सेयर बेचेर प्रभु बैंकबाट बाहिरिने रणनीतिमा भट्टचन परिवार, ठूलो परिमाणको सेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकका ठूला सेयरधनीले बैंकमा रहेको स्वामित्व घटाउने रणनीति बनाएका छन् । प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन परिवारले बैंकमा रहेको सेयर बिक्री गरेर विस्तारै बैंकबाट बाहिरिने रणनीति बनाएको देखिन्छ । गत वर्ष पनि पनि केही सेयर बिक्री गरेको भट्टचन परिवारले यस पटक पनि ठूलो परिमाणको सेयर बिक्रीमा राखेको छ । बैंकका ठूला सेयरधनीले नै सेयर बिक्रीका लागि राखेका छन् । प्रभु ग्रुपको समेत लगानी रहेको बैंकमा भट्टचनका परिवारको समेत ठूलो लगानी छ ।बैंकका ठूूला सेयरधनी राजेन्द्र भट्टचन, शिक्षा भट्टचन, सची भट्टचन र अम्बिका शर्मा लामिछानेले बैंकको सेयर बिक्री गरेर बाहिरिने तयारी थालेका हुन् । बैंकका अनुसार राजेन्द्र भट्टचनले १२ लाख ६९ हजार १ कित्ता, शिक्षा भट्टचनले ७ लाख ३३ हजार ७०६ कित्ता, सची भट्टचनले ६ लाख ७२ हजार ४२१ कित्ता सेयर बिक्रीमा राखेका छन् । शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । यस्तै, अम्बिका शर्मा लामिछानेले ५ लाख कित्ता सेयर बिक्रीमा राखेकी छन् । उनी बैंकको छैठौं ठूलो सेयरधनी समेत हुन् । बैंकका अनुसार उनको ०.६० प्रतिशत अर्थात् १४ लाख ९ हजार ५३४ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुनिल मान शेरचनले १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानले २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानले ३९ हजार ९५८ कित्ता र केशब तुलाधरले ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, राजेश श्रेष्ठले ४३ हजार २३५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीले १६ हजार ७०६ कित्ता, तारा प्रसाद पोख्रेलले १९ हजार ७०२ कित्ता, सनिदेव सप्लायर्स प्रालिले ३९ हजार ४१५ कित्ता र राजेन्द्र मान सिंह बस्नेतले १६ हजार २४३ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने छन् । बैंकको सञ्चालक समितिमा नरहेको व्यक्तिले सेयर बिक्री गर्न पाउने व्यवस्था छ । सञ्चालक समितिबाट बाहिरिएको एक वर्षमै सेयर बिक्री गर्न पाउने व्यवस्था छ ।
चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । बैंकले सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटीयू) सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् । नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमसँग सम्बन्धित तालिम प्रदान गरिसकेको छ । चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताए । उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए । अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए । नबिल बैंकले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ’हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उनले विश्वविद्यालयसँग समन्वयका लागि अनुरोध गरे । नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए । यस फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए । नबिल बैंकका सञ्चालक चौधरीले फेलोसिप कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न थालेको भन्दै आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । ‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईंहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ । तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ,’ चौधरीले भने । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए । उनले ‘हामीले के गर्यौँ ?’ भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको प्रतिक्रिया दिए । फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ । तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले बताए । उनका अनुसार, तालिम अवधिभर सहभागीहरूले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ र बैंकिङका विधिहरू सिक्नेछन् । उनले भने, ‘हामी व्यवसायका क्रममा आवश्यक सम्पूर्ण समाधान उपलब्ध गराउँछौँ ।’ त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटीयू) का निर्देशक डा. गोविन्द तामाङले नबिल बैंकको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट क्षेत्रले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । यस्तो सहकार्यले विश्वविद्यालयलाई नयाँ पाठ्यक्रम निर्माण गर्न सहयोग पुर्याउने उनको विश्वास छ । फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् । सहभागीहरूले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडीबुटीबाट सौन्दर्य सामग्री उत्पादन र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन् । इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरु गरेका उद्यमीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम र इ–लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरूको लक्ष्य रहेको बैंकले जनाएको छ । बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो । साउनमा खुलेको सयौँ आवेदकहरूमध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरूलाई मात्र छनोट गरिएको हो । चौथो कोहर्टका सहभागीहरूले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना उत्पादनलाई दिगो बनाउने र विस्तार गर्ने तरिकाबारे विज्ञहरूसँग सल्लाह लिनका लागि कार्यक्रममा सहभागिता जनाएको प्रतिक्रिया दिए । नबिल एसएसई कार्यक्रम मार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरिएको छ । तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ । त्यस्तै, १ हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको छ ।
२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै, ५ करोड विनियोजन
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए । यो सडकका निम्ति पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए ।
राष्ट्र बैंकको बैंकिङ्ग र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको हो । उक्त विभाग थापाथलीस्थित राष्ट्र बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएका पुस १ गतेदेखि उक्त विभागहरूबाट प्रदान हुने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, नेपाली रुपैयाँ थप कमजोर बन्यो
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ थप कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९७ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०४ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८८ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३७ रुपैयाँ र बिक्रीदर १२.४३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५१ रुपैयाँ र बिक्रीदर ४४२.४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.०३ रुपैयाँ र बिक्रीदर ३६०.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.८७ रुपैयाँ र बिक्रीदर ३५३.४३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
गरिमा क्यापिटलले पुस ७ गतेदेखि गरिमा समृद्धि योजना बिक्री खुला गर्ने
काठमाडौं । गरिमा क्यापिटलले पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना पुस ७ गतेदेखि बिक्री खुला गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने, पुँजी ३७ करोड पुग्ने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लाखौं खर्चेर हेलिकप्टरमार्फत सिकार, पहिलो याममा १० नाउर र ५ झारल
काठमाडौं । यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न ४ कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिए । यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन-वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताए । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उनको भनाइ छ । उनका अनुसार पहिलो सिकार याममा ग्लोबल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौंं र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो । सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम १८ लाख रुपैयाँसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० लाख रुपैयाँदेखि ३० लाख रुपैयाँ खर्च गर्ने गर्दछन् । विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।