विकासन्युज

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरी रोकिएको छ । बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी बिरामी परेपछि नियुक्ति प्रक्रिया रोकिएको हो । लामो समयदेखि रोकिएको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिँदै तीन जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि शुक्रबार आज (असोज १८ गते) बोलाएको थियो । तर, सिफारिस समितिका संयोजक प्रा.डा. अधिकारी एक्कासि बिरामी परेपछि बोर्ड नियुक्ति प्रक्रिया फेरी अनिश्चित बनेको हो । विगतमा बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित भएका थिए । त्यसपछि लामो समयसम्म नियुक्ति प्रक्रिया अन्यौल बनेपछि अदालतसम्म यो मुद्दा पुगेको थियो । अदालतको निर्णयपछि सिफारिस समितिले अनुपस्थित भएका तीनै जनालाई अन्तर्वार्ताका लागि आज अर्थ मन्त्रालयमा ‍बाेलाएकाे थियाे ।  संयोजक अधिकारी डेङ्गु संक्रमित भई अस्पताल भर्ना भएपछि नियुक्ति प्रक्रिया रोकिन पुगेको हो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने यसअघि नै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । तर, सरकार परिवर्तन भएपछि आयोगका उपाध्यक्षमा प्रा.डा अधिकारी नियुक्त भएका थिए । राजनीतिक दलका नेतृत्वबीच नै आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने संघर्ष चल्दा सेबोन विगत १० महिनादेखि नेतृत्वविहीन छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नवनियुक्त सीईओ श्रेष्ठले गरिन् पदबहाली

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पदबहाली गरेकी छन् । निर्जीवन बीमा कम्पनीमाहरूमा दोस्रो महिला सीईओ बनेकी उनले बिहीबार पदबहाली गरेकी हुन् । नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि.सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् । सीईओ बनेपछि नयाँ योजनाको साथ उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व सम्हालेकि हुन् । नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रीत सेवा प्रदान गर्ने र समस्या समाधानमा जोड दिने उनको भनाइ छ । ‘मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् । कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठ नवनियुक्त सीईओ श्रेष्ठले बीमा क्षेत्रको अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको र इन्स्योरेन्स कम्पनीलाई अझ उचाइमा लैजान सहयोग पुग्ने बताए ।

सरकारको एआईसम्बन्धी अवधारणा पत्रमा महत्त्वपूर्ण विषय समावेश नभएको विज्ञहरूको गुनासो

