सुपर एप बन्दै पठाओ, खाजा घर र गेम्सको सुविधा थप
काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । ‘हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्, यसबाट ग्राहकलाई सहजता हुनेमा हामीले विश्वास लिएका छौँ’, उनले भने । थप गरिएका सेवाहरु हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन् । कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ । पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ । बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । अर्थात् बिक्रेताले पठाओ किराना र पठाओ खाजामार्फत भएको व्यापारको कमिसनवापत कुनै शुल्क बुझाउनु नपर्ने बस्नेत बताउँछन् । कम्पनीका अनुसार पठाओ किराना वा पठाओ खाजामा सहभागी हुन इच्छुक बिक्रेताले पठाओ नेपालको फोन नम्बर ०१–५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् । त्यसपछि कम्पनीले उनीहरुलाई दर्ता गरी ई–स्टोर बनाएर ड्यासबोर्ड उपलब्ध गराउनेछ । उक्त ड्यासबोर्डमार्फत बिक्रेताले अर्डर राख्न, रेकर्ड राख्न, बिक्रीको तथ्यांक हेर्न, सामग्रीको सूची र पसल खुल्ने समय व्यवस्थापनसम्बन्धी काम गर्न सक्नेछन् । उक्त ड्यासबोर्ड कम्पनीको रेष्टो एपबाट हेर्न र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । डेलिभरी भने किराना या खाजा घरका कर्मचारी आफै गर्नुपर्नेछ । पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । पठाओ एपको होमपेजमार्फत कस्टमरहरूले गेम्समा जान सक्नेछन् । यी सबै सेवामार्फत ग्राहकलाई स्थानीयरुपमा इ–स्मार्ट बनाउने अपेक्षा गरिएको छ । हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ । सन् २०१८ सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपाल प्रालिले सन् २०१९ अगष्ट ९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।
‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना सार्वजनिक, प्रमिलाले जितिन् १ करोड रुपैयाँ
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरेका छन् । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट भएको हो । आइएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । आइएमई वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो । सोमबार नै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गतेदेखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । संगै हरेक तिन तिन महिनामा बम्पर उपहार समेत जित्न सक्नेछन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजना अन्तर्गत सेवाग्राहीले दैनिक पुरस्कारमा आइएमइको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्ने छन् । त्यस्तै, हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर, अथवा वासिंग मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरु हुनेछन् । त्यस्तै, मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् । बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । असोज देखि साउन महिनासम्म लागु हुने यस योजनामा तीन जना विजेताहरुले बम्पर पुरस्कार प्राप्त गर्ने छन् । नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य श्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियान सँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताएका छन् । रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निमार्ण गर्न देश विदेशमा काम गरी रकम कमाउने जनशक्ति, रेमिटेन्स प्राप्त गर्ने घरपरिवार, समुदाय र नीति निर्माण तह समेतको ध्यान केन्द्रित गर्न आइएमई आइएमई गरौँ, उद्यमी बनौँ योजना मार्फत आह्वान गरेको पनि उल्लेख गरे । रेमिटेन्स रकम मात्र नभई विदेशमा काम गर्दा सिकेको सीपलाई स्वदेशमा हस्तान्तरण भई उद्यम सृजना गरी उद्यमशीलताको इकोसिस्टम निर्माण गर्ने उद्देश्य रहेको समेत अध्यक्ष ढकालले उल्लेख गरे । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
वालिङ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताए । ‘दुई प्रदेशका स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीका दुई ठाउँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो’, उनले भने, ‘मूल्य अभिवृद्धि करसहित ५५ करोड रुपैयाँमा एउटै ठेक्कामार्फत दुईवटा पुलको निर्माण भइरहेको छ ।’ आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो । सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिडलगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उनले बताए । ‘हालसम्म आँधीघाटको पुलको भौतिक प्रगति ८५ प्रतिशत छ’, उनले भने, ‘काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारीसाधन चल्न सक्छन् ।’ चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर–१० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ । अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।
फोरजी प्रविधि विकास गर्ने ६ मुलुकमा भारत
काठमाडौं । केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका ६ मुलुकमध्ये भारत एक बनेको बताएका छन् । मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो १ सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थिये, साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ,’ उनले भने । उनका अनुसार आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी ६ मुलुकमध्ये भारत एक रहेको र त्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ । पछिल्लो १ सय दिनमा ७ हजार २५८ टावर खडा गरी सञ्चालनमा ल्याएको उनले बताए । ९ हजार ५६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेको उनको भनाइ छ । अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
एटीएमबाट भुक्तानी नभएको तर खातामा काटेको रकम बैंकमा दाबी गर्नुपर्ने
काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले दाबी गर्न बैंकले भनेको हो । ‘बैंकका ग्राहकहरूले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी लिने क्रममा तथा अन्य व्यक्तिहरूले यस बैंकको एटिएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा खाताबाट रकम काटिएको तर नगद प्राप्त नभएको वा खाताबाट रकम काटिएको तर पीओएसमा भुक्तानी नभएको केही रकम बक्यौता रहेको छ,’ बैंकले भनेको छ । ३५ दिन भित्र आवश्यक प्रमाण सहित उक्त रकम दाबी गर्न बैंकले आग्रह गरेको हो ।
तिते करेला १० रुपैयाँ बढ्यो, कुन तरकारीको मूल्य कति ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ६२.३३ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको ११२.३३ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, तराईको बन्दा ४५ रुपैयाँ, स्थानिय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रीड) २८.६७ रुपैयाँ तोकिएको छ । यस्तै लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ३५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ७५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८१.६७ रुपैयाँ, टाटे सिमी ७१.६७ रुपैयाँ, भटमासकोशा ५६ रुपैयाँ तोकिएको छ । हिजो ६५ रुपैयाँ केजी रहेको तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । तिते करेला १० रुपैयाँ बढेको हो । लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ३५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् । रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) २८६.६७ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ । [pdf id=512063]
१ लाख बढी कित्ता सेयर बेच्दै कुमारी बैंक
Kumari bank head office काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक बाहिरिँदै
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ९० हजार ५६९ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।