विकासन्युज

विदेशी लगानी रहेको होङ्सी सिमेन्टको उत्पादन बन्द

काठमाडौं । होङ्सी सिमेन्टको उत्पादन बन्द भएको छ । बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेर विद्युत आपूर्ति बन्द हुँदा उद्योगको सिमेन्ट उत्पादन पनि बन्द भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको जानकारी दिएको छ । होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७/८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।

घरमै यसरी बनाउन सकिन्छ मीठो पक्कु

काठमाडौं । नेपालको विशेषगरी पहाडी जिल्लाहरूमा बसोबास गर्ने मध्यमवर्गीय परिवारमा विभिन्न पर्व जस्तै बडादशैं, कुल पूजा, पूर्णिमा, चैते दशैं, बढाइ पूजा आदिमा बाेकाको बलि चढाउने प्रचलन अहिले पनि रहेको छ । त्यसरी बलि चढाउनका लागि कसैले आफ्नाे घरमा बोका हुर्काउने वा अन्य किसानबाट खरिद गरी ल्याउँछन् । देवीदेवताको नाम पारी घरमा तयार गरिएका बोका बेच्न नहुने मान्यता अहिले पनि रहेको छ । देवताको नाम पारी पालिएका बोका कूलभित्र जुठो (कुनै पनि आफ्नो परीवारको सदस्य गुमाउनु) वा कुलभित्र अन्य कुनै अशुभ भएमा बलि दिन नहुने पौराणिक एवम् पराम्परागत मान्यता रहेको छ । त्यस्तो आवस्थामा बलिका निमित्त पालिएका बोकाहरू छिप्पिएका विशाल र अजङ्ग हुने गरेको हामी सुन्न र देख्न पनि पाउछौं। गरिब तथा मध्यम वर्गीय पारिवारमा वर्षभरि दुःख गरेर भएता पनि दशैंका बेला परिवारका लागि नयाँ कपडा किन्ने, मीठो मसिनो खाने, राम (मेला) हेर्न जाने र रमाइलोकै लागि घरमा खसी/बाेका काट्ने चलन अहिले पनि छ । बलि दिइएका र काटिएका बाेका/खसीको मासु एकै दिनमा खाएर नसकिने, कतिपय ठाउॅंमा त महिलाले छुन र खानसमेत नहुने चलन थियो । अहिले जस्तो बिजुली र फ्रिजको व्यवस्था नभएकाले यत्तिकै राख्दा मासु बिग्रिने हुँदा त्यसलाई लामो समयसम्म राख्न हाम्रा स्थानीय मरमसलाहरूको प्रयोग गरी एक विशेष विधिको प्रयोगबाट कसौंडीमा पकाइने अत्यन्तै स्वादिलो पौष्टिक परिकारलाई नै पक्कु वा पकुवा भनिन्छ । खसी/बोकाको मासु त्यो समयमा दुर्लभ थियो, यसलाई प्राप्त गर्नुभन्दा पनि त्यसलाई बिग्रिन वा सड्न नदिइ जोगाइ खानु अर्को चुनौती थियो । त्यसलाई जोगाइ राख्न र लामो समयसम्म खानका लागि खसी वा बोकाको सबै भाग (पार्ट) को मासुलाई एकै साइजमा काटिन्छ । मासुलाई बोसो, शुद्ध घ्यू वा तोरीको तेलमा उपलब्ध मरमसालामा मोली ४/५ घण्टा मसाला सोस्नका लागि यत्तिकै ढाकी राख्ने र आगोमा पकाइ सुरक्षित राख्ने गरेको पाइन्छ । त्यसरी दशैंमा तयार गरेको पक्कु तिहारसम्म पनि प्रयोग गर्ने गरेको हामी देख्न सक्छौं । त्यसका लागि पहाडको स्वच्छ र चिसो मौसमले पनि साथ दिने गर्छ । अहिले पनि नेपालीहरूले विजया दशमी लामो समय मनाउने गर्दछन् । यस पर्वको महत्त्व पौराणिक एवम् हिन्दु शास्त्र, धार्मिक मान्यता एवम् पारिवारिक सौन्दर्यताको बखान अनन्त रहेको