काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका छन् ।
उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव ९दलित० गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयनभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।
गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।
नेकपा एमालेबाट विभाजन भएर स्थापना भएको एकीकृत समाजवादी स्थापना ताका निकै चर्चित बनेकी राम कुमारी झाँक्री भने महिला उपाध्यक्षमा पराजित भएकी हुन् । नेकपा एस स्थापना हुँदा उनले माधव नेपालको हात समातेर निर्वाचन आयोग पुगेकी थिइन् ।