एनआईसीले बाँड्यो ६१ करोड रुपैयाँ लाभांश, सिधैं इकाईधनीको बैंक खातामा जम्मा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ६१ करोड रुपैयाँ बढी लाभांश बाँड्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलका सेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५ लाख रुपैयाँभन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको जनाएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाबाट गत वर्षको नाफाबाट इकाईधनीहरूलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ प्रतिफल वितरण गर्न सफल भएको हो । जसमध्ये एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार रुपैयाँ, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गरेको हो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल असोज ९ गतेदेखि इकाईधनीको खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ । तर, अन्य फण्डको प्रतिफल भने बैंक खातामा असोज ४ गतेदेखि जम्मा गरिसकेको कम्पनीले बताएको छ । साथै क्यापिटलले गत वर्ष ५२.५३ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।
स्वीस फ्रयाङ्क, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढ्यो
काठमाडौं । अधिकाशं विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलरसहित केही देशको विदेशी मुद्राको मूल्य घटेको हो । तर, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य भने बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०३ रुपैयाँ र बिक्रीदर १५७.७४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०९ रुपैयाँ र बिक्रीदर ९१.५० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.४५ रुपैयाँ र बिक्रीदर ९८.९० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३० रुपैयाँ र बिक्रीदर १०३.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७४ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९७ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०५ रुपैयाँ र बिक्रीदर १३.११ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१३ रुपैयाँ र बिक्रीदर १७.२१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.१९ रुपैयाँ र बिक्रीदर ४३९.१५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५३.९५ रुपैयाँ र बिक्रीदर ३५५.५४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज भारी वर्षा हुने, मौसम फेरबदल हुँदा कृषि क्षेत्रमा असर पर्न सक्ने
काठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चीन र अमेरिकाबीच ईभीमा द्वन्द्व, चर्किँदै विवाद
जेनेभा । बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार विद्युतीय सवारी (इभी) का लागि दिइने अमेरिकी अनुदानबारे अनुसन्धान गर्न एउटा विज्ञ समूह गठन गर्न सहमति जनाएको छ । अमेरिकाले चीनको उजुरीलाई कडा भाषामा निन्दा गर्दै चीनले ‘निष्पक्ष, प्रतिस्पर्धी र पारस्परिक रूपमा लाभदायक व्यापार प्रणालीलाई कमजोर गर्ने आफ्ना गैर-बजार नीति र अभ्यासहरूबाट ध्यान मोड्न’ खोजेको दाबी गरेको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनले सुरुमा मार्चमा यो मुद्दा डब्लुटिओमा ल्याएको थियो । मुद्दामा चीनले अमेरिकी मुद्रास्फीति कटौती कार्यक्रम (आइआरए) मा ‘नयाँ ऊर्जा सवारीका लागि भेदभावपूर्ण सहायता नीतिहरू’ जारी गरेको उल्लेख गरेको थियो र यसमा विद्युतीय कार र हाइब्रिड सामेल छन् । सन् २०२२ मा अमेरिकाले ऊर्जा परिवर्तन क्षेत्र र अमेरिकी भूमिमा निर्मित विद्युतीय कारहरूलाई सहयोग गर्न ठूलो राहत कार्यक्रमको घोषणा गरेको थियो । अमेरिकाले उक्त ऐन जलवायु सङ्कटसँग लड्न र ‘अमेरिकी आर्थिक प्रतिस्पर्धाको लगानी गर्ने’ उपकरण भएको दाबी गरेको छ । चीनले आफ्ना उद्योग नीतिहरू अनुचित नभएको बताएको छ र आफ्ना कम्पनीहरूको संरक्षणका लागि जवाफी कारवाही गर्ने बारम्बार धम्की दिएको छ । चीनका अनुसार आइआरएले ‘निष्पक्ष प्रतिस्पर्धालाई विकृत गर्दछ, विश्वव्यापी नयाँ ऊर्जा वाहन उद्योग र आपूर्ति शृङ्खलालाई गम्भीर रूपमा बाधा पुर्याउँछ र डब्लुटिओ नियमहरूको उल्लङ्घन गर्दछ ।’ जेनेभास्थित डब्लुटिओका एक अधिकारीका अनुसार वासिङ्टनले जुलाईमा मुद्दाका लागि डब्लुटिओ प्यानलको पहिलो अनुरोधलाई रोकेको थियो तर दोस्रो अनुरोधलाई सोमबार बैठकमा स्वीकार गरेको थियो । डब्लुटिओ नियमअन्तर्गत कुनै पनि विवादमा विवादका पक्षहरूले पहिलो अनुरोधलाई रोक्न सक्छन् तर पक्षहरूले दोस्रो अनुरोध गरे भने त्यो करिब निश्चित रूपमा स्वीकृत हुन्छ । “विश्वव्यापी प्रभुत्वका लागि चीनले स्वच्छ ऊर्जा क्षेत्रलाई लक्षित गर्छ भने त्यसबेला चीनको उजुरी विशेष रूपमा पाखण्डी हो”, एक अमेरिकी प्रतिनिधिले सोमबारको बैठकमा भने, “वर्तमान डुब्लुटिओ नियमहरूलाई हाम्रो समयको सबैभन्दा आवश्यक विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्न सदस्यहरूलाई कारवाही गर्न रोक्ने रूपमा बुझ्न सकिँदैन ।” अमेरिकाले मे महिनामा चीनबाट आयात गरिएका विद्युतीय सवारीहरूमाथि भन्सार महसुल चार गुणा बढाएको घोषणा गरेको थियो । रासस
ढल्केबर-सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
काठमाडाैं । ढल्केबर-सीतामढी ४००र२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङगिएको हो । अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केबरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाइनको दुई किलोमिटर बढी लामो प्रसारण लाइनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आफैले सरोकारवालासँग बसेर समस्याको समाधान गरेका हुन्। समस्या समाधानसँगै लाइन निर्माण तत्काल सुचारु गर्ने सहमतिसमेत भएको छ । मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केबर सवस्टेशनमा जडान गर्नुपर्ने ४००/२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान सुरु गरिसकेकामा १५ दिनभित्र (टेस्टिङ कमिसनिङ)लगायत सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबीच संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति भइसकेको छ । मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताए । अरुण तेस्रोबाट उत्पादित विद्युतको २१ दशमलव नौ प्रतिशत अंश नेपाल सरकारले निःशुल्क पाउने व्यवस्था भएकोमा सो बिजुली नेपालभित्र खपतका लागि आवश्यक नपरेमा यसै प्रसारण लाइनबाट भारत निर्यात गर्न सकिनेछ । उनले आजै ढल्केब र सव-स्टेशनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । देशकै सबैभन्दा ठूलो ढल्केबर सव–स्टेशन ४०० केभीको ‘जीआईएस’ प्रविधिबाट निर्माण गरिएको छ । मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त सवस्टेशनको निरीक्षण गरेका थिए ।
सहकारी ठगी प्रकरणमा पक्राउ भएका जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप
काठमाडाैं । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा ल्याइएको र आज अदालतमा उपस्थित गराइएको थियो । जोशीलाई अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालत परिसर पुगेका थिए । त्यसअघि पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
नेप्से, सेबोन र सीआईबीले मिलाउन नसकेको विवाद
काठमाडौं । सोमबार बिहानै लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘धितोपत्र दलाल व्यवसायीहरूको बदनामी हुनेगरी २० नम्बर ब्रोकरको मालिक किसन अग्रवालको बदमासी छताछुल्ल गर्नेछु, आज। पर्खिनुहोला ।’ अग्रवालले ब्रोकर नम्बर २० सँगै समग्र ब्रोकर कम्पनीहरूलाई बदनाम गराउने चेतावनी दिएको केही समयपछि सिप्ला सेक्युरिटिज प्रालिले एउटा पत्र सार्वजनिक गर्दै दिपेन्द्रले चेक चोरेको आरोप लगायो । ‘चेक चोरेर धोका दिएर भाग्ने दिपेन्द्र अग्रवालबाट विगतमा अन्य धेरै धितोपत्र व्यवसायीहरू पनि पीडित भएका घटनाहरू सर्वविदितै छन्, यस्ता सेयर लगानीकर्ताबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निजसँगको हिसाबहरू चुक्ता गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरूसँग विनम्र अनुरोध गर्दछौं,’ सिप्ला सेक्युरिटिजको पत्रमा उल्लेख छ । लगानीकर्ता अग्रवाल र २० नम्बर ब्रोकरबीच सेयर कारोबारको हिसाब मिलानका विषयमा विवाद रहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मध्यस्थता गरेर हिसाब मिलान गर्न पहल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अग्रवालसँगको हिसाब फरफारक गर्न सिप्लाका प्रतिनिधि एक करोड रुपैयाँका दरले १६ करोड रुपैयाँका १६ वटा चेक लिएर असोज ४ गते ग्लोबल आइएमई बैंकको टोखा शाखामा पुगेका थिए । तर, लगानीकर्ता अग्रवालले कम्पनीका प्रतिनिधिलाई झुक्याएर बैंकका शाखा प्रबन्धक समक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको कम्पनीको दाबी छ । चेक लिएर फरार भएको भन्दै सिप्ला सेक्युरिटिजले लगानीकर्ता अग्रवालविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिसकेको छ । लगानीकर्ता अग्रवालले भने सेयर कारोबार गरेबापतको रकम भुक्तानी नगरेको भन्दै सोमबार नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको जानकारी दिएका छन् । के हो विवाद ? लगानीकर्ता अग्रवाल र सिप्ला सेक्युरिटिजबीच विवाद भएको लामो समय भइसक्यो । अग्रवालले विगत लामो समयदेखि सिप्ला सेक्युरिटिजबाट सेयर कारोबार गर्दै आएको भएपनि विवाद भने गत वर्षमात्रै बाहिरियो। सेयर कारोबार गरेबापत सिप्ला सेक्युरिटिजले १ करोड ७० लाख रुपैयाँ भुक्तानी नदिएको भन्दै लगानीकर्ता अग्रवालले नेप्सेमा उजुरी दिएका थिए । अग्रवालको उजुरीका आधारमा नेप्सेले सिप्ला सेक्युरिटिजलाई जवाफ मागेको थियो । तर, सेयर खरिद गरेबापत दिपेन्द्र अग्रवालले तीन करोड रुपैयाँ सिप्ला सेक्युरिटिजलाई तिर्न बाँकी रहेको भन्दै जवाफ पठायो । यो विषय समाधान गर्न नसकेपछि नेप्सेले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठायो । यी दुईबीचको कारोबारको लेनादेना सेबोनले पनि समाधान गर्न सकेन । त्यसपछि सीआईबीमा भने दुई पक्षबीचको हिसाब मिलान गर्ने सहमति भयो । ‘दुवै पक्षबीचको धारणासहित नेप्सेले सेबोनमा पठायो, सेबोनमा पनि नमिलेपछि सीआईबीमा पुग्यो, सीआईबीमा पुगेपछि मिलेका थिए, सिप्ला सेक्युरिटिजको पत्रमा पनि त्यो विषय उल्लेख छ,’ नेप्से स्रोतले भन्यो, ‘ब्रोकर कम्पनीको विज्ञप्ति हेर्दा त्यहाँ नाटक भएको देखिन्छ । किनभने उतिबेला तीन करोड रुपैयाँ भनेको थियो, अहिले एकाएक १६ करोड रुपैयाँ भनेको छ ।’ लगानीकर्ता अग्रवालका अनुसार सीआईबीमा भएको सहमतिअनुसार एक साताभित्र हिसाब मिलान गर्ने भनेर सिप्ला सेक्युरिटिजले प्रतिबद्धता गरेको थियो । तर, चेक दिएर फेरि एक साता समय मागेको उनले बताए । कम्पनीले आरोप लगाए जसरी चेक लिएर आफू नभागेको लगानीकर्ता अग्रवालको दाबी छ । ‘सीआईबीमा एक साताभित्र हिसाब चुक्ता गर्ने सहमति भयो, एक सातापछि राम्रोसँग कुरा गरेर अझैं एक साता समय मागेर मलाई चेक दियो,’ उनले भने, ‘अहिले फेरि तिर्न सक्दिनँ, मेरो पैसा उठ्न बाँकी छ भन्न थाल्यो ।’ बजार झरेका बेला आफू पनि समस्यामा परेको र तत्काल आफ्नो पैसा चाहियो भन्दा सिप्ला सेक्युरिटिजले डिम्याट खाता र सेयर कारोबार रोक्का गरेको लगानीकर्ता अग्रवालकाे भनाइ छ । ‘अब यस कम्पनीबाट कारोबार गर्दिनँ, मेरो डिम्याट फुकुवा गरिदिनु भनेर अनुरोध गर्दा मानेन,’ उनले भने, ‘त्यसपछि मैले उसको चेक बाउन्स गराएँ, चेक बाउन्स गराउँदा मलाई चोरेर भाग्यो भनेर आरोप लगायो ।’ आफूलाई चेक चोरेको आरोप लगाएको हुँदा कम्पनीको विरूद्ध साबइर ब्यूरोमा मुद्धा दर्ता गर्ने उनले जानकारी दिए । उनका अनुसार कम्पनीबाट ५ वर्षदेखि कारोबार गर्दै आएको भएपनि विगत ४/५ महिनाअघिदेखि विवाद सुरु भएको हो । ‘ब्रोकर कम्पनीले मलाई ४८ करोड रुपैयाँ दिनुपर्ने थियो, जसबाट मेरो आफन्तहरू (एकाघर परिवार छैनन्)को नाममा केही रकम तिर्नुपर्ने थियो, त्यो पैसा मैले तिर्न लगाएर बाँकी ८ करोड रुपैयाँ थियो,’ उनले भने, ‘त्यो रकमको ब्याजसहित चाहिन्छ, यो सबै गरेर १५ करोड रुपैयाँ हुन आउँछ, मेरो १२ हजार ५ सय कित्ता पनि दिनुपर्छ ।’
तनहुँका गुरुङले गरे मनास्लु हिमालको सफल आरोहण
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौंबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हुन् । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले जानकारी दिए । ‘सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौं,’ उनले खुसी साट्दै भने, ‘हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पुर्यायाे ।’ विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ । गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गरेका छन् । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उनले सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् । पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।’ गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।