दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो ।
बालेनले गराए रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आइतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार श्रेष्ठ विजयी भएकी थिइन् ।
कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान
काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी दिए । कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो । सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको जानकारी दिए । उसले थप उडान अनुमति नलिएको उनले बताए । उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन् ।
एनपीएलमा छिरे करोडौंको बेटिङ गर्ने भारतीय सट्टेबाज, यी चार जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय चार जनालाई पक्राउ गरेको हो । आईपीएल प्रतियोगितामा स्पोर्टस् बाजी र प्रोबो लगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न चार जनालई प्रहरीले पक्राउ गरेको हो । पक्राउ हुनेमा भारत कोलकत्ताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन्त कुमार र ब्रजेश कुमार रहेको सीआईबीले जानकारी दिएको छ । उनीहरूमाथि सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ । बेटिङ सञ्चालन गर्ने कुनै व्यक्ति वा समूहको बारेको कुनै माध्यमबाट सूचना वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा यस नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराउनसमेत सीआईबीले आग्रह गरेको छ ।
प्रधानमन्त्री ओली–सिपिसी अध्यक्ष भेटवार्ता, पारस्परिक चासोका साझा विषयमा छलफल
बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो । साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सीपीसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ली छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगेका हुन् ।
१७ अंकले बढ्यो सेयर, ८ अर्ब बढीको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३०७ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ । मंगलबार न्याग्दी ग्रुप पावरको २६ करोड ७४ लाख रुपैयाँ बढीको करोबार गरेको छ । साथै, जानकी फाइनान्स लिमिटेडको २६ करोड ५१ लाख, बेस्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको २३ करोड ८७ लाख, एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ बढीको करोबार भएको छ । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको लिमिटेड र इगंवा हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
अमेरिकाले युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग गर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रिय, स्वतन्त्रता र स्वाधिनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिएका छन् । सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौं, हजारौं तोप र थप मिसाइल लगायत महत्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरेका छन् । पछिल्लो समयममा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ ।
घर बनाएर ५० लाखमा बेच्ने गभर्नरको आइडियामा सरकारले देला साथ ?
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री, अर्थमन्त्री वा उच्च अधिकारीसँग बस्दा गभर्नर महाप्रसाद अधिकारी एउटा आइडिया सुनाइहाल्छन्- ‘काठमाडौंको एउटा ठाउँमा घर बनाऔं, सस्तैमा बेचौं, यसले अर्थतन्त्रमा एक किसिकको रिभाइभ ल्याउँछ ।’ उनले सरकारी उच्च अधिकारीसँग मात्रै होइन, सार्वजनिक कार्यक्रममा पनि सो आइडियालाई प्रस्तुत गर्न थालेका छन् । गभर्नर अधिकारी पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताले चिन्तित छन् । कागजमा अर्थतन्त्र सन्तोषजनक भने पनि उनले अर्थतन्त्र सही ट्र्याकमा नभएको औंल्याएका छन् । समस्यामा रहेको अर्थतन्त्रलाई कसरी लयमा ल्याउने होला ? भन्ने विषयको जवाफ उनी आफैंभित्र खोजिरहेका छन् । नेपाल राष्ट्र बैंकबाट हुन सक्ने नीतिगत सहजता उनले गरिसकेका छन् । मौद्रिक नीतिबाट दिनसक्ने राहत र सुविधा दिइसकेका छन् । ती सुविधापछि पनि निर्माण तथा घरजग्गा क्षेत्र चलायमान हुन नसकेपछि अब कसरी अगाडि बढ्ने, अर्थतन्त्रको प्राण कसरी दिनेभन्ने विषयमा सोचिरहन्छन् । गभर्नरका रूपमा आफ्नो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा अर्थतन्त्र सुधारको बाटो देखाएर बाहिरिन चाहन्छन् उनी । थला परेको अर्थतन्त्रलाई यही हालतमा छोडेर बाहिरिन उनको मनले मानेको छैन । त्यसैले पनि उनी अहिले सरकारी उच्च अधिकारीसँगको छलफलमा आफ्नो आइडिया बताइहाल्छन् । केही दिनअघि काठमाडौंमा भएको एउटा सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले सो आइडिया सार्वजनिक गरे । आन्तरिक छलफल तथा नीतिगत तयारीका विषयले पूर्णता नपाउँदा सार्वजनिक कार्यक्रममा बोल्न नरुचाउने उनले त्यो दिन भने आफूले उच्च अधिकारीहरुसँग सस्तोमा घर बनाएर बिक्री गर्ने आइडियाकाे विषयमा छलफल गरेकाे मञ्चबाटै उद्घोष गरे । उनले पछिल्लो समय घरजग्गा व्यवसाय समस्यामा परेको बताउँदै सो क्षेत्रलाई सुधारको लागि आफ्नो आइडियाले केही हदसम्म काम गर्ने धारणा राखे । उनले घरजग्गाको मूल्य नघट्दासम्म आर्थिक गतिविधि चलायमान हुन नसक्ने पनि बताए । उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंमा ५/६ करोड कमको घर पाइँदैन । मान्छेको क्षमता १ करोडभन्दा कम छ, क्षमता कम भएको मान्छेले ४/५ करोडको घर किन्न सक्दैनन्, सरकारले घर बनाएर ५० लाख रुपैयाँमा बेच्न सक्यो भने यहाँ जसले पनि घर किन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’ गभर्नर अधिकारीले सरकारले घर बनाएर बिक्री गर्न सके सहजै आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार, उपत्यका विकास प्राधिकरण र सहरी विकास मन्त्रालय लगायत निकायको समन्वयमा यो काम गर्न सकिने उनको भनाइ छ । उनले सेयर बजार र गाडीपछि लागेर अर्थतन्त्र सुधार नहुने विषय पनि प्रष्ट पारे । उनले उपत्यकाको कुनै कुनामा ५० लाख पर्ने १० हजार घर बनाएर बिक्री सुरु गर्यो भने सरकारलाई पनि फाइदा, घर किन्नेलाई पनि फाइदा र यसले समग्र अर्थतन्त्रमा पनि टेवा पुग्ने धारणा राखे । आफूले एक जना इन्जिनियरलाई हिसाब गर्न लगाउँदा प्रतिघर ४२ लाखमा बनाउन सकिने हिसाब निस्केको बताए । ‘एकै पटक हजार घर बनाउँदा १५ अर्ब बढीको सिमेन्ट बिक्री हुन्छ, सोहीबराबर स्टिल र इँटा बिक्री हुन्छ, हजारौंले रोजगारी पाउँछन्, अर्थतन्त्रमा स्वतः राहत मिल्छ,’ उनले भने । यसले समग्र क्षेत्रमा आर्थिक चलायमान हुने धारणा उनकाे छ । यस विषयमा सरकारी अधिकारीहरूले पनि चासो दिइएको बुझिएको छ ।