विकासन्युज

शुक्रबारदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर मृत अवस्थामा फेला

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् । शुक्रबारदेखि हराइरहेका मेयर सिंह आइतबार (आज) गोरुसिंगेको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए । शुक्रबार दिउँसो २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका सिंहले साढे तीन बजेतिर .‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत आफन्तीलाई जानकारी दिएको प्रवक्ता सिंहले बताए । सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको थियो । साथै ड्रोनबाट समेत निगरानी गरेको थियो । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको प्रवक्ताले जानकारी दिए । सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन्।  सभापति लामिछानेले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’ सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे ।  उनले भने, ‘सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौं । मैले अघि पनि भनेँ, यो यात्रामा कहिलेकाहीँ टब्र्युलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौं ।’ सभापति लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको पनि स्वीकार गरे । उनले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए । उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठग्ने काभ्रेका दुलाल पक्राउ

काठमाडौं । क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् । वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई साउन २४ गते गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभनमा पारी एक व्यक्तिबाट ३७ लाख रुपैयाँ ठगेको अभियोग छ । पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

‘शहादत हाम्रो सपना हो, मृत्युसम्म दृढ भएर उभिइरहनेछौं : इरानी राष्ट्रपति

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना नागरिकहरू कठिन परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । इरानको फार्स न्युज एजेन्सीका अनुसार पेजेस्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गरिन्छ । यो कुरा मेरो बुझाइभन्दा बाहिर छ ।’ उनले भने, ‘जब हामी युद्धमा हुन्छौं, तब वस्तुको अभावको सामना गर्नुपर्ने हुन्छ र त्यसबाट उत्पन्न कठिनाइ सामना गर्न हामी तयार हुनुपर्छ ।’ पेजेस्कियानले आफूहरू युद्ध लड्ने र युद्धका कठिनाइलाई समेत स्वीकार गर्ने बताए ।  उनले भने, ‘क्रान्तिका नेताले जे निर्णय गर्नुहुन्छ, हामी अन्तिम समयसम्म त्यसैको साथमा उभिइरहनेछौं ।’ ‘मलाई लड्न डर लाग्दैन । शहादत (कुनै उद्देश्यका लागि जीवन बलिदान गर्नु अर्थात् सहिद हुनु) हाम्रो सबैभन्दा प्रिय सपना हो र हामी मृत्युसम्म दृढतापूर्वक उभिइरहनेछौं,’ उनले थपे । यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाले इरानका छवटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् । बीबीसी फार्सीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा छुट, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानविरुद्धका धम्की रोक्ने र जफत गरिएका इरानी सम्पत्ति फुकुवा गर्नेलगायतका विषय छन् । यी सर्तका कारण अमेरिका र इरानबीच तत्काल कुनै सम्झौता हुन कठिन हुन सक्ने अनुमान गरिएको छ । हर्मुज जलडमरूमध्य खोल्न इरानले अमेरिकासँग राख्यो यी सर्त

कात्तिक ९ देखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको मिति घोषणा गरेको छ ।  क्यानले शनिबार विज्ञप्ति जारी गर्दै एनपीएल आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । यसअघिका दुई संस्करण  मङ्सिरमा आयोजना हुँदै आएपनि तेस्रो संस्करण भने दशैं र तिहारको बीचमा हुन लागेको हो । प्रतियोगिताको विस्तृत खेल तालिका भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।  क्यान स्रोतका अनुसार तिहारका दुई दिनलाई छाडेर अन्य दिन नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ । एनपीएलका लागि खेलाडीको अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । अक्सनबाट खेलाडी छनोट गरिसकेका फ्रेन्चाइज टोलीहरू अहिले आफ्नो टोलीलाई थप बलियो बनाउने तयारीमा जुटेका छन् । विशेषगरी विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अहिले तीव्र पारिएको एक फ्रेन्चाइजी सदस्यले जानकारी दिए ।  उनका अनुसार सहभागी टोलीहरूले एनपीएलका लागि आवश्यक विदेशी खेलाडी छनोट तथा अनुबन्धलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले बताए । बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन, कांग्रेसको आन्तरिक एकता तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश लगायत विषयमा छलफल हुन लागेको हो । संस्थापन इतर समूहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।  बैठक छिटोमा दुई दिनसम्म चल्ने र आवश्यक भए लम्बिन सक्ने प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीभित्रको विवाद चर्किँदै गएपछि संस्थापन इतर समूहले नेतृत्वमाथि एकता कायम गर्न ठोस पहल नगरेको आरोप लगाउँदै छुट्टै राजनीतिक बाटो रोज्ने बताउँदै आएको छ ।  तर, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरेपछि इतर समूह तत्कालका लागि केही पछि हटेको देखिए पनि कांग्रेस विभाजनको तरबार पुर्णरूपमा हटेको छैन । सर्वोच्चको पछिल्लो आदेशपछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । इतर समूहले भने राष्ट्रिय भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी गरिरहेको नेता जितजंग बस्नेतले जानकारी दिए। 

हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो चार सर्त

काठमाडौं । हर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले अमेरिकासँग विभिन्न कडा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले शनिबार हर्मुज जलडमरूमध्य खोल्न अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने, यस क्षेत्रबाट अमेरिकी सैन्य फौज फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति तिर्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने बताएका हुन् । इरानी सुरक्षा परिषद्ले क्षेत्रीय सहयोगीमाथि अमेरिकाले गर्दै आएका आक्रमण रोक्नुपर्ने तथा इरानमाथि दिइने धम्की अन्त्य गर्नुपर्ने मागसमेत गरेको छ । जुन महिनामा अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौताअनुसार प्रतिबन्ध हटाउने समयतालिका र क्षतिपूर्ति योजनालाई अन्तिम सम्झौताको हिस्सा बनाउने तथा रोक्का गरिएका इरानी सम्पत्तिबारे पनि वार्ता गर्ने सहमति भएको थियो ।  अन्तिम सम्झौताका लागि तय गरिएको ६० दिने वार्ताको अवधि अब एक साताभन्दा केही बढी समयमा सकिँदैछ । इरानको यस्तो घोषणा अबुधाबीको राष्ट्रिय तेल कम्पनी (एडीएनओसी) ले आफ्ना एउटा पानीजहाजमाथि हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको केही समयपछि आएको हो । एडीएनओसीले घटनामा कोही घाइते नभएको र अवस्था नियन्त्रणमा लिइएको जनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि घटनाको कडा शब्दमा निन्दा गर्दै हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एडीएनओसीसँग आबद्ध ट्यांकरलाई लक्षित गरिएको जनाएको छ । ओमानसँग पनि सम्झौताको तयारी यसैबीच, इरानले हर्मुज जलडमरूमध्य व्यवस्थापनका विषयमा ओमानसँग सम्झौता नजिक पुगेको बताएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार दुवै देश जलमार्गमा जहाजको आवागमनसम्बन्धी सम्झौताको नजिक पुगेको बताएका छन् ।  विशेषगरी जहाज आवतजावतका लागि निश्चित मार्ग तोक्ने विषयमा सहमति बन्न लागेको उनको भनाइ छ । ओमानले पनि वार्ता सकारात्मक र रचनात्मक वातावरणमा जारी रहेको जनाएको छ । साथै जलडमरूमध्यमा पानीजहाजमाथि भएका आक्रमणको निन्दा गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा इरान र उसका खाडी क्षेत्रका छिमेकी, विशेषगरी ओमान, जलडमरूमध्यबाट सुरक्षित रूपमा जहाज आवतजावत सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेको बताएका छन् । उनका अनुसार प्रस्तावित योजनामा जहाज आवतजावतका लागि निश्चित ट्राफिक प्रणाली बनाउने, जलमार्गबाट विस्फोटक पदार्थ हटाउने तथा इरानले व्यापारिक पानीजहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउने विषय समावेश छन् । ‘हामी विश्वास गर्दैनौं, हामी प्रमाणित गर्छौं,’ भान्सले भने । उनका अनुसार अमेरिकाले इरानलाई उसको भनाइभन्दा पनि व्यवहारका आधारमा मूल्यांकन गर्नेछ । हर्मुज बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु हुनुअघि हर्मुज जलडमरूमध्य खुला र कुनै शुल्क नलाग्ने अन्तर्राष्ट्रिय जलमार्ग थियो । तर इरानले यसको आवागमन प्रभावकारी रूपमा रोक्न सक्ने अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्‍याएको छ । यसका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै मुद्रास्फीति थप चर्किएको र विश्वका विभिन्न मुलुकमा तेल भण्डारको अवस्थालाई लिएर चिन्ता बढेको छ । शुक्रबार तेलको मूल्यसमेत बढेको थियो । हर्मुज जलडमरूमध्यमा स्वतन्त्र रूपमा जहाज आवतजावत गर्न दिने सम्बन्धमा ट्रम्प प्रशासनले सम्झौताको संकेत गरेपछि लगानीकर्ताहरू त्यसको प्रतीक्षामा थिए । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ता सरदार मोहबीले भने होर्मुज खोल्ने विषय इरानले तय गर्ने विशेष संयन्त्र र सर्तमा निर्भर रहेको बताएका छन् । उनका अनुसार यसको इरान-ओमान वार्तासँग सम्बन्ध छैन । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार सीएनबीसीसँग होर्मुजमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने सम्झौता बुधबारसम्म हुन सक्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले पनि सम्झौता नजिक पुगेको संकेत गरेका थिए । तर हालसम्म त्यस्तो कुनै सम्झौता घोषणा भएको छैन । व्यापारसम्बन्धी गुप्तचर संस्था केप्लरका अनुसार शुक्रबार हर्मुज जलडमरूमध्यमार्फत हुने पानीजहाज आवागमन अघिल्लो दिनको तुलनामा ३३ प्रतिशतले घटेको थियो । तीमध्ये अधिकांश पानीजहाजले इरानतर्फको मार्ग प्रयोग गरिरहेका थिए । मिडिया रिपोर्टअनुसार इरान र ओमानले जलडमरूमध्यबाट जहाज आवतजावत गर्ने मार्ग निर्धारण गर्न सम्झौताको तयारी गरिरहेका छन् । प्रस्तावअनुसार भित्रिने पानीजहाजले इरानी जलक्षेत्र र बाहिरिने पानीजहाजले ओमानी जलक्षेत्र प्रयोग गर्नेछन् । तर इरानी सरकारी सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेको मस्यौदा योजनामा हर्मुजमार्फत हुने आवागमनमा थप प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । सरकारी सञ्चारमाध्यम फार्सका अनुसार उक्त योजनामाथि इरानी संसद्ले समीक्षा गरिरहेको छ । मस्यौदाअनुसार अमेरिकी र इजरायली पानीजहाजलाई हर्मुज जलडमरूमध्यबाट पार हुन प्रतिबन्ध लगाइनेछ । इरानलाई क्षति पुर्‍याएका अन्य देशका पानीजहाजलाई पनि क्षतिपूर्ति नतिरेसम्म जलडमरूमध्यबाट पार हुन नदिने प्रस्ताव गरिएको छ । यसैबीच, अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ८३.५५ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि करिब १ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.१८ डलरमा पुगेको छ । यद्यपि, साप्ताहिक आधारमा भने दुवैको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । अमेरिका–इरान तनाव अझै चर्किँदै जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि केही समय युद्धविरामजस्तो अवस्था बने पनि त्यसपछि दुवै पक्षबीच लगातार आक्रमण र जवाफी आक्रमण हुँदै आएका छन् । इरानले आफ्ना केही खाडी छिमेकीलाई समेत क्षेप्यास्त्र र ड्रोनमार्फत निशाना बनाएको छ । बिहीबार इरानका प्रमुख वार्ताकारले अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ‘नाटकपूर्ण कूटनीति’ गरेको आरोप लगाएका थिए । वासिङ्टन र तेहरानबीच महिनौंदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको भनिएको वार्ताबारे दुवै पक्षले फरक-फरक दाबी गरिरहेका छन् । इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई लक्षित गर्दै लेखेका थिए, ‘ठूलो आक्रमण आउँदैछ... पर्खनूहोस्, उनीहरू वार्ता गर्न चाहन्छन् । यही हो नाटकपूर्ण कूटनीति ।’ यसअघि ट्रम्पले प्रस्तावित आक्रमण रोक्दै तेहरानसँग सम्झौताको रूपरेखा तय भइसकेको दाबी गरेका थिए । तर इरानी अधिकारीहरूले यस्तो दाबी अस्वीकार गर्दै आफूहरूबीच कुनै वार्ता नभएको बताएका थिए । यसैबीच खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र महत्त्वपूर्ण समुद्री मार्गहरू पुनः जोखिममा परेसँगै अमेरिका-इरान द्वन्द्वको प्रभाव पूरै क्षेत्रमा फैलिँदै गएको छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी पानी पर्ने, केही स्थानमा भारी वर्षाको जोखिम

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भाग तथा बागमती प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।