१२ प्रतिशत लाभांश पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले साधारण सभा आह्वान गरेको छ । बैंकको असोव ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे १० बजे काठमाडौंमा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साथै बैंकको सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी नाफा भएको वर्ष वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, मर्ज पनि गर्ने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । लघुवित्तको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा असोज २९ गते बिहान ९ बजे धनकुटामा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै कुनै उपयुक्त संस्था आएमा मर्ज गर्ने गरी प्रस्ताव, संचालकको बैठक भत्ता वृद्धि र बोनस सेयरपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही अनुसार नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
इन्धन भाउ घट्दा पनि किन घट्दैन गाडी भाडा ?
काठमाडौं । सार्वजनिक यातायात भन्नासाथ प्रत्येकको मानसपटलमा यात्रुको भीडभाड, सिट नपाइने, ठेलमठेल यस्तै दृश्य आउँछन् । लामो होस् वा छोटो दुरीको सार्वजनिक यातायात, यात्रुलाई सहजै गन्तव्य पुग्न सोचेजति सहज पक्कै छैन । सार्वजनिक यातायातकै भर पर्दा यात्रुको बिचल्ली भएका कयौंं उदाहरण छन् । सार्वजनिक यातायात सहज बनाउनमात्र नभई भाडादर सरल बनाउन यातायात व्यवसायीले सितिमिति चासो दिएको देखिँदैन । यात्रुलाई सहज भाडादर कायम गरिदिने विषयमा सम्बद्ध सरकारी निकाय पनि त्यति चनाखो भएको पनि पाइँदैन । अरू बेला सार्वजनिक यातायातको भाडादरबारे वास्तावेवास्ता नगर्ने सरकारी निकाय चाडबाडका मुखमा भने केही ‘एक्सन’ लिने हो कि भन्ने तरिकामा काम गर्न खोज्छन् । पछिल्लो केही समययता सार्वजनिक यातायातमा प्रयोग हुने इन्धनको भाउ धेरै पटक घटिसकेको छ । तर, सार्वजनिक यातायातमा भाडादर घटेको छैन । वा भनौं- यातायात व्यवसायी आफैले भाडा घटाउन चाहेका छैनन् । एउटा स्वीकार्य मान्यता के छ भने इन्धनको भाउ घट्दा वैज्ञानिक प्रणालीअनुसार यातायात भाडादर पनि सोहीअनुसार घटाउने गरिन्छ । तर, पटक-पटक इन्धनको भाउ घटिसक्दा पनि यातायात व्यवसायीले भाडा नघटाएर उपभोक्ता हित संरक्षण ऐनको धज्जी उडाइरहेका छन् । पटक-पटक इन्धनको भाउ घट्दा पनि आखिर किन घट्दैन त यातायात भाडा ? यसमा कसको के स्वार्थ छ ? उपभोक्ता अधिकारकर्मी के भन्छन् ? स्वयं यातायात व्यवसायीको भनाइ के हो ? आउनूहाेस् यसबारे चर्चा गरौं: उपभोक्ता अधिकारकर्मी त हाकाहाकी नै आमयात्रु छाडेर सरकारले यातायात व्यवसायीको ‘पक्षपोषण’ गरेको भन्न धक मान्दैनन् । त्यसमाथि यातायात व्यवसायीलाई ऐनकानुनको ‘लगाम’ नलगाएर सरकारले आमयात्रुमाथि ‘ज्यादती’ गरिरहेको उपभोक्ता अधिकारकर्मीहरू आरोपसमेत लगाउँछन् । एक पटक पछिल्लो अवधिको इन्धन भाउको विवरण हेरौं । नेपाल आयल निगमका अनुसार साउनयता मात्रै ४ पटक डिजेल र पेट्रोलको मूल्य घटेको छ । वैशाखयता डिजेलमा प्रतिलिटर १९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ घटेको छ । साउनयता डिजेलमा प्रतिलिटर ११ रुपैयाँ घटेको छ भने पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ घटेको छ । यसरी डिजेल र पेट्रोलको मूल्य घटे पनि यातायात भाडा भने घटेको छैन । यस्तै, वैशाख १८ गते डिजेल र पेट्रोलमा प्रतिलिटर २/२ रुपैयाँ, जेठ २ गते पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको निगमले जनाएको छ । सोही महिनाको १८ गते पनि डिजेलमा प्रतिलिटर १ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको थियो । यसैगरी, साउन १६ मा डिजेलमा प्रतिलिटर २ र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटेको थियो । सोही महिनाको ३१ गते डिजेलमा प्रतिलिटर ३ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटेको थियो । भदौ १५ गते डिजेलमा प्रतिलिटर १ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घटेको थियो । निगमले भदौ ३० गते आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँँ र डिजेल ५ रुपैयाँँले घटाएको छ । नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ र डिजेलको मूल्य १ सय ४९ रुपैयाँ कायम भएको छ । तर, इ्न्धनको भाउ घट्दा पनि आमयात्रुलाई केही फाइदा भएको छैन । यसमा यातायात व्यवसायी र सरकार दुवैले मौनता साँधेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका सचिव भुवन निरौला पटक-पटक इन्धनको भाउ घटिसक्दा पनि सार्वजनिक यातायातको भाडा नघटाएर यातायात व्यवसायीले सरकारसँगको सम्झौता उल्लंघन गरेको बताउँछन् । ‘जसरी इन्धनमा मूल्य समायोजन हुन्छ, त्यसरी नै गाडी भाडा पनि अटोमेटिक रूपमा समायोजन हुनुपर्ने हो,’ उनी भन्छन्, ‘जसरी स्वचालित रूपमा इन्धनको भाउ तलमाथि हुन्छ, त्यसरी नै सवारी भाडा पनि तलमाथि हुनुपर्छ भनेर हामीले माग गर्दै आएको हो । अब सरकार नै यस विषयमा मौन छ ।’ सचिव निरौला राज्य गैरजिम्मेवार र जवाफदेही नभएकै कारण उपभोक्ताहरू शोषणमा पर्दै आएको बताउँछन् । उपभोक्ता संरक्षण ऐनले पनि यस्ता विषयमा राज्य जिम्मेवार हुन्छ भन्छ । तर, यस्ता विषयमा सरकारको सम्बन्धित निकाय यातायात व्यवस्था विभाग र अनुगमनकारी निकाय नै मौन रहेको उनी बताउँछन् । ‘व्यवसायीले त सैद्धान्तिक रूपमा नाफाको उद्देश्यले व्यवसाय सञ्चालन गरेका हुन्छन् ,’ सचिव निरौला भन्छन्, ‘यस विषयमा उनीहरूलाई के चासो भो र ? इन्धनको मूल्य बढ्यो भने व्यवसायीहरू आन्दोलन गरेरै भए पनि भाडा बढाएरै छोड्छन्, मारमा पर्ने त उपभोक्ता नै हुन् ।’ उनका अनुसार उपभोक्ता ऐनले उपभोक्ता अदालतको कल्पना गर्छ । यो अदालत स्थापना गर्न सर्वोच्च अदालतबाट परामदेश पनि जारी भएको छ । अदालत स्थापनाका लागि सरकारले बजेटमा १ करोड रुपैयाँ छुट्याएको छ । उपभोक्ता अदालत स्थापनापछि उपभोक्ताका समस्या समाधान हुनेमा सचिव निरौला आशावादी छन् । यस्तै, यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरु स्वचालित मूल्य प्रणालीबाट भाडा समायोजन हुने बताउँछन् । उनका अनुसार स्वचालित मूल्यमा पुगेपछि भाडा स्वतः घट्छ । यसका लागि १३ वटा सूचकसहित मापदण्ड बनाइएको उनी बताउँछन् । जसमा स्वचालित वैज्ञानिक भाडा प्रणाली छ । उनी भन्छन्, ‘यसमा इन्धनको हकमा ३५ प्रतिशत छुट्याइएको छ, यसका लागि ५ प्रतिशत तलमाथि हुनुपर्छ । ५ प्रतिशतभन्दा बढी डिजेलको मूल्य घटे घट्छ र ५ प्रतिशतको वृद्धि भए भाडा बढ्छ ।’ गत असार ३१ गते डिजेल प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले बढेको थियो । डिजेलको मूल्य अझै घटेर आयो भने उक्त प्रणालीअनुसार ५ प्रतिशत पुग्ने र भाडा समायोजन हुने उनको भनाइ छ । ‘पछिल्लो समय डिजेलको मूल्य घटे पनि अझै वैज्ञानिक प्रणालीअनुसार ५ प्रतिशत पुगेको छैन, छठ पर्वपछि पहिलो सातामा भाडा समायोजन गर्ने भनेर छलफल भएको छ,’ सूचना अधिकारी पनेरु भन्छन्, ‘चाडपर्व सकिएपछि यो विषय सम्बोधन हुन्छ ।’ यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भाडादर स्वचालित प्रणालीबाट कायम हुने भएकाले पेट्रोल, डिजेलको भाउ घट्नासाथ यातायात भाडा नघट्ने बताउँछन् । ‘अहिले स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदामात्रै भाडा घटछ,’ उनले भने, ‘डिजेलको मूल्य घटे पनि वैज्ञानिक भाडा सिस्टममा पुग्न नसक्दा भाडा नघटेको हो ।’ वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार सरकारले विगत ३ वर्षदेखि भाडा समायोजन गरेको छैन । ‘मूल्य बढ्दा भाडा बढ्ने र घट्दा घट्नुपर्छ भन्ने पनि हाम्रो माग हो, तर सरकारले यसो गरेको छैन, उनी भन्छन्, ‘चाडपर्वपछि भाडा समायोजन हुन्छ भनेर सरकारले भनेको छ ।’ शनिबार सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो । छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर, भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ । सरकारले यातायात व्यवसायीसँग अग्रिम टिकट बुकिङ खुलाउने सहमति गरे पनि अझै अग्रिम बुकिङको मिति तय भएको छैन । दशैं आउन अब १९ दिन मात्रै बाँकी छ । ‘टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्नेमा छलफल भइरहेको छ,’ वरिष्ठ उपाध्यक्ष सिटाैला भन्छन्, ‘सडकको अवस्था पनि राम्रो छैन, यसपालि यात्रुलाई घर पुर्याउन पनि सहज देखिँदैन ।’
सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द
मकवानपुर । सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे ।
त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परिक्षा सञ्चालन गर्ने
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परिक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसिको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ । प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विस २०५८ साल देखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परिक्षा सञ्चालन गर्ने भएको उल्लेख छ ।
