‘लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिइयोस्’
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिनेगरी कानुनी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले लगानी बोर्डले लगानीकर्ताहरूले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको गुनासाे गरे । अध्यक्ष ज्ञवालीले लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए । उनले बोर्डकै फ्रेमवर्कबाट राष्ट्र बैंकबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रूपमा स्पष्ट पारे । उनले आयोजनाहरूको एआईए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको बताए । उनले पुनः निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रूपमा पुनःनिर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रूपमा लैजान आवश्यक रहेकोमा जाेड दिए । अध्यक्ष ज्ञवालीले लगानी बोर्डमार्फत गर्ने एकद्वार प्रणाली बनाउनको लागि कानुनमा विशेष खालको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए । उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवर्द्धन गर्नको लागि नेपालका कुटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए । उनले लगानी बोर्ड लगानी प्रवर्द्धनकाे एजेन्सी मात्रै नभई पब्लिक प्राइभेट पाटनरसिपको अधिकार सम्पन्न निकाय बनाउने हिसावको ऐनमा व्यवस्था गरिने पनि बताए । बाेर्डले तीनवटै सरकारसँग सार्वजनिक—निजी साझेदारीको समग्र आर्थिक प्रणाली विकास गर्ने कुरामा काम गर्ने उल्लेख गरे ।
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
काठमाडौं । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मंकीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् । अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् । अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् । अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ । सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ । एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ । सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन । रासस
सानिमा बैंकका ग्राहकले दराजमा सामग्री खरिद गर्दा छुट पाउने
काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । छुटबारेको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
बजारमा कोदोको बिस्कुट र कुकिज बेच्न सुरु
काठमाडौं । आक्र्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । ‘हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका छौं,’ आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ भन्छन्, ‘अहिलेका उपभोक्ताहरु आफ्नो खानाको बारेमा सचेत छन् र उनीहरु स्वस्थ विकल्पहरु खोजिरहेका छन् भने यस मागलाई पूर्ति गर्न हामीले बजारको अध्ययन अनुसन्धान पछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं ।’ कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न भएकोले यसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ । यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रण मा महत्वपुर्ण भूमिका खेल्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट पु¥याउने तयारी गरिरहेको जनाएको छ । हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आक्र्स फूडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । ति मुलुकबाट पनि राम्रो प्रतिक्रिया आएकोले उक्त देशहरुमा पनि चाँडै विस्तार गर्ने तयारी रहेको जनाइएको छ । आक्र्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको प्रवद्र्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निशुल्क दिने अफर पनि चलिरहेको छ ।
इन्फिनिक्सको पर्व अफर सुरु : भेस्पा, स्मार्टफोनलगायत अन्य पुरस्कार जित्ने मौका
काठमाडौं । इन्फिनिक्सले दशैंतिहार र छठका लागि नयाँ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले १५० सीसीकाे भेस्पा स्कूटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म लागू हुनेछ । अफर देशभरका कुनै पनि आधिकारिक इन्फिनिक्स शाेरुममा उपलब्ध हुनेछ। इन्फिनिक्सको स्मार्टफोन किनेर ग्राहकहरूले स्पीन एन्ड वीन ह्वीलमार्फत विभिन्न पुरस्कार जित्ने मौका पाइनेछ । अफर विवरण बम्पर पुरस्कार: अफरकाे अवधि समाप्त भएपछि एक भाग्यशाली विजेतालाई १२५ सीसीकाे भेस्पा स्कूटर दिइनेछ । दैनिक राफल: प्रत्येक दिन दैनिक राफल ड्रमार्फत एक ग्राहकलाई नयाँ इन्फिनिक्स हट ४० आई (८+१२८जीबी) जित्न सक्नेछन् । १०० दिनसम्म स्क्रिन निशुल्क: इन्फिनिक्स स्मार्टफोन किन्नेलाई १०० दिनको स्क्रिन ग्यारेन्टी प्रदान गरिनेछ (पानीबाट भएको क्षति समावेश छैन)। सहभागी हुने तरिका याे अफरमा सहभागी हुनका लागि इन्फिनिक्सकाे स्मार्टफोन खरिद गर्नुपर्छ । त्यसपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरीआफ्नो आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । त्यसपछि डिजिटल स्पिन ह्वील घुमाएर पुरस्कार जित्न सकिनेछ ।
दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी… गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दशैं उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ । गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दशैंगीत ‘रित्तो भकारी…’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ – ‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि दुई पैसा कहीँबाट छैन आम्दानी दशैं आइसक्यो रित्तो गोजी, रित्तै छ भकारी परान खाइसक्यो…’ गायक खत्रीलाई दशैंगीतका पर्याय भन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी…’ उनको सत्रौँ दशैंगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दशैंगीत सार्वजनिक गर्दै आएकी छन् । उनको पहिलो दशैंगीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दशैंगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भनिन् । सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दशैंगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दशैंगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् । ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भनिन्, ‘दशैंगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दशैं आउँछ भनेर रमाइलो ढंगले प्रेरित पनि गर्नुहुन्छ ।’ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दशैं, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । गत वर्षको दशैंमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । त्यसअघि उहाँका ‘दशैं–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको…’, ‘दशैंमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । दशैंगीतमा उनले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ । दशैंको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दशैंगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दशैंगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दशैंले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दशैं आयो…’ गीतमा दशैंमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् – ‘मनमा खुसी उमंग छाउँदैछु पाँच वर्षपछि म नेपाल आउँदैछु आयो है दसैँ आयो नाच्न र गाउन रमाउन मन लाग्यो…’ घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् – ‘भित्ताको पात्रो फेरेको फेरै छु तिम्रै मूलबाटो हेरेको हेरै छु आयो है दशैं आयो नाच्न र गाउन रमाउन मन लाग्या…’ वर्षौँपछि दशैंमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दशैंमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दशैंमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ – ‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो यो साल पनि आइन घर यस्तै भो दशैँ आयो तिहारै आयो परदेशी हरायो…’ दशैंका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ – ‘प्यारा तिमी हङकङ मलाय यता घर जमारा पलाए दशैं आयो तिहारै आयो…” गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक/स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याएका छन् । गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दशैंगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ – ‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड आइहाल्यो चाडबाडको लर्को आइहाल्यो सम्झना गाउँघरको…’
अध्यक्ष शाहको दावी- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक भित्रिन्छन्
काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पर्यटन क्षेत्र रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत सम्बन्धित संघसंस्थाहरू टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए । उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताए । उनले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष शाहले नयाँ विमानस्थल भैरहवा र पोखरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गरे । उनले भने, ‘दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरू काँधमा काँध मिलाएर सहकार्य गर्नुपर्छ । नयाँ विमानस्थल भैरहवा र पोखरालाई पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन् ।’ अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको पनि बताए ।
चाडपर्वमा प्रहरीकाे सुरक्षा याेजना : बैंकहरूमा गस्ती, भीआईपीको सुरक्षामा कडाइ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ । पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरको सुरक्षा गर्ने बताए । त्यसैगरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उनले जानकारी दिए । यस्तै, उनले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए । त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाई छ । त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरुीक्षक रजौरेले शक्तिपीठहरूमा विशिष्ट व्यक्ति (भीआईपी) हरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उनले जानकारी दिए । टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।