विकासन्युज

नागढुङ्गामा पहिरो जाँदा उपत्यकाभित्र र बाहिर सवारी पास हुन सकेनन्

काठमाडौं ।चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

खोलाले बगाएर तीन जना बेपत्ता

काठमाडौं । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो । यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उहाँको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो, सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ,’ उनले भने । नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

वर्षाका कारण जिल्लाका अधिकांश सडकहरू अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तर-दक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा खोलामा बाढी आएको छ । बाढीका कारण यो सडकमा बिहीबार सवारीका साधन रोकिँदा यात्रुले सास्ती भोग्नु परेको थियो । शुक्रबार भने प्रहरीले उक्त सडक हुँदै सवारी नचलाउन सूचित गरेको छ । निर्माणाधीन यस सडकमा पर्ने खोलाहरूमाथि पुल बनिसकेका छैनन् । द्रूत मार्ग भएका कारण धेरै सवारीका साधनले यो सडक प्रयोग गर्ने गर्दछन् । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानी सडकको तहमा आएपछि सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–३ रिजाल भिरमा समेत पहिरो झरेर यातायात अवरुद्ध भएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सडक कालोपत्रको काम गरिरहेका निर्माण व्यवसायीले सडक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् । बाढीले गत वर्ष दोभानेस्थित सडक पुल तथा यस वर्ष याङवरक गाउँपालिका–३ ओयाममा तीनवटा सडक पुल बगाएपछि वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको वडाध्यक्ष बिमल राईले बताए । यस्तै, भेडेटार–रबि–राँके सडकको गेलीभञ्ज्याङमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । उक्त सडक सञ्चालन हुन नसकेकाले तत्कालका लागि वैकल्पिक सडक प्रयोगगरी यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ । वैकल्पिक सडकहरू सञ्चालन रहेको पनि गाउँपालिका अध्यक्ष आङदेम्बेले बताए । यस्तै, बाढी आएपछि फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङ जोड्ने सडकको घुमाउने टारस्थित डाइभर्सनमा पानी सडकको सतहसम्म आएर सडक अवरुद्ध भएको छ । गत वर्ष बाढीले सडक पुल बगाएपछि यहाँ डाइभर्सनबाट सवारी आवागमन हुने गरेको छ । सवारीका साधनको अधिक चाप हुने मेची राजमार्ग भने हालसम्म सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

भारी हिमपात, हिउँमा फसेका चार पर्यटकको उद्धार

काठमाडौं । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन् । शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उनीहरूको उद्धारका लागि प्रहरी र स्थानीय परिचालन भएका थिए । ‘भारी हिमपातका कारण करिब २ घण्टा तलको पैदल दूरीसम्म हिउँले बाटो पुरिएपछि उनीहरू अलपत्र परेका थिए, प्रहरीसहित पुगेको स्थानीयको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थान लबुचेमा ल्याएको छ,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई लबुचेस्थित होटलमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ केभी प्रसारणको लाइनको तार टुटेर ३३ केभीमा परेकाले यहाँका दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । ‘१३२ केभी प्रसारणको लाइनको तार दार्चुलाको नाइलमा ३३ केभीमा खस्न गएर विद्युत् सेवा अवरुद्ध भएको छ,’ उनले भने । विद्युत् सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिकको परिचालन गरिएको प्रमुख पौडेलले बताए । दुई दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने

काठमाडाैं ।  ग्लोबाल आईएमई बैंकको सबै शाखाबाट सुकिलो नोट साट्न पाइने भएको छ । बैंकले एक सूचना जारी गर्दै सबै शाखाबाट नोट सटही सुविधा राखेको जानकारी दिएको छ । बैंकका अनुसार सोमबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नोट सटही गर्न सकिने छ । त्यसैगरी, शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सटही गर्न सकिने छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । असोज १३ गतेदेखि २३ गतेसम्म नोट सटही सुविधा पाइने छ । तर, उक्त मितिभित्र सार्वजनिक बिदा रहेको दिन भने यो नोट साट्न पाइने छैन ।