काठमाडौंमा आइपुग्छ गुल्मीको निहुरो, राम्रो आम्दानी
गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जंगल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जंगल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् । गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जंगलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जंगलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जंगलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले जंगलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको ३० रुपैयाँ देखि ठूला मुठाको ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ की चन्द्रकली कुमाल बताउँछिन् । ‘दिनभर जंगलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जंगलमा जुका लागेर हैरान हुन्छ, जंगलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति’, उनले भनिन् । चन्द्रकलीमात्र होइन, उनी जस्तै जंगलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन् । उनले भनिन्, ‘घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।’ बर्खाको समयमा जंगलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जंगलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् । गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ । निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौंसम्म पठाउने गरिन्छ । रासस
असोज ११ गतेबाट हलमा चलचित्र आँखा, युट्युबमा ट्रेलर रिलिज
काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले भावनात्मक रूपमा उठान गरेको आयोजकले बताएको छ । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’ लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक योन्जनले सिनेमाको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । भुइँमान्छेको कथा प्रस्तुत गरिएको ट्रेलरमा फोहोरमा राजनिति र दुई वर्गबिचको खाडल देख्न सकिन्छ । चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहताले यसै चलचित्रमार्फत् डेब्यु गरेका छन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए । रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्तेमा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओर्कसप दिएका थिए । आयोजकका अनुसार लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई सिनेमाको कथावस्तु बनाइएको छ ।
सुपर एप बन्दै पठाओ, खाजा घर र गेम्सको सुविधा थप
काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । ‘हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्, यसबाट ग्राहकलाई सहजता हुनेमा हामीले विश्वास लिएका छौँ’, उनले भने । थप गरिएका सेवाहरु हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन् । कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ । पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ । बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । अर्थात् बिक्रेताले पठाओ किराना र पठाओ खाजामार्फत भएको व्यापारको कमिसनवापत कुनै शुल्क बुझाउनु नपर्ने बस्नेत बताउँछन् । कम्पनीका अनुसार पठाओ किराना वा पठाओ खाजामा सहभागी हुन इच्छुक बिक्रेताले पठाओ नेपालको फोन नम्बर ०१–५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् । त्यसपछि कम्पनीले उनीहरुलाई दर्ता गरी ई–स्टोर बनाएर ड्यासबोर्ड उपलब्ध गराउनेछ । उक्त ड्यासबोर्डमार्फत बिक्रेताले अर्डर राख्न, रेकर्ड राख्न, बिक्रीको तथ्यांक हेर्न, सामग्रीको सूची र पसल खुल्ने समय व्यवस्थापनसम्बन्धी काम गर्न सक्नेछन् । उक्त ड्यासबोर्ड कम्पनीको रेष्टो एपबाट हेर्न र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । डेलिभरी भने किराना या खाजा घरका कर्मचारी आफै गर्नुपर्नेछ । पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । पठाओ एपको होमपेजमार्फत कस्टमरहरूले गेम्समा जान सक्नेछन् । यी सबै सेवामार्फत ग्राहकलाई स्थानीयरुपमा इ–स्मार्ट बनाउने अपेक्षा गरिएको छ । हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ । सन् २०१८ सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपाल प्रालिले सन् २०१९ अगष्ट ९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।