विकासन्युज

फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।’ भट्टले भने–’यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’ उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहर संकलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले बताए । ‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।’ उनले भने,’अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ ।यसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ ।’

दशैंमा खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै

काठमाडौं । नेपालीहरूको महान पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैंको लागि तयारी तीव्र छ । सहरहरूबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैंमा खसी, बोकाहरू कमी हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैं यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए । उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको जानकारी दिए । मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको व्यवस्थापक खतिवडाले बताए । विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको बताए । उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको जानकारी दिए । खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको जानकारी दिए । उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ बिक्री गरिरहेको बताए ।

कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरंगसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देसहरू विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

खल्तीबाट ‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ सजिलै गर्न सकिने

काठमाडौं । नेपालको मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ‘सारेगमप लिल च्याम्प्स’ नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ । खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई एपमार्फत सजिलै भोट गर्न सक्नेछन् । पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फाेर के च्यानल र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने छन् । आईएसओ २७००१:२०१३ बाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको आठौं वर्षमा छ । खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेकाे कम्पनीले जनाएकाे छ । खल्तीले डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, नयाँ ग्राहकलाई विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सव मनाईरहेको छ । बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ । बैंकले २४औं वार्षिकोत्सवको अवसरमा ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकले जनाएको छ । जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । केहिदिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ । बैंकले यस अवसरमा ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गरेको छ । असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुट दिएको बैंकले जनाएको छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २,४०० रुपैयाँ मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

सुनको मूल्य तोलामा १ लाख ६१ हजार ३ सय पुग्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताए । सहप्रवक्ता बोहराका अनुसार गत वर्ष असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा गरेको सम्झौतामध्ये ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषय पनि समावेश थियो । सम्झौतापश्चात् चीनको ‘जनरल एडमिनिस्ट्रेशन अफ कस्टम’ले नेपाललाई मासु उत्पादनमा जोखिम विश्लेषणसम्बन्धी कागजात पठाएको थियो । उक्त सहमतिलाई कार्यान्वयन तहमा लैजान मन्त्रालयले आवश्यक सम्झौतापत्र तयार पारेर चीन पठाएको हो । चीन भन्सारको सामान्य प्रशासन (जिएसिसी) ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ । जिएसिसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिना मुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गरेको हुनुपर्नेलगायत नियम बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ । मन्त्रालयले मासु निर्यात गर्न मधेस प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ । मन्त्रालयले त्यस क्षेत्रमा मासुका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्ने तथा केही उद्यमीलाई भैँसीपालनको अनुमति प्रदान गरेको छ । उक्त सम्झौताअनुसार मासु निर्यात भएपछि चीनसँग व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको छ । रासस

तुईन र फड्केले जोडियो तातोपानी नाका

चौतारा । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ  । ‘तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ’, वडाध्यक्ष श्रेष्ठले भने । भोटेकोशीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्ने उनको भनाइ छ । लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो । रासस