छ । दशैंतिहारजस्ता चाडपर्वमा विदेशिएका सम्पूर्ण परिवार जमघट हुने र रमाइलो साटासाट गर्ने, मीठो परिकार बनाउने इत्यादि व्याख्या र शब्दले मात्र यसको महत्त्वलाई पूरा गर्न सकिँदैन । आज पनि हाम्रो देशका लाखौं संख्यामा विदेशिएका युवा र बिछडिएका परिवार मिलाउने यो पर्व नेपालीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण छ । आफ्ना सन्तानहरूलाई स्वादिलो पक्कु खुवाउने लक्ष्य राखेका आमाबाबु छोराछोरी आफूभन्दा टाढा रहेकाले सामिप्यताको अभाव र यादमा उदास रहेका छन् । ती आमाबुबाको अनुहारमा खुसी छर्न टाढा रहेका छोराछोरीको अभाव र यादमा तड्पिरहेकाहरूको दशैं विशेष बनाउने मुख्य उद्देश्य र यही समयमा कर्मचारीको अभावको कारण धेरै रेस्टुरेन्ट बन्द हुने र छोटो छुट्टीका लागि नेपाल आएका परिवारका लागि रेस्टुरेन्टको मजा दिलाउन पक्कु फेस्टिवभको आयोजना गर्न लागिएको छ । पक्कुलाई हामी मासु मात्र होइन, यसलाई सही विधि, सही तरिका र उचित मसलाको मिश्रणबाट तयार गरिने खाना हरेक नेपालीको जिब्रोमा गढेको स्वाद बिस्तारै मन्द आगोमा पकाइने खसीको मासु आफ्नाहरूका लागि सप्रेम खुसी र हर्षमा तयार पारिएको खानाको वर्णन गर्न शब्दले मात्र असम्भव रहन्छ । त्यसैले हाम्रो पाककला हाम्रो खानपानको गौरवको रूपमा पनि लिन सकिन्छ । पक्कु कसरी बनाउने ? यसबारे मास्टर सेफ गोविन्द नर्सिङ केसीले  विकासन्यूजलाई केही टिप्स दिएका छन् । पकवान विधि र रेसीपी – खसी वा बोकाको सबै भाग (पार्ट) को मासुलाई एकै साइजमा काट्ने । -जिरा धुलो, धनिया धुलो, खुर्सानी धुलो,बेसार धुलो, नुन स्वादअनुसार, मरिच धुलो, शुद्ध तोरिको तेल र गरम मसलालाई आफैं तयार पारी मासुमा कागतीको रस मिसाइ राम्रोसँग मिक्स गरी कम्तीमा चार घण्टाका लागि ढाकेर राख्ने । -त्यसपछि पिँध बाक्लो भएको एक पितलको कसौंडीमा तोरीको तेल हाली तताउने, तेल राम्रोसँग तातेपछि उल्लेखित मसलाहरू                       (सुकमेल, ल्वाङ, दालचिनी, तेजपत्ता र ठूलो इलाइँची) राखी राम्रोसँग फुराउने । -त्यसपश्चात् मसला मिसाइ ढाकेर सानो आगोमा बिस्तारै चलाउँदै पकाउने । यसरी करिब ९० मिनेट जति सानो आगोमा ढाकेर पकाएपछि स्वादिलो पक्कु तयार गर्न सकिन्छ । -यसलाई चिउरा, भुजा वा पुलाउसँग साथमा खर्सी परेको (पाकेको छिप्पिएको) काँक्रोको खल्पी (अचार) वा मुलाको अचारसँग खान सकिन्छ ।

पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौं । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।’ यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् । तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् । आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ । असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

‘अग्रिम टिकट बुकिङ रोक्ने व्यवसायीको तयारी, ‘जोखिम लिन्नौं, बुकिङको पैसा पनि फिर्ता गर्छौं’