काठमाडौं । सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले बिहीबार आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले अवधारणा-पत्रको स्वागत गरे पनि यसमा कतिपय महत्त्वपूर्ण विषय समावेश नभएको औंल्याएका थिए । कार्यक्रममा एआईको प्रयोग, नियमन र व्यवस्थापनबारे जानकारी र रुची राख्ने अध्यापक, सूचना प्रविधि विज्ञ, अधिवक्ता, सेवा प्रदायक कम्पनी, डिजिटल अधिकारको पक्षमा काम गर्ने अभियन्ता लगायतका व्यक्तिहरू उपस्थित थिए । छलफलमा उठेका विषय र सुझावहरूको प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हाे । ‍एआईको नियमन आवश्यक भए पनि यसलाई नियन्त्रण गर्न नहुनेमा वक्ताहरूले साझा मत जाहेर गरेका थिए । नेपाल खुला विश्वविद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख भोजराज घिमिरेले अवधारणा पत्र आफैमा स्वागतयोग्य भए पनि यसमा खुद्राखुद्री र सैद्धान्तिक कुराहरू धेरै भएको टिप्पणी गरे । एआई डेटामा आधारित हुने भए पनि अवधारणा-पत्रमा डेटा स्ट्यान्डर्डाइजेसन, डेटा सेयरिङ, डेटा क्लिन्जिङ, डेटा प्राइभेसी र सेक्युरिटीजस्ता महत्त्वपूर्ण विषय गौंड रहेको उनले बताए । डिजिटल राइट्स नेपालकी सन्जिना क्षेत्रीले पनि डेटा संरक्षणको विषयबारे अवधारणा  पत्रमा कुनै चित्रण नभएको उल्लेख गरिन् । यसका साथै, देश संघीय संरचनामा प्रवेश गरिसकेको अहिलेको परिप्रेक्षमा अवधारणा-पत्रले तीन तहका सरकारको भूमिका स्पष्ट नपारेको उनले धारणा राखिन् । ‘नागरिक समाज र प्रविधि क्षेत्रका प्रतिनिधि मात्रै नभएर यो अवधारणा पत्रमा सरकारी तहमै पनि प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारीबारे खासै उल्लेख छैन,’ उनी भन्छिन्, ‘एआईको प्रयोग हरेक तहमा भइरहेकाले प्रदेश र स्थानीय तहको जिम्मेवारी र भूमिका यसमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने हो ।’ सूचना प्रविधि विज्ञ तथा नेपाल प्रहरीका पूर्वडीआईजी राजीव सुब्बाले आजभन्दा १८ वर्षअघि ई-कमर्स क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय कारोबार ऐन ल्याइएकोमा पछि सो कानुन साइबर अपधराध नियन्त्रणको लागि प्रयोग गरिएको स्मरण गरे । ‘त्यो कानुन पनि पहिले ई-कमर्स क्षेत्रको विकासका लागि भनेर परिभाषित गरिएको थियो, पछि गएर त्यसलाई साइबर अपराधको व्यवस्थापनमा पो लगाइयो,’ उनले भने, ‘एआई सम्बन्धी अहिलेको बहशलाई पनि सही दिशा दिन सकिएन भने त्यसैगरी दिग्भ्रमित हुने खतरा रहन्छ ।’ डिजिटल मिडिया फाउन्डेसनका संस्थापक प्रवेश सुवेदीले पनि एआईका लागि छुट्टै निकाय आवश्यक भए पनि यसलाई सञ्चार मन्त्रालय मातहत राख्न नहुने प्रशंग उजागर गरे । अवधारणा-पत्रमा एआईसम्बन्धी गतिविधि समन्वय गर्नुका साथै साक्षरता फैलाउने र अनुसन्धानका लागि नोडल एजेन्सी स्थापना गर्न प्रस्ताव गरिएको छ । ‘यो अवधारणा-पत्रले सुझाएका मार्गनिर्देशन अनुरूप नीति वा कानुन निर्माण गर्दा सञ्चार मन्त्रालयले अन्य मन्त्रालय र निकायका क्षेत्राधिकारसमेत मिच्ने समस्या आउन सक्छ,’ उनले भने, ‘यसले हाम्रो संघीयता, सांस्कृतिक र भाषिक विविधतालाई पनि चिन्दैन । यो जेनेरिक छ, हाम्रो पृथकतालाई यसले प्रतिनिधित्व गर्दैन ।’ कार्यक्रममा ग्लोबल कलेज इन्टरनेसनलका एसोसिएट प्रोफेर समिर खरेल, क्यान महासंघका उपाध्यक्ष उमेश रघुबंशी, एभरेस्ट इन्जिनियरिङ कलेजका निश्चल रेग्मी, एआई इन्स्ट्रटर उदिप कुमार महतो, हुवावे नेपालका गौरव थापा, पत्रकार सुदीप रायमाझी, फेसेट टेक्नोलोजका प्रमुख सुरेश पोखरेल, सोध तथा तथ्यांक विश्लेषक खेमराज पोखरेल, ट्रिलिफ टेक्नोलोजीका असोक कुमार पन्त, अध्यापक उत्तम कार्की, सूचना प्रविधि व्यवस्थापक अनुकुल रेग्मी लगायतले धारणा राखेका थिए। कार्यक्रममा उठान गरिएका विषयहरू टिपोट गरी प्रतिवेदन बनाउन क्यानले काठमाडौं विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्स विभागका प्राडा सुदन झा, क्यान महासंघकी वुमन ईन आईटी कमिटीकी कोर्डिनेटर गंगा भण्डारी र वर्ल्ड एसोसिएसन अफ गर्ल गाइड एन्ड गर्ल स्काउट्सको इन्टरनेट सेफ्टी प्रोग्राममा आवद्ध दिक्षा राउतलाई जिम्मेवारी दिएको छ । उक्त प्रतिवेदन मन्त्रालयलाई बुझाउने क्यान महासचिव तथा एआई कन्सेप्ट पेपरका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘यो अवाधारणा पत्रका विषयहरूमा विमर्श गरी आज उठेका विषयहरूको प्रतिवेदन तयार गर्न समिति बनेको छ,’ उनले भने, ‘त्यो प्रतिवेदन हामी मन्त्रालयमा बुझाउनेछौं ।’

बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताए । पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी र डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्पलगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताए । त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताए । वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उनले बताए । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष दाहालले उद्धारमात्र होइन, राहत र पुनःस्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरू कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताए । माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले बाढीपहिरा प्रभावित क्षेत्रमा विज्ञहरूसहितको टोलीले गरेको अध्ययन, समस्याको पहिचान र समाधानका उपाय प्रतिवेदनमा समेटिएको जानकारी दिए । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडकमा गुड्नथाले गाडी

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा शुक्रबार बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि शुक्रबार बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् । बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौँडा–काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुंगासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ । सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए । दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा मेसिन चलाइएको छ ।

महँगो दशैं, हरेक सामानमा बार्गेनिङ गर्नुपर्ने

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए । असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए । उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरूमा मूल्य सूचीहरु समेत नभएको बताए । उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे । उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए । उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको जानकारी दिए । मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए । सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको जानकारी दिए । अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन् । उनले दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन् । त्यस्तै काठमाडौंको बसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेडाँइले पनि सामान्य समयको भन्दा दशैंमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् । उनले काठमाडौंका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताइन् । मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने अवस्था नभएको बताइन् । त्यस्तै, सुमित्रा सेडाँइले दशैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन् । भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन् । उनले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको जानकारी दिइन् । अधिकांश उपभोक्ताहरूले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरूले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट हुने भएको छ । बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट र क्रेडिट कार्ड एप बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । बैंकका अनुसार छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ । अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ?

पोखरा । मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउनेछन् । पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एअर बलुनमा उड्न सक्नेछन् । कम्पनीले ९एन-एएमडब्लु कलसाइनको बेलुनमा पाइलट बाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलट बाहेक एकपटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ। बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ। कति लाग्छ शुल्क ? हट एअर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामे सम्म्को दुइतर्फी यातायात सुबिधा, फोटो-भिडियो र प्रमाणपत्र समेत पाइन्छ । पर्यटकले बलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधा समेत रहेको छ । के ख्याल गर्ने ? हट एअर बलुनमा उड्न जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ । यसबाहेक हिल भएको जुत्ता वा अन्य जुत्ताभन्दा स्पोर्ट्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ ।