा हुन्छन् । तिनै पाटन तथा चरण क्षेत्रमा आहार खोजिरहेका पशुचौपायाहरूको बथानले पनि धेरैको ध्यान तान्छ । यस्तै, पाटनमा चरिरहेका सेडा भेडाहरूको बथानको दृश्यले यतिखर धेरैलाई आकर्षित गर्ने गरेको छ । यस्तै, तस्बिरहरू आज हामीले प्रस्तुत गरेका छौं । बुकी पाटनमा भेडा गोठाला : रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको दहखर्कको बुकी पाटनमा बुधबार भेडा चराउँदै ७२ वर्षीय गोठाला रनबहादुर बिक । गर्पाछेडाको भेडी गोठ : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् । बुकीको चरनमा चौपाया : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका पशु चौपाया । ढोरपाटनको पाटनहरुमा बुकी फुल्न थालेपछि मनमोहक देखिएको छ । ध्याले पाटनमा चर्दै गरेका भेडा : जाजरकोटको बारेकोट गाउँपालिका-४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ । भेडा चराउँदै किसान : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका –६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । चरन क्षेत्रमा जाँदै भेडा : मुस्ताङको लेतेस्थित लेकाली चरन क्षेत्रमा जाँदै गरेका घुम्ती गोठका भेडाका बथान । बुकिमा चर्दै गरेका घोडा : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको चार हजार पाँच सय मिटरभन्दा माथि बुकिमा चर्दै गरेका घोडा, खच्चड । सुनदह र भेडी बथान : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् । फोटो: रासस

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै

काठमाडौं । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाख रुपैयाँभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७ सय रुपैयाँ बक्यौता सङ्कलन गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार १ हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा १ हजार २७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । १ हजार ४३६ ग्राहकबाट ३ करोड ५० लाख ५६ हजार ६७४ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो । तर, ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा १ करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला ३ करोड ६४ लाख ५७ हजार ६८२ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार ६१३ रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार २७८ रुपैयाँ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष ७.९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२.७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए ।

सेयर बजारबाट साउनमै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

काठमाडौं । सेयर बजार उचाइमा पुग्दै नयाँ रकेर्ड बनाउँदा सरकारले पनि लाभकरमा रेकर्ड कायम राखेको छ । दैनिक २० देखि ३० अर्बको कारोबार हुन थालेपछि सेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर उच्च संकलन भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमै पुँजी बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । जबकी गत वर्षभरी सरकारले सोही रकम हाराहारीमा मात्रै पुँजीगत लाभकर उठाएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पुँजी बजारका लगानीकर्ताबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा एकपछि अर्काे रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो । पछिल्लो समय नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार पनि करिब ३० अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ ।

नेपालीलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध लगाएको बताएको छ । वित्तीय चेतनाका लागि एक सूचकना प्रकाशन गरी नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा भएको व्यवस्थाका बारेमा जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँले घटाइदिएको हो । विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समय सापेक्षभन्दा पनि महत्वाकाङ्क्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको बताए । ‘सरकारले आयात खुम्चिरहेको अवस्थामा महत्वाकाङ्क्षी लक्ष्य राखेपछि कहिल्यै पनि लक्ष्यअनुसार भेट्टाउन सकिन्न, गत आव सङ्कलन भएको राजस्वको १० देखि १५ प्रतिशत बढाएर लक्ष्य राख्ने हो भने सहजै लक्ष्य भेट्टाउन सकिन्थ्यो,’ उनले भने । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले भन्सार विभागले निर्धारित गरेअनुसारको राजस्व सङ्कलन नभएसँगै राजस्व सङ्कलनको लक्ष्य घटाइएको हुनसक्ने बताए । ‘विगत केही वर्ष यता लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको यथार्थ हो । त्यसैले विभागले घटाएको होला, विभागले कार्यालयलाई चालु आव रु दुई खर्ब १८ अर्ब रुपैयाँको लक्ष्य निर्धारण गरेको छ,’ उनले भने । सूचना अधिकारी कर्णले विभागले चालु आवमा तोकिएको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कार्यालय सक्रिय भएर लाग्ने उल्लेख गरे । कार्यालयले आव २०७९/८० मा २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा ६०.२२ प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । साथै आव २०७८/७९ मा भने लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सफल भएको थियो । आव २०७८/७९ मा २ खर्ब ३ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा १००.५४ प्रतिशत अर्थात २ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

आज भारी वर्षा हुने, सतर्कता अपनाउनु पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विशाल ग्रूपले बिक्रीमा राख्यो नेपाल रिमा रहेको साढे ३१ करोडको सेयर

काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । रिइन्स्योरेन्स कम्पनीले विशाल ग्रूपको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । विशाल ग्रूपले रिइन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख कित्ता सेयर आज भदौ ५ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज ८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

युरो र पाउण्डको मूल्य बढ्यो, यस्तो छ अन्य देशको मुद्रा भाउ

काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३८ रुपैयाँ र खरिददर १३३.८९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.२६ रुपैयाँ र बिक्रीदर ९८.७० रुपैयाँ तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६५ रुपैयाँ र बिक्रीदर ३५.८१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको थियो ।