एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंकको साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । साथै बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको पनि निर्वाचन गरेको छ । सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि, संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको गरेको छ ।
३ लाख ६३ हजारले काठमाडौं छाडे, हवाई टिकट पाउन मुस्किल
फाइल फाेटाे काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म ३ लाख ६३ हजार १६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौंबाट बाहिरिएका छन् । दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौं बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए । ‘बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ,’ उनले भने । दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् । यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौंबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए । ‘वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु,’ उनले भने । उनीजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ । विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ । यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले ६ हजार १ सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरेका हुन् । उनीहरुले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरुले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् । प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिए । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी थिए । पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसवास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरुले पढाइ सक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन् ।
मानव बस्ती नभएको स्थानमा सडक पुग्यो, मुस्ताङ र डोल्पा जोडिदा राजधानीसम्मको दूरी कम
काठमाडौं । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ-मुस्ताङ-डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए । ‘जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ, गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ,’ उनले भने । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताए । सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । २२ करोड रुपैयाँको लगानीमा पाक्लिङबाट ५६.५ किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताए । ‘हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्, छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन्,’ उनले भने । डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ । सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताए । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उनले बताए । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।
सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए । उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो । बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताए । पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । ‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ,’ उनले भने । उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए । संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताए । गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१.५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म २४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, ९ बालक र ७ बालिकाको मृत्यु भएको हो ।
सांग्रिलाले दशैँ बिदामा यी शाखा खुला राख्ने, ५० हजार मात्रै झिक्न मिल्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । साथै दशैँ काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
तीन दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर, यूरो, पाउण्डको भाउ घट्यो
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.१६ रुपैयाँ र बिक्रीदर १४७.८२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.८८ रुपैयाँ र बिक्रीदर १७६.६७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.२१ रुपैयाँ र बिक्रीदर १५६.९१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.११ रुपैयाँ र बिक्रीदर ९२.५२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.७६ रुपैयाँ र बिक्रीदर ९९.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९३ रुपैयाँ र बिक्रीदर १२.९९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५३ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६० रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।