फाइल फाेटाे काठमाडौं । यातायात व्यवसायीले दशैंको लागि अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका छन् । वर्षातका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किएसँगै यात्रा कष्टकर बन्दा टिकट बुकिङ रोक्ने तयारी व्यवसायीले गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दशैंको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन् । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए । उनले भने, ‘विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन । विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन् । दुवैपट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्‍याउन सकिरहेका छैनौं । सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?’ वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए । ‘जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ । फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे  जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन । यदि गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौं ।” वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दशैंपछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए । आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै सिटाैलाले एक ठाउँमा भए गाडी रोकौंला, पन्छाएपछि सहज हुन्छ जाउँला भन्ने अवस्था नभएकाे बताए । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरूकाे माग रहेकाे उनकाे भनाइ छ । यही असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारीसाधन काठमाडौंबाट छुटाउन थालिएको थियो । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ । सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरूपमा बन्द हुँदा सवारीसाधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं–नारायणगढ सडकका दर्जनौं ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारीसाधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् । समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दशैंसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ । पानी पर्दै नपरेको खण्डमा दशैं आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्‍याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन् । ‘प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ, ’उनले भने । प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए । उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो । ‘अहिले घर जान हतार नगरौं’ यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन् । उनले भने,  ‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दशैं छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।’ अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए । ‘दशैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन,’ उनले भने, ‘त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।’ उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने विज्ञ गजुरेलकाे भनाइ छ । ‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दशैं त फेरि पनि मनाउन पाइहालिन्छ, ‘ उनले भने, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौं, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।’

सन् २०२५ मा रुसको रक्षा खर्च ‘एक खर्ब ४५ अर्ब डलर’को हुने

रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएकाे छ । रुसले युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको छ । युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू उत्पादन गरिरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौं सैनिकलाई लाभदायक तलब प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत सङ्घको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ । सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाका अनुसार पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ । रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कूल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ । यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ । रुसको संसदमा मस्यौदा बजेट पठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको छ । र्थमन्त्री एन्टोन सिलुआनोभले गत मङ्गलबार एक टेलिभिजन सरकारी बैठकमा बजेटको ‘शीर्ष प्राथमिकता’ ‘नागरिकहरूको सामाजिक समर्थन’ रहेकाे बताएका थिए । ‘राष्ट्रिय रक्षा’ मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट

श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक ०.५ प्रतिशतमा झरेको छ । जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा ०.५ प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक २.१ प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो । दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९. ८ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौंसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले २ अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को राहत प्याकेज प्राप्त गरी अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गरेका थिए । सेप्टेम्बर महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित भएका थिए । निर्वाचनमा विजयी भएका अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जग्गा भाडामा लिई ८० हजार खर्च गरेर रोपेको धान बाढीले सखाप

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेंलोपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेताला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दशैंअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् । जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते ८० हजार रुपैयाँ खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, भने । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गरेका थिए । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो । सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताए । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाए । बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिए । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिबेला चिन्ता बढेको छ । नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुंगा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए । हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ । भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन । जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’ कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्यांंक आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण संकलन भइरहेको उनले बताइन् । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनी बताउँछिन् । कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए । रासस

आचार्य भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ढंगले समितिले काम सुरु गरिसक्यो

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आइतबार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम सुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताए । संयोजक डा. आचार्यले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने स्वास्थ्यमन्त्री प्रदीप पाैडेलकाे एउटा ठूलो कमिटमेन्ट देखेकाे छु । त्यहीअनुसार कमिटी गठन भएको छ । कमिटीमा डा. भगवान कोइराला, डाक्टर रघुराज काफ्ले हुनुहुन्छ । मन्त्रीज्यूको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई कमिटीले पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याओस् भन्ने कमिटमेण्ट छ । कमिटीले काम सुरु गरिसकेकाे छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।